चितवनमा जापनिज इन्सेफ्लाइटिसबाट थप एक जनाको मृत्यु, सङ्क्रमित पनि थपिए

चितवनमा जापनिज इन्सेफ्लाइटिसबाट थप एक जनाको मृत्यु, सङ्क्रमित पनि थपिए

चितवन: जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण थप एक जनाको मृत्यु भएको छ। यस्तै एक जना सङ्क्रमित पनि थपिएका छन्।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२२ की ५२ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। ती महिलालाई सङ्क्रमितको सूचीमा रहेपछि खोजीका क्रममा यसअघि नै मृत्यु भएको ढिला गरी थाहा भएको हो।

स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईँका अनुसार योसँगै जिल्लामा जापनिज इन्सेफ्लाइटिसका कारण मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ। यसअघि मृत्यु हुनेमा माडी नगरपालिका–१ चैनपुरकी ६० वर्षीया वृद्धा रहेकी थिइन्। चापागाईँका अनुसार हालसम्म जिल्लामा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका १० मध्ये दुई जनाको मृत्यु भएको हो।

पछिल्लो बिरामीको बारेमा सोधपुछ गर्दै जाँदा उनको भदौको ३ गते नै मृत्यु भएको जानकारी शनिबार प्राप्त भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ती बिरामीको नमूना भरतपुरको नारायणी सामुदायिक अस्पतालबाट पठाइएको उल्लेख छ।

अस्पतालको रेकर्डमा भने ती बिरामीको नाम नभएको कार्यालय प्रमुख चापागाईँले बताए। थप विवरणका लागि भरतपुर महानगरपालिकाको स्वास्थ्य महाशाखालाई भनिएको उनले जानकारी दिए। विस्तृत विवरण महानगरमार्फत आउने उनले बताए।

जिल्लामा हाल जापानिज इन्सेफ्लाइटिसको महामारी देखिएको छ। उनका अनुसार सङ्क्रमित एक जना थपिएका छन्। पछिल्लो थपिएका सङ्क्रमित माडी नगरपालिका वडा नम्बर ४ का ७४ वर्षीय वृद्ध रहेका छन्। बिरामीको बारेमा थप विवरणका लागि माडी नगरपालिकाको स्वास्थ्य शाखालाई भनिएको छ।

सुँगुर प्रजाति र हाँसलाई टोकेको लामखुट्टेले मानिसलाई टोकेमा रोग सर्ने गर्दछ। मानिसबाट मानिसमा यो रोग सर्दैन।

अहिले जिल्लामा ग्रामीण क्षेत्रमा यो रोग बढी देखिएको छ। यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, टाउको दुख्ने, बान्ता आउने, बेसुरको हुने, कहिलेकाहीँ बेहोस हुने, छारे रोगको झैँ शरीरमा कम्पन आउने उनले जानकारी दिए।

३ असोज, २०७९, ०९:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।