झुत्रे देख्यो कि बच्चा चोर भनेर कुट्ने कि कुरा बुझ्ने !

झुत्रे देख्यो कि बच्चा चोर भनेर कुट्ने कि कुरा बुझ्ने !

अहिले केही दिनदेखि सामाजिक सञ्जाल हुँदै मुलधारका मिडियामा खासगरी तराई क्षेत्रमा बच्चा चोरीको हल्ला फैलिएको छ। सञ्जालमा भिडियोहरू भाइरल भइरहेका छन्। यसले एक खालको त्रास पनि बढाएको छ। आरोपको अधिकांश तारोमा परेका छन् जीवनयापनका लागि सडक किनारमा भिक्षा भागेर बस्नेहरू।

आइतबार रुपन्देहीको तिलोत्तमामा ‘बच्चा चोर’ फेला परेको भन्दै यस्तै एक घटना सार्वजनिक भयो। झाडी भएको बाटो हुँदै राम्रोसँग नेपाली नबुझ्ने एक महिलाले एक बालिकालाई डोर्या उँदै लगेको देखेपछि स्थानीयले बच्चा चोरको आशंकामा रोकेका थिए।

पछि अनुसन्धानमा ती बालिका त उनकै छोरी भएको खुल्यो। यो घटना अफवाह मात्र भएको पुष्टि भयो। अन्य स्थानमा पनि बच्चा चोर फेला परेको भन्नेखालका सामाग्रीहरू बढ्न थाले।

यसले मलाई पुरानो घटना सम्झायो। त्यो बेलामा म सिरहाको लहान थानामा कार्यरत थिएँ। भीम राईलाई सिरहा जिल्लाबाट आफूसँग लिएर आएको थिएँ। उनी पछि यति एयरको माथिल्लो तहसम्म पुगे। उनी अहिले पनि मेरो सम्पर्कमा छन्।

प्रजातन्त्र आइसकेको थियो। नागरिकले पञ्चायत शासनबाट स्वतन्त्रता पाएको अनुभव गरिरहेका थिए। उनीहरू खुल्ला वातावरणमा रमाइरहेका थिए पनि। सामान्य छेकबारमा पनि प्रतिवाद गर्ने वातावरण थियो।
कार्यालयमा बसिराखेको थिए।

अचानक कसैले 'बजारको पछाडि उत्तरपट्टि नदीमा जनताले बच्चा चोर्ने मान्छेलाई कुटिराखेका सूचना ल्याए। सूचना गम्भीर थियो। तत्काल प्रहरी पुगेर उद्धार नगरे ती व्यक्ति कुटाइबाटै मर्ने जोखिम रहेको भनेपछि तत्काल प्रहरी टोली पठाएँ।

अवस्था अप्ठ्यारो थियो। बच्चा चोरेको आरोप लागेकालाई स्थानीयले घेरेर राखेका थिए। प्रहरीले बल प्रयोग गर्नसक्ने वातावरण थिएन। प्रहरीमाथि नै बच्चा चोरलाई जोगाएको आरोप लाग्नसक्ने जोखिम थियो। 

बल्लबल्ल प्रहरीले आरोपीलाई भिडभाड थुतेर रिक्सामा हालेर प्रहरी कार्यालय ल्याइ पूर्या एँ। प्रहरीले रिक्सामा हालेर ल्याउँदा भिड रिक्साको पछि-पछि ती व्यक्तिलाई खोस्न आइरहेका थिए। उनीहरू कार्यालयसम्म आइपुगे।
हतार-हतार गेट बन्द गर्योा उनलाई भिडबाट जोगाउन। बाहिर रहेका स्थानीयहरू 'बच्चा चोरलाई किन जोगाएको? हाम्रो जिम्मा दे' भन्दै कराइरहेका थिए। 

आरोपीलाई कार्यालयभित्र ल्याएर पानी दियौं। उनलाई घेर्नेहरूले मुखमा बालुवा कोचिदिएका रहेछन्। मुखभित्रबाट टन्नै बालुवा निस्कियो। 

बाहिर हल्ला घटेन। चर्को स्वरमा 'त्यसलाई ले' भन्दै थिए। अनी आफैँ कार्यालयको गेट खोलेर बाहिर गएर सोधे 'उसले बच्चा चोरेको कसले देखेको हो अगाडि आउनुस् त!' तर कसैले 'मैले देखेको' भनेनन्। त्यहाँ कोही रहेनछन् बच्चा चोरेको देख्ने। कसैले देखेको नभनेपछि झपारे। भिड बिस्तारै पातलो हुँदै गयो। 

