उकेरा मन्थन

क्या साह्रो डरा’का यार केटाहरू त !


‘अब त केटीसँग बोल्न पनि डराउनुपर्ने भो’, ‘घर घरै जेल बनाउनु पर्ने भो’, ‘बोल्यो कि बलात्कार भन्न पो थाले’, ‘१८ वर्ष नकटेकासँग त नबोल्नू है केटाहरू!’, ‘पहिले उमेर सोध्नू अनि लभ गर्नू,’ ‘डेटिङ जाँदा जन्मदर्ता हेराओ है केटा हो नत्र फसिएला’, अनि ‘१८ वर्षमुनिका केटीहरूलाई साथी बनाउँदिन अब।’

अहिले सामाजिक सञ्जाल हेर्ने हो भने अनि चोक, क्याफे, कार्यालयतिर भइरहेका संवाद यी नै हुन्। नाबालिगको तर्फबाट कलाकार पल शाहविरुद्ध बलात्कारको जाहेरी पर्दा पनि यस्तै प्रतिक्रिया सुनिएको थियो।

अहिले नेपाली क्रिकेटको राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध उस्तै जाहेरी परेपछि फेरि तिनै शब्दहरू हासो अनि ठट्टाका रूपमा दोहोरिइरहेको छ।

राष्ट्रिय टोलीको कप्तानमाथि एक प्रशंसक, जो सेल्फी खिचेर साथीहरूलाई देखाउने मोहमा, भेट्न जाँदा भएको भनिएको गम्भीर अपराधबारे भएका सस्ता बहस पढ्दा अनि सुन्दा झट्ट मनमा लाग्यो' क्या साह्रो डरा’का यार केटाहरू?'

बेलुका घर फर्कँदा कतै बलात्कृत पो हुन्छु कि?, सार्वजनिक यातायात या भिडभाडमा जाँदा कसैले संवेदनशील अङ्गमा चिमोटि पो दिन्छ कि? भन्ने डरै डरमा बाँचिरहेको छ हाम्रो पुस्ता समेत।

यति लामो समय महिलाहरू डराए। अहिले कतै जेल पो पर्छु कि भनेर पुरुषहरू डराएको देख्दा रमाइलै लाग्ने रहेछ। यो भयो एक पक्ष। तर अर्को पक्षबाट हेर्ने हो भने हाम्रो समाजमा गम्भीर विचलन देखिइरहेको छ। यो शुभ सङ्केत हैन।

हाम्रा लागि त महिला पनि डराउनु नपर्ने अनि पुरुष पनि निर्धक्क हुने समाज चाहिएको हो नि।

तर एक-दुई घटनामै यति साह्रो आत्मविश्वास किन कमजोर हुँदै छ केटाहरूको? आफू नियन्त्रित हुनसक्छु भन्ने आत्मविश्वास किन हराएको होला?  म बलात्कार जस्तो निच काम गर्दिनँ र अरूले गरेको पनि स्वीकार गर्दिनँ भनेर अठोट गर्न केले रोकिरहेको छ उनीहरूलाई?

अर्को व्यक्तिलाई अप्ठ्यारो नै लाग्ने गरी घुरेर हेर्ने, महिलाको शरीरको अंगअंगबारे खित्खिताउँदै घण्टौँ चर्चा गर्ने, एक्लै-दुक्लै भेट्ने बित्तिकै डेढ वर्षकी बालिकादेखि ६५ वर्षकी हजुरआमालाई समेत नछाड्ने पुरुषहरू भएको समाज हो हाम्रो।

हाम्रो मात्रै हैन यस्ता आपराधिक मानसिकता भएका रोगीहरू अन्यत्र पनि छन्। सार्वजनिक भइरहेका छन्। तर त्यहाँको समाजै लौ अब जोसँग बोले पनि फसिने भइयो भनेर डराएको देखिएको, सुनिएको या पढिएको त छैन।

तर के हाम्रो समाजमा पटक-पटक युवतीले त फसाइहाल्छन् है भन्ने गलत ‘न्यारेटिभ’ स्थापना गर्न एक तप्का नै किन सक्रिय भइराखेका छन्? उनीहरूको सहानुभूति पीडितप्रति हैन आरोपीप्रति किन बढी देखिन्छ? यो गम्भीर सामाजिक विचलनको सङ्केत हैन र?

