उकेरा न्युज

चन्द्र दर्शन निषेध गरिएको गणेश चतुर्थीको कथा


वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभः।
निर्विघ्नं कुरु मे देवः सर्वकार्येषु सर्वदा।।

अर्थात्– टेडोमेडो तथा हात्तीको जस्तो मुख र विशाल शरीरले युक्त, करोडौं सूर्य समान तेज भएका हे गणेश! सदा सर्वदा मेरा कार्यहरूमा आउने बाधा तथा व्यवधानहरू हटाइदिनुहोस्।

वैदिक सनातन परम्परामा प्रत्येक शुभकार्यको प्रारम्भमा वा शुभकार्य गर्नुअघि सुरुमा गणेशको पूजाअर्चना गरिन्छ। सबै सिद्धिहरू गणेशमा रहने भएकाले उनलाई सिद्धिका दाता मानिएको छ। धार्मिक मान्यता अनुसार गणेशको पूजा–अर्चना गर्नाले व्यक्तिमा बुद्धि, विद्या, विवेकको प्रादुर्भाव हुनुको साथै रोग, व्याधि तथा समस्त विघ्नबाधाहरू स्वतः नाश हुने विश्वास छ। 

शास्त्रमा पनि कलियुगमा विनायक र चण्डी (देवी)को पूजा आराधना गर्न निर्देश गरिएको छ। शास्त्रमा भनिएको छ– कलौ चण्डिविनायकौ। 
धर्मशास्त्रीय ग्रन्थहरूमा पञ्चदेवहरू सूर्य, गणेश, देवी, रुद्र (शिव) र केशव (विष्णु) को प्रत्येक दिन पूजा तथा उपासना गर्नुपर्ने विधान रहेको छ। त्यसमा पनि कुनै विशेष कर्म गरिन्छ भने त अवश्य पूजा गर्नपर्छ। त्यसैले शास्त्रमा भनिएको छ–

आदित्यं गणनाथं च देवीं रुद्रं च केशवम्।
पञ्चदैवतमित्युक्तं सर्वकर्मसु पूजयेत्।। शब्दकल्पद्रुम)

यी पाँच देवताहरूको सम्बन्ध पञ्चमहाभूत (पृथिवी, जल, तेज, वायु र आकाश) सँग रहेको छ । त्यसैले भनिएको शास्त्रमा छ–

आकाशस्याधिपो विष्णुरग्नेश्चैव महेश्वरी।
वायोः सूर्यः क्षितेरीशो जीवनस्य गणाधिप।।

अर्थात्, आकाशको सम्बन्ध विष्णुसँग, अग्निको सम्बन्ध महेश्वरी(देवी)सँग, वायुको सम्बन्ध सूर्यसँग  पृथ्वीको सम्बन्ध शिवसँग र जलको सम्बन्ध गणेशसँग रहेको बताइएको छ। भगवान् शिव पृथ्वी तत्त्वका अधिपति भएका कारण शिवलिङ्गको रूपमा पार्थिव–पूजा गर्ने विधान रहेको छ। भगवान् विष्णु आकाशका अधिपति भएका कारण उनलाई शब्दद्वारा स्तुति गर्ने गरिन्छ। भगवती देवीको अग्नि तत्त्वकी अधिपति भएका कारण अग्निकुण्डमा हवनादिद्वारा उनको पूजा तथा आराधना गर्ने गरिन्छ।

आफ्ना माता–पिताप्रति गरेको भक्तिका कारण गणेशको सबैभन्दा पहिले पूजा गर्ने प्रचलन पनि त्यहिबेलादेखि सुरु भएको हो। महादेवले पनि सम्पूर्ण कार्यारम्भ गर्नुभन्दा अगाडि गणेशको पूजा गरेको अवस्थामा सबै देवता प्रसन्न हुने बताएका थिए।

यस्तै गणेश जलतत्त्वका अधिपति भएका कारण उनको सर्वप्रथम पूजा गर्ने विधान छ। यो ब्रह्माण्डमा सबैभन्दा पहिले जलतत्त्वको उत्पन्न भएको हो। र, जलका अधिपति गणेश भएका हुनाले पनि गणेशको सबैभन्दा पहिले पूजा गर्ने परम्परा रहेको छ। मनुले पनि यो संसारको सृष्टि गर्ने क्रममा ईश्वरले सबैभन्दा पहिले जलको सृष्टि गरेको बताएका छन्– अप एव ससर्जाऽऽदौ, (मनुस्मृति, १.८)। यो प्रमाणबाट कुनै पनि कार्यारम्भ गर्दा गणेशको पूजा पहिले गर्ने गरिएको स्पष्ट हुन्छ।

