उकेरा कोलम

प्राणीशास्त्री डा. उषा लोहनीलाई जर्मन सरकारले धोका दिएपछि...


झण्डै ६५ वर्षअघि काठमाडौंको विशालनगरमा जन्मिएकी हुन्, डा. उषा लोहनी। पिता स्व. पुरुषोत्तम रेग्मी र आमा धन रेग्मीका पाँच सन्तानमध्येकी उनी साइली सन्तान। गायिकासमेत रहेकी उनले प्राणीशास्त्र (एथ्नाेजुलाेजी)मा विद्यावारिधि गरेकी छन्।

महेन्द्र भवन गर्ल्स स्कुलबाट आफ्नो स्कुलिङ पूरा गरेकी उनले अस्कलबाट आइएस्सी र विएसस्सीको पढाइ पूरा गरिन्। त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट उनले एमएस्सी पास गरिन्। झण्डै चार दशकसम्म प्राध्यापनको अनुभव बटुलेकी वरिष्ठ प्राध्यापक डा. लोहनी गायन क्षेत्रमा चार दशकदेखि संलग्न छिन्।

विशेषगरी आधुनिक गीत र भजन गाएकी उनले गायक गीतहरूमा गोपाल योञ्जन, नातिकाजी श्रेष्ठलगायत थुप्रै वरिष्ठ संगीतकारहरूले संगीत दिएका छन्। 'सम्झनाकाे तिरले', 'तिम्राे प्रत्येक बिहानी', 'सँगै बस्दा' उनका कालजयी एवं चर्चित गीत हुन्।पछिल्लो समय सेवानिवृत्त जीवन बिताइरहेकी डा. लोहनी फुर्सदको समयमा अध्ययन र गीतहरू गुन्गुनाउने गर्छिन्। 

मिसन स्कुलको नेपाली पोसाक मोह
मध्यम वर्गीय संयुक्त परिवारिक माहोलमा हुर्किइन् उनी। बाजेबज्यै, फुपु, काकाकाकी र दिदीबहिनी, दाजुभाई, नातेदारहरूसँगै उनको बाल्यकाल रमाइलोसँग बित्यो। संयुक्त परिवारमा हुर्केकाले उनमा ‘को आफ्नो को बिरानो’को भावना कहिल्यै आएन। चार वर्ष पुगेपछि नक्सालस्थित सानो गौचरणमा रहेको महेन्द्र भवन गर्ल्स हाइस्कुलमा भर्ना भइन्।

महेन्द्र भवन स्कुल एक मिसन स्कुल थियो। तत्कालिन समयमा त्यो स्कुल ‘दि युनाइटेड मिसन टु नेपाल महेन्द्र भवन गल्र्स स्कुल’को नामले चिनिन्थ्यो। जुन राजा महेन्द्रको पालामा मिसन स्कुलअन्तर्गत नेपालमा स्थापना भएको थियो।

स्कुल ठ्याक्कै कहिले स्थापना भयो र कुन मिसन थियो भन्नेबारे सुरुमा थाहा भएन। तर, पछि क्रिष्चियन धर्म प्रचार र अन्य मिसनसहित नेपाल भित्रिएको भन्ने थाहा भयो। 

उनले भनिन्, ‘कुनै न कुनै माध्यमबाट उनीहरू नेपाल छिरेका हुनुपर्छ। तर, सानै भएकोले उनीहरूको मिसनबारे पहिले थाहा थिएन। विद्यालयमा पढ्दा हामीलाई त्यस्तो महसुस पनि भएन।’

एलिजावेथ नामक इंग्ल्याण्डकी नागरिक सो स्कुलकी प्रिन्सिपल थिइन्। स्कुलमा नेपाली माध्यममै पढाई हुन्थ्यो। मिसन स्कुल नै भए पनि नेपाली संस्कृति र नेपालीपन पोसाक प्राथमिकतामा राखेको थियो।

‘हाम्रो पोसाक नेपाली कपडाको अझ त्यसमाथि ह्याण्डमेड लुगा थियो’ उनी सम्झन्छिन्, ‘नेपाली शैलीको चौबन्दी चोलो र स्कर्ट हाम्रो स्कुलको पोसाक थियो। जुन अन्त कहिँ पनि थिएन।’

