कभर स्टोरी

सहरमा डेंगु फैलँदा मूल्य बढाउने खेलमा बजारबाट पारासिटामोल गायब

नेपाली औषधि उत्पादक कम्पनीहरूले एक चक्की पारासिटामोलमा करिब ५० प्रतिशत घाटा बेहोरिरहेको भन्दै मूल्य बढाउनुपर्ने माग राख्दै आएका छन्। नेपालमा एक चक्की सिटामोल एक रुपैयाँभन्दा बढीमा बेच्न पाइँदैन।


काठमाडौँ : पारासिटामोल अत्यावश्यक औषधिको सूचिमा पर्छ। त्यसैले उत्पादन अनुमति लिएका उत्पादकले सिटामोल उत्पादन रोक्न नपाइनुपर्ने हो।

तर, डेंगु सङ्क्रमणको प्रकोपले उग्र रूप लिँदै गएको अवस्थामा नेपाली औषधी उत्पादक कम्पनीले भने पारासिटामोलको अभाव गराएका छन्। मूल्य बढाउन दबाब दिँदै आएका नेपाली औषधी उत्पादकले जब पारासिटामोलको माग बढ्दै जान्छ तब अभावको अवस्था निम्त्याउने गरेको देखिन्छ।

यसअघि कोरोना भाइरस सङ्क्रमणले उग्ररुप लिइरहेको अवस्थामा पनि नेपाली औषधि उत्पादक पर्याप्त पारासिटामोलको उत्पादन नगर्दा अभाव भएको थियो।

औषधि व्यवस्था विभागका सूचना अधिकारी डा. सन्तोष केसीले पारासिटामोलको अभाव भएको गुनासो आएको जानकारी दिए।

उनले भने,‘अलिअलि गुनासो चाहिँ आएको छ।’

अलिअलि उत्पादन भए पनि पारासिटामोल कम उत्पादन हुनुको मुख्य समस्या मूल्य समायोजन नै देखिएको सूचना अधिकारी केसीले बताए।

उत्पादकले देखाउनका लागि मात्रै पारासिटामोलको उत्पादन गरिरहेका हुन्? भन्ने जिज्ञासामा केसीले भने,‘उत्पादन अलिअलि छ। मुख्य समस्या मूल्यकै हो।’

पारासिटामोल उत्पादनमा घाटा लाग्ने उत्पादकहरूले बताउँदै आएको केसीले सुनाए। जसले गर्दा पारासिटामोलको उत्पादनमा केही समस्या देखिएको उनले स्वीकारे।

जतिखेर अप्ठेरो पर्छ अनि त्यतिबेलै पारासिटामोलको अभाव गराउने नेपाली औषधी उत्पादकलाई औषधी व्यवस्था विभागले के गर्छ त? भन्ने जिज्ञासामा केसीले भने,‘हामीले भनिराखेका छौँ, तपाईँहरूले पनि मिलाइदिनुहोस् केही समयलाई त्यसपछि सहज हुँदै आउला भन्ने कुरा छ।’

रणनीतिक रूपमा नै कोरोना भाइरस सङ्क्रमण र डेंगु सङ्क्रमणको समयमा नेपाली उत्पादकले पारासिटामोलको अभाव गराएको आशय व्यक्त गरे। उनले भने,‘कोभिडको बेलामा पनि उहाँहरूले त्यस्तरी नै गरिदिनु भयो। अहिले डेंगु हुँदा पनि त्यस्तै त्यस्तै भइरहेको छ।’

नेपाली औषधी उत्पादक कम्पनीलाई उत्पादन र सन्तुलन मिलाउन भनिरहेको केसीले दाबी गरे।

उनले भने,‘उत्पादन र सन्तुलनको वितरण मिलाउनु भनेर हामीले भनिरहेकै अवस्था छ।’

नेपाल औषधि लिमिटेडले  पनि पारासिटामोलको उत्पादन गरिरहेकाले केही दिनमा पारासिटामोलको अभाव हट्दै जाने केसीको दाबी छ।

उनले भने,‘नेपाल औषधि लिमिटेडले पनि बनाइरहेको छ। २र४ दिनमा सहजै हुँदै जान्छ यो।’

अझै उत्पादन घट्ने उत्पादकको चेतावनी

नेपाल औषधि उत्पादक सङ्घ (एप्पोन)ले भने मूल्य समायोजन नभए अझै पारासिटामोलको उत्पादन घट्दै जाने चेतावनी दिएको छ।

औषधि उत्पादक सङ्घका उपाध्यक्ष सन्तोष बरालले मूल्य समायोजन नभएसम्म र रोगब्याधी आउन्जेलसम्म पारासिटामोलको अभाव भइरहने तर्क गरे।

उनले भने,‘मूल्य समायोजन नहुञ्जेलसम्म र यस्तो खालको रोगव्याधि आउन्जेलसम्म अलिअलि सर्टेज भइरहन्छ।’

विगत ११ वर्ष यता बजारको माग भन्दा करिब ५० प्रतिशत कम पारासिटामोलको उत्पादन भइरहेको उपाध्यक्ष बरालले स्वीकारे।

