बुटवलमा १५औं राष्ट्रिय औद्योगिक मेला हुने, तयारी तीव्र

बुटवलमा १५औं राष्ट्रिय औद्योगिक मेला हुने, तयारी तीव्र

बुटवलः रूपन्देही उद्योग संघको आयोजनामा आगामी पुस ७ गतेदेखि बुटवलमा औद्योगिक प्रदर्शनी मेला हुने भएको छ।

पुस ७ गते देखि १९ गतेसम्म बुटवल मण्डपमा हुने १५औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीव्र रूपले अघि बढिरहेको छ।

‘संमृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार’ भन्ने मूल नाराका साथ आयोजना हुन गइरहेको प्रदर्शनीका लागि रूपन्देही उद्योग संघले नेपाल उद्योग परिसंघ र लुम्बिनी प्रदेश उद्योग परिसंघसँग सहकार्य गर्दैछ।

नेपाल भित्र रहेका स्वदेशी उत्पादन र छिमेकी देशहरूमा प्रयोग भइराखेको नवीनतम प्रविधिबारे नेपाली उद्यमीहरूलाई जानकारी दिने उद्देश्यका साथ यस पटकको प्रर्दशनी आयोजना हुने संघका अध्यक्ष माधव पौडेलले जानकारी दिए।

२०४५ सालमा काठमाडौंबाहिर पहिलो पटक राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गरेको रूपन्देही उद्योग संघले १५औं संस्करणको आयोजना गर्दैछ।

प्रदर्शनीले स्वदेशी उत्पादनको प्रवर्द्धन, प्रदर्शन र बजारीकरणका लागि टेवा पुग्ने विश्वास लिइएको अध्यक्ष पौडेलले बताए। त्यस बाहेक औद्योगिक प्रदर्शनीमा कृषि, प्रविधि र पर्यटन प्रवर्द्धनलाई विशेष जोड दिइने उनको भनाइ छ।

७ असोज, २०७९, १५:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।