सबै पुरुषले महिलालाई भोग्य वस्तुको रूपमा हेर्छन् र सबै पुरुष बलात्कारी हुन्छन् भनिएको हैन। तर जसरी सामाजिक सञ्जालमा १८ वर्षमुनिका युवतीसँग अब बोल्नै भएन, कसैले भेट्न बोलायो भने नागरिकता देखा भन्छु भन्ने तहले एक गम्भीर अपराधबारे सस्तो ठट्टा भइरहेको छ यसले केही नेपाली पुरुषहरूका लागि गम्भीर यौन अपराध अझैँ पनि केही हैन, महिलाहरूले फसाउने मात्रै हो, बार्गेनिङका लागि रचिएको नाटक हो भन्ने भ्रम रहेको देखियो।

कुनै १८ वर्षमुनिको बालिकाले यौन सम्बन्धको प्रस्ताव राख्दा उसलाई उसको उमेर अनि यौन सम्बन्धको गम्भीरताबारे बुझाउन सक्छु भन्ने आत्मविश्वास किन नभएको होला?

छक्कै परिरहेको छु। म सम्हालिन सक्छु, कसैसँग भेट्दै आउँदैमा, सँगै बसेर कफी खाँदैमा वा सँगै फिल्मै हेर्न जाँदैमा अनि कतै घुम्नै जाँदैमा त्यो यौन सम्बन्धको स्वीकृति हैन है भनेर बुझ्न किन कठिन भइरहेको छ पुरुषहरूलाई? यौन अनुशासनमा आफैँलाई किन विश्वास गर्न सकिरहेका छैनन्?

पल शाहको घटनापछि बलात्कार घटनाको हदम्याद हटाउन सामाजिक दबाब बढेपछि नेपाली कांग्रेसका प्रमुख सचेतक मीन विश्वकर्माले जाहेरी दिने हदम्याद नराखे सबै पुरुष जेल पर्ने दावी गरे। यसको अर्थ नेपालमा रहेका सबै पुरुषले कुनै न कुनै बेला, कसै न कसैलाई बलात्कार गरेका छन् भन्ने हो त? यसको त्यही अर्थ लाग्दैन र?

अधिकांश पुरुषहरू सम्बन्धका आयामबारे कच्चा देखिन्छन्। कुन सम्बन्ध कुन तहको हो भन्ने खुट्ट्याउन सक्दैनन्। हाँसेर बोल्नु पनि खाटसम्म जाने प्रस्ताव लाग्नेहरू पनि नभएका हैनन्। तर बलात्कारको हदम्याद हटाउँदा सबै जेलै जानुपर्ने गरी यौन अपराध गर्नेहरूको बहुमत भएको समाज हैन हाम्रो। तै पनि यो भय चाहिँ केका लागि?

कहिले कपडा छोटो लगाएर बलात्कार भयो भनेको सुनिन्छ। कहिले केटाले बोलाएको ठाउँमा केटी गई अनि बलात्कार भयो भनेर आरोप लगाई भनेको सुनिन्छ। युवती नाङ्गै आए पनि म सम्हालिन सक्छु भन्ने आत्मविश्वास किन देखिएन पुरुषहरूमा।

कुनै १८ वर्षमुनिको बालिकाले यौन सम्बन्धको प्रस्ताव राख्दा उसलाई उसको उमेर अनि यौन सम्बन्धको गम्भीरताबारे बुझाउन सक्छु भन्ने आत्मविश्वास किन नभएको होला?

