कपनका स्थानीय भन्छन्– यज्ञमतीमा न ह्युमपाइप हाल्न दिन्छौं न बक्स कल्भर्ट बनाउन, तर, बाढी रोक्नुपर्यो

कपनका स्थानीय भन्छन्– यज्ञमतीमा न ह्युमपाइप हाल्न दिन्छौं न बक्स कल्भर्ट बनाउन, तर, बाढी रोक्नुपर्यो

काठमाडौंः बाढी र डुवाका कारण समस्यामा पर्ने कपन क्षेत्रका स्थानीयसँग सरोकारवाला निकायले छलफल गरेको छ।

सोमबार काठमाडौं उपत्यका विकास प्राधिकणमा भएको छलफलमा स्थानीयले अहिले निर्माणाधीन अवस्थामा रहेको बक्स कल्भर्ट निर्माण गर्न नदिने भन्दै आक्रोश पोखेका छन्।

छलफलमा कपन साततलेका स्थानीयले यज्ञमती खोलामा कुनै पनि बक्स कल्भर्ट निर्माण गर्न नदिइने र खोलामा ह्युमपाइप बिछ्याउन पनि नदिने अडान राखेका छन्। उनीहरू वैकल्पिक उपायमार्फत समस्या समाधान गर्न माग गरेका छन्।

‘खोलामाथि सडक बनाएकैले बाढी र डुवानको थप समस्या भोग्यौं,’ स्थानीय सागर लुइँटेलले भने, ‘ अब त्यहि खोलालाई बक्सभित्र थुनेर वा पहिले बिच्छयाइएका ह्युमपाइप हटाएर होइन, वैकल्पिक उपायबाट दीर्घकालीन समाधान खोज्नुस्।’

यस्तै अर्का स्थानीयले खोलाको बारेमा पहिला जानकारी नदिइ घरको नक्सा पास गर्न लगाइएको बताए। 

‘उबेलामा खोला नदेखाइे घरको नक्सा पास गर्न लगाइयो,’ उनले भने, ‘अहिले तिनै  जनप्रतिनिधिसले खोला मिचेको आरोप लगाइरहेका छन्, दोष कसको? डुवान कहिलेसम्म भोग्ने हामीले?’

यसैबीच, सो क्षेका जनप्रतिनिधिसमेत रहेका नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफूलाई यज्ञमती खोला थियो भन्नेबारेमा जानकारी नभएको बताएका छन्। उनले खोलामाथि नै सडक बनाइएको तथ्यबारे पनि आफू अनविज्ञ रहेको भन्दै बाढी र डुवानपछि मात्र थाहा पाएको बताए।

उनले कपन क्षेत्रमा बाढी र डुवान हुनेबित्तिकै आफूमाथि स्थानीय खनिने गरेको भन्दै गुनासो पोखे। उनले एकअर्कामाथि खनिएर भन्दा पनि सामुहिक रूपमा समस्या समाधान गर्नुपर्नेमा जोड दिए।

‘जब–जब त्यहाँ बाढि र डुबानको समस्या हुन्छ, तब स्थानीयहरु ममाथि खनिन्छन्’ उनले भने, ‘यो एकअर्कामाथि खनिने समय होइन, सामुहिक रुपमा मिलेर हल गर्नुपर्छ, त्यस क्षेत्रको बाढी र डुवान नियनत्रणका लागि म जे गर्न पनि तयार छु ।’

विज्ञको सुझाव
कार्यक्रममा बोल्दै शहरी योजनाविज्ञसमेत रहेका पद्मसुन्दर जोशीले कपन–बुढानिलकण्ठ क्षेत्रको बाढि नियन्त्रणका लागि विस्तृत अध्ययन आवश्यक रहेको बताए। खोला अनुसारको भन्दा पनि मान्छेको मुडअनुसारको परियोजनाले समस्या भएको उनको दाबी छ।

‘अझै विस्तृत अध्ययन चाहिन्छ,’ उनले भने, ‘खोला साँघुरो बनाउन चाहे हिउँदमा परियोजना हाल्ने, फराकिलो बनाउन चाहे बर्खामा परियोजना हाल्ने अभ्यास देखिन्छ, त्यसो गर्न भएन।’

यस्तै, हाइड्रोलोजिष्ट नरेन्द्रमान शाक्यले दीगो बनाउन वर्षादर र त्यसले आगामी पचास वर्षको बाढी फर्कने अवधिको आँकलन गरेर मात्र योजना बनाउनुपर्ने सुझाव दिए।

वर्षा हुनेवित्तिकै बाढी र डुवानको चपेटामा पर्ने कपन–बुढानिलकण्ठ क्षेत्रमा शहरी विकास मन्त्रालयअन्तर्गत प्राधिकरणले बक्स कल्भर्ट निर्माण आयोजना सुरु गरेको थियो।

कपन क्षेत्र हुँदै बग्ने यज्ञमती खोलामाथि हाल सरकारी निकायले नै सडक बनाएका छन्। बाढी नियन्त्रणका लागि प्राधिकरणले एकातिर बुढानिकण्ठ नगरपालिकाको वडा नम्बर ८ ह्युमपाइप चोकदेखि धोबिखोलासम्म २०७८ देखि बक्स कल्भर्ट निर्माण गरिरहेको छ।

यता अर्कोतिर बुढानिलकण्ठ नगरपालिका १०, ११ र १२ र काठमाडौं महानगरपालिकाको वडा नम्बर ६ मा पर्ने आनी गुम्बादेखि धोबिखोलासम्म सोहि किसिमको बक्स कल्भर्ट निर्माण भइरहेको छ। दुवै क्षेत्रको कल्भर्ट निर्माणको जिम्मा ४३ करोड रूपैयाँमा हाइ हिमालय पिआर जेभीले पाएको छ।

२७ भदौ, २०७९, १७:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।