कपनको अक्सिजन सिलिन्डर राखेको कोठामा आगो लाग्दा तीन जनाको मृत्यु

काठमाडौँ : कपनको एक घरमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। बुढानीलकण्ठ नगरपालिकाको राम मन्दिर नजिकको एक घरको भुईतलामा रहेको अक्सिजन भरिएको सिलिन्डर रहेको कोठामा आगो लागेको थियो।
सो घर ट्रेकिङ एजेन्सी सञ्चालकको रहेको बताइएको छ। अक्सिजन सिलिन्डर पड्किएर आगलागी सुरु भएको थियो। आगलागीबाट भुइतलाको अन्य कोठामा डेरामा बस्ने तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा २ महिला र एक पुरुष रहेको बताइएको छ। उनीहरूको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ। सशस्त्र प्रहरी, नेपाल प्रहरी सहितको टोलीले दमकल प्रयोग गरेर आगलागी नियन्त्रणमा लिइसकेका छन्। सिलिन्डर पड्कँदा घर क्षतिग्रस्त भएको छ।
५ असोज, २०७९, ००:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।