सामाजिक सञ्जालमा कोकोहोलो

गायक शिव परियारले आफ्नो फेसबुक पेजमा समाजका आइकनहरूलाई फसाउन बलात्कारको आरोप लगाइएको र बलात्कार व्यवसाय मौलाएको आपत्तिजनक अभिव्यक्ति दिए। उनले आफ्नो पापी मनको भावना इमानदार भएर लेखेका थिए। उनको सोच घटिया नै रहेछ। तर मनको पाप मनमा लुकाएर समाजमा सभ्य देखिन होला उनले पछि त्यो हटाए।

केटीलाई केटाले पहिला १८ वर्ष कटेको प्रमाण देखा अनि मात्र डेटिङ जान्छु भन्ने जस्ता घृणित सोचले भरिएको कार्टुनहरू बने। परियारले त लोकलाजले आफ्ना कुभावना हटाएर मनको कुरा ढाकछोप गरे। तर यहाँ अझैँ कुतर्क गर्नेहरूको कमी छैन।

लेखिरहेका छन्- 'विचार गर्नू है केटीहरूले फसाउँछन्।' लेख्दैनन्- 'विचार गर्नू है केटाहरूले बलात्कार गर्छन्।'

यो कस्तो सोच? यो कस्तो समाज?

यौन पुरुषहरूका लागि जति महत्त्वको विषय हो महिलाहरूका लागि उत्तिकै महत्त्वपूर्ण हो। यौन सम्बन्धमा जति पुरुषहरू रमाउन सक्छन् महिलाहरू पनि रमाउँछन्। बालिग भइसकेकोहरूबीच हुने सम्बन्ध सामान्य हो। तर जहाँ एकतर्फी बल, छलछाम, करकाप हुन्छ नि त्यो नाबालिग अनि बालिग दुवैको हकमा अपराध हो।

पीडितको नियतमाथि नै प्रश्न उठाएर होस्टायल गराउने परिस्थिति किन निमार्ण गरिदैछ? हिंसामा पर्दा बोल्न साहस गर्ने साहसी छोरीहरूलाई किन दुरुत्साहन गर्न खोजिँदै छ?

महिला र पुरुषको सम्बन्धमा 'नाइँ' भन्नु 'ल' भनेको हो, 'केटीले पहिलो पटकै कहाँ ल भन्छन् त। नखरा गरिहाल्छन् नि। पछि मान्छन्' भन्ने आपराधिक सोचमा हुर्किएको पुस्ता यही समाजमा नभएको हैन।

त्यो पुस्ताले 'नाइँ भनेको नाइँ नै हो' त्यो श्रीमतीले भनोस् या प्रेमिकाले भनोस् या यौनकर्मीले नै भन्ने बुझ्नै खोजेन। बुझेन।

तर अहिलेको पुस्तामा पनि उही सोच?

'नाइँ' भन्नु नाइँ नै हो त। किन कन्फ्युज!

पल शाह घटनाबारे समाजमा तीव्र बहस भइरहेको बेलामा समाजशास्त्री दीपेश घिमिरेले अमेरिका बसाइँको अनुभव बाँड्दै भनेका थिए 'त्यहाँ कुनै युवतीलाई कुनै युवकले कफीका लागि अफर गर्नु भनेको डेटका लागि अफर गर्नु हो। उनीहरूले सहजै स्वीकार्न पनि सक्छन्। नो भन्न पनि सक्छन्। कफी डेटमा युवतीले वा युवकले प्रस्ताव राख्दा नो भनेमा पुनः दोस्रो पटक प्रस्ताव गरे त्यो अब्युज हुन्छ। पहिलो पटक भने सामान्य हो।'

पहिलो पटकको प्रस्ताव सामान्य हो। कसैले कसैलाई राख्न सक्छन्। कसैले स्वीकार्न पनि सक्छन्। तर अस्वीकार भएमा त्यो अस्वीकारै हो। पटक-पटक एकै कुरा दोहोर्‍याउनु भनेको मानसिक हिंसा हो, दुर्व्यवहार हो।

किन बुझ्नै खोज्दैन हाम्रो समाज?

