अदालतको पारा : बलात्कारको मुद्दामा जेलमा रहेकालाई उच्च अदालतको कर्मचारीले लागुऔषध मुद्दा बनाइदिए

अदालतको पारा : बलात्कारको मुद्दामा जेलमा रहेकालाई उच्च अदालतको कर्मचारीले लागुऔषध मुद्दा बनाइदिए

काठमाडौँ : भदौ १४ गते उच्च अदालत पाटनबाट नख्खु कारागारमा रहेका विजय सुनुवारलाई पेशीको ब्यहोरा जानकारी गराउने सम्बन्धी पत्र गयो।

पत्रमा मिति प्रस्ट २०७९-४-१४ उल्लेख छ। कारागार कार्यालय नख्खुको नाममा काटिएको पत्रमा' प्रतिवादी सुनुवार, वादी नेपाल सरकार भएको लागुऔषध मुद्दा मिति २०७९ भदौ २० गते पेशी सूचीमा चढेको हुँदा तहाँ कारागार कार्यालयमा थुनामा रहेका प्रतिवादीलाई जानकारी गराउन' लेखियो।

कारागार कार्यालयले पेशी बुझ्न आएको पत्र बुझ्यो। २०७९ साउन १४ को मितिमा तोक लगायो' पत्रमा उल्लेखित प्रतिवादी यस कार्यालयमा नरहेको जानकारी गराइन्छ।'

भदौ २० मा पेशी तोकिइसकिएको थियो।  त्यही दिन अदालतमा मुद्दाको सुनुवाइ भयो  थुनुवाको उपस्थिति बेगर। त्यही दिन जिल्ला अदालतको फैसला सदर गर्ने फैसला आयो।

बलात्कार अभियोगमा २०७६ पुस १५ मा पक्राउ परेका सुनुवारमाथि लागेको अभियोगमा फैसला गर्दै काठमाडौँ जिल्ला अदालतले २०७८ कात्तिक २३ गते सात वर्ष कैद र ५० हजार जरिवानाको फैसला गरेको थियो।

पहिला उनलाई जगन्नाथ देवल कारागार पठाइयो २०८३ पुस १५ सम्म कारागारमा राख्ने गरी। पछि उनी कारागार सरुवा भएर नक्खु पुगेका थिए। यस अगाडि यसरी नै म्यादको पत्र कारागारमा आउँथ्यो। अनि पत्रमा लेखिएको मिति अनुसार उनी अदालतमा हाजिर हुन्थे।

२०७९ असार ५ गतेको मितिमा काठमाडौँ जिल्ला अदालतले नख्खु कारागारमा पत्र पठाएर म्याद तामेली गराएको उकेरालाई प्राप्त पत्रमा देखिन्छ। सो पत्र अनुसार पुनरावेदनको म्याद तामेली पनि भयो।

सुनुवारले जिल्ला अदालतको फैसलामा चित्त नबुझाएर उनले उच्च अदालतमा पुनरावेदन दिएका थिए। तर उनी त्यही कारागारमा हुँदाहुँदै त्यही पुनरावेदनको पेशीमा भने उनीसम्म अदालतको पत्रै पुगेन।

कारण, उनी कारागारमा जवर्जस्ती करणीको मुद्दामा दोषी ठहर भएर कारागारमा बसेका थिए। तर अदालतले पेशीको जानकारी गराउन काँटेको पत्रमा उनीमाथिको मुद्दाको प्रकारै गलत लेख्यो। शाखा अधिकृतले लेखेको पत्रमा जवर्जस्तीकरणीमा कारागारमा रहेका भनेर पत्र पठाउनुपर्नेमा प्रस्ट कम्प्युटर टाइप गरिएको पत्रमा लागुऔषध मुद्दा भनेर लेखियो।

कारागारमा लागुऔषध मुद्दामा सो नाम गरेका कैदी थिएनन्। कारागारले सो कैदी आफ्नो कारागारमा नरहेको भनेर पत्र पठायो। अदालतले प्रतिवादीविनाकै फैसला गरिदियो।

न्यायाधीशले फैसला गर्दा दुवै पक्षको कुरा सुन्नुपर्छ भन्ने प्राकृतिक न्यायको सिद्धान्त हो। तर अदालतबाट गलत मुद्दा उल्लेख गरेर पत्र पठाउँदा कैदमा रहेका सुनुवारले आफ्नो पुनरावेदन फैसलामा उपस्थित नै हुन पाएनन्।

