उकेरा कोलम

चन्द्र प्रकाश गिरिको हिजोको कुरा : तृतीय श्रेणीमा एसएलसी पास गर्दा पिएचडि समानको सम्मान !


वि.सं. २०१५ जेठमा काभ्रेको धुलिखेल नगरपालिका–९ मा जन्मिएका हुन् चन्द्र प्रकाश गिरि। गिरिको हुर्काइ पनि गाउँमै भयो। एसएलसीसम्मको पढाई गाउँकै विद्यालयबाट पूरा गरे। एसएलसीपछि काठमाडौं प्रवेश गरेका गिरिले तत्कालीन समयको विद्युत् प्राधिकरण विभागबाट खरिदारको जागिर सुरु गरे। 

उनले पाटनबाट आइए, रत्न राज्य लक्ष्मी क्याम्पसबाट स्नातक (बिए) र त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट स्नात्तकोत्तर (एमए) सम्मको अध्ययन पूरा गरे। 

प्राधिकरण हुँदै गृह मन्त्रालयको अन्चलाधीस, जेलर हुँदै विभिन्न भूमि सुधार व्यवस्थापन विभागको शाखा अधिकृतको भूमिका निभाए गिरिले। 

सरकारी निकायको सेवा अवधिमा रहँदा उनले थुप्रै अनुभव बटुले। भूमि सुधार व्यवस्थापन विभागमा आएपछि पुस्तक लेखन थालेका उनले हालसम्म पाँचवटा पुस्तक प्रकाशित गरिसकेका छन्।

नेपालको मोहियानी तथा हदबन्दी व्यवस्था, मोहियानी,भूमित  शब्दकोश, नजिर संग्रह उनले लेखेका पुस्तकहरू हुन्। पछिल्लो समय उनी सानोठिमी भक्तपुरस्थित आफ्नै निवासमा सेवानिवृत्त जीवन बिताइरहेका छन्।

दिउँसो घरायसी काम, विहान विद्यालय

गिरिले धुलिखेल–९ स्थित करथरी प्राथमिकबाट पाँच कक्षासम्मको पढाइ पूरा गरे। पाँच कक्षासम्मको पढाइ पूरा गरेपछि उनले धुलिखेलमै रहेको अर्को विद्यालयमा सरे। जहाँ एउटै भवनमा दुईटा बेग्ला–बेग्लै सरकारी विद्यालय थिए। एउटा विद्यालयको नाम थियो सञ्जिवनी व्यावसायिक माध्यामिक विद्यालय, त्यसभित्रै रहेको अर्को विद्यालयको नाम थियो महेन्द्र प्रौढ माध्यामिक विद्यालय।

विहान ६ बजेदेखि पौने १० बजेसम्म महेन्द्र प्रौढ माध्यामिक विद्यालय सञ्चालन हुन्थ्यो भने १० बजेदेखि साँझ ४ बजेसम्म सञ्जिवनी माध्यमिक विद्यालयको पठनपाठन चल्थ्यो। दुइटै विद्यालयका प्राध्यापक र शिक्षकहरू फरक–फरक हुन्थे। विद्यार्थी पनि फरक–फरक। दुईटै विद्यालयमा ६ देखि १० कक्षासम्मको पठनपाठन हुन्थ्यो।

दिउँसो घरको काम गर्ने विद्यार्थी र शिक्षकको लागि भने वर्षभर विहानी समयमा सञ्चालन हुने महेन्द्र विद्यालय उचित थियो। दिउँसो घरको काम गर्न पाइने हुँदा गिरिले पनि महेन्द्र विद्यालयमा भर्ना लिएका थिए। पढाइमा अब्बल विद्यार्थी भएकोले पाँच कक्षाबाट उनी सिधै सात कक्षामा भर्ना भए। 

