डा. ऋतुको उपचार अनुभव : आफ्नै साथीलाई बेहोस बनाउँदा...

डा. ऋतुको उपचार अनुभव : आफ्नै साथीलाई बेहोस बनाउँदा...

काठमाडौंः एनेस्थेसियोलोजीष्ट डा. ऋतु प्रधानले हजारौं विरामीलाई एनेस्थेसिया दिइ बेहोस बनाएर ब्यूँताएकी छन्।

सामायन्तया आफ्नो परिवार तथा नजिकको नातेदारलाई चिकित्सकले शल्यक्रिया गर्ने र एनेस्थेसिया दिने चलन हुँदैन। तर, डा. ऋतुले पहिलो पटक आफ्नै नेतृत्त्वमा साथीलाई ऐनेस्थेसिया दिएकी छन्।

केही वर्ष अघिको प्रसङ्ग हो। डा. ऋतु परोपरकार प्रसुति तथा स्त्रीरोग अस्पताल (प्रसुति गृह)मा काम गरिरहेकी थिइन्। उनकी साथीलाई स्वास्थ्य समस्या निम्तिएर सुत्केरी गराउन प्रसूति गृह पुर्याइयो। ती साथी रेडियोलोजिष्ट चिकित्सक रहिछन्।

साथीको शल्यक्रिया गरी प्रसूति गराउनुपर्ने भयो। चिकित्सकको टिमले शल्यक्रियाका लागि तयारी गर्यो। सबै तयारीपछि शल्यक्रिया कक्षमा गर्भवतीलाई लगियो। डा. ऋतुले गर्भवती साथीलाई एनेस्थेसिया दिइन्। चिकित्सकको टिमले शल्यक्रिया गरीे गर्भमा रहेको शिशु निकाल्यो। शल्यक्रिया सफल भयो।

कोरोना संक्रमित समेत भएका उनको सफल शल्यक्रियापछि ज्यान बाँचेको त्यो प्रसङ्गले उनलाई आनन्दित बनाउँछ।

शल्यक्रियापछि आमा र नवजात शिशु दुर्वलाई शल्यक्रिया कक्षबाट बाहिर निकालियो। आमा र शिशु दुवैको स्वास्थ्य राम्रो भयो। आमा र शिशु दुवै अस्पतालबाट डिस्चार्ज भए। पहिलो पटक आफ्नै नेतृत्त्वमा सुरक्षित एनेस्थेसिया दिएर आफ्नै साथीको सफल शल्यक्रिया गरी शिशु निकालेकोे त्यो क्षण उनका लागि अविस्मरणीय र आनन्ददायी भयो।

अझै पनि बेलाबेलामा ति साथीसँग भेट हुँदा एनेस्थेसिया दिएको त्यो प्रसङ्गगका बारेमा कुरा हुने गरेको उनले सुनाइन्।

एनेस्थेसियोलोजिष्टलाई नै एनेस्थेसिया दिँदा...
त्यो त आफ्नै समकक्षी एनेस्थेसियोलोजिष्ट चिकित्सकलाई समेत एनेस्थेसिया दिएको सम्झन्छिन् डा. ऋतु। ती एनेस्थेसियोलोजिष्ट समकक्षी स्वास्थ्य जटिलताका कारण प्रसूति गृह पुगेकी थिइन्। समकक्षीको आकस्मिक शल्यक्रिया गर्नुपरेको थियो।

समकक्षीको आकस्मिक शल्यक्रिया गर्नुपर्ने भएपछि एनेस्थेसिया दिन डा. ऋतु मानसिक रूपमा थप तयार भइन्। ती समकक्षीलाई शल्यक्रिया कक्षमा लगेर एनेस्थेसिया दिएर बेहोस बनाइयो। शल्य चिकित्सकको टिमले शल्यक्रिया गर्यो। शल्यक्रिया सफल भयो।