वैज्ञानिक उत्तमबाबु श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका थिए- ‘शक्तिशाली, प्रसिद्ध, क्षमतावान्, ठूलो पद र धनी हुनु भनेको गैरकानूनी कामको लागि लाइसेन्स मिल्नु होइन।’

हो बुझ्नुपर्ने नै यही हो। अझ सामाजिक पहिचान बनाउनु, कुनै जिम्मेवार ओहदामा बस्नु भनेको अझ थप जिम्मेवार बन्नु हो। दुरुपयोग गर्नु हैन। यति मात्र बुझिदिए पनि धेरै समस्या समाधान हुनसक्छ।

ट्विटरमा दुर्गा थापाले लेखेका छन्- ‘१८ वर्षमुनिको नाबालिग किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध राखे पनि बलात्कार हो। नाबालिग किशोरी बलात्कृत हुँदा अनेक कुतर्क गरिनु बलात्कारी मानसिकता हो।’

सन्दीपको घटनामा सार्वजनिक भएका घटनाक्रम हेर्दा उनी सन्दीपको फ्यान थिइन्। सामाजिक सञ्जालमा जोडिइन्। सँगै फोटो खिच्ने लोभमा भेट्न गइन्। उनले रिसोर्ट पुर्‍याए। उनले फर्कने जिद्दी गरिन्। काठमाडौं त फर्किए तर होस्टलको ढोका बन्द भइसकेको थियो।

सन्दीपले होटेलमा बस्ने प्रस्ताव गरे। उनले अलग-अलग कोठामा बस्ने गरी सहमति दिइन्। तर एकै कोठामा बस्नुपर्ने अवस्था निर्माण गरियो। सन्दीप सोफामा सुते किशोरी खाटमा। पछि सन्दीपले खाटमा आएर बलात्कार गरे।

हो, सन्दीपको भनाइ आउन बाँकी छ। उनको दावी फरक हुनसक्छ। तर अहिलेसम्म सार्वजनिक भएको घटना विवरणमा ती किशोरीले फसाएको कहाँ देखिन्छ र युवती र उनीहरूसँगको सम्बन्ध सस्तो हाँसो ठट्टा बनिरहेको छ!

धेरैले किन १८ वर्षको उमेरमा प्रश्न उठाएका छन्?

यो उमेर हद राख्नुको वैज्ञानिक पक्ष पनि देखिन्छ। चिकित्सकहरूले देश र भूगोलअनुसार शरीरको विकास क्रम अनि कुन उमेरमा के सम्बन्ध राख्ने भनेर तोकिएको हो। न कि कसैलाई फसाउन।

हिजो बाल विवाह थियो। आज २० वर्ष राखियो। शारीरिक र मानसिक हिसाबले तोकिएको उमेर हो यो। हिजो बालविवाह भएकैले मातृ मृत्युदर उच्च थियो।  जब विवाहमा सरकारले उमेर तोकिदियो तब बच्चा पाउन नसकेर मर्ने महिलाहरूको सङ्ख्या कम भयो।

घटेको अवस्थामा पनि अहिले एक लाख आमामा बच्चा पाउन नसकेकै कारण २३९ जनाको ज्यान जान्छ। यो उमेरसँग जोडिने पक्ष हैन र?

कोही कसैले मलाई हिंसा भयो भन्दा तैँ उस्ती होस् भन्ने हदसम्मको असंवेदनशीलता किन? हिजो पल शाहको घटनामा पीडितलाई नै लाञ्छना लगाउनुको परिणाम होस्टायल भएर अदालतमा बयानै बदलियो।

होस्टायल हुनुको अन्य कारण पनि होलान्। ती अन्य कारणमध्ये पीडितमाथि बढाएको सामाजिक दबाब पनि एक हो। यसमा चलचित्र क्षेत्रका कथित सेलिब्रिटीहरुले 'अहो पल बाबु त कति सोझो' भनेर होस्टायल गराउन राम्रै मलजल गरेका नै हुन्।

हामी अहिलेको घटनालाई पनि किन त्यतै डोर्‍याइरहेका छौँ? पीडितको नियतमाथि नै प्रश्न उठाएर होस्टायल गराउने परिस्थिति किन निर्माण गरिँदैछ? हिंसामा पर्दा बोल्न साहस गर्ने साहसी छोरीहरूलाई किन दुरुत्साहन गर्न खोजिँदै छ?

