उकेरा कोलम

सौतेनी बाबु सम्झँदा आँशुले डिल भरियो पूर्णको

‘मसँग अहिले भएको पैसा पहिला भएको भए मेरो बाल्यकाल नराम्रो हुने थिएन होला। आफूसँग पैसा भएपछि सबै कुरा सुधारिँदै जाने रहेछ’


३३ वर्षको उमेरमै सशस्त्र प्रहरी बलबाट अवकाश पाए पूर्ण बहादुर तामाङ(योञ्जन)ले। १६ वर्ष सशस्त्रको सांस्कृतीक विभागमा काम गरेर अवकाश लिए उनले। सशस्त्रमा काम गर्दा नै उनले कमाइको अर्को बाटो बनाउने प्रयास शुरु गरेका थिए किराना पसलबाट।

साग बेच्न किराना पसल थापेका उनको पसलमा अहिले करिब ३० लाख बराबरको सामान छ। तर यो उपलब्धीको कारण भने सुरक्षा संगठनका काम गर्दा सिकेको तालिम, काम र अनुशासनै भएको उनको धारणा छ।

पहिला शुरु गरेको र किराना सामानै हो। पछि तरकारी अनी फलफूल थपे। सकेसम्म जे खोज्न आए पनि ग्राहकलाई छैन भन्नु नपरोस् भनेर चाहिनेजति सबै सामान राख्ने प्रयास गरे। उनको आइडियाले काम गर्‍यो। त्यो पसलमा त जे पनि पाइन्छ भन्ने भएपछि ग्राहक उनकैमा आउन थाले। पसल पुरानो र परिचितहुँदै गयो। उनको ब्यापारको गति पनि बढ्यो।

‘दिनमा ३०-४० हजार  हुन्छ,’ उनले भने, ‘यसलाई व्यापार नभएको भन्न मिलेन। मेरो लागि त एकदमै ठूलो हो।’

जसरी सशस्त्रमा हुँदा उनले पसललाई साइड जब बनाएका थिए पसलहुँदा पनि साइड जब बनाउन छाडेका छैनन्। जग्गा कारोबार अर्को पेशा रहेछ उनको। पसलबाट फुर्सद मिल्दा अनी ग्राहक पाउँदा जग्गा खोज्न उपत्यकाका कुनाकाप्चा पुग्ने रहेछन् उनी। जग्गा खोज्ने ग्राहकले मन पराए राम्रै कमिसन आउनले भएपछि को चुप बस्छ र। खाली समय न हो प्रयोग हुने।

‘यसबाट अलि–अलि कमिसन आउँछ, फुर्सद भयो भने किन बस्ने त!’ उनी भन्छन्, ‘दलाली काम गरेर पैसा कमायो पनि भन्छन् तर मेरो दुःख मैलाई थाहा छ।’

३८ वर्षीय पूर्णको स्वभाव फौजी छने। कडा मिजासका पनि छैनन् उनी। कमैले मात्र उनी पूर्व प्रहरी पनि हुन् भन्ने ठम्याउन सक्छन्।

‘मलाई धेरैले दलाल र साहुजी नै भन्छन्न्,’ उनी भन्छन्, ‘१६ वर्ष ३ महिना ११ दिन सशस्त्र प्रहरीमा काम गरेको केहि आफन्त र साथीलाई मात्र थाहा छ।’

५९ सालमा सशस्त्रमा होमिएका उनले कार्यकालभर सांस्कृतिक विभागमा काम गरे अनि वरिष्ठ हवल्दार भएर अवकाश पाए। अहिले पेन्सन आउँछ। तर, अवकाश भएपछि पाएको एक रूपैयाँ खर्च गर्नु नपरेको उनले बताए। पसलकै आम्दानीले खर्च धानिएको छ उनको परिवारको।

नाटक गर्दागर्दै प्रहरीमा

अहिलेको जीवन सहज भए पनि तामाङको बाल्यकाल भने पीडादायी रहेछ। काठमाडौंमै जन्मिए पनि उनले दुखै पाए। बुढानिलकण्ठ–९ मा जन्मिएका तामाङकी आमा अर्कैसँग आएपछि बाल्यकालबाटै दुख शुरु भयो उनको। सौतेनी बुवाले गरेको हेला सम्झँदा अहिले पनि उनको आखाको डिल भरिए।

‘मेरो बुवा आफ्नो बुवा होइन, मम्मी अरुसँग आउनुभएको,’ उनी सम्झिन्छन्, ‘त्यस्तो हुँदा अर्काको छोरा भन्ने भयो अनि हेपाइ झेल्नुपर्‍यो।’

उनलाई याद भएसम्म उनले आफ्नो बुवालाई कहिल्यै भेट्न पाएनन्। खाना पनि राम्रोसँग खान पाएनन्। सौतेन बुवापट्टीको अगाडि नै एउटा दाई थिए। छोराको माया पाउन नसकेको बताए उनले।

घरमा आर्थिक अवस्थासँगै पारिवारिक सम्बन्धमा समेत दरार आइरहँदा उनको बाल्य मनस्थितिमा त्यसको असर पर्ने नै भयो। नजिकैको सरकारी स्कुलमा भर्ना त भए। तर, सात कक्षा भन्दा माथि पढ्न सकेनन्।

उनी घर बाहिरै रमाउन थाले। साथीहरूको संगतले काम पनि गर्न थाले त्यो पनि रंगीन दुनियाँमा। उनी ब्याकग्राउन्ड डान्सर बने, थियटरमा नाटक गरे।

