कर्णाली राजमार्गमा छाएको यज्ञबहादुरको २० वर्ष पुरानो नास्ता पसल: महिनामा ६० हजार नाफा, पुतली झरना 'फ्रिज'

कर्णाली राजमार्गमा छाएको यज्ञबहादुरको २० वर्ष पुरानो नास्ता पसल: महिनामा ६० हजार नाफा, पुतली झरना 'फ्रिज'

दैलेख: कर्णाली राजमार्गको सडकछेउमा यज्ञबहादुर थापाको सानो नास्ता पसल छ। दैलेखको दुल्लु नगरपालिका-२ गिट्टीखोलाको यो नास्ता पसलनजिकै पुतली झरना छ। यो झरनाको चिसो पानी नै यज्ञको 'फ्रिज' हो।

१२ वर्षकै उमेरबाट भारतका होटेलमा भाँडा माझ्ने काम गरेका उनले दुई वर्षसम्म त्यही काम गरे। तर साहुको हेपाहा प्रवृत्तिले उनी त्यहाँ धेरै टिक्न सकेनन्। पारिवारिक समस्याका कारण पढ्न नपाएका उनले भारतभन्दा गाउँमै बसेर केही गर्ने सोच बनाए। आफ्नो घरनजिकैको सडक छेउमा सानोतिनो चिया नास्ता पसल खोल्ने सोच बनाए।

तर, उनीसँग पर्याप्त रकम थिएन। एक किलो चिनी, चियापत्ती र केतलीबाट जेनतेन आफ्नो व्यवसाय सुरु गरे। यतिबेला उनी केवल १५ वर्षका थिए। 

अहिले यज्ञबहादुर ३५ वर्षका भए। उनको पसलको आँगनबाटै कालिकोट, जुम्ला, मुगु र अछाम जाने सडक छ। दैनिक हजारौंको संख्यामा यातायात र यात्रुहरू यही बाटो हुँदै ओहोरदोहोर गर्छन्। यो बाटोबाट हिँड्ने प्राय यात्रुहरू यज्ञकै पसलमा बसेर थकाइ मार्छन्। अनि चिया खाजा खान्छन्।

दिनमा केही व्यापार भएन भने पनि दुई हजार रुपैयाँ त उनले खुद नाफा कमाएकै हुन्छन्। यसबाटै कमाएको पैसाले उनले सुर्खेतमा घडेरी समेत किनेका छन्। 

घरछेउकै सडकमा पसल भएकोले न उनले भाडा तिर्नुपर्छ न त पानी बत्तीको बिल नै। तातो मौसममा चिसो पेय पदार्थहरू नजिकैको पुतली झरनामा राख्छन्। झरनाको पानीले तिनलाई चिसो बनाइदिन्छ।

ग्राहकले मागेअनुसार त्यहीँबाट झिकेर दिन्छन्। झरनामा टिकटक बनाउनेहरूको पनि उत्तिकै भिड हुन्छ।

यही सडकको व्यापारबाटै उनले आठ जनाको परिवार पालेका छन्। बालबच्चालाई पढाएका छन्। आर्थिक अभावकै कारण आफूले पढ्न नपाए पनि छोराछोरीलाई राम्रो शिक्षा दिने सोच उनले बनाएका छन्।

'केही गर्नका लागि स्वदेशमै धेरै सम्भावना छ। पैसा कमाउनकै लागि विदेश नै जानुपर्छ भन्ने छैन। गाउँमै बसेर पनि मैले महिनामा ६० हजार रुपैयाँसम्म खुद नाफा कमाउँछु', उनले भने, 'पैसा कमाउन भनेर भारत पनि गएँ। तर, त्यहाँ न सम्मान छ, न त पैसा नै।'

बाल्यकालमा नै बुवा बितेपछि घरको सबै जिम्मेवारी काँधमा लिएका यज्ञले भाइ बहिनीलाई पनि आ-आफ्नो पेशा-व्यवसायमा लगाएका छन्। दुईभाइ दुई बहिनीमध्ये कसैले होटल व्यवसाय गरेका छन् भने कोही शिक्षक छन्। 

सडकछेउकै व्यवसायमा आफू रमाएर परिवारलाई पनि खुशी दिन सकेकोमा सन्तुष्ट छन् उनी।

२७ भदौ, २०७९, १०:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।