हाम्रो धर्मशाला जस्तै सामूहिक बस्न मिल्ने मोटेलहरू पनि हुने रहेछन् बाहिर देशतिर। जहाँ एकै कोठामा महिला र पुरुष बस्दा पनि बलात्कार हुँदैन। रुम सेयर गरेर सँगै केटा र केटी बस्नु सामान्य नै मानिन्छ। एकै फ्ल्याटमा भिन्न कोठामा केटा र केटी बस्नु भनेको सेक्स पार्टनर हुनु हैन।

ती पनि पुरुषै हुन्। तिनीहरूमा पनि यौन चाहना हुन्छ नै। ती सम्हालिन सक्ने हाम्रा केटाहरू किन सम्हालिन नसक्ने? सम्हालिन सके जस्तो सुकै कानून बने पनि किन डराउनू? 

फसाउने केटीहरू नभएका हैनन्। फसाउँछन् पनि। जसले फसाइरहेका छन् ती पक्राउ पनि परेका छन् त।

उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयकै तथ्याङ्क हेर्ने हो भने सामाजिक सञ्जालबाट नजिक हुने, भेट्ने अनि गेस्ट हाउस गएपछि बलात्कारको केस हालौँ कि पैसा दिन्छस् भनेर धम्क्याउने १५ जना भन्दा बढी पक्राउ परेका छन् त।

कानूनसँग के साह्रो डराएका यार केटाहरू?

तर एउटा कुरा भने सत्य हो। अब सोच बदल्नै पर्छ। नो भनेको नो नै हो। अनि १८ वर्षमुनिको किशोर हुन् या किशोरी उनीहरूकै सहमति भए पनि यौन सम्बन्ध राख्नु भनेको अपराध हो भन्ने बुझ्नै नचाहने हो भन जेल जान तयार भएर बसे हुन्छ।

अहिले नै जेलमा क्षमता भन्दा बढी कैदी छन्। सरकारले जेलको क्षमता विस्तार गर्न सुरु गरे हुन्छ।

सोच बदलौँ। नत्र हिजो पल, आज सन्दीप अनि भोलि 'केटीले नाइँ भनेको ल नै हो क्या, एकै पटक कहाँ मान्छन् र! भन्ने भ्रममा रहेकाहरू जेल जान तयार हुनू।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आफैँलाई जलाउने प्रेम आचार्य र विद्रोही बन्ने 'गोड्से' फिल्मका विश्वनाथ: दुवै भ्रष्ट सिस्टमभित्र पिल्सिएका पात्र

'गोड्से' पनि यस्तै एउटा व्यक्ति विश्वनाथ रामाचन्द्रको कथा हो। जो 'आफ्नै देशमा केही गर्छु, उद्योग खोलेर शिक्षित बेरोजगारहरूलाई रोजगार दिन्छु' भनेर विदेशमा भएको उद्योग धन्दा....

सामाजिक सञ्जालको जालोमा बालबालिका, कसरी जोगाउने?

बालबालिका, किशोरकिशोरी, महिला, पुरुष, जेष्ठ नागरिक, जसले पनि सामाजिक सञ्जालको राम्रा तथा नराम्रा पक्षहरूको महसुस वा अनुभव गरेका छन्। यसबाट अझ बालबालिका र किशोकिशोरहरू बढि....

चित्र बनाएकाले 'चिसो कोठा'मा थुनिनेहरू

१९ गते राति प्रहरीले तीन जनालाई चौकी लान्छन्। तर उनीहरू अपराधी होइनन्। कुनै अभियोग पुष्टि भएको दोषी पनि होइनन्।  चित्रकारको समूह हो त्यो। एक- पोख्त,....

गम्भीर वित्तीय विचलनमा किन नरम भयो राष्ट्र बैंक !

नेपालका बैंक तथा वित्तीय संस्थाहरूले कर्जाको ब्याजदर निर्धारण गर्दा आधार दरलाई सन्दर्भ दरको रूपमा लिने गर्छन्। आधार दर भन्नाले कोष लागत प्रतिशत, अनिवार्य नगद लागत....

‘राजा नमान्ने अनि रुसलाई चाहिँ मान्ने?’

हामीहरू प्राणको बाजी लगाएर देशभित्र आयौं। हामी ती व्यक्ति हौं, जसको निर्देशनमा ओखलढुंगाजस्ता काण्डहरू भएका थिए। तसर्थ हामी निश्चय नै प्राणको बाजी लगाएर आएका थियौं।....