असोज १ गतेदेखि काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गरे जरिवाना तिराइने

असोज १ गतेदेखि काठमाडौंका सार्वजनिक स्थानमा धुम्रपान गरे जरिवाना तिराइने
तस्बिर : काठमाडाैं महानगरपालिका

काठमाडौंः काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान गर्न निषेध गरेको छ।

महानगरपालिकाले बिहीबार सार्वजनिक सूचना निकालेर असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट सेवनमा निषेध गरेको हो।

महानगरले बिडी, सिगार, तमाखु, सुल्झा, कक्कड, कच्चा सुर्ती, खैनी खुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।

सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन) गर्ने ऐन, २०६८ को दफा ४ मा सार्वजनिक स्थलमा सूर्तिजन्य पदार्थको सेवन गर्न नपाइने व्यवस्था रहेको छ भने दफा ५ मा सार्वजनिक निकायलाई धुम्रपान तथा सूर्ति सेवन निषेधित क्षेत्र तोक्नुपर्ने व्यवस्था छ।

सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्ने प्रयासलाई सहयोग गरिदिन पनि महानगरपालिकाले सबैसँग आग्रह गरेको छ।

कानुन, सदाचार र सार्वजनिक हित तथा भलाइका हिसाबले काठमाडौं महानगरपालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थमुक्त क्षेत्र बनाउनको लागि जारी भएको सूचना अटेरी गर्नेलाई कारबाही र जरिवाना तिराइने समेत सूचनामा उल्लेख छ।

३० भदौ, २०७९, २२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।