त्रिविका होस्टेल : चौकीदारले केटी रोक्छन्, गन्ध पछ्याउँदै शौचालय पुगिन्छ (तस्बिरहरू)

त्रिविका होस्टेल : चौकीदारले केटी रोक्छन्, गन्ध पछ्याउँदै शौचालय पुगिन्छ (तस्बिरहरू)
सबै तस्बिर : कृष्पा श्रेष्ठ/उकेरा

काठमाडौं : कीर्तिपुरको तीनकुनेबाट त्रिभुवन विश्वविद्यालयको केन्द्रीय कार्यालय जाने बाटोमै देब्रेपट्टी एउटा ठूलो कम्पाउण्ड देखिन्छ। कम्पाउण्डभित्र छिर्नेबित्तिकै देखिन्छ– भित्ताभरि टाँसिएका विभिन्न विद्यार्थी संघको विज्ञप्ति, सूचना र माग। ती मध्ये कुनै पनि प्रष्ट भने छैनन्। सब च्यातचुत। भित्तालाई गमले झन् कुरुप बनाएको।

भुइँभरि छरपष्ट फोहोर। काट्ने बेला भएर झाडी बनेका झार। कुकुरको बथान त्यत्तिकै। मानौं कीर्तिपुरभरिकै बेवारिसे कुकुरहरूको अड्डानै यही हो। सब शीतल खोज्दै झारमा लम्पसार परिरहेका। तिनीहरूको फोहोरले झिंगा भन्किन थालेका। अनि नजिकै बाइकहरू पनि त्यतिकै।

यदि तपाईं केटी मान्छे हो भने त्यहाँ शितलमा बसिरहेका केही वृद्ध व्यक्तिले तपाईंलाईं गेटबाटै फर्काइदिन्छन्। त्यसरी रोक्नेहरू रहेछन्, त्यहाँका चौकीदार र कार्यालय सहायक। यदि उनीहरू त्यहाँ नभएका बेला पुग्नुभयो र अरु कसैले रोकेन भने मान्नुस् ती सब त्यहाँका विद्यार्थी हुन् वा ती केटी त्यहाँ आएको देखेको उनीहरूले पहिलोपटक होइन। 

होस्टेल प्रशासनबाट केहि पाइला हिड्ने बित्तिकै आउँछ शौचालयको दुर्गन्ध। शौचालय कहाँ छ भनेर कसैलाई सोध्ने पर्दैन। दुर्गन्ध पछ्याउँदै गयो भने पुगिन्छ।

हामी गएको समयमा हामीलाई गेटमै रोक्न आए। आफ्नो परिचय दिएपछि बाहिरबाटै हामीलाई त्यहाँको अवस्थाबारे जानकारी गराए। प्रशासन बन्द भएको समयमा त्यहाँको चौकीदारको प्रमुख काम भनेकै कोहि केटी मान्छे आउन नदिनु हो। आजकल धेरै केटी आउन थालेको उनले हामीसँग गुनासो पोखे। 

यो सबै भूमिका हेर्दा ठूलो देखिने तर अव्यवस्थित त्रिविको बोइज होस्टेल (कान्ति छात्रवास)को लागि हो। तीनवटा भवन त एकै ठाउँमा छ । तर, सबै कुरूप । त्यहाँको चौकीदारसँगै हामीले बाहिरबाटै होस्टेलको हेर्यौँ।

होस्टेल प्रशासनबाट केहि पाइला हिड्ने बित्तिकै आउँछ शौचालयको दुर्गन्ध। शौचालय कहाँ छ भनेर कसैलाई सोध्ने पर्दैन। दुर्गन्ध पछ्याउँदै गयो भने पुगिन्छ। झ्यालमा सिसा, फलामको ग्रिल सबै छ। तर, खिया लागेको र भच्चिएको अवस्थामा।

यहाँका विद्यार्थीले आफ्नो लागि खाना आफ्नो कोठामा बनाउनुपर्ने रहेछ। त्यहि भएर कुनै कोठा अगाडि भातको सिता। पोखिएको पानी। खाली बोत्तल र बाल्टिनहरू बाटो छेकिएर बसेका छन्। बाहिरको झारले र भित्रको लेउले घेरेका भित्ताहरू हरियो र कालो भएका। रङ लगाउन नजानेर लाउँदा लाउँदै त्यत्तिकै छोडिएको जस्तै। 

वरिपरि धेरै रुखबिरुवाहरू भएकाले ठूल्ठूला चिप्ले किरा, झुसिल्किरा आउनु त स्वभाविक मानिन्छ त्यहाँ। त्यसैले त ढोकैमा कचौरा जत्रो किरा भए पनि कसैले नहटाउने रैछ।

