इन्टरनेट स्पिडमा झेल्ली खेल : शुल्क लिने एक सय एमबीपीएसको, तर सुविधा दिने २० एमबीपीएस मात्रै

इन्टरनेट स्पिडमा झेल्ली खेल : शुल्क लिने एक सय एमबीपीएसको, तर सुविधा दिने २० एमबीपीएस मात्रै

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणमा केही दिनअघि एक ग्राहकले इन्टरनेट सेवाप्रदायक कम्पनीले ठगेको भन्दै गुनासो गरे।

१ सय एमबीपीएस क्षमताको इन्टरनेट दिन्छु भनेर २० एमबीपीएस मात्रै दिएको उनको गुनासो थियो। द्रुत गतिको इन्टरनेट चाहिएर सोहीअनुसार रकम तिरेर इन्टरनेट अपग्रेड गरे। तर, १ सय एमबीपीएसको इन्टरनेट प्रयोग गर्न पाएनन्।

प्राधिकरणले अनुसन्धान गर्दा पत्ता लाग्यो त्यो ग्राहकको राउटर २० एमबीपीएस क्षमता मात्रै धान्ने रहेछ। इन्टरनेट सेवा प्रदायक कम्पनीले राउटरबारे जानकारी दिएको देखिएन।

‘इन्टरनेट सेवा दिने कम्पनीले ग्राहकसँग भएको राउटरको क्षमता कति हो हेनुपर्ने थियो, त्यो हेरेको देखिएन,’ प्राधिकरणका एक प्राविधिकले भने, ‘इन्टरनेटको गतिबारे जानकारी दिने राउटरबारे जानकारी नदिने, हेर्दा ठगी जस्तै पनि देखियो। हामीले यसबारे सम्बन्धित कम्पनीलाई सचेत गराइसकेका थियौं।’

नेपाल टेलिकममा कार्यररत एक आइटी इन्जिनियरका अनुसार तीन वर्षअघि किनेका प्राय राउटरहरू अहिले इन्टरनेट सेवा प्रदायक कम्पनीले दिने इन्टरनेट गतिको क्षमता धान्दैनन्। ग्राहकलाई राउटरबारे जानकारी नदिएर स्पीडमा लोभ्याएर शुल्क असुल्नु ठगी भएको उनले बताइन्।

‘टिपि लिंकभन्दा अघिका राउटरहरू पनि अझै ग्राहकले प्रयोग गरिरहेका छन्। इन्टरनेट सेवाप्रदायक कम्पनीले १ सय एमबीपीएसको बेच्न थालिसके पनि ग्राहकले राउटर परिर्वतन गरेको देखिँदैन,’ ती इन्जिनियरले भनिन्, ‘राउटरबारे जानकारी नदिनु, एक सय एमबीपीएस भनेर २० एमबीपीएसको वितरण गर्नु त सरासर ठगी नै हो।’

‘इन्टरनेटको गति फेरिए पनि राउटर नफेर्नु, कति एमबीपीएस लिदाँ कति आउँछ भन्ने जानकारी नराख्नु जस्ता समस्याका कारण उजुरी बढेका छन्,’ उनले भने, ‘८० प्रतिशत गुनासोकर्तामा प्रविधिको ज्ञान नभएको देखियो, यद्यपि हामीबाट भएका कमजोरी सुधार्न हामी प्रतिबद्ध छौं।’

राउटरबारे आएको गुनासो र देखिएका समस्याको दीर्घकालीन समाधानका लागि दूरसञ्चार प्राधिकरणले कार्यविधि नै बनाएर कार्यान्वयनमा ल्याइसकेको छ। प्राधिकरणका निर्देशक मिनप्रसाद अर्यालले राउटरबारे कार्यविधि बनेको भन्दै यसबारे सेवा प्रदायकहरूलाई अवगत गराइसकेको बताए।

‘कार्यविधिबारे सेवा प्रदायक कम्पनीहरूलाई जानकारी दिइसकेका छौं,’ उनले भने, ‘अब हामी ग्राहक र सेवा प्रदायक कम्पनीको अनुगमन पनि गर्छौ।’

राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी

केही समयअघि राष्ट्रिय सर्तकता केन्द्रबाट नेपाल दूरसञ्चार प्राधिकरणमा पत्र आयो। एक ग्राहकले इमेल मार्फत आफूले जडान गरेको इन्टरनेट सेवा स्लो भएको, तोकिएको स्पीड उपलब्ध नगराएको भनि उजुरी गरेछन्। उजुरीको छानबिन गर्न केन्द्रले प्राधिकरणलाई निर्देशन दियो।

छानबिनका क्रममा गुनासो सामाधान गर्नेतर्फ कम्पनी सचेत नदेखिएको पाइयो। तर, राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेपछि भने राउटर फेरेर इन्टरनेटको गुणस्तरमा सुधार गर्ने प्रवृत्ति देखिएको प्राधिकरणका प्रवक्ता पौडेलले बताए।

‘इन्टरनेटको गति सुस्त भएको भन्दै गुनासोहरू आइरहन्छ,’ उनले भने, ‘हामीले सेवा प्रदायक कम्पनीलाई सचेत गराएका पनि छौं र कार्यान्वयन पनि भएको छ।’
अन्य कारबाही गर्नुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।

प्राधिकरणमा कस्ता गुनासो आउँछन्? 

नेपाल दूरसञ्चार प्राधिकरणमा सबैभन्दा धेरै उजुरी इन्टरनेटको स्पीड कम भएको भन्दै परेको देखिन्छ।

उसले उपलब्ध गराएको आर्थिक वर्ष २०७८-०७९ को तथ्यांकअनुसार इन्टरनेट नचलेको २६ वटा, इन्टरनेट स्पीड घटबड भएको १ सय ९ वटा, मर्मत समस्या १३ वटा उजुरी छ।

यस्तै, विलिङ्ग सम्बन्धमा १३ वटा, टोल फ्रि नम्बर सम्बन्धमा ६ वटा, राउटर समस्यमा ११ वटा र अन्य १३ वटा गरी एक वर्षमा १ सय ९१ वटा इन्टरनेटमा समस्या भएको सम्बन्धी उजुरी परेका छन्।

जबकी मोबाइल सेवा प्रदायक कम्पनीको भ्वाइस कलसम्बन्धी उजुरी ७६ वटा मात्रै छन्।

‘भ्वाइस कलमा भन्दा इन्टरनेटको स्पिडमा धेरै गुनासो आउन थालेको छ,’ प्रवक्ता पौलेलले भने, ‘हामीले निर्देशन दिएर र अनुगमन गरेर यस्ता समस्या सामाधन गर्छौं।’

इन्टरनेट सेवाप्रदायक संघका अध्यक्ष सुधिर पराजुली उपभोक्तामा प्रविधिको ज्ञानको कमीका कारण प्राधिकरणमा उजुरी बढेको दाबी गर्छन्।

‘इन्टरनेटको गति फेरिए पनि राउटर नफेर्नु, कति एमबीपीएस लिदाँ कति आउँछ भन्ने जानकारी नराख्नु जस्ता समस्याका कारण उजुरी बढेका छन्,’ उनले भने, ‘८० प्रतिशत गुनासोकर्तामा प्रविधिको ज्ञान नभएको देखियो, यद्यपि हामीबाट भएका कमजोरी सुधार्न हामी प्रतिबद्ध छौं।’

६ असोज, २०७९, १८:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।