जेठ १४ गतेबाट यो निर्णय कार्यान्वयनमा आएको थियो। यसबाट पार्किङ, अवतरण, सञ्चार शुल्क र विशान शुल्कबापतको रकम छुट हुन्छ। यति हुँदाहुँदै पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले भदौ २० गतेसम्ममा तीन करोड बढी आम्दानी गर्न सफल भएको छ।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अन्तर्राष्ट्रिय उडानबापत मे १५ देखि सेप्टेम्बर ५ सम्म तीन करोड २० लाख ७७ हजार रुपैयाँ आम्दानी भएको बताए।
मे १५ देखि ३१ सम्म तीन लाख ७३ हजार आम्दानी भएकोमा जुनमा मात्र ९८ लाख ५८ हजार आम्दानी भएको उनले बताए।
त्यस्तै जुलाईमा ९६ लाख ८७ हजार आम्दानी हुँदा सबैभन्दा धेरै अगष्टमा एक करोड १९ लाख ७३ हजार रुपैयाँ आम्दानी भएको छ। त्यस्तै सेप्टेम्बर ५ सम्ममा एक लाख ८६ हजार आम्दानी भएको छ।
यो आम्दानी त्यहाँबाट जाने र आउने यात्रुहरूबाट लिइएको शुल्क हो। उक्त विमानस्थलबाट उडान गर्ने वा अवतरण गर्ने यात्रुले तीन हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। त्यहीबापत हालसम्म तीन करोड बढी आम्दानी भएको उनले बताए।
जजिराले भदौ २० गते अर्थात् उडान सुरु गरेको १०८ दिनसम्ममा १२ हजार ३७२ जनालाई सेवा दिइसकेको छ। जजिराले भैरहवाबाट कुवेत र कुवेत, कतारबाट भैरहवा गरी एक सय उडान भर्दा आउने र जाने गरी १२ हजार ३७२ जनाले सेवा लिएका हुन्।
मे १६ देखि ३१ सम्ममा जजिराबाट एक हजार २४४ जनाले सेवा लिए भने जुनमा तीन हजार २८६, जुलाईमा तीन हजार २२९, अगष्टमा तीन हजार ९९१ जनाले सेवा लिए। यस्तै १५ सेप्टेम्बरसम्म ६२२ जनाले सेवा लिएको महाप्रवन्धक दाहालले बताए।
बाध्यकारी नियम लाद्दै प्राधिकरण
काठमाडौंमा अहिले एयर ट्राफिक जाम हुँदा भैरहवाको आकाश खुला हुन्छ। काठमाडौंमा विमानको चाप हुने तर भैरहवामा उडान अवतरण नहुने भएपछि सरकारले अन्तर्राष्ट्रिय उडान गरिरहेको एयरलाइन्सलाई भैरहवा विमानस्थलबाट पनि उडान गर्नुपर्ने बाध्यकारी व्यवस्था अघि बढाएको छ।
.jpg)
यता अब जजिराले भदौ ३१ देखि हप्ताको सातै दिन उडान गर्दैछ। बिज एयरले यूएईको अबुधावीबाट कात्तिक १३ गतेदेखि हप्ताको तीन दिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्दैछ।
त्यसबाहेक अन्य एयरलाइन्स कम्पनीहरूले भैरहवाबाट उडान भर्न चासो देखाएका छैनन्। त्यसैले पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिनमा एकभन्दा बढी उडान गर्ने एयरलाइन्सलाई नागरिक उड्यन प्राधिकरणले अक्टोबरपछि भैरहवाबाट पनि अनिवार्य उडान गर्न पत्र नै काटेको छ।
३० अक्टोबरदेखि मार्च २०२३ सम्मको उडान तालिका भैरहवाबाट गर्न वायुसेवा कम्पनीहरूलाई पत्रचार गरेको गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक दाहालले बताए।
यसो भएमा अब अक्टोबरदेखि भैरहवाबाट अन्य ५ वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्नेछन्। उनका अनुसार एयर अरेबिया, कतार एयरवेज, फ्लाइ दुबई, नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उडान भर्नेछन्।