प्रेम गीत-३ बारे भारतीय ट्रेड एनालिस्टको विश्लेषण : लो ग्राउन्ड हाइप नहुँदा मल्टिप्लेक्स चेनमा शो पाएन

प्रेम गीत-३ बारे भारतीय ट्रेड एनालिस्टको विश्लेषण : लो ग्राउन्ड हाइप नहुँदा मल्टिप्लेक्स चेनमा शो पाएन

काठमाडौँ : प्रेम गीत-३ को समूहले गरेको दाबी अनि केही नेपाली यूट्युवरको सामाग्रीले भारत पुरै प्रेम गीतमय भइसकेको अनि हिन्दी भर्सन रिलिज भएकै दिन हङ्गामा लायक व्यापार हुने झैँ देखिन्छ।

तरन आदर्शको प्रतिक्रिया हेर्दा त यसले बाहुबलीको भन्दा पनि बबाल ओपनिङ पाउने जस्तै देखिएको थियो। तर भारतका फिल्मी व्यापार सम्बन्धी विश्लेषक रोहित जैसवालको प्रतिक्रिया भने सकारात्मक देखिएन।

हुन त नेपाली फिल्म क्षेत्रको प्रभावका आधारमा  जैसवाल जत्तिका स्थापित फिल्म समीक्षकले नेपाली फिल्ममाथि प्रतिक्रिया दिनु नै ठुलो कुरा हो। अझ यसमा तरन आदर्शको जस्तै अति सकारात्मक आएको भए फिल्म निर्माण टिम थप उत्साहित हुन सक्थे।

तर त्यस्तो हुन सकेन। शुक्रवार उनले प्रेम गीत-३ को अवस्थाबारे ट्विट गर्दै लेखे' कमजोर मार्केटिङ र लो ग्राउन्ड हाइपको अभावले प्रेम गीत-३ ले भारतको मल्टिप्लेक्स चेनमा शो पाउन असफल भयो।'

उनले यसले प्रारम्भिक दिनमा फिल्मलाई नकारात्मक प्रभाव पर्न सक्ने समेत लेखेका छन्। यसले भारतमा जस्तो व्यापार हुने दाबी गरिएको छ त्यसले भारतमा बलियो प्रभाव नपारे पनि त्यसले नेपाली दर्शकहरूलाई भने हलसम्म तान्न सक्ने देखिन्छ।

नेपालमा नेपाली भर्सन र हिन्दी भर्सनबिच लामै समय चलेको लफडा शुक्रवार क्लाइमेक्समा पुग्दा नेपाली भर्सनभन्दा हिन्दी भर्सनको रिलिज डेट केही दिन पर सर्यो।

यसले निर्माण टिम आफ्नै फिल्मबिचको व्यापारिक प्रतिस्पर्धा हुनबाट जोगिएका छन्। पहिला नेपाली भर्सन रिलिज हुने भएकाले त्यसमा नेपाली दर्शकको प्रतिक्रियाको आधारमा हिन्दी भर्सनको शो समय फिक्स गर्न नेपाली हल सञ्चालकहरूले पनि मौका पाएका छन्।

बाहुबलीका कलाकारहरूको भ्वाइसओभर गरेका कलाकारहरूको आवाजमा नेपाली फिल्म हेर्न नेपाली दर्शकहरू हलसम्म आउने फिल्म निर्माण टिमको आस देखिन्छ।

चर्चित लेखक नयनराज पाण्डेले प्रेम गीत-३ को हिन्दी भर्सन नेपाली फिल्म हो कि विदेशी भन्ने विवादसँगै हिन्दी भर्सन केही दिन ढिला रिलिज हुने भएपछि शुक्रवारै ट्विट गरे ' प्रेमगीत-३ को लफडा के हो र यो लफडाले मभित्रको 'देशप्रेम'माथि के, कति र कसरी धावा बोल्छ, थाहा छैन। तर, यो सिनेमा चाहिँ हिन्दीमा हेरिन्छ। हतार नगरी। अलिकपछि। 

प्रेम गीत-३ बारे सामाजिक सञ्जालमा आएका प्रतिक्रिया अनि हिन्दी र नेपाली ट्रेलर रिलिज भएपछिको प्रतिक्रिया हेर्दा नेपालमा नेपाली भर्सन भन्दा हिन्दी भर्सनै दर्शकको रोजाइमा पर्न सक्ने यसले पनि संकेत गरेको छ।

६ असोज, २०७९, २१:१३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।