हिजोका कुरा : गिरिजाप्रसादले सहयोग नगरेपछि रिसाएका मेयर पीएलले सिंहदरवारको गेटमै फोहोर थुपारे

हिजोका कुरा : गिरिजाप्रसादले सहयोग नगरेपछि रिसाएका मेयर पीएलले सिंहदरवारको गेटमै फोहोर थुपारे

काठमाडौं महानगरपालिकाका पूर्व कर्मचारी हुन्, इन्द्रमान सिंह सुवाल। झण्डै २० वर्ष महानगरपालिको कर्मचारी भएर काम गर्दा उनले केही समय वातावरण विभागको नेतृत्व समेत गरेका थिए। फोहोरमैला व्यवस्थापनले विकराल रूप लिएको चुनौतीपूर्ण समयमा विभाग प्रमुख भएका उनीसँग फोहोरमैला व्यवस्थापनसम्बन्धी तीतोमीठो अनुभव छन्। 

वि.सं. २०१८ मा काठमाडौंको इन्द्रचोकमा जन्मिएका सुवाल पाँच भाइमध्ये साइला हुन्। सामान्य व्यापारिक पारिवारिक पृष्ठभूमिमा हुर्किएका उनले विश्व निकेतनबाट २०३४ सालमा एसएलसी उत्तीर्ण गरे। पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ)बाट प्रमाणपत्र तह पूरा गरेलगत्तै स्थानीय विकास मन्त्रालयअन्तर्गत ओभरसियरको रूपमा झण्डै चार वर्ष काम गरे उनले।

तत्कालिन समयमा सोभियत संघले उपलब्ध गराउने छात्रवृत्ति कार्यक्रमअन्तर्गत २०४२ सालमा सिभिल इन्जिनियरिङ अध्ययनका लागि रुस पुगे उनी। विखण्डनपछिको युक्रेनस्थित हालको डेनबास युनिभर्सिटीबाट इन्जिनियरिङ अध्ययन पूरा गरेर २०४७ सालमा उनी नेपाल फर्किए।

नेपाल फर्केर सडक विभागमा डेढ वर्ष सिभिल इन्जिनियर भएर काम गरेका उनलाई त्यसपछि करारको जागिरले पुग्यो। अनी उनी महानगरको स्थायी जागिरे भए। विभिन्न विभागमा रहेर काम गरेका उनी यतिबेला अवकास जीवन बिताइरहेका छन्।
०००
फोहोरमाथि बनेका घर बाढिले बगाउँदा

काठमाडौं उपत्यकामा फोहोरमैला व्यवस्थापनको इतिहास लामो छ। त्यसअघिको समयसम्म घरबाट निस्कने फोहोर खेतबारीमै व्यवस्थापन हुने गर्थ्यो। नदी किनारमा फोहोर फाल्ने गरिन्थ्यो। धोबीखोला, विष्णुमती किनारमा फोहोर फालिने भएकाले फोहोरमैलालाई व्यवस्थित गर्ने सफाइकर्मीहरूको वासस्थान त्यहिँ हुन्थ्यो।

‘सफाइकर्मीहरूले फोहोर बटुलेर नदिछेउमा थुपार्थे’ उनी सम्झन्छन्, ‘त्यहि बस्ने गर्थे। त्यसअघिको समयमा स्थानीयहरूले घरबाट उत्पादन हुने फोहोरमैला आफ्नै बारीमा व्यवस्थापन गर्थे।’

२०२८ सालको कुरा हो, सुवाल सानै थिए। खेतबारीमा व्यवस्थापन नगरिएको फोहोरमैला नदी किनारमै पुर्ने गरिन्थ्यो। फोहोर पुर्न माटो राखिएको हुन्थ्यो। फोहोरमाथि माटो राखेर बनेको स्थानमा सफाइकर्मी र जग्गा नभएका मानिसहरूले टहरा बनाएर बस्थे। त्यसरी बनेका घरहरू वर्षाले बगाएको हेर्न सुवाल स्वयं विष्णुमती नदी छेउसम्म पुग्थे।

