फिल्म प्रेम गीत-३ हिन्दी भर्सन विवादमा बोर्ड अध्यक्ष केसीको हार, नेपाली फिल्म भएको मन्त्रालयको ठहर

फिल्म प्रेम गीत-३ हिन्दी भर्सन विवादमा बोर्ड अध्यक्ष केसीको हार, नेपाली फिल्म भएको मन्त्रालयको ठहर

काठमाडौँ : सञ्चार मन्त्रालयको हस्तक्षेपपछि फिल्म 'प्रेम गीत-३ को हिन्दी भर्सनले नेपाली फिल्मकै मान्यता पाउने भएको छ। चलचित्र विकास बोर्डले हिन्दी भर्सनलाई विदेशी फिल्मको श्रेणीमा राखेर जाँच पासको सिफारिस गरेको थियो।

शुक्रवार मन्त्रालयले बोर्ड अध्यक्ष भुवन केसीलाई मन्त्रालयमा बोलाएर बोर्डले हिन्दी फिल्मको दर्जा दिनुको कारणबारे सोधपुछ गरेको थियो। केसीले भारतीय लगानीकर्ता रहेको, बोर्डसँग अनुमति नै नलिई हिन्दीमा डब गरेको र हिन्दी भर्सनको अधिकार भारतीय नागरिकसँग रहेको तर्क गरेको स्रोतले जानकारी दियो।

मन्त्रालयका अधिकारीहरू केसीको तर्कमा सहमत भएनन् र ‘प्रेम गीत ३’ नेपाली नेपालीले निर्माण गरेको नेपाली फिल्म भएकाले सोही अनुसार नेपालमा प्रदर्शन गर्न अनुमति दिन निर्देशन दिएको छ।

बोर्डले बिहीबारै प्रेम गीत-३ को हिन्दी भर्सनलाई विदेशी फिल्मको सूचीमा राखेर सोही अनुसार जाँच पासको सिफारिस गरेको थियो। तर शुक्रवारको मन्त्रालयको निर्णयपछि बोर्डले नेपाली फिल्म सरह नै व्यवहार गर्दै नयाँ जाँच पासको सिफारिस गर्नुका साथै १५ प्रतिशत कर समेत उठाउने पाउने छैन।

यो विवादमा बोर्ड अध्यक्ष केसी र प्रेम गीत-३ को टिमबिच व्यक्ति आरोप प्रत्यारोप चलेको थियो।

नेपाली भर्सनको फिल्म शुक्रवारबाटै हलहरूमा रिलिज हुँदै छ। तर हिन्दी भर्सनले समेत नेपाली फिल्म सरह सुविधा पाउने भएपछि भने तत्काल सेन्सर नभएकाले सोमबार मात्रै रिलिज हुने भएको छ। अन्य देशमा भने हिन्दी भर्सन पनि शुक्रवारै रिलिज हुँदैछ।

६ असोज, २०७९, १७:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।