शल्यक्रियापछि डा. ऋतुले विरामी समकक्षीलाई सामान्य अवस्थामा फकाईन्। आफ्नै विद्याको एनेस्थेसियोलोजिष्ट चिकित्सकलाई एनेस्थेसिया दिएर शल्यक्रियाको सफलतापछि स्वास्थ्य सामान्य अवस्थामा फर्काउँदा उनलाई खुसी नलाग्ने कुरै भएन।

शल्यक्रिया सफल भएपछि डा. ऋतुलाई महशुस भयो– ‘आफूले पढाउने विद्यार्थीलाई दक्ष बनायो भने आफूलाई परेको खण्डमा त्यहि विद्यार्थीले राम्रोसँग एनेस्थेसिया दिन सक्छन्।’

त्यसैले उनी आफूले पढाउने विद्यार्थीलाई दक्ष बनाउने कोशिश गर्छिन्।

मिर्गौलापीडित महिलाको त्यो जोखिम शल्यक्रिया
केही वर्ष अघिको प्रसङ्ग सुनाइन् डा. ऋतुले। एक जना मिर्गौलापीडित महिलाकोे फिस्टुला बिग्रिएर हात सुन्निएको थियो। सुन्निएर ठूलो भएको फिस्टुला शल्यक्रिया गरी निकालेर बन्द गर्नुपर्ने थियो। तर, कसरी ? एनेस्थेसिया दिएर शल्यक्रिया गर्ने भन्ने समस्या निम्तियो।

मिर्गौलाको समस्या भएकी ती महिलामा प्लेटिलेटको मात्रा पनि कमी थियो। डा. ऋतुका अनुसार मिर्गौलाको समस्या भएका व्यक्तिमा प्लेटिलेटको मात्रा कमी हुन्छ। प्लेटिलेटले शरीरमा चोट लागेको खण्डमा रक्तश्राव हुनबाट रोक्नका लागि ठूलो मद्दत गर्छ। 

मिर्गौलाको समस्या भएकी ती महिलाको पिसाब नहुने कारणले स्लाइन पानी दिन मिल्ने अवस्था थिएन। त्यसैले आवश्यक परे रगत नै दिनुपर्ने थियो। शरीरमा दिइएको विभिन्न औषधिको असर मिर्गौलाले प्रशोधन गरी शरीर बाहिर पठाउँछ।

तर, मिर्गौलाको समस्या भएका विरामीको भने शरीरबाट बाहिर औषधि नजाने भएकाले बेहोस बनाउने औषधि धेरै दिन मिलेन। शरीरबाट बाहिर औषधि नजाँदा शरीरमा लामो समयसम्म असर रहन्छ। जसले गर्दा लामो समयसम्म अचेतन हुने लगायतको असर पर्ने डा. ऋतुले सुनाइन्।

ती विरामीलाई घाँटीको नसाबाट एनेस्थेसिया दिन पनि जोखिम महशुस भयो उनलाई।  खुट्टा सुन्निएकाले खुट्टाको नसाबाट एनेस्थेसिया दिन पनि गाह्रोे। बल्लबल्ल खुट्टाको नसा खोलेर ऐनेस्थेसिया दिइयो।

त्यसपछि सर्जनको टिमले विरामीको हातमा सुन्निएर ठूलो भएको फिस्टुला निकालेर बन्द गरे। एनेस्थेसिया नदिइ पनि नहुने र दिँदा पनि जोखिम हुने अवस्था थियो। जोखिम मोलेरै एनेस्थेसिया दिई विरामी बचाएपछि ती महिलाको मुहारमा देखिएको मुस्कान सम्झँदा डा. ऋतुलाई आनन्द लाग्छ।

तरबारको धारमा हिँडेजस्तै जोखिम 
मिर्गौला सम्बन्धी समस्या भएका विरामीलाई एनेस्थेसिया दिनु तरबारको धारमा हिँडेजस्तै जोखिम हुने डा. ऋतुले सुनाइन्। डायलाइसिस गरिरहेका मिर्गौला पीडितमा फिस्टुला बिग्रने तथा सुन्निने लगायतका समस्या हुने उनको अनुभव छ।