‘वर्षात्को समयमा ठूलो पानी परेको थियो र फोहोरमाथि बनेका चारपाँच घर भासिए,’ उनले सुनाए, ‘झण्डै दुई तलासम्मका केहि घरहरू बनेका थिए, वर्षाको पानीले बगाएपछि घरको टुप्पो मात्र देखिन्थ्यो, त्यसपछि त्यस क्षेत्रका बासिन्दालाई डल्लु आवासमा सारिएको थियो।’

फोहोरमा लुकेको महादेव सफा गर्ने चलन

जर्मन सरकारको सहयोगमा जिआइजेडअन्तर्गत फोहोरमैला स्रोत परिचालन केन्द्र नामक कार्यक्रम सञ्चालनमा थियो। जसअन्तर्गत ललितपुरको फोहोर पाटन नजिकै बालकुमारी, भक्तपुरको मध्यपुर ठिमी र काठमाडौंको फोहोर टेकुमा संकलन गरेर मलखाद बनाउने गरिन्थ्यो। 

जर्मन सरकारको सो प्रविधि काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनको लागि सबैभन्दा उत्कृष्ट मानिएको थियो। सो कार्यक्रम २०३७ सालदेखि सुरु भए पनि झण्डै २०४० सालदेखि मात्र कार्यान्वयनमा आयो।

उपत्यकाबासीले आफूले उत्पादन गरेको फोहोर आफैँ व्यवस्थापन गर्थे। वर्षभर जम्मा गरेको फोहोर वर्षमा एक दिन मात्र निकाल्ने प्रचलन हुन्थ्यो। जसलाई लुकेको महादेव सफा गर्ने चलन भनिन्थ्यो।

‘खेतीपाती र किसानहरू बढि हुने भएकोले सबैले आफ्नो टोलको चोक–चोकमा फोहोर गाड्ने र त्यहि फोहोर कुवाउने गर्थे। पछि त्यहि फोहोर खेतबारी राख्थे,’ फोहोरमैला व्यवस्थापनसम्बन्धी उबेलाको प्रचलन सम्झदै सुवाल सुनाउँछन्, ‘वर्षमा आउने घोडेजात्राको अघिल्लो दिन लुकेको महादेव सफा गर्ने चलन हुन्थ्यो। पुरिएको फोहोरबाट बनेको सबै मल निकालेर त्यहिँ पूजा गरिन्थ्यो। फोहोरमुनि महादेव हुन्छ भन्ने कथन थियो।’

काठमाडौंमा आवादी र शहरीकरण बढ्न थालेपछि त्यो प्रचलन हराउँदै गयो र फोहोरमैला व्यवस्थापनमा समस्या निम्तिन थाल्यो। फोहोरमैलाकै कारण काठमाडौंमा झाडापखाला र हैजाजस्ता महामारी फैलिन थाल्यो। हैजाको खोप लगाइरहनुपर्थ्यो।

फोहोरमैलाको समस्या सुरु भएपछि जर्मन सरकारले फोहोरमैला व्यवस्थापनका निम्ति आफ्नो ‘परियोजना सुरु गर्यो। कन्टेनर प्रणाली लागू भयो। बाटा–बाटामा ठूल्ठूला कन्टेर राख्न थालियो।

‘जर्मन सरकारको जिआईजेडले सुरु गरेको त्यो कार्यक्रम निकै व्यवस्थित थियो,’ उनी स्मरण गर्छन्, ‘रुटिनअनुसार फोहोर उठ्थ्यो। मध्यपुर ठिमी, टेकु, बालकुमारीमा कुहिने नकुहिने फोहोर व्यवस्थापन गर्थ्यो।’

गोकर्णेश्वरको ल्याण्डफिल साइट बन्द गराउने त्यो आन्दोलन

जिआइजेडले सञ्चालन गरेको फोहोरमैला व्यवस्थापन कार्यक्रम प्रभावकारी बनिरहेको थियो। विभिन्न रणनिति अपनाएर फोहोर व्यवस्थापन हुने गर्थ्यो। उपत्यकामा लागू भएको फोहोरमैला स्रोत परिचालन केन्द्रलाई काठमाडौबाहिरका शहरहरूले उदाहरणको रूपमा लिने गरेको सुवाल सुनाउँछन्।