‘नियमित भन्दा ५० प्रतिशत उत्पादन कम छ। आयात पनि ५० प्रतिशत कम छ,’उपाध्यक्ष बरालले भने,‘मूल्य समायोजन नभए ५० प्रतिशतबाट पनि बिस्तारै घट्दै जाने हो।’

अन्तर्राष्ट्रिय बजार अनुसार मूल्य समायोजन नहुँदा पारासिटामोलको उत्पादन लागत नै नउठेको औषधि उत्पादकले बताउँदै आएका छन्। अहिले पारासिटामोलको उत्पादन खर्चनै नउठ्ने उत्पादकको भनाई छ।

तर, जतिजतिखेर अप्ठेरो पर्छ त्यतित्यतिखेर उत्पादकले पारासिटामोलको अभाव गराएको देखिन्छ नि त? भन्ने जिज्ञासामा उपाध्यक्ष बरालले भने,‘त्यो गलत कुरा हो। अरुबेला सर्टेज नहुने यतिबेला सर्टेज कसरी हुन्छ।’ उनले यस्तो रोगको सङ्क्रमणको समयमा बजारमा आवश्यकता भन्दा बढी माग हुने तर माग अनुसार उत्पादन नहुने भएकाले अभाव हुनु स्वाभाविकै भएको तर्क गरे।

यसअघि उपाध्यक्ष बरालले उकेरासँगको कुराकानीमा सरकारले मूल्य समायोजन नगरे पारासिटामोलको उत्पादनै बन्द गर्ने अवस्थामा पुगिसेको बताएका थिए।

सरकारले मूल्य समायोजन नभए फेरी जुनसुकै बेला पारासिटामोलको अभाव हुने उपाध्यक्ष बरालले चेतावनी दिएका थिए। ‘सरकारले (मूल्य समायोजन) गर्छ भने गर्छ गर्दैन भने यो सर्टेज फेरी पनि हुन्छ,’बरालले भनेका थिए।

औषधि लिमिटेडमा मागको चाप

निजी औषधि उत्पादकहरूले पारासिटामोलको उत्पादन पर्याप्त नगरिदिएपछि नेपाल औषधि लिमिटेडलाई भने सिटामोल उत्पादनको बजार माग धान्न मुस्किल परेको छ।

औषधि लिमिटेडका सूचना अधिकारी तथा खरिद प्रमुख टीकाराम अर्यालले सामान्य अवस्थामा भन्दा एक हप्ता यता सिटामोलको मागको चाप बढेको जानकारी दिए। तर, अभाव भने भई नहालेको उनले बताए। अर्यालले भने,‘एक हप्ता दश दिन देखि माग बढेको छ।’

अर्यालका अनुसार सामान्य अवस्थामा दैनिक एक लाख चक्की सिटामोल बजारमा जाने गरेको थियो। तर, अहिले भने दिन सक्ने हो भने जति पनि सिटामोल बिक्न सक्ने अवस्थामा रहेको अर्यालले बताए।  उनले भने,‘दिन सक्ने हो भने जति पनि विक्री हुने अवस्था छ अहिले।’

लिमिटेडले सिटामोल उत्पादन गरिरहेको र अहिले दश लाख भन्दा बढी चक्की सिटामोल लिमिटेडमा रहेको उनले बताए।

५० लाख चक्की सिटामोल बन्ने कच्चा पदार्थ अर्को हप्ता आइपुग्ने अर्यालले जानकारी कच्चा पदार्थ खरिदका लागि भारतमा अभाव नभए पनि मूल्य भने बढ्दो क्रममा रहेको अर्यालले बताए। केही समय अघि प्रति किलो पाँच सय ५० भारतीय रुपैयाँ (भारु) मा सिटामोलका लागि आवश्यक कच्चा पदार्थ खरिद गरेको अर्यालले जानकारी दिए। अर्यालका अनुसार अहिले भने फेरी बढेर कच्चा पदार्थको मूल्य प्रतिकिलो सात सय पुगेको छ। केही महिना अघि कच्चा पदार्थको मूल्य बढेर प्रतिकिलो एक हजार भारु भन्दा बढी पुगेको थियो।

अहिलेको कच्चा पदार्थको मूल्यमा समेत सिटामोल उत्पादनमा लिमिटेडले घाटा बेहोरिरहेको अर्याल बताउँछन्।

लिमिटेडसँग दैनिक तीन लाख भन्दा बढी चक्की सिटामोल उत्पादन गर्ने क्षमता छ। अर्यालका अनुसार दैनिक एक ब्याच सिटामोल उत्पादन भइरहेको छ। एक ब्याचमा तीन लाख २० हजार चक्की सिटामोल उत्पादन हुने उनले जानकारी दिए।