‘मिर्गौला सम्बन्धी समस्या भएका विरामीलाई एनेस्थेसिया दिनु जटिल एनेस्थेसिया हो। हाइ रिक्स हुन्छ, यो तरबारको धारमा हिड्नुजस्तै हो।’

डायलाइसिस गरिरहेका मिर्गौलाको समस्या भएका विरामीको हातमा फिस्टुला बनाइएको हुन्छ। जसले गर्दा एनेस्थेसिया दिनका लागि हातको नसा खोल्न नपाइने अवस्था निम्तने उनले सुनाइन्।

कोरोना संक्रमित वृद्ध शल्यक्रियापछि बाँचेको त्यो क्षण
कोरोना भाइरस संक्रमणको पहिलो लहरको समयमा करिब ६५ वर्षे वृद्धलाई एनेस्थेसिया दिएको प्रसङ्ग पनि डा. ऋतुको मानसपटलमा ताजै छ। करिब ६५ वर्षका ती वृद्धलाई वीर अस्पतालको न्यूरो सर्जिकल आईसीयूमा भर्ना गरिएको थियो। उनलाई टाउको दुख्ने, बान्ता हुनेजस्ता लक्षण थिए।

स्वास्थ्य परीक्षण गर्दा वृद्धको टाउको पछाडिको भागमा रगत जमेको थाहा भयो। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘हेमाटोमा’ भनिन्छ। पोष्टेरियर फोसा शरीरको श्वासप्रश्वास फेर्ने मुटु लगायतको अंग चलाउने केन्द्र हो। त्यो भागको तुरुन्तै शल्यक्रिया गर्नुपर्ने भयो। तुरुन्तै शल्यक्रिया नगरे विरामीको मृत्युसमेत हुने जोखिम थियो।

एनेस्थेसियोलोजी संवेदनशील र महत्वपूर्ण विषय भए पनि छायाँमा परेको उनको बुझाइ छ। विरामीले पनि आफूलाई बेहोस बनाउने चिकित्सक कोहो भनेर चिन्नुपर्ने उनको तर्क छ।

शल्यक्रिया निक्कै संवेदनशील थियो। शल्यक्रियाको सबै व्यवस्थापन मिलाएपछि ती वृद्धलाई शल्यक्रिया कक्षमा लगियो। डा. ऋतुले एनेस्थेसिया दिएर बेहोस बनाइन्। ती वृद्ध संकास्पद कोरोना संक्रमित थिए। त्यो बेला त कोरोना भनेपछि चिकित्सक समेत डराउने अवस्था थियो।

शल्यक्रियाको टिममा खटिएका चिकित्सकको टिमले पीपीई लगाएर धेरै सावधानी अपनाई शल्यक्रिया गरे। शल्यक्रिया सफल भयो। वृद्धलाई शल्यक्रिया कक्षबाट निकालियो। शल्यक्रियापछि ती बाजेमा कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट आयो।

धन्यहोस्, कोरोना भएको अवस्थामा शल्यक्रिया गरिएका ती वृद्धको ज्यान बाँच्यो। कोरोना संक्रमित समेत भएका उनको सफल शल्यक्रियापछि ज्यान बाँचेको त्यो प्रसङ्गले उनलाई आनन्दित बनाउँछ।

छनोटमा बेहोस बनाएर ब्यूँत्याउने विद्या
काठमाडौंको भिमसेनस्थानमा जन्मिएकी ऋतुले ‘सिद्धार्थ वनस्थली इन्टिच्युट’बाट एसएलसी गरिन्।