मिसन स्कुलको नेपाली संस्कृति, मौलिकताप्रति मोह थियो। सोहि कारण हुनुपर्छ महेन्द्र भवन स्कुलमा अझै पनि चौबन्दी डिजाइनको चोलो र स्कर्ट नै पोसाक छ। स्कुलले नेपालीपन झल्काउने कार्यक्रम पनि गरिरहन्छ।

चारै दिदीबहिनी एकैपटक प्रथम
डा. लोहनीका चारवटै दिदीबहिनीले महेन्द्र भवन स्कुलबाटै आफ्नो स्कुलिङ पूरा गरे। चारवटै दिदीबहिनी पढाइमा अब्बल। अन्य दिदीबहिनीहरू परीक्षामा सधै प्रथम श्रेणीमा उत्तीर्ण नभए पनि डा. उषा भने विद्यालयमा सधै प्रथम हुन्थिन्। साेहीकारण उनी कक्षा तीनबाट सिधै पाँच कक्षामा पुगिन्। हरेक वर्षको वार्षिक कार्यक्रममा सधै प्रथम पुरस्कार पाउँथिन्। 

डा. उषालाई याद भएसम्म उनी कक्षा पाँचमा पढ्दाताका हो, उनको चारवटै दिदीबहिनीले एकैपटक प्रथम श्रेणीको पुरस्कार पाएका थिए। उनका चारवटै दिदीबहिनीले आ–आफ्नो कक्षाको परीक्षामा प्रथम श्रेणीमा उत्तीर्ण भएका थिए। र एकैपटक पुरस्कार पाएका थिए।

‘पाँच कक्षामा छँदा हो, यस्तो संयोग परेको थियो कि मेरा सबै दिदीबहिनीले एकैपटक प्रथम पुरस्कार पाएका थियौं’ उनी सम्झन्छिन्, ‘हामीले आ–आफ्नो कक्षा टप गरेका थियौं। त्यतिबेला साथीहरू र शिक्षक दङ्ग पर्नुभएको थियो भने मेरो बुवाआमा असाध्यै खुसी हुनुभाथ्यो।’

उबेलामा पुरस्कारस्वरूप पुस्तक दिने गरिन्थ्यो। पुरस्कारको लागि दिइने पुस्तकहरू इंग्ल्याण्डबाटै ल्याइएका हुन्थे। त्यस्ताखाले पुस्कहरू नेपालमा पाउन मुस्किल हुन्थ्यो।

‘अहिले त त्यस्ताखाले बुकहरू बजारमा प्रशस्तै पाइन्छन्। तर, उबेला भने भेटिदैनँथे’ डा. उषा सुनाउँछिन्, ‘हामीलाई ति बुकहरू असाध्यै मन पर्थे। ती बुकहरू दन्त्यकथामा आधारित हुन्थे। तस्बिरसहितका पुस्तक हुन्थे। फेन्सी देखिन्थे। बच्चाहरूको लागि लेखिएका हुन्थे। अंग्रेजीमा हुने ती पुस्तक इंग्ल्याण्डबाट ल्याएर पुरस्कार स्वरूपमा हामीलाई दिन्थे। पढ्दा साह्रै आनन्द आउथ्यो।’

स्कुलिङ त्यहि विद्यालयबाट पुरा गरे पनि लैनचौरस्थित कन्या स्कुलबाट २०२९ सालमा उनले एसएलसी उत्तीर्ण गरिन्। 

बिएस्सी टपर बन्दा...
त्यो समय पनि एसएलसीमा राम्रो अंक ल्याउने विद्यार्थीको पहिलो रोजाइ हुन्थ्यो, विज्ञान विषय। डा. लोहनीले पनि विज्ञान विषय नै रोजिन्। अमृत साइन्स कलेज (अस्कल)मा विज्ञान विषयमा भर्ना भइन्। अस्कलबाटै विज्ञान विषयको अध्ययन पनि पूरा गरिन्। 

आइएस्सी पूरा गरेलगत्तै बिएस्सीमा भर्ना भइन्। टपर बनेर बिएस्सी पनि पूरा गरेपछि उनीसँग दुई विकल्प थिए। इन्जिनियरिङ वा मेडिकल। उनले मेडिकल रोजिन्। तर चिकित्सक हुन पाइनन्।