‘त्यतिबेला राम्रो विद्यार्थीले जम्पअप गरेर माथिल्लो कक्षामा पढ्न पाइन्थ्यो,’ उनी सुनाउँछन्, ‘महेन्द्र विद्यालयमा विहानी कक्षा हुने भएकोले म पनि त्यहिँ भर्ना भएँ। घरको कामको जिम्मेवारी बढि हुने शिक्षक विद्यार्थीहरू महेन्द्र विद्यालय जान्थे, म १० कक्षा नपुग्दै त्यो विद्यालय खारेज भयो।’

पढ्ने विद्यार्थीको संख्या घट्दै गएपछि १० वर्षसमम चलेको महेन्द्र विद्यालय खारेज भएको थियो।

गिरिले २०३२ सालमा सञ्जिवनी विद्यालयबाट एसएलसी दिए। उबेला माघ महिनामा एसएलसी परीक्षा हुन्थ्यो। दशैंअघि नै टेष्ट परीक्षा हुन्थ्यो। 

एसएलसीको नतिजा असार महिनामा आउँथ्यो भने मंसिर महिनादेखि शैक्षिक शत्र सुरु हुन्थे। एसएलसी परीक्षामा एउटा मात्र विषयमा फेल भएमा सबै परीक्षा पुनः दिनुपर्थ्यो। आफ्नो पालामा कोही पनि विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण नभएको उनी सुनाउँछन्।

‘मेरो पालाको एसएलसीमा प्रथम श्रेणीमा कोहि पनि पास भएनन्, अधिकांश विद्यार्थी द्धितिय श्रेणीमा पास भएका थिए,’ उनले सुनाए, ‘अहिले हेरेर हाम्रो पालाको शिक्षा प्रणाली गाह्रो थियो।’

गिरिले भने तृतीय श्रेणी ल्याएर एसएलसी पास गरेका थिए। उनको विद्यालयका ५० विद्यार्थीमध्ये जम्मा २० जना पास भए। आफ्नो गाउँमा एसएलसी दिने र पास हुने गिरि पहिलो र एक्लो विद्यार्थी थिए। उनको ब्याचलगत्तै एसएलसीमा आएको नयाँ शिक्षा कार्यक्रमले भने पास हुने विद्यार्थीको संख्या बढ्दै गयो। 

मासिक तलब २ सय २५ 

उबेला प्लस टु भन्ने चलन थिएन। त्यसको सट्टा सर्टिफिकेट तह पढ्नुपर्थ्यो। अहिलेजस्तो गाउँघर कलेजहरू थिएनन्। त्यतिबेला एसएलसीपछिको अध्ययनका लागि राजधानी नै पुग्नुपर्थ्यो। एसएलसीपछि आइए पढ्ने गिरिको इच्छा थियो।

२०३३ सालमा एसएलसी उत्तीर्ण गरेका गिरिले तत्काल प्लस टु अध्ययन गर्ने मौका पाएनन्। त्यसको कारण थियो, एसएलसीसम्म पूरा गरेकालाई विद्यावारिधि गरेका व्यक्तिको नजरले हेरिनु। सोहि कारण एसएलसी लगत्तै आफूले पढ्न नपाएको उनी सुनाउँछन्।

‘एक त हाम्रा बाहरू पढेलेखेका थिएनन्, दोस्रो उबेला एसएलसी गर्ने व्यक्तिलाई अहिले पिएचडि गरेका व्यक्तिजस्तै ठान्थे,’ गिरि सुनाउँछन्, ‘त्यसमाथि धुलिखेल बजारबाहिरका गाउँमा त्यतिबेला एसएलसी पास गर्ने म एक्लो केटो थिएँ, एसएलसीपछि किन पढ्नुपर्यो भन्ने धारण थियो।’

आफूसँग पढ्ने इच्छा हुँदा–हुँदै पनि उनले पढ्नुभन्दा जागिर खानु नै उचित ठाने। भन्दाबित्तिकै जागिर भने पाइँदैनथ्यो। तर, त्यसका लागि अर्को विकल्प थियो, लोकसेवामा नाम निकाल्नु। लोकसेवाको परीक्षा दिने सोचले उनी काठमाडौं आए।