सेन्टजेभियर कलेजमा आइएस्सी सकेकी उनी एमबीबीएस अध्ययनका लागि बाँकेको ‘नेपालगञ्ज मेडिकल कलेज’ पुगिन्। सन् २००४ मा एमबीबीएस अध्ययन पूरा भयो। त्यसपछि वीर अस्पताल, प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, त्रिपुरेश्वर आँखा अस्पतालमा एक वर्ष इन्टर्नसिप गरिन्।

इन्र्टनसिपपछि वीर अस्पतालमा नै मेडिकल अधिकृतको रूपमा जागिरे भइन्। वीर अस्पतालमा करिब तीन वर्षसम्म जागिरे हुँदा एनेस्थेसिया विभागमा काम गरिन्। सन् २००६ बाटै विरामीलाई एनेस्थेसिया दिएको उनले सुनाइन्। त्यो बेला सिनियर चिकित्सकको निगरानीमा विरामीलाई एनेस्थेसिया दिएर बेहोस बनाई ब्यूँत्याउने काम गर्थिन् उनी।

त्यसपछि डा. ऋतु चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल)मा स्नातकोत्तर तहको एनेस्थेसियोलोजी विषयमा एमडी अध्ययन थालिन्। तीन वर्षे एमडी अध्ययन पूरा गरेपछि पनि उनले वीर अस्पतालमा नै काम गरिन्।

एमडी अध्ययनपछि डा. ऋतुले फेरि लोकसेवाको खुला प्रतियोगितामार्फ नवौं तहको कन्सल्टेन्ट एनेस्थेसियोलोजिष्टको रूपमा नाम निकालिन्। त्यसपछि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल पोष्टिङ भएकी उनले त्यहाँ करिब तीन वर्ष काम गरिन्।

डा. ऋतुले फेरि लोकसेवाको खुला प्रतियोगिताबाट एघारौं तहमा बढुवा भइन्। त्यसपछि उनी प्रमुख कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्टको भूमिकामा काम गर्न थालिन्। त्यसपछि भने उनी फेरि वीर अस्पतालमा नै पोष्टिङ भइन्।

अहिले डा. ऋतु प्रमुख कन्सल्टेण्ट एनेस्थेसियालोजिष्टको रूपमा वीर अस्पतालमा कार्यरत छिन्। सह–प्रा.डा. ऋतु अस्पतालको एनेस्थेसियोलोजी तथा सघन उपचार विभाग प्रमुखको भूमिकामा छिन्। पछिल्लो करिब पाँच वर्ष यता उनी निरन्तर वीर अस्पतालमा नै कार्यरत छिन्।

यो विषयमा दक्षता विकास गर्न सक्नुमा वीर अस्पतालका तत्कालीन एनेस्थेसियोलोजिष्ट प्रा.डा. गौतमरत्न बज्राचार्यले निक्कै प्रेरणा दिएको उनी सम्झन्छिन्। उनी मात्रै हैन अन्य धेरै सिनियर चिकित्सकले समेत यो विषयको अध्ययन र दक्षताका लागि प्रेरित गरेको उनी बताउँछिन्।

डा. ऋतुलाई विशेषगरी पढ्न र विद्यार्थीलाई पढाउन बढी रुचि लाग्छ रे। उनी एनेस्थेसियोलोजी विषय पढाउँछिन्। आफूले पढाएका विद्यार्थी अब्बल हुन् भन्ने उनको चाहना हुन्छ।

छायाँमा काम गर्ने विद्या
एनेस्थेसिया दिएकै कारणले विरामीको मृत्यु न्यून हुने डा. ऋतुले सुनाइन्। एनेस्थेसियाकै कारण विरामीको मृत्यु भएको उनलाई सम्झना छैन। तर, शल्यक्रियापछि भने विभिन्न स्वास्थ्य जटिलता निम्तिएर मृत्यु भने नहुने हैन।