तत्कालिन समयमा जर्मन सरकारले मेडिसिन अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्तिको दिन्थ्यो। त्यही कार्यक्रम अन्तर्गत मेडिकल अध्ययनको लागि उनी छनोट भइन्। तर, उनको रोजाइ पूरा भएन।

‘बिएस्सीमा टप गरेकोले मैले त्यो कार्यक्रममा अप्लाई गर्नेबित्तिकै छनोट भएँ। तर दुर्भाग्य भन्नुकी सौभाग्य   कन्फर्मेसन आउने बेलामा जर्मन सरकारले त्यो वर्षदेखि मेडिकल कार्यक्रम नै रद्द गर्यो ।’ उनी सुनाउँछिन्, ‘त्यतिबेला दुर्भाग्यजस्तो लागे पनि अहिले जे भएछ ठिकै भएछ जस्तो लाग्छ। जर्मन सरकारले त्यो कार्यक्रम रद्द नगरेको भए सायद अहिले म यहाँ हुदिनँथे होला। यतिबेला जहाँ छु, त्यहिँ खुसी छु।’

जर्मन सरकारको कार्यक्रम रद्द गरेपछि डा. लोहनीले तत्काल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमएस्सीमा स्नातकाेत्तर गरिन्। 

‘महिला जन्ती गएको देख्दा झ्यालबाट हेर्थे’

त्यतिबेला त्रिभुवन विश्वविद्यालयले सैद्धान्तिक ज्ञानसँगै विद्यार्थीलाई व्यावहारिक ज्ञानलाई पनि प्राथमिकतामा राखेको थियो। विद्यार्थीको व्यावहारिक ज्ञानका लागि विभिन्न कार्यक्रम आयोजना गरिएका हुन्थे।

२०३४ सालतिरको कुरा हो, डा. लोहनीले पनि स्नात्तकोत्तर अध्ययनकै क्रममा अमेरिकी सरकारले प्रदान गरेको राष्ट्रिय विकास सेवा (एनडिएस)अन्तर्गत दुर्गम गाउँ पुग्ने अवसर पाइन्।

‘उबेला विद्यार्थीको लागि भनेर झण्डै चारवर्षसम्म अमेरिकी सरकारको सहयोगमा एनडिएस लागू भएको थियो’ उनी भन्छिन्, ‘त्यो अवसर मैले पनि पाँए। त्यसमा मास्टर्स गर्दागर्दै अनिवार्य एक वर्षसम्म गाउँमा गएर काम गर्नुपर्थ्यो।’

अनिवार्य भएकोले एनडिएस अन्तर्रगत उनी पनि सिन्धुपाल्चोकको ऐसेलुखर्क गाविस पुगिन्। उनीसँगै अन्य दुईजना साथी पनि थिए। गाउँघर पुग्न अहिलेजसो सहज थिएन। काठमाडौंबाट काभ्रेको पाँचखालसम्म बसमा अनी त्यहाँबाट दिनभर हिँडेर उनीहरू ऐसेलुखर्क पुगेका थिए।

उनी सुनाउँछिन्, ‘गाउँमा त्योबेलामा बाटोघाटो थिएन, स्कुल थिएन, त्यहाँ पढेलेखेका मान्छेहरू हुँदैनथे, शिक्षकहरू हुँदैनथे।’

डा. लोहनी ऐसेलुखर्क पुग्दा गाउँमा विकासको लहर आएको अनुभव गाउँलेहरूले गर्थे।

‘हामी जानुअघि सानो प्राथमिक विद्यालय थियो। पछि हामीले त्यसलाई १० कक्षासम्म बनायौं। गाउँमा शौचालय थिएनन्, त्यो पनि बनायौं,’ उनी भन्छिन्, ‘त्यसैले हामी गाउँमा पुगेपछि त्यहाँ विकासको लहर आएजस्तो लाग्ने रहेछ। हामीलाई गाउँमा राविसेको दिदीहरू भनेर चिन्थे। हामीले गाउँमा सुधार ल्याएका थियौं।’