लिमिटेडका महाप्रबन्धक मोहम्मद सफिउल्लाहले कोरोना भाइरससंक्रमणको अवस्था देखिनै सिटामोलको माग सामान्य अवस्थामा आई नसकेको बताए। त्यसपछि डेंगु सङ्क्रमण भएको अहिलेको अवस्थामा सिटामोलको माग बढेको उनले बताए। त्यसै गरी मौसमी फ्लुका कारण समेत सिटामोलको माग बढेको महाप्रबन्धक सफिउल्लाहले जानकारी दिए। आफूले पनि बजारमा पारासिटामोलको अभाव छ भन्ने विषय थाहा पाएको उनले बताए। महाप्रबन्धक सफिउल्लाले भने,‘एक हप्तादेखि सिटामोलको मागको चाप बढेको छ।’ तर, औषधि लिमिटेडमा सिटामोलको उत्पादनमा भने कमी नभएको उनले बताए।

पैसाको खेलले उत्पादनमा समस्या

नेपाली औषधि उत्पादक कम्पनीहरूले एक चक्की पारासिटामोलमा करिब ५० प्रतिशत घाटा बेहोरिरहेको भन्दै मूल्य बढाउनुपर्ने माग राख्दै आएका छन्। नेपालमा एक चक्की सिटामोल एक रुपैयाँभन्दा बढीमा बेच्न पाइँदैन।

उत्पादकले भारतको मूल्य बराबर सिटामोलको मूल्य समायोजन हुनुपर्ने माग राख्दै आएका छन्। भारतमा प्रति चक्की पारासिटामोलको मूल्य एक रुपैयाँ ८० पैसा (नेपाली रुपैयाँ) भन्दा बढी रहेको उत्पादकको तर्क छ।

करिब ९९ प्रतिशत सिटामोल नेपाली उत्पादनले नै धान्दै आएको छ। कोरोना भाइरस महामारीको समयमा सिटामोलको अभाव भएपछि भारतबाट समेत सिटामाले आयात भएको थियो। त्यसो त नेपालमा हालसम्म ५०० एमजीको पारासिटामोल बन्दै आएको छ।

तर, निवर्तमान स्वास्थ्यमन्त्री विरोध खतिवडाको पालामा नै केही महिनाअघि औषधि सल्लाहकार समितिको बैठकले ६५० एमजीको पारासिटामोल बनाउन दिने निर्णय गरेको थियो। र, सरोकारवालाले मानव स्वास्थ्यमा नै नकारात्मक असर पर्ने भन्दै यसको चर्को विरोध समेत गरेका थिए।

औषधिको नियमन तथा निगरानी गर्ने निकाय औषधि व्यवस्था विभाग हो। सरकारले ५०० एमजीको पारासिटामोलको मूल्य नबढाएपछि उत्पादकले ६५० एमजीको पारासिटामोल उत्पादन गरेर लाभ लिने दाउमा छन्, उत्पादकहरू।

तर, पारासिटामोलको मूल्य बढाउने प्रक्रिया अघि नबढेको सूचना अधिकारी केसीले जानकारी दिए। ६ सय ५० एमजी बनाउन दिने निर्णय गरिसकेको पनि यसको मूल्य कति राख्ने भन्ने विषय टुङ्गो नलागिसकेको केसी बताउँछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

ट्रमा सेन्टर प्रमुख मरासिनीको चलाखी : चुनावको  मौका छोपेर निकाले ३० करोडको ठेक्का

सो जमानत रकमको आधारमा हेर्दा करिब ३० करोड मूल्यको एमआरआई खरिदको लागि टेन्डर भएको देखिन्छ। ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनीले नियमित कार्यक्रम अन्तर्गतको खरिद....

जब थापाथली सुकुम्बासी बस्तीका बासिन्दाले सूचनालाई हल्ला सम्झिए…

कोही खल्च्याङ्ग खल्च्याङ्ग गर्दै हिडिरहेका थिए। एक स्थानीयवासीले आक्रोशित हुँदै भने, 'हिजो पो हाम्रो तयारी थिएन। उनीहरू आइहाले। ल आज हेरौं त कसरी आउँदो रहेछ!’....

रविको अर्को 'अपराध'को खुलासा : अमेरिकी पासपोर्ट हुँदाहुँदै झुक्याएर निकाले नेपाली पासपोर्ट

उनले निवेदनमा खुलाएको विवरणले उनीसँग सन् २०१८ मे १७ अर्थात् विक्रम संवत् २०७५ जेठ ३ सम्म अमेरिकी राहदानी नै रहेको पुष्टि हुन्छ। उकेराले प्राप्त गरेको....

चितवन- २ मा उपनिर्वाचन कि रविलाई सफाई ?

निर्वाचन कानूनअनुसार कुनै उम्मेदवारको उम्मेदवारीबारे कानूनी प्रश्न उठे मतपरिणाम घोषणा अगाडि भए निर्वाचन आयोगले निर्णय गर्नसक्छ। परिणाम आइसकेपछि भने यो सिधा संवैधानिक इजलासमा जान्छ। रविले....

गगनको संसद् यात्रा : घट्दो लोकप्रियता, बढ्दो जिम्मेवारी

विद्यादेवी भण्डारीलाई हराएर सांसद बनेकी घिमिरेको केही जोड चलेन। उनले सय हाराहारी मत ल्याइन्। पशुपति क्षेत्रका स्थानीय अनि काठमाडौँ-४ मा परिचित कुइँकेलको मत पनि थापाको....