लोकसेवाको परीक्षाका लागि चाहिने पुस्तकहरू रत्न पुस्तक भण्डारले मात्र बेच्थ्यो। रत्न पुस्तक भण्डारबाट उनले एसएलसी मात्र पूरा गरेकोले खरिदार तहको तयारीका लागि पुस्तक किने। घर फर्केर तिनै पुस्तक पढे। 

२०३४ सालमा लोकसेवाको परीक्षा दिए तर सफल भएनन्। सोही वर्ष दोस्रोपटक पुनः दिँदा भने उत्तीर्ण गरे। खरिदारमा नाम निकालेपछि जागिरका लागि हालको तत्कालीन विद्युत् विभागमा जागिरे भए, जुन अहिलेको विद्युत्प्राधिकरण हो। लोकसेवा परीक्षामा उत्तीर्ण भएकाहरूलाई श्री ५ सरकारले नियुक्ति दिन्थ्यो भने संस्थानहरूको नियुक्ति भने आफूखुसी हुन्थ्यो।

२०३५ सालमा नियुक्ति पाएका गिरिको खरिदारको रूपमा पहिलो भूमिका थियो स्टोर किपरको सहायक। जहाँ स्टेशनरी सामग्रीहरू भण्डार एवं वितरण गर्ने काम हुन्थ्यो। गिरिले रेकर्ड राख्ने काम गर्थे। गिरिको पहिलो तलब थियो, मासिक २२५। जसमध्ये २२ रूपैया ५० पैसा सन्चय कोषमा जम्मा हुन्थ्यो। बसन्तपुरको चिकमुगलमा भाडामा बस्ने उनको कोठा भाडा मासिक ४० रूपैयाँ थियो।

‘त्यतिबेला ४० रूपैयाँ कोठाभाडा थियो, सानो कोठा, काठमाथि माटो राखेर बनेका,’ उनले भने, ‘माटोले पोतिएको हुन्थ्यो, त्यो तलब पनि निकै ठूलो लाग्थ्यो, अहिले त मासिक २ लाख तलबले पनि नपुग्ने अवस्था छ।’

साढे दुई वर्ष विभागमा काम गरेपछि २०३८ सालमा गिरिको मर्स्याङ्दी जलविद्युत् आयोजनाको केन्द्रीय कार्यालयमा सरुवा भयो। सोही वर्ष पाटन संयुक्त क्याम्पसबाट आइए तह उत्तीर्ण पनि गरे।

‘एकातिर जागिर थियो, अर्कोतिर पढाइ’ उनी सुनाउँछन्, ‘विहान क्याम्पस जान्थे, दिउँसो जागिर र साँझ नासुको तयारी गर्थें।’

पहिलेका विद्यार्थी उग्र

गिरिले आइए त पास गरे। तर त्यतिबेला पठनपाठन राम्रोसँग चलेको थिएन। त्यसको कारण थियो, ३५ सालदेखि नै सुरु भएको विद्यार्थी आन्दोलन। पाकिस्तानी प्रधानमन्त्री जुल्फीकर अलि भुट्टोलाई सरकारले फाँसी दिएको थियो।

‘त्यसको विरोधमा नेपालका विद्यार्थीले आन्दोलन गरेका थिए। विद्यार्थीले पाकिस्तानी दुतावासअघि गएर दवाव दिएका थिए,’ उनी सुनाउँछन्, ‘विद्यार्थीलाई पुलिसले लाठी बर्साउँथ्यो, विद्यार्थी झनै तात्थे।’

अर्कोतर्फ पञ्चायती शासनविरुद्ध पनि विद्यार्थीले आन्दोलन सुरु गरेका थिए। यसरी ३५ सालको आन्दोलन झनै चर्किँदै गएकाले कलेजमा पढाइ नहुने र आफैँ पढ्नुपर्ने उनी सुनाउँछन्।