डा. लोहनी र उनका साथीहरूले गाउँमा थुप्रै परिवर्तन ल्याए। ऐसेलुखर्कमा त्योबेलामा महिलाहरू जन्ती जाने चलन थिएन। त्यो चलन उनलाई अनौठो लाग्थ्यो। डा. लोहनी र उनका साथीहरू जन्ती गएको देख्दा गाउँलेहरू झनै चकित बन्थे।

‘महिलाहरूले जन्ती जाने चलन रहेनछ। जन्ती जाने, रमाइलो गर्ने भनेको लोग्ने मान्छेले मात्र हो भन्ने धारणा उनीहरूमा रहेछ’ उनी सुनाउँछिन्, ‘तर, हामी भने जन्ती बोलाउँदा जान्थ्यौं। हामी जन्ती गएको देख्दा त्यहाँका मान्छेहरू ‘ओहो, महिलाहरू पनि जन्ती आको’ भन्दै झ्यालबाट हेर्थे। त्यतिबेला र अहिले भने निकै फरक भइसक्यो।’

डा. लोहनी एनडिएसअन्तर्रगत ऐसेलुखर्क मात्र नभई सिन्धुपाल्चोकको सेर्माथाङ, हेलम्बु लगायत विभिन्न भेगसम्म पुगिन्। उबेलाजस्तो वास्तविक गाउँले जीवन अचेल नभेटिने उनको अहिलेको अनुभव छ।
‘अचेल त हाम्रा गाउँहरू वास्वविक लाग्दैनन्, जुन पहिले थिए। पहिले गाउँघर जादा दूधदही कसैको घरमा टुट्दैनथ्यो, अचेल सबै डेरीमा पुग्छ’ उनी भन्छिन्।

एकसाथ सम्हालिएका दायित्वहरू 
डा. लोहनी ऐसेलुखर्कमै काम गर्थिन्। त्यहाँका विद्यार्थीलाई पढाउने, सिकाउने, सचेतना फैलाउने काममा ब्यस्त। आफूसँगै गएका साथीहरूसँग गाउँमा रमाइरहेकी थिइन् उनी। त्यहाँ हुँदाहुँदै एकदिन उनको माइतीमा बिहेको कुरा चल्यो।

‘त्यतिबेला आफ्नो रोजाइ भन्ने हुँदैनथ्यो, बुवाआमाले जस्तो रोज्नुहुन्थ्यो उसैलाई ओके गरिन्थ्यो’ उनी सम्झन्छिन्, ‘त्यतिबेला मलाई बिहे गर्न मन थिएन। पढ्दै थिए। रमाइलो जीवन चलिरहेको थियो। तर पनि बुवाआमाले केटा रोज्नुभएपछि मैले नाइनास्ती गरिनँ। कुरा छिनेको केहि समयमै हाम्रो बिहे भयो।’

डा. लोहनी २२ वर्षकी थिइन्। उनको बिहेको लागि छिनिएका व्यक्ति थिए, वसन्त लोहनी। त्यतिबेला वसन्त लोहनीले बुटवलमा घिउ रिफाइनरी फ्याक्ट्री सञ्चालन गर्थे। वसन्त र उषाबीच बिहेअघि भेट भएको थिएन। आफ्नो बिहेबारे वसन्त र उषा दुवै जानकार पनि थिएनन्। घरमा बिहेको कुरा छिनिसकेपछि दुवैले औपचारिक रूपमा एकअर्कासँग भेटे। त्यसको तीन महिनामै विवाह भयो।

विवाहपछि पनि डा. लोहनीले अध्ययनमा पूर्णविराम लगाइनन्। थपिएका जिम्मेवारी निभाउँदै गइन्। घर व्यवहार, दुई सन्तान हुर्काउने, अध्ययन, अध्यापनलाई उनले एकसाथ गरिन्। गायन पनि जारी नै थियो। गीत रेकर्डको लागि समय निकालेर रेडियो नेपाल पुग्थिन्। 

 ‘संयुक्त परिवार थियो, पाहुना आउने, चाडपर्व, घर व्यवहार, त्यसमाथि आफ्ना दुई सन्तान(छोरा र छोरी)हुर्काउने जिम्मेवारीहरू थियो’, उनी भन्छिन्, ‘मास्टर्सको अध्ययन र त्यसपछि अस्कलमा साइन्स पढाउने गर्थें। अहिले ती दिन सम्झँदा कसरी सबै दायित्व एकैपटक पूरा गरेछु भनेर दंग पर्छु।’

