बाल दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई दियो ल्यापटप

बाल दिवसका अवसरमा नरैनापुर गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई दियो ल्यापटप

बाँके: बाँकेको नरैनापुर गाँउपालिकाले २६ जना उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ। ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा हिजो महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाँउपालिकाभित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको हो।

सम्मानित हुने विद्यार्थीहरूमध्ये दिक्षीणा यादव र पवनसिंह यादवले एसईईमा सर्वोत्कृष्ट अंक ल्याएका थिए। उनीहरूलाई ल्यापटप प्रदान गरिएको थियो। अरू उत्कृष्ट विद्यार्थीहरूलाई नेपालको संविधान, कापी, झोला, प्रमाणपत्र र खादा लगाइएको थियो।

कार्यक्रममा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको रोड निर्माण गर्नु मात्र नभएको बताउँदै शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रूपमा विकास हुँदै जाने बताए। 

गाँउपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद थारुले नरैनापुरभित्रको शिक्षाको गुणस्तरलाई अगाडि बढाउनका लागि विद्यार्थी, शिक्षक र विद्यालयलाई हौसलास्वरूप उक्त पुरस्कार तथा सम्मान प्रदान गरिएको जानकारी दिए।

यस्तै सोही गाँउपालिकाको वडा नं. ६ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय जमुनीले हिजै ‘बालमैत्री समाजको आधार: जिम्मेवार परिवार, उत्तरदायी सरकार’ विषयमा वक्तृत्वकला कार्यक्रम समेत आयोजना गरेको थियो। वक्तृत्वकलामा उत्कृष्ट भएकाहरूलाई गाँउपालिका अध्यक्ष शाहले पुरस्कार वितरण गरेका थिए।

नरैनापुरलाई बाँकेको सबैभन्दा विकट पालिका मानिन्छ।

३० भदौ, २०७९, ०७:३९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।