गम्भीर लापरवाही: हस्तान्तरण नहुँदै भासियो बुटवलको कालिका पथको फुटपाथ, कतै बनेकै छैन

गम्भीर लापरवाही: हस्तान्तरण नहुँदै भासियो बुटवलको कालिका पथको फुटपाथ, कतै बनेकै छैन

बुटवल: बुटवल उपमहानगरपालिकाको आन्तरिक बाइपास सडकको रूपमा निर्माण गरिएको कालिका पथको फुटपाथ निर्माणमा गम्भीर लापरवाही भएको पाइएको छ। ठेकेदार कम्पनीको लापरवाहीका कारण फुटपाथ विभिन्न स्थानमा भासिएको छ। कतिपय स्थानमा त फुटपाथ नै बनाइएको छैन।

२०७६ सालमा सडक किनारका अवरोध हटाएर निर्माण सुरु गरिएको सडकको फुटपाथ सडक हस्तान्तरण नहुँदै बिग्रन थालेको हो।

हाल सडक निर्माणको काम जारी छ। तर सरोकारवाला निकायबाट अनुगमन भएको छैन। नियमन गर्ने निकायले खुला छोडेपछि होराइजन चोकदेखि इँटाभट्टी क्षेत्रसम्म दायाँ बायाँको फुटपाथ बिग्रिएको हो।

गुनासो बढेपछि एमालेको अनुगमन
सडक र फुटपाथ निर्माणमा निर्माण व्यवसायीले लापरवाही गरी कमसल सामग्रीको प्रयोग गर्ने गरेको गुनासो बढेपछि नेकपा एमाले क्षेत्रीय कमिटीले चासो देखाएको छ। संघीय र प्रदेश सरकारको सहकार्यमा निर्माण भएको सडकको फुटपाथ निर्माणमा चरम लापरवाही भएका कारण त्यसलाई रोक्न तथा सुधार गर्न दबाब दिने उदेश्यले अनुगमन थालिएको नेकपा एमाले क्षेत्र नं २ का संयोजक बाबुराम पन्थीले बताए।

लुम्बिनी प्रदेश सभामा रुपन्देही क्षेत्र नं २ (क) का निर्वतमान सदस्य समेत रहेका पूर्वमन्त्री लीला गिरीको नेतृत्त्वमा भएको अनुगमनमा स्थानीयले फुटपाथ निर्माणका क्रममा निर्माण व्यवसायीलाई आफूहरूले सुधार गर्न आग्रह गर्दा पनि बेवास्ता गरी कमसल सामाग्रीको प्रयोग गर्ने गरेको गुनासो गरेका थिए।

विसं. २०५४ सालमा कालिका पथलाई ८२ फुटको कायम गर्नेगरी मापदण्ड बनाइएको थियो। केहीले सडक विस्तारका काममा अवरोध सिर्जना गरेपछि योजनामा परेको सडक विस्तार ढिलोगरी मात्रै सुरु भएको थियो।

अनुगमनका क्रममा फुटपाथमा प्रयोग गरिएका सामग्री कमसल खालका पाइएको, सडकको मापदण्डअनुसार निर्माण नगरिएको, खण्डखण्ड काम गरेर अलपत्र पारिएको अवस्था भेटिएको नेकपा एमाले पोलिटब्युरो सदस्य समेत रहेका पूर्वमन्त्री गिरीले बताए। 

बुटवल उपमहानगरका कार्यवाहक प्रमुख सावित्रादेवी अर्यालले कालिका पथको निर्माणमा स्थानीयले गरेको गुनासोअनुसारकै कमीकमजोरी निर्माण व्यवसायीबाट भएको पाइएकोले नगरपालिका, निर्माण व्यवसायी, शहरी विकास कार्यालय र सडक पूर्वाधार विकास कार्यालयका बीचमा बैठक बसी मापदण्डअनुसार काम सम्पन्न गर्न निर्देशन दिइने बताइन्।

विसं. २०५४ सालमा कालिका पथलाई ८२ फुटको कायम गर्नेगरी मापदण्ड बनाइएको थियो। केहीले सडक विस्तारका काममा अवरोध सिर्जना गरेपछि योजनामा परेको सडक विस्तार ढिलोगरी मात्रै सुरु भएको थियो।

एक अर्बको सडक, अतिक्रमण हटाए पनि सुरु भएन निर्माण

होराइजन चोकदेखि अहिले इँटाभट्टीसम्म सडक कालोपत्रे भइसकेको छ। यस्तै होराइजन चोकदेखि योगिकुटीसम्म र इँटाभट्टीदेखि कृषि थोक बजारसम्म भने सडक निर्माणको काम जारी छ। कालिका पथको सडकको नाली, फुटपाथ र सडकको अलग अलग भाग तथा तीनकुने, होराइजन चोक र योगिकुटी गरी अलग अलग खण्डमा निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

तीन वर्षमा सम्पन्न गर्नेगरी निर्माण प्रक्रिया अगाडि बढाइएको उक्त सडकको होराइजन चोकदेखि दक्षिणतर्फको खण्डमा सडक किनाराको अतिक्रमण हटाइए पनि अझै काम सुरु हुन सकेको छैन।

बुटवलको पुरानो बसपार्क भनेर चिनिने कृषि उपज केन्द्र परिसरदेखि योगिकुटीसम्मको भित्री सडकलाई ८२ फुटको कायम गर्दै नमूना मार्ग बनाउने गरी बुटवल उपमहानगरपालिकाको योजनाअनुसार २०७६ सालमा अगाडि बढाइएको यो सडकको निर्माण कार्य लुम्बिनी प्रदेश सरकार मातहतको पूर्वाधार कार्यालयले गरिरहेको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा यो सडक विस्तारको काम सम्पन्न गर्न तीन वर्ष लाग्ने र झण्डै एक अर्ब खर्च हुने उल्लेख छ।

तीन वर्षमा सम्पन्न गर्नेगरी निर्माण प्रक्रिया अगाडि बढाइएको उक्त सडकको होराइजन चोकदेखि दक्षिणतर्फको खण्डमा सडक किनाराको अतिक्रमण हटाइए पनि अझै काम सुरु हुन सकेको छैन।

कालिकापथको होराइजन चोकबाट उत्तरतर्फको खण्ड निर्माणका लागि सडक निर्माण कार्य बिरुवा कालिगण्डकी जेभीले १५ करोड ९० लाखमा र सोही खण्डको फुटपाथ तथा नाली निर्माणका लागि एमकेएसके पर्वतीय जेभीले चार करोड ५६ लाखमा निर्माण गर्नेगरी ठेक्का सम्झौता गरेका थिए।

६ असोज, २०७९, ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।