‘भारतका विभिन्न शहर चहार्दा बल्ल पुस्तक पाए’
उसो त डा. लोहनीको परिवारले कहिल्यै पनि उनलाई बुहारीको दृष्टिकोणले मात्र हेरेनन्। जिम्मेवार व्यक्तिको रूपमा व्यवहार गरे। उनका दायित्व र जिम्मेवारीहरूलाई साथ दिए। समर्थन गरे। त्यसमा पनि बढि साथ र समर्थन श्रीमान्ले दिए। साथ र समर्थनले उनमा हौसला थपियो। डा. लोहनीले विद्यावारिधि गर्ने सोच बनाइन्, त्याे पनि नयाँ विषय एथ्नाेजुलाेजीमा।

‘पिएचडी (विद्यावारिधि) गर्ने इच्छा पहिलेदेखि नै थियो। तर बिहेपछि के हुन्छ टुंगो थिएन,’ उनी सुनाउँछिन्, ‘मेरो इच्छामा श्रीमान्ले बढि साथ दिनुभयो। हौसला मिल्यो। कुन विषयमा अध्ययन गर्ने भनेर अवधारणा तयार पारेँ र आफ्नाे काम अघि बढाए।’

सन् २००३ को कुरा हो, उनी त्रिविको पुस्तकालय धाइन्। आफूले रोजेको विद्यावारिधिको शीर्षकको अध्ययन सामग्री जुटाइन्। अध्ययनको लागि श्रीमान्सँगै भारतको बैंगलोर पुगे। बैंगलोरमा उनको छोरीले कानुन विषय अध्ययन गरिरहेकी थिइन्। छोरीको कलेजनजिकै बैंगलोर विश्वविद्यालयमा पिएचडीका लागि भर्ना भइन्।

उनको शोधको विषय थियो, एथ्नोजोलोजी अर्थात् मानव र जनावरबीचकाे अन्तरसम्बन्ध। नेपालका सातवटा आदिवासी समूहको जीवजन्तु र वातावरणसँगको अन्तरसम्बन्ध माथि केन्द्रित थियो। जिरेल, तामाङ, पहरी, दनुवार, चेपाङ, माझीलगायत नेपालका विभिन्न सातवटा आदिवासी समूह र जीवजन्तुलाई उनले आफ्नो शोधको केन्द्रमा राखेकी थिइन्।  

सो विषयअन्तर्गत यसअघि कुनै पनि किसिमका अध्ययन भएका थिएनन्। न त अहिलेजस्तो इन्टरनेट नै थियो। प्रशस्त सामग्री पाइँदैनथ्यो। अध्ययन नै नभएको विषयमा शोध गर्नु डा. लोहनीको लागि नयाँ चुनौति थियो।

‘अरु विषयमाथि शोधखोज भइरहेको थियो’ डा. लोहनी सुनाउछिन्, ‘तर लोपोन्मुख आदिवासी र वनस्पति र जीवजन्तुबीचको अन्तरसम्बन्ध के–कस्तो थियो भन्नेबारे विदेशतिर अध्ययन सुरु भएको थियो। यता भने कसैले अध्ययन गरेका थिएन।’

नेपालमा उनको शोधसँग सम्बन्धित कुनै पनि सन्दर्भ सामग्री थिएनन्। भएभरका पुस्तकालय चहार्दा पनि भेटिएनन् सामग्री। भारतका बैंगलोर, दिल्ली, बनारस, मैसुर लगायतका स्थानमाबाट सन्दर्भ सामग्री र पुस्तक जम्मा पारिन्।

नयाँ सामग्री भएकाले उनले अरूले गरेका काम हेरिन्। लामो समय फिल्डमा बिताइन्। प्रशस्त अध्ययन गरिन् र शोध प्रकाशित गरिन्। शोधमार्फत डा. लोहनीले आदिवासी, जीवजन्तु र वनस्पतिबीचको अन्तरसम्बन्धबारे धेरै तथ्य पत्ता लगाइन्। उनका धेरै शाेधहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्।