‘त्यतिबेला त काठमाडौंलाई फोहोर व्यवस्थापनको उदाहरणीय शहरको रूपमा हेर्थे,’ उज्यालो मुहार बनाउँदै उनी भन्छन्, ‘फोहोरमैला व्यवस्थापनमा काठमाडौं सफल बनेको थियो तर २०५० सालपछि त्यो सफलता असफल हुन थाल्यो।’

सुवाल महानगरको वातावरण विभाग प्रमुखकै भूमिका थिए। काठमाडौंबाट उत्पादन भएको फोहोर टेकुमा नअटेर गोकर्णेश्वर मुलपानीस्थित हालको क्रिकेट मैदानमा स्यानिटरी ल्याण्डफिल साइट बनाएर व्यवस्थापन गरिन्थ्यो। फोहोरबाट निस्कने लिचेडको लागि अलग ट्यांकी बनाइएको थियो।

‘जिआइजेडले पूरै अध्ययन गरेर मुलपानीको स्यानिटरी ल्याण्डफिल साइट बनाएको थियो। टेकुमा नअटेको फोहोर उता पुर्याइन्थ्यो’ सुवाल सुनाउँछन्, ‘त्यो प्रशोधित लिचेडलाई बागमती नदीमा मिसाइन्थ्यो। फोहोरमैलासम्बन्धी जनचेतना दिने, मलखाद बनाउने, वाकिटकीबाट सम्पर्कमा राख्नेलगायत प्रणालीमार्फत व्यवस्थित बनाएको थियो।’

ल्याण्डफिल साइट व्यवस्थापनलगायत जिम्मेवारी जिआइजेडको फोहोरमैला स्रोत परिचालन केन्द्रले नै लियो। ललितपुर, भक्तपुर र काठमाडौं तीनवटै जिल्लाबाट उठ्ने फोहोरको जिम्मेवारी केन्द्रकै थियो। जिआइजेडले आफ्नै कर्मचारीहरू राखेको थियो। फोहोर ढुवानीको लागि काठमाडौं महानगरपालिकाले ट्याक्टरहरू मात्र उपलब्ध गराउँथ्यो। त्यतिबेलासम्म फोहोर उठाएबापत अहिलेजस्तो शुल्क तिर्नुपर्दैनथ्यो।

भियतनामका स्थानीयको बिर्सन नसक्ने त्यो आन्दोलन
अहिलेको सिसडोल र बन्चरे डाडाँमा फोहोरमैला विसर्जनबारे जति विरोध हुने गर्छ, त्योभन्दा चर्को विरोध गोकर्णेश्वरबासीले गरेको सुवाल सम्झन्छन्। वातावरण विभाग प्रमुख भएकोले चुनौती पनि उनैलार्ई थियो।

‘त्यतिबेला सो क्षेत्रमा मुलपानी र जोरपाटी दुईवटा गाविसहरू थिए। ति गाविससँग समन्वय गरेर फोहोर व्यवस्थापन गर्थ्यो। र पनि त्यहाँका स्थानीयहरूले पटक–पटक आन्दोलन गर्थे’ सुवाल सुनाउँछन्, ‘खानेपानी, बाटोघाटो, रोजगारी, जीवनस्तर उकासको माग गर्दै आन्दोलनमा उत्रिन्थे। मैले त्यतिबेला फोहोरमैलाको विभाग हेर्ने भएकोले तनावपूर्ण स्थितिमा फिल्डमा पुग्थेँ।’