कानुनका जानकार अधिवक्ता श्याम विके यसलाई अदालतको गम्भीर लापरबाही रहेको बताउँछन्। उनले यो प्राकृतिक न्यायको सिद्धान्तबमोजिम फैसला नभएको टिप्पणी गरे।

‘सुनुवार अहिले पनि नख्खु कारागारमै छन्,’ उनले भने, ‘अदालतले जबरजस्ती करणीको मुद्दालाई लागुऔषध भनेर लेख्दा उनी अदालतमा उपस्थित हुन पाएनन्, यो प्राकृतिक न्यायको सिद्धान्तबमोजिम भएन।’

उच्च अदालत पाटनका रजिस्टार ठगिन्द्र कट्टेलले अदालतका कर्मचारीबाट भएको यो काम लापरबाहीको पराकाष्ठा र अक्षम्य गल्ती भएको स्वीकार गरे। उनले यसबारे थप बुझ्ने उकेरासँग खुलाए।

'यो अक्षम्य गल्ती हो। यसबारे हामी छानबिन गर्छौँ,' उनले भने' अब यस्ता गल्ती दोहोरिन नदिन आवश्यक कदम चाल्ने छौँ।'

बर्थडे पार्टीपछि बलात्कार...
बयानमा प्रतिवादी सुनुवारले भाइको साथीमार्फत युवतीसँग घटनाको २० दिन अगाडि चिनजान भएको उल्लेख गरेका छन्। उनीसँग निरन्तर फोनमा सम्पर्क भए पनि भेटघाट नभएको र घटनाको दिन एक साथीको जन्मदिनको पार्टीमा भेट भएको उल्लेख गरेका छन्।

बुढानीलकण्ठको एक होटेलमा बसेर बियर र चाउमिन खाएपछि घर जाने भनेर पीडित युवतीसहित ७ जना भक्तपुरको सल्लाघारीमा ओर्लिएको बयानमा उल्लेख छ।

अर्को केटा साथी र सुनुवार पिसाबका लागि गएर आउँदा अन्य सबै युवतीहरू नभएको र पीडित युवती मात्र भएको उनले उल्लेख गरेका छन्। उनले 'म तिम्रो कोठामा जाँदा अप्ठेरो पर्छ कि पर्दैन' भनेर सोधेपछि आफूले पर्दैन भनेको र भक्तपुरबाट बस चढेर सुकेधारामा आएर ओर्लिएको उल्लेख छ।

सुनुवारको घरमा दुई कोठा मात्रै थियो। अर्को कोठामा अन्य व्यक्तिहरू सुतेकाले सुनुवार र युवती एकै कोठामा सुते। कोठामा पुगेर खाना बनाएर खाएको र सुतेको उल्लेख गरेका छन्। कोठामा बेलुका दुवैको सहमतिमा एक पटक यौन सम्बन्ध भएको उनले सकारेका छन्। बयान कागज अनुसार बेलुका उनीहरूबिच शारीरिक सम्पर्क भयो। युवती भोलिपल्ट घर गइन्। 

त्यसको ३ दिनपछि युवकविरुद्ध प्रहरीमा 'आफूलाई रक्सी खाएको बेला जबरजस्ती करणी गरेको' भन्दै जाहेरी पर्यो। जाहेरीमा युवकले रक्सी खाएर अर्धचेत अवस्थामा रहेको बेला ४ पटक करणी गरेको उल्लेख छ। त्यसपछि युवक पक्राउ परे।

प्रतिवादी सुनुवारले यौन सम्बन्ध भएको स्वीकार गरे। तर सहमतिमा एक पटक यौन सम्बन्ध भएको उनको दाबी थियो। काठमाडौँ जिल्ला अदालतले सुनुवारलाई दोषी ठहर गर्यो।

अदालतमा बदलिएको बयान

जुन युवतीको जन्मदिन हो उनले सुनुवार आफ्नो पुरानो साथी नभएको तर जन्मदिनको पार्टीको अर्को केटा साथीसँगै आएको, बियर र चाउमिन खाएको, भक्तपुर गएको र पीडित युवती आफ्नो कोठामा जान खोज्दा दाइहरू हुनुहुन्छ गाली गर्छन् भनेको बयान दिएकी हुन्।