‘आदिवासीहरू त जैविक विविधतामाथि नै आश्रित हुँदै आएको हो। त्यसैले पहिलेको र अहिलेको अवस्था, अन्तरसम्बन्ध, जीवजन्तु र वनस्पतिको संरक्षणप्रति आदिवासीको झुकाव के–कस्तो छ भन्नेबारे मेरो सोध केन्द्रित थियो,’ उनी भन्छिन्, ‘आदिवासीले कुन-कुन जीवजन्तुलाई खानपान, धर्मसंस्कृति, औषधिलगायत अन्य क्षेत्रमा प्रयाेग गर्थे, उनीहरूको समग्र सम्बन्ध के थियो, संरक्षण र पुस्तान्तरण अभावमा र बदलिँदो समयसँगै त्यसको भविष्य के हुने भन्नेबारे मेरो शोधमा उल्लेख छ।’

आफ्नो शोधले यस विषयमा अध्ययन गर्न धेरै मद्दत पुग्ने उनको विश्वास छ। यस विषयमा अध्ययन गर्न चाहनेले आफूले जस्तो विदेशका पुस्तकालय धाउनु नपर्ने उनी बताउँछिन्।

उनी भन्छिन्, ‘आदिवासीसँग भएको ज्ञान अहिले प्रयोगमा नआए पनि त्यसलाई हामीले संकलन गरेर राख्नुपर्छ, जुन महत्त्वपूर्ण छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ब्याच नम्बर ६९ : युनुस घटनामा भारतीय सुरक्षा सङ्गठनको भूमिका देखेपछि प्रधानमन्त्रीलाई भने' योबारे भारतको प्रधानमन्त्रीसँगै कुरा गर्नुपर्‍यो'

यस्तो बेलामा सुरक्षाकर्मीले अन्य स्रोत उल्लेख गरेर भन्न खोजेको कुरा भन्ने गरेका हुन्छन्। कुनै घटनामा भारतको कस्तो भूमिका छ भन्ने खुलाउन सिधै हाम्रो अनुसन्धानमा यस्तो....

चौथो अंग : सत्ताको भाषा बोलेर मुद्दालाई उपेक्षा गर्ने र बहसै नगर्ने भए हाम्रा मिडिया

उदाहरणका लागि थारु आन्दोलन र मधेश आन्दोलनलाई लिन सकिन्छ। सत्ताको भाषा इन्जोय गर्याे मिडियाले। अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पनि मिडियाले खासै भाउ दिएको थिएन।....

रमा ढुङ्गानाको प्रसव पिडा र खुसी : हेल्थपोष्ट जाँदा पुरुष स्वास्थ्यकर्मी रहेछन्, घरमै फर्केर छोरी पाँए

OOO मेरो बुबा ज्ञानप्रसाद ढुङ्गाना अहिले स्वर्गीय हुनुभयो। आमा हेमगंगा ढुङ्गाना उहाँकै आमा अर्थात् मेरी हजुरआमालाई स्याहार गरेर गाउँमा बस्नुहुन्छ। मेरो जन्म कृषक परिवारमा भएको....

डा. रविन्द्रको उपचार अनुभव : थला परेका बिरामीले तुरुन्तै उपचार नगरे आत्महत्या गर्छु भनेपछि...

खुट्टा फटाएर दिसा, पिसाब गर्न सक्दैनथे। ट्वाइलेट जान नसक्दा कोपरामा दिसापिसाब गर्नुपथ्र्यो। सामान्य दैनिकीसमेत गर्न नसकेर थला परेका विराटनगरका ती पुरुष बिरामीले निक्कै कष्ट खेपिरहेका....

मुकुन्दशरणकाे हिजाेका कुरा : राजा महेन्द्रले दिएको एक हजार बक्सिसले छापेको किताबले जब मदन पुरस्कार पायो

राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो कविलाई उत्कृष्ट भनेको सम्झँदै उनी भन्छन्, ‘राष्ट्रकवि माधवप्रसाद घिमिरेले समेत मलाई कवि लेखनाथको दाँजोमा कविता लेख्ने कविका रूपमा विश्लेषण गर्थे।’ माधव....