एकपटक ढुंगामुढा चलिरहेकै बेलामा हेल्मेट लगाएर पुगेको प्रसङ्ग पनि उनले सम्झिए। अहिले जस्तै बल प्रयोग गरेर फोहोर विसर्जन गर्नुपर्ने अवस्था थियो। फोहोर उठाउनेहरूले बाटोमै फोहोर फाल्ने तथा सिनो, हड्डी र छालाहरू स्थानीयको घरसम्मै पुग्न थालेपछि स्थानीलयले विरोध गरेको उनी बताउँछन्।

माओवादी सशस्त्र द्धन्द्ध कारण गाउँबाट मानिसले तीव्र रूपमा शहर प्रवेश गर्न थालेका थिए। शहर प्रवेश गर्नेहरूलाई रोक्न सक्ने अवस्था थिएन। फोहोर उत्पादन दिनानुदिन बढ्दै थियो। उताबाट गोकर्णेश्वरका स्थानीयहरूले आन्दोलन यतिसम्म चर्काएका कि फोहोरमैला विर्सजन बन्दै गर्नुपर्ने अवस्था आयो।

पटक–पटकको आन्दोलनपछि २०५२ सालमा गोकर्णेश्वरबासीले ल्याण्डफिल साइट सदाका लागि बन्द गराए। अन्ततः ०५३ सालको सुरुवातमा त्यहाँको परियोजना सदाका लागि बन्द गर्ने निर्णय भयो। 

सुवालले त्यहिबेला बुझ्ने मौका पाएका थिए, कि फोहोरमैला व्यवस्थापनको सन्दर्भमा काठमाडौंमा मात्र नभई संसारभर आन्दोलन हड्ताल हुने रहेछ। उनी आफ्नो नगरको फोहोरमैला व्यवस्थापन गर्ने तरिकाबारे थाहा पाउन विभिन्न मुलुकका ल्याण्डफिल साइट अवलोकन गर्न गएका थिए।

स्थानीयले गर्ने आन्दोलनको तरिकामध्ये सबैभन्दा खतरनाक र फरक उनलाई भियतनामका स्थानीयको लाग्यो। उनले सुनाए, ‘ढुंगामुढाको आन्दोलन नगरे पनि फोहोर ढुवानी गर्ने गाडी पन्चर गराउन सडकभर काँटी बिच्छ्याउने गर्दा रैछन् त्यहाँका स्थानीय, पाइलैपिच्छे विभिन्न माग हुँदा रहेछन्।’

‘गल्छीबाट पनि लखेटियौं’

त्यसबेला पनि महानगरका तत्कालीन कर्मचारीहरूको लागि फोहोर व्यवस्थापनमा सबैभन्दा बढि टाउको दुखाइ बनिसकेको थियो। फोहोर विसर्जनका लागि उचित ठाउँ भेटिएको थिएन। काठमाडौंमा भएका ठाउँहरू फोहोरले भरिएका थिए। कति फोहोर त विभिन्न ठाउँमा खाल्डो खनेर पनि पुरियो।

‘केहि सीप नलागेपछि हुँदाहुँदा राति फोहोरको गाडीलाई नागढुंगा कटाएर गल्छीसम्म फोहोर पुर्यायौं,’ उनी सुनाउँछन्, ‘तर केही सीप चलेन, त्यहाँबाट पनि लखेटियौं।’ 

त्यो बेला प्रधानमन्त्री थिए गिरिजाप्रसाद कोइराला। फोहोर व्यवस्थापनको समस्या विकराल हुँदा पनि सरकारले फोहोरमैला व्यवस्थापनबारे वास्ता गरेन। फोहोर व्यवस्थापनमा दौडिरहेका नगरपालिका र अन्य निकायका सम्बन्धित व्यक्तिहरू थाकिसकेका थिए। केही सीप नलागेपछि तत्कालीन मेयर पिएल सिंहले सिंहदरबार अगाडि फोहोर फालेर सरकारको विरोधसमेत गरेका थिए।

‘फोहोर व्यवस्थापन गर्न नसकेर मेयरले सिंहदरबारअगाडि गाडिका गाडि फोहोर राख्नुभएको थियो,’ उनी सम्झन्छन्, ‘सरकारले फोहोर फाल्ने ठाउँ व्यवस्थापन नगरेपछि भएको आन्दोलनले बल्ल सरकारसँग वार्ता शुरु भयो।’

