जय नेपाल हलले टुकुचा खोला मिचेर कम्पाउन्ड बनाएको पुष्टी भयो, १५ फिट खोतल्दै देखियो खोला

जय नेपाल हलले टुकुचा खोला मिचेर कम्पाउन्ड बनाएको पुष्टी भयो, १५ फिट खोतल्दै  देखियो खोला

काठमाडौंः हात्तीसारमा रहेको जय नेपाल हलको कम्पाउन्डभित्र टुकुचा खोला फेला परेको छ। बिहीबार काठमाडौं महानगरको डोजरले हलको कम्पाउन्डमा डोजर लगेर १५ फिट खोतल्दा  नै खोला फेला परेको महानगरका सहप्रवक्ता महेशकुमार काफ्लेले जानकारी दिए।

नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा खोला त्यसपछि गायब छ। महानगरले यस अगाडि नै टुकुचा खोला मिचेर बनेका संरचना हटाउन सार्वजनिक सूचना नै निकालेको थियो। तर कसैले पनि तोकिएको समयमा खोला क्षेत्र छाडेनन्। 

त्यसपछि महानगरले बिहीबार डोजर लगेर खोलाको बहाव क्षेत्र खोज्न हल पुगेको थियो। बहाव क्षेत्रको आधारमा जय नेपाल हलको कम्पाउन्ड भित्र खोतल्दा टुकुचा निस्किएको काफ्लेले बताए।

महानगरले पछिल्लो समय अनधिकृत संरचनामाथि डोजर चलाइरहेको छ। अब सोही बहाव क्षेत्रलाई आधार बनाएर हराएको खोलाको संरचना कायम गर्ने महानगरको तयारी छ।

नारायणहिटी भित्रसम्म देखिने टुकुचा खोला त्यसपछि भने हराएको छ। जय नेपाल हलदेखि यता कमलादीसम्मै खोलानै देखिन्न।

३० भदौ, २०७९, १६:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।