त्रिवि होस्टेलमा विद्यार्थी नेताको अबैध कब्जा, प्रशासनले सामान निकाल्ने भनेपछि १२ विद्यार्थी बल्ल निस्किए

त्रिवि होस्टेलमा विद्यार्थी नेताको अबैध कब्जा, प्रशासनले सामान निकाल्ने भनेपछि १२ विद्यार्थी बल्ल निस्किए

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको होस्टेलमा अनधिकृत रूपमा बसेका १२ जनालाई प्रशासनले हटाएको छ। कार्यालयले पटक-पटक आग्रह गर्दा पनि नछाडेका अनधिकृत १२ जना विद्यार्थीलाई प्रशासनले हटाएको हो।

म्याद सकिएका विद्यार्थीहरूलाई प्रिन्सिपल कार्यालयले सूचना जारी गरेर होस्टल छाड्न सूचना निकालेको थियो। पटक-पटक सूचना निकाल्दा पनि होस्टल नछाडेपछि प्रशासनले १२ जना विद्यार्थीहरूलाई कान्ति छात्रवासबाट जबरजस्ती निकालेको हो।

प्रशासनले ती विद्यार्थीहरूको नाम भने सार्वजनिक गरेको छैन। उनीहरूलाई प्रिन्सिपल कार्यालय र होस्टेल प्रशासनले भदौ १० गते सम्मको अल्टिमेटम दिएको थियो। 

एउटा विद्यार्थीको सट्टामा अन्य विद्यार्थी बस्नु र निस्कनु पर्ने विद्यार्थी समेत ननिस्कँदा नयाँ भर्ना भएका विद्यार्थीले होस्टलमा कोठा नै पाएका थिएनन्। उनीहरू बाहिरिएसँगै नयाँ भर्ना भएका १० जना विद्यार्थीलाई होस्टलमा कोठा उपलब्ध गराइएको प्रशासनले उकेरालाई जानकारी गरायो।

नयाँ विद्यार्थीहरूले कोठा नपाएको गुनासो गरेपछि अध्ययन गर्दा अनधिकृतरुपमा केही विद्यार्थी बसेको खुलेपछि उनीहरूलाई निकालेर नयाँ विद्यार्थीलाई कोठा उपलब्ध गराएको  वार्डेन नारायण तिमल्सिनाले जानकारी दिए।

’जसको नाममा कोठा दर्ता थियो उनीहरूका आफन्त साथीभाइ बस्दै आएका रहेछन्। हामीले रजिस्टारमा भएको नम्बरमा फोन गरेर तपाईँहरू बस्नुहुन्न भने कोठा खाली गर्नु पर्यो, बस्नु हुन्छ तुरुन्तै आउनुस् भन्यौँ,’ उनी भन्छन्, ’ताल्चा नलगाएको कोठामा त हामी आफै छिरेर सामान पनि पोको परेका थियौँ। तर, दर्ता भएकै विद्यार्थीहरू आउनुभयो। अनि सामान फाल्न परेन।’

यस अगाडि प्रशासनले होस्टलमा रहेका गैर विद्यार्थीलाई कोठा छाड्न भनेपछि विद्यार्थी सङ्गठन निकटहरूले प्रशासनमा ताल्चा लगाइदिएका थिए। अनधिकृत रूपमा बसेका १० जनामध्ये २ जना एमाले निकट विद्यार्थी सङ्गठनका नेता थिए। छलफलपछि उनीहरूले ताल्चा खोलेर होस्टलको कोठा छाडेका छन्।

त्रिविमा सेमेस्टर प्रणाली लागू भएपछि विद्यार्थी २ वर्ष मात्र होस्टलमा बस्न पाउने व्यवस्था छ। उनीहरूले थेसिस पनि होस्टलबाट बाहिरिए पछि नै गर्नु पर्ने हुन्छ।  तर, कतिपय विद्यार्थी आफ्नो थेसिस नसकिएको भन्दै होस्टलमै बस्ने गरेका छन्। यसबारेमा पनि गुनासो आएपछि उनीहरूलाई होस्टल छाड्न भनिएको प्रिन्सिपल कार्यालयले जनाएको छ। 

अरूको सट्टामा बस्दै आएका र म्याद सक्किसकेका विद्यार्थी कति छन् भनेर छुट्टाउन अझै केही समय लाग्ने क्याम्पस प्रशासनले जनाएको छ। होस्टलमा बस्ने करिब ७० प्रतिशत विद्यार्थी अरुकै नाममा बसिरहेको कर्मचारीहरू नै बताउँछन्।

त्रिविको होस्टलमा ४ हजार २ सय २४ रुपैयाँ तिरेपछि विद्यार्थी एक वर्ष बस्न पाउँछन्। होस्टलका विद्यार्थी आफ्नो कोठामा आफैँ खाना बनाएर खान्छन् भने होस्टलमा पैसा उठाएर मेस चलाउँछन्।

पछिल्लो समय विश्वविद्यालय केन्द्रीय कार्यालयमा बन्दी गर्ने, घेराउ गर्ने, पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, विश्वविद्यालयको दैनिक काम कारबाही गर्दा बारम्बार कार्यालयमा जबरजस्ती प्रवेश गरी अवरोध सृजना गर्ने, पदाधिकारीको कार्यकक्षमा जबरजस्ती प्रवेश गर्ने तथा तोडफोड गर्ने जस्ता कार्यहरू बारम्बार हुने गरेको छ।

सुरक्षाको दृष्टिले असहज परिस्थिति भएको भन्दै त्रिवि कार्यकारी परिषद्को बैठक  विश्वविद्यालय परिसरमा बाहिर गरे पनि विद्यार्थी सङ्घका विद्यार्थीहरूले जबरजस्ती बैठक कक्षमा प्रवेश महत्त्वपूर्ण कागजपत्र र फाइलहरू कब्जा गरेका थिए। 

१७ भदौ, २०७९, १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।