भिड हिँडेपछि बच्चा चोरेको आरोप लागेको व्यक्तिलाई बोलाएँ। यसो हेरेको सानो कदको त्यस्तै उमेर ६० माथिका थिए। कालो वर्ण अनि मुखमा दाँत पनि नभएको। कुरा गर्न खोजे तर मेरो भाषा बुझेनन्। केही समय कुरा गर्न खोज्दा कतै उनको मानसिक अवस्था सामान्य छैन कि भन्ने संकेत देखियो।

कुरा गर्दै जाँदा उनी भारतीय नागरिक हुन् भन्नेसम्म खुल्यो। यो घटना भएको दुई-चार दिनपछि फेरि बच्चा चोरको हल्ला भो। प्रहरी पठाएको १८/२० वर्षका दुई जना युवालाई स्थानीयले घेरेर कुट्न थालेछन्। उनीहरूलाई बल्लबल्ल जोगाएर कार्यालयमा ल्याएँ। 

कुरा गर्दा उनीहरूको पनि मानसिक अवस्था असामान्य भएको पाएँ। उनीहरू पनि आफ्नो बारेमा केही पनि भन्न सक्ने अवस्थामा थिएनन्। दुवैले एकअर्काको हात समातेको समात्यै गर्थे। दुवै सँगै हिड्थे। अलग्गिनै नमान्ने। लुगा फुकाएर नाङ्गै हिड्न खोज्ने। 

यसरी लगातार पाँच जना बच्चा चोरको आरोपमा स्थानीयबाट कुटिए। जति आरोपी फेला परे सबैको मानसिक अवस्था सामान्य नरहेको। सबै भारतीय नागरिक। तर, घर कहाँ हो भन्नेसम्म पनि थाहा नहुने।

थानाको बजेट शून्य। खाना धेरै खाने। उनीहरू भोकाएर धेरै खाएका हैनन्। खाना खाएकै थाहा नपाउने। उता भारततिर नमोनारायण झा नामका थानेदार थिए। उनी सार्हैर सहयोगी र मिजासिला। जहिले भेट्न गए पनि नास्तापछि कुल्फी र पान ख्वाउँथे।

अब जति आरोपी समातिए उनीहरू शंकाका भरमा कुटिएका खुल्यो। उनीहरू बच्चा चोर भएको प्रमाणित भएनन्। अब भारतीय नागरिक भएकाले सीमा क्षेत्रमा रहेको प्रहरी कार्यालय भएकाले उनीहरूलाई सीमा पारी जिम्मा लगाउन उनै नमोनारायणलाई भेट्न गएँ। उनलाई आफ्नो सबै समस्या बताए। 

कुरा गर्दै गएपछि उनले भने, 'रांचीमा नयाँ बिरामीको संख्या बढेपछि अस्पतालको बेड खाली गर्न पुराना रोगीलाई नेपाल-भारत बोर्डर नजिक ल्याएर छाड्छन्।'

उनले सत्य भने या बहाना बनाए उनै जानुन्। कुरै कुरामा उनले नेपालतिर मात्रै हैन आफ्नै थानाले पनि यस्तो समस्या ब्यहोरेको बताए।

उनले नेपालमा प्रहरी कार्यालयमा रहेकाहरूलाई पठाउन भने। अनि यता आएर गाडि खोजेर सबैलाई झाजीको जिम्मा लगाएँ।

कैलालीको अत्तरिया बजारमा मानसिक अवस्था ठिक नभएकी अनि मागेर जीवन गुजारा गर्ने महिलाको समाचार हेरेँ। उनी रोइरहेको तस्बिरले मन कटक्क खायो। मन थाम्नै सकिन। अनि लहानमा आफूले भोगेको घटनाले

यस्ता घटना के हुनसक्छन् भनेर बुझाउन सक्छ कि भनेर यत्ति लेखेँ।

यस्तो कुरामा हल्लाको पछि लागेर आफैँले नदेखि कसैलाई पनि कुटपिट नगरे हुन्थ्यो कि!

३१ भदौ, २०७९, १८:१८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।