त्यसपछि दुवैको सहमतिमा उनीहरू सुनुवारको कोठामा जान भक्तपुरबाट हिँडेको र भोलिपल्ट विद्यालयमा गएपछि पीडितबाट घटनाबारे जानकारी पाएको उनले बयानमा दाबी गरेकी छिन्।

जाहेरीकर्ताले साथीको जन्मदिन मनाएर सल्लाघारीसम्म गएको बयान उस्तै छ। उनले अदालतमा गरेको बयानमा जन्मदिन भएको साथीले कोठामा बुबा हुनुहुन्छ भनेको बताएकी छिन्। त्यसपछि आफू २ जना केटासँग आएको तर आफू झ्याप भएकाले केही थाहा नभएको दाबी गरेकी छिन्।

१९ वर्षकी ती युवतीका अनुसार आफू होसमा आउँदा आफू सुनुवारको कोठामा रहेको थाहा पाएको र सुतिरहेको बेलामा सुनुवार आएर बलात्कार गरेको भन्दै सो घटना आफू होसमा आएपछि मात्रै थाहा पाएको उल्लेख गरेकी छिन्।

करणी गर्ने बेलामा सुनुवारले आफ्नो घाँटीमा टोकेर रातो नीलडाम बनाएको उनले बयानमा उल्लेख गरेकी छिन् भने स्वास्थ्य रिपोर्टमा समेत यो उल्लेख छ। बिहान उठ्दा सुनुवार नउठेपछि उनको दाइले आफूलाई बसपार्कसम्म पूर्याएको र आफू घर आएर स्कुल गएपछि शिक्षक र अभिभावकलाई भनेको बयानमा उल्लेख छ।

प्रहरी बयानमा युवतीले, ‘...घरमा बाबुआमा कराएपछि जाहेरी दिएको र घरमा बाबुआमा नकराएको भए म आफैँ चाहिँ जाहेरी दिने थिइन होला।’ भनेको उल्लेख छ।

तर अदालतले अभियुक्तले समेत करणी गरेको स्विकारेको तर सहमतिमा भएको बताएको, स्वास्थ्य परीक्षण प्रतिवेदनले समेत करणी भएको देखिएको र अभियोग पत्र र अदालतमा गरेको बयानमा पीडितले करणी सहमतिमा नभई जवर्जस्ती गरेको भनेर बयान दिएको भन्दै सो करणीलाई जवर्जस्ती करणी नै स्वीकार गर्दै सजाय तोक्यो।

सजाय तोक्दा सुनुवार भर्खर कक्षा १२ सकाएर १८ वर्ष टेकेको सबालग भएको, यस अगाडि यस्तो कसुर गरेको नदेखिएको, पीडित आफैँ सुनुवारको कोठामा बस्न गएको, पीडित अभियुक्त सुनुवार भन्दा जेठी देखिएको भन्दै हदै सजाय तोक्दा चर्को हुन जाने भन्दै सात वर्ष कैद सजाय र ५० हजार जरिवाना तोकेको थियो।

सो फैसलाविरुद्ध दोषी ठहर भएका सुनुवार सहमतिमै भएको सम्बन्धलाई जवर्जस्ती करणी भनेको, घटनाको दिन युवतीले नै पटक-पटक फोन गरेर बोलाए पनि अदालतमा सो नहेरिएको, अनुसन्धानकोक्रममा भएको बयानमा कोठासम्म हिँड्दै पुगेको, आफू होसमै रहेको,कोठामा खाना खाएको, पहिला एक्लै सुतेको तर रेप गरेपछि सँगै सुतेको र घरमा आमाबुबा नकराएको भए आफैँ जाहेरी नदिने भनेको आधारमा टेक्दै फसाउन खोजेको दाबी गरेको देखिन्छ।

तर उच्च अदालतले उनको जिकिर स्वीकार गरेन। जिल्लाकै फैसला सदर गर्यो। तर अदालतको कर्मचारीको गम्भीर त्रुटिले उनी आफ्नो पेशीमा अदालतमा उपस्थित हुन भने सकेनन्।

२९ भदौ, २०७९, १६:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।