जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट  किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमा

जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट  किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमा

काठमाडौँ : भारतीय जाली नोटको कारोबारमा इल्ताफ हुसेन अन्सारी समूहका लागि सुटरको काम गर्दै आएका लाल मोहम्मद सोमबार बेलुका उसैगरी मारिए जसरी उनले २०६४ मा अनामनगर धोबिखोलामा बलराम पतुवारलाई मारेका थिए।

सोमबार बेलुका काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा आफ्नै घर अगाडि गाडी रोकेर ओर्लिए लगत्तै उनलाई लखेटी-लखेटी गोली हानियो। घटनामा घाइते भएका उनलाई उपचारका लागि शिक्षण अस्पताल पूर्याए पनि बाँच्न सकेनन्।

बारा जिल्लाको नक्कली भारतीय रुपैयाँको कारोबारमा धेरै जोडिने जिल्ला। युनुस अन्सारी, इल्ताफ हुसेन अन्सारी बारामै। अनि मोहम्मद पनि त्यहीका हुन्।

नेपालमा जाली भारतीय रुपैयाँको कारोबार आकासिएको बेलामा मोहम्मद इल्ताफ समूहमा रहेर काम गर्दै आएका थिए। बाराकै बलराम पतुवारले आफ्नै समूह बनाएर जाली भारतीय रुपैयाँको कारोबार सुरु गरेपछि इल्ताफले मोहम्मदसँगै पप्पु गुप्तालाई प्रयोग गरेर हत्या गराएका थिए।

पतुवारको हत्या अभियोगमा तीनै जना पक्राउ परे। पछि इल्ताफले सफाइ पाए। मोहम्मद दोषी ठहर भएर जेल परे। जन्मकैदको फैसला भएका उनी नौ वर्ष कारागारमा बसेर रिहा भएका थिए।

उनी रिहा भएपछि गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वर्ल्ड बेस्ट गार्मेन्ट’ चलाएर बसेका थिए। उनी सोमबार जोरपाटी गएर गार्मेन्टको कपडा प्याक गर्ने प्लाष्टिक लिएर घर फर्कदैगर्दा उनीमाथि बाटैमा गोली हानिएको थियो।

सार्प सुटरको प्रयोग

घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घटनाको प्रकृति अनुसार अनुभवी सुटरले गोली हानेको देखिएको बताउँछन्। 'घटनामा तीन जना संलग्न रहेको देखिएको छ। मोटरसाइकलमा बसेकाले हल्का रोके लगत्तै गोली हानेको र अर्को एक व्यक्तिले लखेटी-लखेटी गोली हानेका थिए' अनुसन्धानमा संलग्न ती प्रहरी अधिकारीले भने।

घटनामा तराइमुलका ब्यक्ती संलग्न देखिएका छन्। यस्ता अधिकांश घटनामा भारतीय सुटरहरु प्रयोग हुने गरेकाले प्रहरीले काठमाडौँबाट बाहिरिने सबै नाकामा कडाइ गरेर सुटरहरुको खोजी गरिरहेको छ।

'अहिले हाम्रो प्राथमिकता घटनामा संलग्न रहेकाहरू भाग्न नसक्नु भन्ने हो, काठमाडौँका एसपी दिनेश मैनालीले भने' त्यही अनुसार नाकामा कडाइ गरेर शङ्कास्पद क्षेत्रमा खोजी भइरहेको छ।'

 नाइके इल्ताफ नक्खुमा

लाल मोहम्मदलाई परिचालन गर्ने इल्ताफ अन्सारी अहिले नक्खु कारागारमा छन्। २०६८ असार २८ मा ललितपुरमा फेला परेको ५४ लाख ९५ हजार नक्कली भारतीय रुपैयाँमा उनी जोडिएका थिए।

जाली भारु कारोबारमा उनलाई समेत कैद सजाय भए पनि उनले आफू इल्ताफ अन्सारी नभएको भन्दै जोगिँदै आएका थिए। उनी आठ वर्ष अगाडि पक्राउ परेर रिहा भए। पछिल्लो समय उनी चाँदी तस्करीको अभियोगमा जेलमा छन्।

पछिल्लो समय इल्ताफ र युनुस अन्सारी मिलेर काम गर्ने गरेको खुलेको थियो। भारतले पुरानो नोटलाई निष्क्रिय बनाएर नयाँ नोट प्रयोगमा ल्याएपछि भने जाली भारतीय रुपैंयाको कारोबार ठप्पै भएको थियो।

यो धन्दामा जोडिएका अधिकांश मारिए। जो बाँचे ती जेल पुगे। जाली भारतीय रुपैयाँको कारोबार सेलाएसँगै नेपालमा शङ्कास्पद सुट आउट पनि रोकिएको थियो। मोहम्मदको हत्याले पुन सुटर समूह सक्रिय भएको र प्रतिस्पर्धी समूहबिच ग्याङवार सुरु भएको देखियो।