आफ्नो लयमा कलाकारिता चलिरहेकै थियो। द्वन्द्वकाल थियो। छिमेकीले प्रहरीमा भर्ना खुलेको सुनाए। तामाङले उनको सुझाव पछ्याए। आवेदन दिए। तालिम गरे र नाम पनि निकाले। २०५९ सालमा प्रहरीमा नाम निस्कँदा उनको उमेर १८ वर्ष मात्र थियो।

प्रहरीको जागिर

पूर्णको जागिर सशस्त्रको पनि सांस्कृतिक विभागमा भयो। आमाबाट छुट्टिनुपर्दाको पीडा त हुने भइहाल्यो। पहिलोपटक राम्रोसँग र समयमै खाना खान पाउँदा आनन्द लाग्यो। घरमा एक्लो महसुस गर्ने उनले त्यहाँ साथीहरू भेटे।

तालिम बाहेक अरू काम सबै अगाडि देखिनै गरिआएकै थिए। त्यहि भएर पनि होला त्यहाँको काम त्यति असहज लागेन उनलाई। सुरु–सुरुमा हाकिम रिझाउन गर्नुपरेको अनेक काम भने उनलाई मन परेन।

‘सुरुका दिनहरूमा अफिसरहरूलाई रिझाउनुपर्थ्यो, उनीहरूको भाँडा माझिदिने कपडा धोइदिने लगायतका सबै काम गर्नुपर्थ्यो।’

पछि भने उनले भेषभुषा शाखाको नेतृत्त्व गर्दै अफिसका कामहरू गरे अनि कार्यक्रमहरूमा नृत्य पनि। पहिलोपटक २७ सय तलब थापेको दिन उनी कहिल्यै बिर्सदैनन्।

श्रीमतीको लागि भनेर खोलिएको पसल

प्रहरीमा भर्ति भएको तीन वर्षपछि पूर्णले विवाह गरे। श्रीमती पनि कलाकार। उनी कार्यक्रममा नृत्य सिकाउनुका साथै अतिथि कलाकारको रूपमा नृत्य पनि गर्थिन्। त्यसरी भेट्दा–भेट्दै उनीहरूबीच माया बस्यो अनि विवाह भयो।

तर, विवाहको केहि वर्षपछि बच्चाको सुर भएपछि श्रीमतीले सबै काम छोडिदिइन्। त्यसपछि पूर्णलाई पसल खोल्ने सोच आयो। श्रीमतीको लागि भनेर खोलिएको पसलमा भ्याउँदा उनले पनि सघाउन थाले।

‘ठूलो कार्यक्रम भनेको वर्षमा दुई वा तीनपटक मात्र हुन्थ्यो, विभिन्न कार्यक्रममा भीआइपी पाहुनाहरू आउँदा हामी अलि बढि व्यस्त हुन्थ्यौं,’ पूर्ण भन्छन्, ‘सांसकृतिक विभागमा व्यारेकमै बस्ने, ड्युटी गर्ने भन्ने हुन्दैनथ्यो, त्यहि भएर पनि घरमा समय दिन पाउथेँ।’

पैसा कमाएसँगै सुधारिएका सम्बन्धहरू

पसलबाट भएको आम्दानीले नै उनीहरूलाई पुगिरहेको छ। अवकास हुने समयसम्म उनको पसल टोलमा स्थापित भइसकेको थियो। अहिले अवकास भएको पनि ६ वर्ष हुन लाग्यो।

‘विभागलाई दिने सेवासुविधा सकिएपछि बाहिरको जिन्दगीमा पनि भिजौं भनेर मैले पनि व्यापारलाई नै निरन्तरता दिएँ,’ उनी भन्छन्, ‘ग्राहकलाई कसरी सम्हाल्ने, व्यापार कसरी गर्ने भन्नेबारे गर्दै जाँदा सिकेँ।’

मिठो खान र राम्रो लाउन चाडबाड कुर्नुपर्ने अवस्थाबाट अहिलेको अवस्थामा आउनका लागि संघर्ष नै पहिलो कुरा भएको उनी बताउँछन्। पहिला आफूलाई हेलाँ गर्नेहरूले अहिले प्रशंशा गर्दा उनी दङ्ग पर्छन्। काठमाडौंमा उनी घर पनि बनाउँदैछन्।

दुई छोराका पिता पूर्णको कलाकार बन्ने इच्छा भने व्यस्तता र व्यवहारका कारण दबिसक्यो। तर, बेला–बेला आफूभित्रको कलाकारितालाई बाहिर आउन दिन्छन् उनी। पारिवारिक कार्यक्रममा दिल खोलेर नाच्छन्।

विदेश जाने सोच नबनाएका पूर्ण अहिले भन्दा बढी आम्दानी हुने व्यापार गर्ने सोचमा छन्। आर्थिक अवस्था सुध्रिँदै गएपछि पारिवारिक सम्बन्ध पनि सुधारिँदै गएको छ।

‘मसँग अहिले भएको पैसा पहिला भएको भए मेरो बाल्यकाल नराम्रो हुने थिएन होला,’ उनी भन्छन्, ‘आफूसँग पैसा भएपछि सबै कुरा सुधारिँदै जाने रहेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्‍यो'

यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो....

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन।....

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्, घरमै फर्केर छोरी पाँए

OOO मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ। मेरो जन्म कृषक परिवारमा भएको....

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....