ठडियो लिङ्गो, फरफरायो इन्द्रध्वज

ठडियो लिङ्गो, फरफरायो इन्द्रध्वज

काठमाडौँ: वसन्तपुर दरबार क्षेत्रमा लिङ्गो खडा गरेसँगै इन्द्र जात्राको सुरुवात भएको छ।  भाद्र शुक्ल पक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट सुरु भई यँलागाः चौथी अर्थात् इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ।

इन्द्रजात्रा र लिङ्गो  ठड्याउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवी पुराण, विष्णु धर्मोत्तर पुराण, बृहत् संहिता र भविष्य पुराणमा विस्तृत वर्णन रहेको बताइन्छ।

तान्त्रिक विधिद्वारा पूजा गरेको बोका काभ्रेको उग्र चण्डी नालामा रहेको जङ्गलमा छोडेपछि उसले जुन रुख छुन्छ त्यही काटेर लिङ्गोका लागि काठमाडौँ ल्याएर हनुमानढोका क्षेत्रमा विधिपूर्वक ठड्याउने गरिन्छ।

इन्द्रजात्रामा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिँगारेर पूजा गरिन्छ।

भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीलाई प्रसादको रूपमा धारा बगाएर खान दिने परम्परा रहेको छ। इन्द्र जात्राको दिन पृथ्वीनारायण शाहले राजा जयप्रकाश मल्ललाई हराएर कान्तिपुर विजय गरेकाले यसको राजनीतिक महत्त्व समेत रहेको छ।

२२ भदौ, २०७९, १९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।