पुरानै हत्या शृङ्खला निरन्तरता

एक समय भारतीय जाली नोटको कारोबारीको रूपमा चर्चामा आउनेहरू शृङ्खलाबद्ध रूपमा मारिए। अब्दुल मजिद मनिहार, महमुद आलम, जमिम शाह, फैजान अहमद मारिए। केन्द्रीय कारागारमा रहेका बेलामा युनुसु अन्सारीको हत्या प्रयास भयो।

२०७५ मा मारिएका खुर्सीद आलम अन्सारीको हत्याको कनेक्सन पनि भारतसँग जोडिन पुग्यो। मौलाना समेत रहेका उनीमाथि पाकिस्तानी मुस्लिम लडाकुलाई आश्रय दिएको आरोप लाग्दै आएको थियो। त्यसयता अन्तर्राष्ट्रिय समूह संलग्न देखिएको हत्या रोकिएको थियो।

कारागार बाहिर बस्दा सुरक्षा खतरा बढेपछि नाटकीय रूपमा युनुस अन्सारी जाली भारुसहित समातिने गरेका छन्। पछिल्लो समय उनी विमानस्थलमा सात करोड बढी जाली भारु सहित समातिएका थिए। उनले बोकेको सुटकेसमा जाली भारु फेला परेको थियो।

अर्का लिस्टेड इल्ताफ पनि कारागारमै छन्। सेखसफी अहमद जाली भारु कारोबारको कैद सजाय काटेर बाहिर छन्। जाली भारु र भारत विरोधी गतिविधिमा संलग्न रहेको आरोपीमध्ये मोहम्मद सोमबार मारिए।

अहिले जाली भारतीय रुपैंयाको कारोबारको समस्या देखिएको छैन। तर भारत विरोधी गतिविधिमा संलग्नहरूलाई सेल्टर दिएको आरोपहरू अझैँ लाग्ने गरेका छन् नै। अझ इन्डियन मुज्जाहिद्दिनका कमान्डर यासिन भट्कल पोखरामा लुकेर बसेको अवस्थामा फेला परेपछि भारतीय सुरक्षा निकाय थप सक्रिय भएको थियो।

यसले सोमबारको घटना पनि जाली भारतीय कारोबारको जालो र भारत विरोधी गितिविधीसँग जोडिन सक्ने बताउँछन् नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल। युनुस अन्सारीलाई जेलमै गएर गोली हान्ने प्रयास गर्दा समातिएका मनमित सिंह भाटियाबारे मल्लकै नेतृत्वमा अनुसन्धान भएको थियो।

पुराना घटनाको अनुसन्धानमा सबै आपराधिक पृष्ठभूमिका व्यक्तिहरू संलग्न देखिए पनि उनीहरूको कनेक्सन भारतको जेलमा रहेका बब्लु श्रीवास्तवसँग जोडिएको थियो। नेपालमा बसेर भारत विरोधी गतिविधिमा संलग्नहरूको सफाया गर्न बब्लुमार्फत उनको समूहका सदस्यहरूलाई भारतीय खुफिया एजेन्सीले नेपालमा परिचालन गरेर हत्या गराउने गरेको यस अगाडिका अनुसन्धानमा खुलेकाले मोहम्मदको हत्यालाई पनि यही शृङ्खलासँग जोडेर अनुसन्धान गर्नुपर्ने अनुभवी प्रहरी अधिकारी सुझाव दिन्छन्।

पुराना घटनाको प्रकृती हेर्दा सोमबारको घटनासँग मिल्छन् पनि। जस्तो लाजिम्पाटमा जमिम शाह मारिदा उनी होटलबाट गाडिमा घरतिर फर्कदैगर्दा जाममा गाडि रोकिएको बेला मोटरसाइकलबाट पच्छ्याउँदै आएकाले गोली हानेर भागेका थिए। मजिद मनिहारको हत्यामा पनि मोटरसाइकलकै प्रयोग भएको थियो। २०७५ मा खुर्सिद आलमको हत्यामा पनि यस्तै शैली अपनाइएको थियो।

'टाउकोमा ताकेर गोली हान्ने आपराधिक कार्य प्रणाली भारतीय अपराधिकै हो। सोमबारको घटनामा पनि टाउकैमा ताकेर हानेको देखियो,' मल्लले भने' यसको प्रकृति पुराना घटनासँग मिलेकाले एक व्यक्तिको हत्याको रूपमा नभई पुराना हत्या घटनासँग जोडेर यसको अनुसन्धान हुनुपर्ने देखिन्छ।'

४ असोज, २०७९, १६:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।