चौबिसै घण्टा बत्ती बाल्नुपर्ने अन्धकार कोठा । बर्खाको समयमा पानी चुहिने सिलिङ्ग। त्यहि पनि कहिँ कतै टालिएका। जाडो महिनामा सबैले हिटर चलाउने र बत्ती बाल्ने गर्दा तार सर्ट भएर करिब एक हप्तासम्म अन्धकारनै भएको अनुभव चौकीदारले सुनाए। बस्नै नमिल्ने भएपछि होस्टेलका केही कोठा अहिले बन्द गरिएका छन्। विद्यार्थी बसिरहेका कोठा पनि बस्नलायक भने छैनन्।

काठमाडौं उपत्यका बाहिरबाट पढ्न आउने विद्यार्थीको सुविधाका लागि बनाइएको होस्टलको भौतिक अवस्थामा यस्तो गम्भीर समस्या हुँदा सम्बन्धित निकायको भने ध्यान गएको छैन । सबै जना होस्टल मर्मत प्रक्रियामै रहेको दाबी गर्न भने पछि पर्दैनन्।

सिलिङ्गबाट पानी चुहिएपछि चुहिने ठाउँमा मात्र सिमेन्टले टाल्दै आएकोमा अहिले भने पूरै सिलिङ्गनै ढाकिने गरेर जस्ताले छोपिएको छ।

यहाँको एउटा भवनमा भने २०७२ को भूकम्पले क्षतिग्रस्त भएर बन्द भएको अहिलेसम्म पनि बन्दको बन्द नै छ । पुनर्निर्माण त परकै कुरा सामान्य मर्मतसमेत भएको छैन। पुनर्निर्माण प्राधिकरणले टाँसेको रातो स्टिकर भने उप्किसक्यो।

वि. सं. २०२२ मा निर्माण भएको बोइज होस्टेल अहिले पनि त्यहि संरचनामै सञ्चालित छ। अहिलेसम्म यसको मर्मत सम्भार कति पटक भयो? र निर्माणपछि यसमा प्रशासनले कति खर्च गर्यो? भन्ने यकिन तथ्याङ्क कसैसँग छैन । त्यस कारण पनि अहिले यहाँ पहिलाको तुलनामा निकै कम विद्यार्थी बस्छन्।

त्रिवि परिसरमा जम्मा तीन वटा होस्टेल छन् । एउटा बोइज होस्टेल र अर्को दुईवटा गर्ल्स होस्टेल। ती सबमा छुट्टा–छुट्टै वार्डेन भए पनि तीनवटैको नेतृत्व भने कान्ति छात्रवासले गर्दै आएको छ। 

बोइज होस्टेलबाट निस्केर पाँच मिनेटजति हिडेपछि गर्ल्स होस्टेल (इश्वरी छात्रावास) आउँछ। यहाँ ‘क’ र ‘ख’ ब्लक गरी दुईवटा भवनहरू छन्। यी होस्टेलको हालत पनि उस्तै। शौचालयको दुर्गन्ध नआए पनि कोठा भने सबै लेउले ढाकेको। 

दिउँसै बत्ति बाल्नुपर्ने अवस्था। ठूलो पानी पर्दा कोठाभित्र पानी छिरेर पलङसम्म आउने भएपछि भुइँतल्लाका कोठाहरू सबै बन्द।

वि.सं. २०२७ मा तत्कालीन शिक्षामन्त्री नरेन्द्रकुमार प्रधानबाट उद्घाटन भएको यस होस्टेल भने श्री ५ सरकार र भारतीय सहयोग मिशनको संयुक्त सहयोगबाट निर्माण भएको थियो। निर्माण भएको आधा शतक भन्दा बढी भइसक्दा पनि मर्मत भने भएको छैन।

सिलिङ्गबाट पानी चुहिएपछि चुहिने ठाउँमा मात्र सिमेन्टले टाल्दै आएकोमा अहिले भने पूरै सिलिङ्गनै ढाकिने गरेर जस्ताले छोपिएको छ। यहाँ भने सबै विद्यार्थीको लागि खाना एकै ठाउँमा बनाइने र खाने गरिन्छ।

यहाँ एकवर्ष बसेपछि विद्याथीहरू वि.सं. २०५४ मा बनेको अर्को भवनमा बस्नुपर्ने नियम छ। त्यसलाई ‘ङ’ ब्लक भनिन्छ। बाहिरबाट केर्दा बलियो देखिए पनि यो भवनको अवस्था पनि उस्तै नाजुक छ। झ्यालहरू भत्किँदै गएका छन्।

त्रिविको होस्टलमा प्रतिस्पर्धा गरेर नाम निकालेपछि ४ हजार २ सय २४ रूपैयाँ तिरेरे विद्यार्थी त्यहाँ बस्न पाउँछन्। अहिले पनि टाढा–टाढा र दुर्गम क्षेत्रमा बसोबास गर्ने विद्यार्थीहरू यहाँ आउने गर्छन्। होस्टेलकै प्रयोगका लागि बनाइएका भवन अन्य प्रयोजन हुँदा विद्यार्थी मर्कामा परेका छन्।

२२ भदौ, २०७९, ०८:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।