मंसिरपछि कसको सरकार !

कपिलवस्तुको चुनावी माहोल : तीनै क्षेत्रमा एमालेभन्दा गठबन्धन अगाडि, छोरालाई अघि सार्ने उपाध्यायको दाउ


बुटवल :  कपिलवस्तुमा प्रतिनिधि सभातर्फ ३ र प्रदेश सभातर्फ ६ निर्वाचन क्षेत्र छन्। तीन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा आउँदो मंसिर चार गतेको निर्वाचन रोचक हुने देखिएको छ।

त्यसो त कपिलवस्तुमा प्रभावशाली नेताहरूको बाहुल्यता छ। राष्ट्रिय राजनितीमा सधैँजसो चर्चा हुने कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्याय र माओवादी केन्द्रका नेता चक्रपाणी खनाल यहि जिल्लाका हुन्। जिल्ला मात्र कहाँ हो र उनीहरूको निर्वाचन क्षेत्र पनि एउटै हो। उनीहरू दुवै जना कपिलवस्तु–१ का हुन्।

गठबन्धन दलहरूबीच तालमेल गरेर जाने निश्चित भएपछि ४ मंसिरमा हुने निर्वाचनमा यी दुईमध्ये एकले टिकट पाउने छैनन्। त्यहि कारणले पनि यो क्षेत्रमा कसले टिकट पाउँछ भन्ने चर्चा चुलिएको छ ।

०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता चक्रपाणी खनाल ‘बलदेव’ विजयी भएका थिए। नेपाली कांग्रेसका प्रभावशाली नेता दीपकुमार उपाध्यायलाई ९४६ मतले पराजित गर्दै खनाल विजयी भएका थिए। खनालले २९ हजार ७९९ मत ल्याएका थिए भने उपाध्यायले २८ हजार ८५३ मत ल्याएका थिए।

क्षेत्र नम्बर १ मा खनाल विजयी हुँदा क्षेत्र नम्बर २ मा तत्कालीन स्वतन्त्रबाट निर्वाचन लडेका बृजेश गुप्ता विजयी भएका थिए। उनी हाल एमालेमा प्रवेश गरेका छन्। क्षेत्र नम्बर ३ मा भने कांग्रेसका अभिषेक प्रताप शाहले विजयी हासिल गरेका थिए।

माओवादी, स्वतन्त्र (हाल एमाले) र कांग्रेस विजयी भएको कपिलवस्तुमा यसपटक गठबन्धन हुँदा माओवादी, कांग्रेसलाई भागबन्डा हुनेमा कठिन पर्ने निश्चित छ। क्षेत्र नम्बर १ मा माओवादीले खनाललाई नै उम्मेदवार बनाउने लविङ गरिरहेको छ। यो अवस्थामा जिल्लाका क्षेत्र नम्बर २ र ३ कांग्रेसले पाउने सम्भावना छ।

पूर्व राजदूत समेत रहेका उपाध्याय समानुपातिक सूचीमा रहनेछन्। उपाध्याय २०३० सालमा तत्कालीन हथौसा गाउँ प्रधानपञ्च निर्वाचित भई राजनीतिक यात्रा शुरू गरे। २०४६ सालमा कांग्रेस प्रवेश गरेका उनी २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु–२ बाट विजयी भए। २०६४ सालको पहिलो संविधानसभा निर्वाचन जितेका उपाध्याय पटक–पटक मन्त्री भइसकेका व्यक्ति हुन्।

खनाल पनि जिल्लामा राम्रो छवि बनाएका नेता हुन्। तत्कालीन जनमुक्ति सेनाका डेपुटी कमाण्डर रहेका उनी मिलनसार नेताको रूपमा चिनिन्छन्। गठबन्धनबाट खनालले टिकट पाउँदा एमालेबाट पुर्व सांसद बलराम अधिकारी र हाल लुम्बिनी प्रदेश सभा सदस्य रहेका विष्णु पन्थीकाे नाम चर्चामा छ।

सार्वजनिक लेखा समितिका सभापति समेत रहेका पन्थीले पार्टीको आफूलाई टिकट दिए संघका निर्वाचन लड्ने बताए। ०७४ सालको क्षेत्र नम्बर १ (क) मा उनले कांग्रेस नेता पुरन चौधरीलाई पराजित गरेका थिए। पन्थी जिल्लामा राम्रो नेताका रूपमा चिनिन्छन्।

