राष्ट्रपति भण्डारी र माधव नेपाललाई बालेनको कटाक्ष– ‘कुन मुख देखाएर जनतामाझ भोट माग्न जानुहुन्छ?’ 

राष्ट्रपति भण्डारी र माधव नेपाललाई बालेनको कटाक्ष– ‘कुन मुख देखाएर जनतामाझ भोट माग्न जानुहुन्छ?’ 

काठमाडौंः काठमाठौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई कुन मुख देखाएर जनतामाझ भोट माग्न जानुहुन्छ भन्दै प्रश्न गरेका छन्।

तीनकुनेको ५० वर्षदेखिको समस्या समाधान गर्न नसकेकोप्रति असन्तुष्टि प्रकट गर्दै उनले बारम्बार सम्झौता गरेर पनि समाधान गर्न नसकेको प्रति आक्रोश पोखेका हुन्। उनले आफू सरकारमा रहँदै दुई महिनाभित्र तीनकुनेको समस्या समाधान गर्न आग्रह गरेका छन्।

उनले लेखेका छन्, ‘आदरणीय माधवकुमार नेपालज्यू तथा समाननीय राष्ट्रपतिज्यू, प्रधानमन्त्री बन्नुभयो, राष्ट्रपति बन्नभुयो। आफ्नै क्षेत्र तिनकुनेको ५० वर्षदेखिको समस्या आफैँले हस्ताक्षर गरेर बारम्बार सम्झौता गरेर पनि समाधान गर्नुभएन। अब कुन मुख देखाएर जनतामाझ भोट माग्न जानुहुन्छ? अझै दुई महिना छ, सरकार तपाईंकै हो। समस्या समाधान होस् भन्ने आशा राखेको छु।’

२०३१ सालमा तत्कालीन पञ्चायत सरकारले स्मारक बनाउन भन्दै तीनकुने अधिग्रहण गर्ने निर्णय गरेको थियो। थोरै मुआब्जा दिएको भन्दै स्थानीयले जमिन छोड्न मानेनन्। त्यो विवाद पञ्चायतपछि आएको बहुदलमा पनि कायमै भयो।

तीनकुनेको जग्गाको मुआब्जा विवाद चाँडै टुंग्याउने आश्वासन दिँदै मदन भण्डारी, विद्यादेवी भण्डारी र माधवकुमार नेपालले काठमाडौं–१ बाट निर्वाचन जिते पनि त्यो समस्या अहिलेसम्म समाधान हुन सकेको छैन।

हरेक पटक भोट माग्न आउँदा तीनकुनेको विषय उठ्ने गरेको भए पनि त्यसपछि उक्त विषय हराउने गरेको छ। प्रत्येक निर्वाचनताका राजनीतिक दलका नेताहरू तीनकुनेको विवाद मिलाउने वाचा गरेको भए पनि वाचा चुनावका लागि मात्र हुने गरेको छ।

सरकारी पक्ष र स्थानीयबीचको विवाद भएको ४८ वर्ष नाघिसक्दा पनि  समस्या हुन सकेको छैन। पञ्चायतकालीन शासन व्यवस्थामा सुरु भएको यो विवाद प्रजातन्त्र र गणतन्त्रिक व्यवस्थासम्म आइपुग्दा टुंगोमा पुगेको छैन।

१ असोज, २०७९, १९:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।