सामान्यतया एनेस्थेसियोलोजिष्ट चिकित्सक सर्जनको तुलनामा छायाँमा काम गर्नुपर्ने हुन्छ। एनेस्थेसियोलोजी संवेदनशील र महत्वपूर्ण विषय भए पनि छायाँमा परेको उनको बुझाइ छ। विरामीले पनि आफूलाई बेहोस बनाउने चिकित्सक कोहो भनेर चिन्नुपर्ने उनको तर्क छ।

त्यसो त, चिकित्सक, नर्स, स्वास्थ्यतर्फका कर्मचारी बाहेक अन्य व्यक्तिले आफूलाई बेहोस बनाउने डाक्टर को हो? भनेर सोधखोज गर्ने चलन खासै नभएको उनले सुनाइन्। 

एनेस्थेसियोलोजिष्ट चिकित्सकको मुख्य काम शल्यक्रियाका लागि विरामीलाई एनेस्थेसिया दिएर बेहोस बनाइ शल्यक्रियापछि ब्यूँत्याउनु हो। त्यसैगरी शल्य चिकित्सकले विरामीको शल्यक्रिया गर्ने निर्णय गरेका हुन्छन्।

शल्यक्रियापछि विरामीलाई बेहोस बनाएर ब्यूँत्याउन सकिन्छ की सकिँदैन भन्ने जस्ता स्वास्थ्य अवस्था हेर्नुपर्ने हुन्छ एनेस्थेसियोलोजिष्टले। त्यही अनुसारले विरामीलाई सम्बन्धित चिकित्सककहाँ सम्पर्क गर्न सल्लाह दिन्छन् एनेस्थेसियोलोजिष्ट।

बेहोस बनाएर ब्यूँत्याउन सकिने निष्कर्षमा पुगेपछि मात्र विरामीलाई शल्यक्रियाका लागि तयार गरिन्छ। त्यसपछि एनेस्थेसिया दिने मेसिन, औषधि लगायतको व्यवस्थापन गरिन्छ। विरामीलाई शल्यक्रिया कक्षमा लगेर बेहोस बनाइन्छ। शल्यक्रियापछि फेरि व्यूँत्याइन्छ।

शल्यक्रियापछि ब्यूझिएका विरामीलाई पोष्ट अपरेटिभ कोठामा सारिन्छ। शल्यक्रिया गरेका विरामीको दुखाई व्यवस्थापन गरिन्छ। आईसीयू व्यवस्थापनमा पनि एनेस्थेसियोलोजिष्ट ठूलो भूमिका हुन्छ।

त्यसैगरी शल्यक्रिया कक्ष बाहिर पनि विरामीलाई एनेस्थेसिया दिनुपर्ने हुन्छ। एमआरआई, सिटिस्क्यान, इन्डोस्कोपी जस्ता परीक्षण गर्दा पनि एनेस्थेसिया दिइने उनले सुनाइन्। यसरी शल्यक्रिया कक्ष बाहिर दिइने एनेस्थेसियालाई चिकित्सकीय भाषामा ‘नन् अपरेटिङ रुम एनेस्थेसिया’ भनिन्छ।

डा. ऋतुका अनुसार पहिले–पहिले त विरामीलाई बेहोस बनाउँदा एक किसिमको मास्कमा इथर खन्याएर सुँघाइन्थ्यो। शल्यक्रियाको क्रममा विरामी ब्यूँझिए सो औषधि थप्दै जानुपर्ने हुन्थ्यो। त्यस्तो अवस्थामा विरामीको मृत्युको समेत जोखिम हुन्थ्यो।

तर, अहिले भने एनेस्थेसियाको धेरै विकास भइसकेकाले सुरक्षित रहेको उनले सुनाइन्। तर, यो विषय निक्कै संवेदनशील रहेको डा. ऋतुको अनुभूति छ। काम नदेखिए पनि विरामी बचाउने सवालमा यो विद्याका चिकित्सकको काम धेरै हुने गरेको उनले सुनाइन्।

१ असोज, २०७९, १८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।