गत स्थानीय निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत हेर्दा यो निर्वाचन क्षेत्रमा कांग्रेस अगाडि देखिन्छ। कांग्रेसका वडाध्यक्षहरूले २८ हजार २७१ मत पाउँदा एमालेका वडाध्यक्षहरूले २६ हजार ८२३ पाएका थिए।

जसपाकाले १३ हजार ५१०, माओवादीकाले ९ हजार ३३८, नेकपा एस ३ हजार ७२२, लोसपा ३ हजार ४२४, राप्रपा २ हजार ४८० मत पाएका थिए। गठबन्धनलाई यहाँ निकै सहज छ। वडाध्यक्षको मत हेर्दा एमालेलाई भने कठिन देखिएको छ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट सुरेन्द्र आचार्यको चर्चा छ। पार्टीको प्रदेश महामन्त्री रहेका आचार्य ०७४ सालको निर्वाचनमा ह्ृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समुहका बृजेशकुमार गुप्तासँग उनी पराजित भएका थिए। गुप्ता ३५ हजार १२७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार ५६६ मत ल्याएका थिए।

कांग्रेसमा यो क्षेत्रबाट पूर्वमन्त्री दीपकुमार उपाध्यायका छोरा आशिष उपाध्याय पनि आकांक्षी छन्। कतिपय कांग्रेसहरूले यदि तालमेल भएर क्षेत्र नम्बर १ कांग्रेसले माओवादीलाई छाडनुपर्ने अवस्था आए कांग्रेसले दीपकुमारका छोरा आशिष उपाध्यायलाई अगाडि सानुपर्ने बताउँदै आएका छन्।

यसपटक एमालेबाट उक्त क्षेत्रमा बृजेशकुमार गुप्ता चुनाव लड्ने तयारीमा छन्। यसअघि २०७४ सालमा हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीति समूहमा रहेर पनि सूर्य चिह्न लिएर चुनाव लडेर जितेका उनी १४ चैतमा उनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा भित्राएका थिए।

गुप्ता कपिलवस्तुमा प्रभावशाली नेताको रूपमा चिनिन्छन् । उनी कपिलवस्तुबाट लगातार ४ पटक विजयी भएका नेता हुन् । गुप्ताले २०५६, २०६४, २०७० र २०७४ सालको निर्वाचन जितेका छन्। प्रदेश सभा तर्फ ०७४ सालमा २(क)मा एमालेका दृगनारायण पाण्डे विजयी भएका थिए। हाल उनी कांग्रेस प्रवेश गरेका छन्।

२ (ख) मा सूर्य चिन्ह लिएर उम्मेदवार बनेका धर्मबहादुर लाल श्रीवास्तव विजयी भएका थिए। अहिले उनी एमालेमा प्रवेश गरेका छन्। यो निर्वाचन क्षेत्रमा पनि स्थानीय चुनावमा वडाध्यक्षहरूले पाएको मतका आधारमा यहाँ कांग्रेस अगाडि छ।

कांग्रेसका वडाध्यक्षहरूले ३० हजार ९९८ मत पाएका छन् । एमालेकाले २७ हजार २९८ मत ल्याउँदा जसपा ६ हजार ९०८, लोसपा ६ हजार ३८६, माओवादी ४ हजार ४५९, राप्रपा २ हजार ३५, नेकपा एसको ६९१ मत ल्याएका छन्। 

क्षेत्र नंं ३ मा कांग्रेसबाट अभिषेक प्रताप साह र कांग्रेसका लुम्बिनी प्रदेश संसदीय दलका नेता वीरेन्द्र कनौडियाको चर्चा छ। साहले २०७४ सालमा तत्कालीन संघीय समाजवादी फोरम हाल जसपाका मंगलप्रसाद गुप्तालाई पराजित गरेका थिए।

साहले १९ हजार ८६४ मतका साथ विजयी हुँदा गुप्ताले १५ हजार ७९४ मत ल्याएका थिए। मंगल गुप्ता वृजेशसँगै एमालेमा प्रवेश गरेका छन्। हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य समेत रहेका गुप्तालाई पार्टीले टिकट दिने सम्भावना बढि छ। त्यस कारण यसपटक क्षेत्र नं. ३ मा ०७४ सालकै प्रतिस्पर्धीहरू फेरि चुनावी मैदानमा उत्रने सम्भावना बढेको छ।