काठमाडौमा फोहोरको विकराल समस्या चलिरह्यो। महानगरपालिकाले फोहोर व्यवस्थापनको लागि उचित ठाउँ खोजी रहेको थियो। काठमाडौंका थैव, टोखा, छैमले, सिपाडोल जस्ता ठाउँमा ल्याण्डफिल साइट बनाउने कि भन्नेबारे अध्ययन पनि गर्यो। 

काठमाडौं भित्रै ठाउँ फेला नपरेपछि स्थानीयहरूसँग महानगरले वार्ता सुरु गर्यो। कयौं कोसिसपछि पनि स्थानीयहरू फोहोरको लागि आफ्नो जमिन दिन तयार भएनन्। 

कतै पनि ठाउँ नभेटिएपछि सुवालको पालामा सिसडोल बन्चरेडाँडा ल्याण्डफिल साइट बनाउने भन्दै महानगरले अध्ययन सुरु गरेको थियो। दुई वर्षको लागि फोहोर विसर्जन गर्न पाउने सम्बन्धमा सिसडोलबासीसँग २००५ जुलाई ५ वातावरण दिवसको दिनदेखि फोहोर विसर्जन गर्न थालिएको थियो।

‘स्व. सुर्यमान शाक्यको पहलमा त्योबेलादेखि फोहोर सिसडोल लगियो’ सुवाल भन्छन्, ‘दुई वर्षको लागि भनिएको फोहोर यतिका वर्षसम्म त्यहि थुपारियो।’ 

फोहोरमाथि विष्णुमती करिडोर 
गोकर्णेश्वरको ल्याण्डफिल साइट बन्द भएपछि काठमाडौंका चोक गल्लीमा फोहोर थुप्रिन थाल्यो। व्यवस्थापनको समस्या चुलिँदा पनि सरकारले व्यवस्थापनमा चासो दिएन।

गोकर्णेश्वर ल्याण्डफिल साइट बन्द भएपछि काठमाडौंको फोहोर उठ्ने अवस्था आएन। झण्डै चार वर्षसम्म काठमाडौंको फोहोर उठेन। फोहोर अहिलेभन्दा ज्याद्रो किसिमले सडक, चोक, नदि किनारमा थुप्रिन थाल्यो। सहरभर फोहोरका पहाड बने।

विष्णुमती, बाग्मती, धोबिघाट नदी किनारहरूमा फोहोर भरिभराउ भयो। अहिलेको तुलनामा फोहोरको विकराल समस्या त्यतिबेला देखा परेको सुवाल सुनाउँछन्।

‘फोहोर राख्दा–राख्दा विष्णुमतीको शोभा भगवति हुँदै ललितपुरको नख्खु दोबाटोसम्म पुर्याइयो’ उनी सम्झन्छन्, ‘२०५२ देखि झण्डै चारवर्षसम्म एक दिन पनि काठमाडौको फोहोर उठेन। काठमाडौंमा त्योबेलाजस्तो फोहोरमैलाको समस्या कहिल्यै देखिनँ। सार्है विकराल अवस्था थियो।’

फोहोर यतिसम्म थुप्रियो कि विष्णुमती नदि किनारको छेउटुप्पोसमेत बाँकी रहेन। पछि सो नदि किनारमा थुपारिएको फोहोरमाथि नै सडक निर्माण गरेको उनी बताउँछन्।

‘नख्खुदेखि यता थापाथली, बालाजुसम्म बागमतीको केहि भाग र विष्णुमतीको दायाँबायाँ राखिएको फोहोरमाथि माटो राखेर त्यसमाथि सडक बनाइएको हो’ उनी भन्छन्, ‘कुहिने नकुहिने फोहोर लहरै राखेर त्यसमाथि माटो राखियो र पछि त्यसमाथि नै सरकारले करिडोर बाटो बनायो। कालोपत्रे गर्यो।’
 

१६ भदौ, २०७९, १९:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।