आफू सरकारी कर्मचारी भएकोले विद्यार्थी नै भए पनि गिरि आन्दोलनमा सहभागी हुन पाएका थिएनन्। उनले आन्दोलनबारे भने चासो राख्थे। उबेलाको विद्यार्थी आन्दोलन अहिले भन्दा निकै उग्र बन्ने उनी बताउँछन्।

‘उबेलाका विद्यार्थी आन्दोलन अहिले भन्दा निकै उग्र बन्थे, क्याम्पस पढ्दा गाउँबाट आउनेवित्तिकै संगतअनुसार उ बेलाका विभिन्न संगठनमा ढल्किनुपर्छ र दमन सहनु हुँदैन भन्ने त्यतिबेलाका विद्यार्थीको मनोभावना हुन्थ्यो,’ उनी सम्झन्छन्, ‘प्रहरीको दमन, अत्याचार सहन सक्दैनथे, सरकार पक्षबाहेक अन्य विद्यार्थी संगठनहरू एकजुट भएर लाग्थे।’

राष्ट्रवादी विद्यार्थी मन्डलले सरकारको पक्षमा जुलुस निकाल्थ्यो। नेविसंघ, अखिल लगायत विद्यार्थी संगठनले भने पन्चायती व्यवस्थाविरुद्ध चर्को आन्दोलन गर्थे। पञ्चायत विरोधी आन्दोलनमा जाने विद्यार्थीको संख्या बढि हुन्थ्यो। प्रहरी, प्रशासनले राष्ट्रवादी विद्यार्थी मन्डलेको कुरा सुन्थ्यो। 

विद्यार्थी आन्दोलन चर्को हुँदै गएपछि त्यसलाई थामथुम पार्न राजा वीरेन्द्रले बहुदल र निर्दलीयमध्ये कुनचाहिँ छनोट गर्ने भन्दै जनमत संग्रहको घोषणासमेत गरे। जनमत संग्रहको चुनावमा गिरिलाई प्यूठान खटाइयो।

त्यतिबेला न्युरोडको पिपलबोट राजनीतिक अखडाजस्तो थियो। नयाँ विषय जान्न मन लागे गिरि पनि पिपलबोट पुग्थे।

‘राजनीति गर्ने नेताहरू, विद्यार्थी, कुराकानी सुन्ने सर्वसाधारणहरू सबै त्यहाँ जम्मा हुन्थे। सबैले छलफल गर्थे। त्यहाँ गएपछि धेरै कुराहरू बुझिन्थ्यो, धेरै कुराहरू थाहा हुन्थ्यो’, उनी सम्झन्छन् । 

जेलजस्तो अञ्चलाधीशको जागिर

२०३८ सालमा आइए पास गरेपछि गिरिले नासुको परीक्षा दिए। नाम पनि निकाले। जलविद्युत्मा खरिदारको भूमिकामा रहेका उनले नासुमा नाम निकालेपछि अन्यत्र सिफारिस भए। उबेलामा अन्चालाधीस कार्यालय भन्ने थियो। जुन बहुदल व्यवस्थापछि सबै निकाय पछिल्लो प्रजातान्त्रिक सरकारले हटाएको थियो। 

त्यतिबेलाको अन्चलाधीश कार्यालय रत्नपार्कको रानीपोखरीमा रहेको उपत्यका प्रहरी कार्यालयमा राखिएको थियो। जलविद्युत्का काम गरिरहेका गिरि नासुमा नाम निस्किएलगत्तै चिट्ठी लिएर गृह मन्त्रालय पुगे।

मन्त्रालयले अन्चलाधीश कार्यालयलाई पत्र पठायो। कार्यालयले उनको सिफारिस सुन्धारामा रहेको कारागार शाखा, काठमाडौंमा गरायो। त्यहाँ उनी नासु भएर गए। कारागारभित्र कुनै पनि किसिमका नाजायज सामग्रीहरू कैदीले बोकेको छ या छैन भन्ने चेकजाँचको जिम्मा गिरिले पाए।