यद्यपि कांग्रेसबाट कनौडियाले पनि संघमा जाने इच्छा देखाएका छन्। लुम्बिनी प्रदेशमा गठबन्धनको सरकार बन्दा ६/६ महिना आलोपालो मुख्यमन्त्री बन्ने सहमति भए पनि अन्ततः माओवादीले मुख्यमन्त्री नछाड्दा कनौडियाको मुख्यमन्त्री बन्ने सपना पूरा भएको छैन।

प्रदेशसभा ३ (क) मा एमालेका अर्जुनकुमार केसी विजयी हुँदा ३ (ख) बाट कांग्रेसका वीरेन्द्रकुमार कनोडिया विजयी भएका थिए। कांग्रेस कपिलवस्तुका सभापति अब्दुल कलामले पार्टीको निर्णय अनुसार चुनावी अभियानमा लाग्ने बताए। उनले ०७४ सालको निर्वाचनको तुलनामा अहिलेको स्थानीय तहको निर्वाचनमा कांग्रेस बलियो भएकाले जिल्लामा २ वटा क्षेत्र कांग्रेसले पाउनुपर्ने बताए।

स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार मान्ने हो भने यहाँ एमाले अगाडि छ। यहाँ एमालेका वडाध्यक्षहरूले १८ हजार ७४७ मत ल्याएका छन्। कांग्रेसका वडाध्यक्षहरूले १५ हजार ७७० मत ल्याएका छन्। यस क्षेत्रमा जसपाले ९ हजार ९७४, माओवादीले ६ हजार ८४४, राप्रपाले ६ हजार ७४, लोसपाले ४ हजार ६७५ र नेकपा एसले १ हजार ९८६ मत ल्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जिल्ला नेतृत्त्वनै एमालेमा गाभिएपछि झाँक्रीलाई झमेला, विष्टको बाटो सहज

पार्टीको जिल्ला नेतृत्त्व नै एमालेमा समाहित भएको खबरले अत्तालिइन् झाँक्री। एमालेमा नेतृत्त्व नै समाहित हुँदा गुल्मीमा एकीकृत समाजवादी ‘नील’ जस्तै बनेको छ। पाँच दलीय भागबन्डामा....

ओलीका विश्वास पात्र र देउवाका आलोचकबीच २३ वर्षदेखि प्रतिस्पर्धा, यसपाली कसको पल्ला भारी ?

यसबीचमा उनीहरू चार पटक चुनावी प्रतिस्पर्धी हुँदा ज्ञवालीले ३ पटक बाजी मारे भने भण्डारीले एक पटकमा चित्त बुझाउनुपरेको इतिहास छ। ४ मंसिरमा हुने पाँचौं प्रतिस्पर्धाबाट....

महरा स्थानीय चुनावको परिणामले डराएर समानुपातिकमा बस्दा पोखरेललाई संघीय संसद् छिर्न 'चिठ्ठा' !

अब भागबण्डामा दाङ-२  नेपाली कांग्रेसले पाएको अवस्थामा पोखरेलका प्रतिस्पर्धी कमलकिशोर घिमिरे हुनेछन्। २०७४ को निर्वाचनमा दाङ-२ बाट महरा प्रतिनिधि सभामा विजयी हुँदा त्यही निर्वाचन....

समानुपातिक सूची बुझाउन निर्वाचन आयोगमा प्रमुख दलका नेताको भिड

पार्टीमा  सोमबार दिनभर छलफलपछि सूची बनाएर दलका नेताहरू पाँच बजे अगाडि नै आयोगको कार्यालय पुगेका हुन्। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पार्टीको तर्फबाट समानुपातिक सूची बोकेर....

लुम्बिनीमा सात सिट जोगाउन एमालेलाई हम्मे–हम्मे, प्रभावशाली नेता कति सुरक्षित?

लुम्बिनी प्रदेशमा प्रतिनिति सभातर्फ जम्मा २६ सिट छ। ०७४ सालको निर्वाचनमा एमालेले यस प्रदेशबाट ९ सिट मात्र जितेको थियो। त्यो पनि वाम गठबन्धनको बलमा। अब....