डेंगुबाट २४ जनाले ज्यान गुमाइसके, सरोकारवालाहरू अझै पनि बैठकमै व्यस्त

डेंगुबाट २४ जनाले ज्यान गुमाइसके, सरोकारवालाहरू अझै पनि बैठकमै व्यस्त

काठमाडौंः डेंगु संक्रमण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा तीव्र रूपमा फैलिँदै छ। हालसम्म संक्रमणकै कारण देशभर २४ जनाको मृत्यु भइसकेको छ भने १९ हजारभन्दा बढी संक्रमित भएका छन्।

तर, सरकारको ध्यान डेंगु नियन्त्रणमा छैन। न त ठोस कदम चाल्न सकेको छ न स्वास्थ्य आपत्काल घोषणा गरेर संक्रमण नियन्त्रण गर्नेतर्फ नै सरकारको अग्रसरता देखिएको छ।

स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र सरोकारवालाहरू भने डेंगु नियन्त्रणका लागि धेरैजसो समय बैठकमै व्यस्त हुने गरेका छन्। तर, डेंगुलाई बैठकले केही प्रभाव परेको छैन, बढेको बढेकै छ।

बजारमा लामो समयदेखि पारासिटामोलको समेत अभाव छ। यता अस्पतालका बेड डेंगु संक्रमितले खचाखच छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चुमनलाल दास सरोकारवालासँग डेंगु नियन्त्रणका विषयमा रातदिन बैठक भइरहेको बताउँछन्।

'डेंगु नियन्त्रणकै लागि भनेर अहिलेसम्म कति बैठक भए?' भन्ने जिज्ञासामा उनले भने, ‘त्यो त म ठ्याक्कै भन्न सक्दिनँ। रात दिन छ। बुधबार पनि सरोकारवालासँग छलफल गर्यौँ।’

निर्देशक डा. दास विश्व स्वास्थ्य संगठन, रेडक्रस, यूएसआईडीलगायत सरोकारवालासँग विभिन्न चरणमा छलफल भइरहेको बताउँछन्। तर, छलफल मात्रले डेंगु नियन्त्रण हुनुसाटो बढिरहेको छ।

डेंगु नियन्त्रणकै लागि भन्दै मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा डेढ हप्ताअघि उच्च स्तरीय बैठक पनि बसेको थियो। त्यो बैठकले चार बुँदे निर्णय गर्यो। तर, निर्णयको प्रभावकारिता देखिएन।

दुई हप्ताअघि नै डेंगु संक्रमण चरम उत्कर्षमा पुगेर नियन्त्रण बाहिर गएकाले ‘राष्ट्रिय स्वास्थ्य आपत्काल’ घोषणा गर्नुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले सुझाव दिएका थिए। 

तर, महाशाखाका निर्देशक डा. चुमनलाल दास भने ‘स्वास्थ्य आपत्काल’, ‘स्वास्थ्य संकटकाल’ लगाउने सवालमा अहिले केही नसोचेको बताउँछन्। विज्ञहरूबाट आपत्काल वा संकटकाल लगाउने विषयमा सल्लाह नआएको उनको भनाइ छ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी पनि स्वास्थ्य संकटकाल वा आपत्काल लगाउने विषयमा आफूलाई जानकारी नभएको बताउँछन्। ‘त्यस्तो निर्णय मेरो जानकारीमा छैन’, उनले भने।

नेपालमा २०७८ पुस १७ (सन् २०२२, १ जनवरी) देखि असोज ४ गते (२० सेप्टेम्बर) सम्ममा डेंगु संक्रमणका कारण २४ जनाको मृत्यु भइसकेको महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालले जानकारी दिए।

संक्रमणले उग्र रूप लिँदै
२०७८ पुस १७ देखि असोज ४ सम्ममा १९ हजार २३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ। जबकि भदौ १५ (३१ अगष्ट)सम्म डेंगु संक्रमितको संख्या तीन हजार ७०८ मात्र थियो। 

भदौ १६ (१ सेप्टेम्बर)देखि असोज ४ (२० सेप्टेम्बर) सम्म २० दिनमा १० हजार ७२२ थपिए। त्यसअघि असार १५ (३१, जुलाई)सम्म डेंगु संक्रमितको संख्या ७२० मात्रै थियो।

यसबाट डेंगु संक्रमण तीव्र गतिमा बढिरहेको र यत्तिका समय पाउँदा पनि नियन्त्रणमा सरकार चुकेको पुष्टि हुन्छ।

महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. दाहाल कात्तिकसम्म अझै डेंगु संक्रमण फैलने बताउँछन्। उनले भने,‘कात्तिकको मसान्तसम्म जोखिममा छौं।’

सबैभन्दा बढी काठमाडौं जिल्लामा डेंगु संक्रमण देखिएको छ। काठमाडौंमा संक्रमितको संख्या पाँच हजार १३१ पुगेको छ। ललितपुरमा पाँच हजार १०४ छन् भने भक्तपुरमा ७१३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। मकवानपुरमा एक हजार ८२९, दाङमा एक हजार १८० र रुपन्देहीमा ६७९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ।

त्यसैगरी प्रदेश नम्बर–१ मा ५७९, मधेश प्रदेशमा २९४, बागमती प्रदेशमा सबैभन्दा बढी १४ हजार १५३ डेंगु संक्रमित फेला परेका छन्।गण्डकी प्रदेशमा ४५०, लुम्बीनी प्रदेशमा दुई हजार ६८३, कर्णाली प्रदेशमा २०८ र सुदूरपश्चिम प्रदेशमा ६५६ जनामा डेंगु संक्रमण पुष्टि भएको महाशाखाको तथ्यांकमा उल्लेख छ।

ललितपुरमा भेक्टर सर्भिलेन्स सकियो, अब काठमाडौंमा हुने
डा. दास अस्पतालमा बिरामीको चाप भए पनि बेड नै नपाउने अवस्था भने नरहेको बताउँछन्। त्यसैगरी २९० जना चिकित्सकलाई डेंगुको उपचार लगायतका लागि तालिम पनि दिइएको उनले बताए।

आज बिहीबार ललितपुर र भक्तपुरका मेयर तथा स्वास्थ्यका निकायसँग छलफल गर्ने योजना रहेको महाशाखाका निर्देशक डा. दासले जानकारी दिए। प्रभावकारी रूपमा लामखुट्टेको लार्भा नष्ट गर्नका लागि 'सर्च एण्ड डेस्ट्रोय' र जनचेतनात्मक कार्यक्रमका लागि स्थानीय तहलाई भनिरहेको पनि उनले जानकारी दिए।

दासले 'भेक्टर सर्भिलेन्स' र 'सर्च एण्ड डेस्ट्रोय' सँगसँगै गरिरहेको दावी गरेका छन्। उनले भने, ‘भेक्टर सर्भिलेन्स ललितपुरको सकेर काठमाडौं छिरेको छ।’ 

ललितपुरको चार वटा वडामा भेक्टर सर्भिलेन्स गरेको उनले जानकारी दिए। निर्देशक डा. दासका अनुसार लामखुट्टे ट्रयाप गरेर भेक्टर सर्भिलेन्स अध्ययन भइरहेको छ। कुन–कुन प्रकारको डेंगु छ भनेर सिरोटाइपिङ सभिलेन्स पनि भइरहेको उनले जानकारी दिए।

‘फगिंङ' (विषदीको धुँवा) छिट्न डेंगु नियन्त्रणको पहिलो नम्बरको व्यवस्थापनको विषय नभएकाले यसको विषयमा फाइलअगाडि बढेको र केही दिनमा नै निर्क्यौलमा पुग्ने डा. दासले जानकारी दिए। 

‘सर्च एण्ड डेस्ट्रोय’ विधि अपनाएर लामखुट्टेको अण्डा नष्ट गर्ने र पानी जम्न नदिने विधि अपनाउनु प्रभावकारी हुने चिकित्सक बताउँछन्। 

लामखुट्टेको टोकाइबाट बच्नु नै डेंगु संक्रमणको उत्तम उपाय हो। त्यसैले झुल लगाएर सुत्न तथा पूरा बाउला भएको कपडा लगाएर हिँड्न चिकित्सकको सुझाव छ। 

डेंगु संक्रमण भएको खण्डमा डेंगु संक्रमणविरुद्ध प्रयोग गर्ने विशेष औषधि नभएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन्। 

त्यसैले लक्षणको आधारमा संक्रमितको उपचार हुने उनले जानकारी दिए। चिकित्सकको मतअनुसार जस्तो लक्षण देखियो त्यहीअनुसारको उपचार विधि अपनाइन्छ।

६ असोज, २०७९, १२:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।