हुनेवाली श्रीमतीलाई पत्र

हुनेवाली श्रीमतीलाई पत्र

प्रिय श्रीमती,
मानिस जन्मेदेखि नै सम्बन्धका जालोहरूले बाँधिने कुरा तिमीलाई अवगत नै होला। उमेरसँगै क्रमश: सम्बन्धहरू पनि वर्षायामको च्याउ झैँ बढ्दै जान्छन्। तीमध्ये कतिपय सम्बन्धहरू त पूर्वनिर्धारित नै हुन्छन्। जस्तै- बुबाआमा, काकाकाकी, मामामाइजु, दाजुबहिनी आदि।

तर, जीवनको सबैभन्दा ठूलो सम्बन्ध जोसँग पूरै जीवन बिताउनुपर्ने हो। जोसित हरेक दु:ख सु:ख साट्नुपर्ने हो। त्यो मान्छेको कुनै अत्तोपत्तो हुँदैन। न भूगोलमा एकिन गर्न सक्छु न गुगलमा। त्यो मान्छे अरू कोही नभएर तिमी हौ तिमी। एक मिस्ट्री हौ तिमी।

थाहा छैन, तिमी कहिल्यै भेटिएको छौ कि नाई मसँग। ब्ल्याक ब्यूटी छौ कि ह्वाइट ब्यूटी? माइक्रो चढ्दा शीर निहुराउनपर्छ कि मजाले अट्छ? खाइलाग्दो ज्यान छ कि स्लीम छौ? घन्टाको सुईले फन्को नमार्दै पुग्ने ठाउँमा छौ कि अन्य जिल्ला वा प्रदेशमै छौ?

अँ साच्ची, अहिले चाहिँ के गर्दै छौ तिमी? कतै यहि आर्टिकल पढ्दै छौ कि या कतै आफ्नै दुनियाँमा रम्दै छौ? मलाई थाहा छैन र हुने पनि कुरा भएन। यी मनमा खेल्ने सतही विचारहरू हुन्। र माथिका प्रश्नहरूको उत्तरले  खासै अर्थ पनि राख्दैन। अर्थ राख्छ त केवल तिम्रो स्वभावले। तिम्रो हृदय को भाव जसले दुई मिटर परैबाट मेरो प्रेम को आभास महसुस गर्न सकोस्। मलाई बुझ्न सकोस्।

प्रिय, सबैभन्दा महत्वपूर्ण कुरा तिमी आफू जस्तै बन्नु। अरूलाई असर नपारिकन खुसी हुनु। यसो गर्यौ  भने तिम्रो विवाहपछि को जीवन पिंजडा को चरी जस्तो हैन आकाशमा स्वतन्त्र उडिरहेको चरी जस्तो हुनेछ। थाहा छ जब तिमी खुशी हुनेछौ एक असल श्रीमती, जिम्मेवार आमा र उदाहरणीय छोरी हुनेछौं।

तिम्रा इच्छा आंकाक्षा होलान् आफ्नै। मस्तिष्कमा समाजले बनाइदिएको चित्र होला एउटा श्रीमान् को। चिन्ता लाग्छ होला कस्तो पर्ला भनेर। विचार फरक होलान्। केहि फरक पर्दैन। मन मिले पुगिहाल्छ। मलाई थाहा छ त्यो इन्टलेक्ट भन्दा, त्यो मस्तिष्क भन्दा भावना धेरै शक्तिशाली छ। हेर संसारमा सर्वगुण सम्पन्न कोहि छैन। राम्रो वा नराम्रो मध्ये कुनै एक  कोहि छैन।

हरेक मान्छे राम्रो र नराम्रो दुईवटै छ परिस्थिति र परिवेश अनुसार। त्यसैले कहिलेकाहीँ गल्ती हुँदा एक अर्कालाई सम्झाई बुझाई गरौंला। गल्ती नगर्नु ठूलो गल्ती हो। यो भन्दा पनि ठूलो गल्ती हो गल्ती दोहोर्याउनु। त्यसैले ले गल्ती होलान्, फेरि नगरौंला। ठाकठुक होलान् सानातिना, तर सबै परालको आगो जस्तो बनाऔंला।

अनि तिमी आधुनिक छौ या ट्रेडिसनल। दुवैका सकारात्मक र नकारात्मक पक्ष छन्। तिमी यी दुवैको मध्यमविन्दु बन्नु। समय परिस्थितिअनुसार सोच आधुनिक चाहिँ बनाउनु। आधुनिक मतलब पश्चिमा संस्कृति अंगाल्नु भनेको हैन है। छोटो कपडा लगाएर हिँड्नुपर्छ भनेको नि हैन। समाजका रूढिवादी प्रवृत्ति र अन्धविश्वास लाई नअंगाल्नु भनेको मात्र हो।

आधुनिक भनेको शनिबार बार जाम्ला भनेको हैन, मेडिटेसन हलतिर जाऔंला भनेको हो। अचेल बिहे गर्दा चलिरहेका नानाभाँती देखावटीमा आधारित नभई आवश्यकता अनुसार मनाऔंला।  फजुल खर्च गरेर हैन बरू डिम्याट खोलेर पोर्टफोलियो बनाम्ला। सन्तानका लागि। भविष्यको लागि ता कि पछि फाइनान्सियल फ्रिडम प्राप्त गर्न सकियोस् र पैसालाई लिएर कहिल्यै किचलो नहोस् हाम्रो परिवारमा।

त्यस्तै तिमीले नि यत्रो पढ्यौ। तिम्रो नि सपना होलान् जसको तिलाञ्जली दिएर घरको गृहिणी मात्र बन्न तिम्रो श्रीमान्ले बाध्य पार्ने छैन। म मात्रै बाहिर को काम गर्छु, श्रीमतीले घरकै काम मात्र गर्नुपर्छ भन्दिन। यसो गर्दा तिमीले पैसा मात्र कमाउने हैन स्वाभिमान र आत्मसम्मान पनि कमाउनेछौ। म पनि तिमीलाई घरको काममा सघाएर अझै माया र अपनत्व कमाउनेछु।

र म  भन्न चाहन्छु, पुरुषवाद भरिएको समाजमा अपवाद बन्ने छ हाम्रो परिवार। बुवाको पुरूषवाददेखि नै आजित भएर निराशका बादल छोएको मम्मीको अनुहार देख्दा नै लागेको थियो मेरो सन्तानले यस्तो कहिल्यै अनुभव गर्न नपरोस्। त्यसैले परिवर्तन म आफैँबाट गर्नेछु। खाना पकाउँदा, सफा गर्दा, भाँडा माझ्दा, तरकारी किन्न जान पर्दा होस् या अन्य घरका सामान्य काम गर्दा हाम्रा छोराछोरीले बुबा पनि खोज्नेछन्।

उही तिम्रो जीवनसाथी
लोकराज आचार्य

३१ भदौ, २०७९, १५:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।