त्यहाँ उनले झण्डै एक वर्ष काम गरे। कारागारको काममा गिरिलाई कम चाप थियो। तर, उनको कामको शैली भने राम्रो थियो। फुर्सदको समयमा उनी अध्ययनमा व्यस्त हुन्थे। कम चाप भएकोले उनले पढ्ने र अधिकृतमा नाम निकाल्ने सोच पनि बनाएका थिए। तर त्यसो भएन।

‘फुर्सद मिल्यो कि पढेर नाम निकालि हाल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो। कारागारमा अझै केहि महिना बसेको भए अधिकृत बन्छु भन्ने लक्ष्य थियो तर त्यसो भएन’ उनी सुनाउँछन्, ‘म पढेलेखेको मान्छे, कारागारमा कामको चाप कम पनि भएकोले मलाई अन्चलाधीश कार्यालयको आवश्यकताअनुसार त्यहाँ पठाइयो।’

२०४० असारदेखि उनी अन्चलाधीशमा हाजिर भए। त्यहाँ आफूलाई निकै कठिन भएको उनी सुनाउँछन् ।

‘कारागारमा पाएको भूमिकापछि अन्चालाधीश पुग्दा त्यहाँ म आफैँ जेल परेजस्तो भयो’ उनी भन्छन्, ‘अन्चलाधीश कार्यालयमा गएपछि धेरै नै बन्धनमा परेँ। न शनिबार न त सार्वजनिक बिदा एक दिन पनि छुट्टी नबसी चार वर्षसम्म त्यहाँ काम गर्नुपर्यो। त्यसले गर्दा अधिकृतको तयारी गर्न भ्याउँदैनथेँ।’

अन्चलाधीश कार्यालयमा गिरिको भूमिका एक विभागको प्रमुखको थियो। गृह मन्त्रालयअन्र्तगतका समग्र कामहरू सोहि कार्यालयले लिन्थ्यो। सो कार्यालयले अन्य आठवटा जिल्ला हेर्ने गर्थ्यो। कर्मचारीको दरबन्दी कम भएका कारण थोरै कर्मचारी हुन्थे। निकै सक्रिय, विश्वासिलो एवं अब्बल कर्मचारीलाई मात्र सो कार्यालयले नियुक्ति दिइन्थ्यो।

राजपरिवारको जन्मोत्सवको तयारी

अन्चलाधीश कार्यालयले सुरक्षा, प्रशासन, देशका मुख्य पर्व, प्रजातन्त्र दिवस लगायतका पर्व हेनुपर्थ्यो। सरकारले हरेक वर्ष पुस १ मा राजा महेन्द्रको जन्मोत्सव मनाउने गर्थ्यो। 

राजा महेन्द्रको जन्मोत्सवको दिनलाई संविधान दिवसको रूपमा समेत मनाइन्थ्यो। सार्वजनिक बिदा दिइएको हुन्थ्यो। तर, गिरिलाई भने न कुनै जन्मोत्सव न कुनै सार्वजनिक विदा कुनैले पनि छुदैनथ्यो।

‘राजा महेन्द्रको जन्मोत्सवको दिनमा संविधान दिवस पनि मनाइन्थ्यो, सार्वजनिक बिदा हुन्थ्यो’ उनी सुनाउँछन्, ‘तर, हामीलाई भने छुट्टी हुँदैनथ्यो, महेन्द्रको पुस १ गते थियो, राजा वीरेन्द्रको जन्मोत्सव पुस १४ मा हुन्थ्यो।’

वर्षभर कुनै न कुनै राजकीय खानदानको जन्मोत्सव पर्ने भएकाले त्यसको तयारी र सुरक्षा व्यवस्था आफूहरूले मिलाउनुपर्ने उनलाई अझै ताजै छ। जन्मोत्सवमा राजाले विदेशी पाहुनालाई बोलाउँथे। त्यसको लागि पनि सुरक्षा व्यवस्थादेखि लिएर अन्य तयारीहरू पनि गिरि र उनको समूहले मिलाउनुपर्थ्यो।

