शीतल निवासमा राष्ट्रपतिको रमिता, सडकमा युवाको

शीतल निवासमा राष्ट्रपतिको रमिता, सडकमा युवाको

काठमाडौँ : प्रतिनिधि सभा र राष्ट्रिय सभाले दोस्रो पटक पारित गरेर पठाएको विधेयक १५ दिनभित्र जस्ताकोत्यस्तै लागु गर्नुपर्ने संवैधानिक प्रावधान कुल्चँदै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दै आफैँ पार्टीगत स्वार्थमा सक्रिय भएपछि उनको पक्ष र विपक्षमा बुधवार नारा लागे सडकमा।

उनको पक्षमा नागरिकता विधेयक राष्ट्रघाती भएको भन्दै एक युवा समूह सडकमा उत्रियो। यसको नेतृत्व एमाले निकट युवा सङ्घ नेपालले गरेको थियो। अर्को युवाहरूको समूह संवैधानिक सर्वोच्चता कायम गर्ने माग राख्दै सडकमा उत्रिएनन् मात्र उनीहरूले भण्डारीको पुतला बनाएरै जलाए। प्रहरीले हस्तक्षेप गर्यो।

यसको नेतृत्व गरेका थिए माओवादी केन्द्र निकट अनेरास्वियु क्रान्तिकारीले।

संवैधानिक व्यवस्था बाहिर गएर बाध्यकारी प्रावधानलाई भण्डारीले अस्वीकार गरेपछि बसेको सत्ता घटकका पाँचमध्ये चार दलले संयुक्त विज्ञप्ति निकाले उनको कदम गैर संवैधानिक भएको भनिसक्यो। त्यसमा प्रधानमन्त्री समेत रहेका शेरबहादुर देउवाले नेपाली कांग्रेसको पार्टी सभापतिको हैसियतमा हस्ताक्षर गरेका छन्।

नागरिकता विधेयकमा एमालेको असहमति भए पनि बहुमतले दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पहिलो पटक पठाउँदा १४ दिन रोकेर १५ दिन भण्डारीले संवैधानिक प्रावधान अनुसार आफ्नो सुझाव सहित दुवै सदनमा फिर्ता पठाएकी थिइन्। संवैधानिक प्रावधान अनुसार फर्किएको विधेयक जस्ताकोत्यस्तै दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा फर्किएको थियो।

संवैधानिक प्रावधान अनुसार यसरी दोस्रो पटक आएको विधेयक रोक्ने अधिकार राष्ट्रपतिमा छैन। १५ दिनभित्र विधेयक जारी गर्नैपर्ने बाध्यकारी संवैधानिक प्रावधान मिच्दै 'अहिले संसद् नरहेको' बहानामा राष्ट्रपति कार्यालयबाट मङ्गलवार मध्यरात १२ बजेभित्र जारी हुनुपर्ने विधेयक जारी भएन। यसले राजनीतिक तरङ ल्याउने नै भयो।

युवाहरू आफ्नो पार्टीको लाइन अनुसार पक्ष र विपक्षमा सडकमा उत्रिए। राजनीतिक दृश्य जसरी बदलिँदै गइरहेको छ यसले सडकमा केही दिन यस्ता दृश्यहरू दोहोरिने देखिन्छ। शीतल निवासमा राष्ट्रपतिले देखाएको असंवैधानिक रमिता विरुद्ध पक्ष-विपक्षमा युवाहरूले देखाउने रमिताका दृश्य जारी रहने देखिन्छ।

५ असोज, २०७९, १७:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।