‘त्यतिबेला पाहुनाको स्वागतको लागि कहाँ झण्डा गाड्ने, कुन रुट चिटिक्क पार्ने, सरसफाई, तारहरू झुण्डिएका छन् कि पोल ढलेका छन्, कुन क्षेत्रमा सुरक्षा व्यवस्था कडाइ गर्ने लगायत सबै कामहरू १५ दिन अघिदेखि नै सुरु गनुपर्थ्यो’ उनी सम्झन्छन्, ‘अहिलेको जस्तो ट्राफिक चाप नभए पनि प्रहरी परिचालन गर्नुपर्थ्यो।’

स्वीकृत नभइ बिदा बस्दा सरुवा

२०४५ सालतिरको कुरा हो। गिरि अन्चलाधीस कार्यालयमै थिए। उनले बिदामा समेत छुट्टी पाउँदैनथे। काममाथि कामको चाप हुन्थ्यो। उबेलाका सरकारी कर्मचारीहरूको पोसाक अलग थियो। अधिकृत तहका व्यक्तिहरूले कालो कोट दौरा सुरुवाल र ढाका टोपी लगाएका हुन्थे। जब उनी ती पोशाकमा सजिएका कर्मचारी देख्थे, अनि झस्किन्थे। जागिर गर्दागर्दै पढेर अधिकृतमा नाम निकाल्न नपाएको हुटहुटी उनको मनमा गढेर बसेको थियो।

पढ्नको लागि समय मिल्छ कि भनेर उनी अनेक जुक्ति लगाउँथे तर सफल हुँदैनथे। २०४१ सालमै रत्न राज्य क्याम्पसबाट स्नातक तह पास गरेको भए पनि उनले पढ्न नपाएको कारण अधिकृत तहको परीक्षा दिन पाएका थिएनन्।

अधिकृत तहको परीक्षाको लागि तयारी गर्ने सोच बनाएका उनलाई सरकारले अन्चलाधीश कार्यालयमा थन्काइदियो। उनी लोकसेवाको फारम भर्दै छोड्दै गए। यो शिलशिला झण्डै चार वर्षसम्म चल्यो। कामले गर्दा पढ्न नपाइने भएपछि उनले थुप्रैपटक छुट्टी माग गरे। त्यो पनि पाएनन्। पाचौं वर्ष पुगेपछि उनलाई झोक चल्यो।

‘सधैभर यस्तै चल्यो भने मेरो जिन्दगी अफिसले डुबाइदिन्छ। जुनसुकै काम अह्राए पनि नाइ नभन्ने मेरो बानीको शिकार बन्दै गएको थिएँ’ उनी सुनाउँछन्, ‘फाँटको हाकिम आफैँ भएकाले काम छोडेर भाग्न पनि नमिल्ने अवस्था थियो, यसरी पाँच वर्ष बितेपछि मलाई छुट्टी बस्ने झोक चल्यो।’

कुनै कार्यक्रममा जाँदा उनले अधिकृतले लगाएको पोशाक हेर्थे, चित्त दुखाउँथे। मनमनै सोच्थे, ‘यो अफिसले छुट्टी मिलाइदिएको भए यस्तै पोशाक लगाएर अधिकृत बनिसकेको हुन्थेँ, तर मेरो भाग्यमा रहेनछ।’

गिरिको मन पोल्थ्यो। एक महिना बिदा माग्ने सोच बनाए। एक महिनाको बिदा माग्न उनी आफूभन्दा माथिल्लो तहको कर्मचारीकहाँ पुगे। बिदाको पत्र बुझाउन नपाउँदै हाकिमले थर्काएर फिर्ता पठाए। त्यसपछि गिरि कर्मचारीहरूको बिदा हेर्ने अर्को फाँटमा गएर बिदा मागे। बिदाको लागि उनीसँग अनुरोध गरे। धन्न उनले भने गिरीको विदाको पत्र स्वीकारे।

‘बिदा स्वीकारे स्वीकार्नुस्, नस्वीकारे नस्वीकार्नुस्। मलाई १ महिना छुट्टी चाहिएको छ, बिदा स्वीकृत भएन भने म यत्तिकै बिदामा बस्छु भनेपछि उनले ममाथि सहानुभुति देखाए,’ उनी सम्झन्छन्, ‘एक महिना बिदा मागेको घटाएर जम्मा १३ दिनको बिदा लिएर गएँ र दिनरात पढेर अधिकृतमा नाम निकालेर आएँ। १४औं दिनमा कार्यालय फर्किए।’

गिरि कार्यालय त फर्किए। तर, कार्यालयले सजाय स्वरूप उनको अन्यत्रै सरुवा गराइसकेको थियो। उबेलाको शासन साह्रै कठोर भएको उनी सम्झन्छन्।

‘जति नै राम्रो काम गरे पनि, जति नै इमान्दार बने पनि, जो भन्न बोल्न सक्दैन, जसको आफुभन्दा माथि पावरमा कोहि हुँदैन त्यो कर्मचारी पेलानमा हुन्थ्यो,’ उनले भने, ‘मैले उनीहरूको स्वीकृतीविना विदा बसेपछि मलाई सरुवा गरियो।’

यसरी गिरीले झण्डै चार वर्ष अन्चलाधीशमा काम गरेपछि उनी अन्य ठाउँहरूमा सरुवा भए। जलविद्युत् मन्त्रालय, गृह मन्त्रालय मातहतको निकायमा लामो समयसम्म काम गरेका उनको सरकारी कर्मचारीको यात्रा अन्तत भूमिसुधार मन्त्रालयअन्र्तगत भूमि सुधार व्यवस्थापन विभागमा आएर टुंगियो। 

२०५३ सालमा भूमि सुधार मन्त्रालयको भूमि सुधार व्यवस्थापन विभागमा नियुक्ति पाएका उनी २०७२ सालमा सेवानिवृत्त भए।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

गाइने नवराजले पाएनन् कला उकास्ने चौतारी

’बाहिर ननिस्केको पनि धेरै भइसक्यो। सब जना घरमा बिरामी भएर बसिरहेका छन्’ उनी भन्छन्, ’पहिलाको जस्तो रौनक नै छैन। त्यही पनि जसोतसो दसैँ त मनाइनै....

डा. अरुणको उपचार अनुभव : जब घाँटीमा प्वाल पारिएका युवा बोल्न थाले...

लामो समय भेन्टिलेटर राखेर उपचार गर्दा भेन्टिलेटरको असरले घाँटीमा माथिल्लो भागको श्वासनली साँघुरिएर बन्द भएछ। मुखबाट श्वास फेर्न सम्भव नभएपछि घाँटी प्वाल पारेर पाइप राखी....

अनि वनस्पति विज्ञ तीर्थबहादुर झल्याँस्स भए... 

दशैंको फूलपातीमा प्रयोग हुने ९ थरी वनस्पतिबारे ‘नेपालका नखुलेका पाटाहरू’ पुस्तकमा एउटा लेख छ- ‘संस्कृतिमा लुकेको सम्पदा’ शीर्षकमा। जुनसुकै लेखको सुरुवातमा कविता, त्यसको संस्कृतिको पाटो....

ब्याच नम्बर ६९ : युनुसको सुटरले भन्यो 'मै मर्नेके लिए राजी होकर हीँ नेपाल आया था, पर मारा नही'

पहिलो सर्त थियो म गेस्ट हाउसहरूमा छापा मार्दै केटा अनि केटीहरू पक्राउ गर्दै हिँड्दिन। यो अपराध महाशाखाको कामै हैन। कानुनी रूपमा बालिग युवा युवती सहमतिमा....

चौथो अंग : समाचार लेख्नेभन्दा रोक्ने पत्रकार मिडियामा हावी भए

अब १० वर्ष फर्किएर हेर्ने हो भने अहिले डिजिटल मिडिया भर्सेज परम्परागत मिडिया जस्तै देखिएको छ। अनलाइनमा प्रकाशित समाचारले तहल्का पिटिरहेको छ। तर, जे पनि....