सर्वप्रथम गणेशजीको पूजा गर्ने सन्दर्भमा एक पौराणिक कथा पनि रहेको छ। जुन अत्यन्त रोचक र बुद्धिदायक छ।

प्राचीनकालमा देवताहरूले अमृतबाट निर्मित एक लड्डु पार्वतीलाई दिएका थिए। आफ्नी आमासँग यस्तो लड्डु देखेर दुवै छोरा(कुमार कार्तिकेय र गणेश)ले लड्डु माग्न थाले। यस्तो अवस्थामा माता पार्वतीले आफ्ना दुवै छोराहरूलाई लड्डुको महत्त्व र त्यसको प्रभावका सम्बन्धमा वर्णन गर्दै ‘तिमीहरू दुईमध्ये जसले धर्माचरणमा श्रेष्ठता प्राप्त गर्दछ त्यसैले यो लड्डु प्राप्त गर्नेछ’ भनिन्।

माता पार्वतीको यो कुरा सुनेपछि कुमार कार्तिकेय आफ्नो वाहन मयूरमा चढेर केही क्षणमै श्रेष्ठता प्राप्त गर्ने उद्देश्यले विभिन्न तीर्थहरूको स्नान गर्नका लागि निस्किए र नाना तीर्थहरूको स्नानादि तथा देवी देवताहरूको दर्शन गरेर फर्किए। उता गणेशजीले भने आफ्ना माता–पिताको तीन पटक परिक्रमा गरेर माता–पिताकै सामु उभिए।

गणेश चतुर्थी अर्थात् भाद्र शुक्ल चतुर्थीका दिन जानेर होस् या नजानेर चन्द्रमाको दर्शन गरेको अवस्थामा मिथ्या कलङ्क (झुटो आरोप) लाग्ने कुराको वर्णन पनि पुराणहरूमा गरिएको छ।

त्यसपछि माता पार्वतीले भनिन्– ‘समस्त तीर्थहरूमा गरेको स्नान, सम्पूर्ण देवताहरूलाई गरिएको नमस्कार, सबै यज्ञहरूको अनुष्ठान तथा सबै प्रकारका व्रत, मन्त्र, योग एवं संयमको पालन आदि सबै कार्य माता–पिताको पूजनको स्रोह्र कलामध्ये एक पनि होइन। यसकारण हे गणेश! तिमी सयौं पुत्र र सयौं गणभन्दा पनि श्रेष्ठ छौ। अतः देवताहरूले दिएको यो लड्डु मैले तिमीलाई अर्पण गर्छु।’

आफ्ना माता–पिताप्रति गरेको भक्तिका कारण गणेशको सबैभन्दा पहिले पूजा गर्ने प्रचलन पनि त्यहीबेलादेखि सुरु भएको हो। महादेवले पनि सम्पूर्ण कार्यारम्भ गर्नुभन्दा अगाडि गणेशको पूजा गरेको अवस्थामा सबै देवता प्रसन्न हुने बताएको प्रसङ्ग पनि त्यहाँ रहेको छ।

जहाँसम्म भाद्र शुक्ल चतुर्थीका दिनको प्रसङ्ग छ, यसै दिन गणेशजी प्रकट भएका हुनाले यो दिनलाई भगवान् गणेशको वरदायक तिथिको रूपमा लिइन्छ। यो दिन मध्यान्हको समयमा भगवान् गणेशको पूजा तथा आराधना श्रद्धा एवं भक्तिका साथ गरेको अवस्थामा त्यसको पुण्य अनन्तमिल्ने कुराको वर्णन पुराणहरूमा गरिएको छ।

गतल प्रयोजनमा त्यो मणि प्रयोग गरिएको हुनाले एक सिंहले प्रसेनलाई मारेर त्यो मणि लियो। त्यसपछि त्यो सिंहलाई पनि मारेर जाम्ववान्ले त्यो मणि लिए।

गणेश चतुर्थी अर्थात् भाद्र शुक्ल चतुर्थीका दिन जानेर होस् या नजानेर चन्द्रमाको दर्शन गरेको अवस्थामा मिथ्या कलङ्क (झुटो आरोप) लाग्ने कुराको वर्णन पनि पुराणहरूमा गरिएको छ। जसको सम्बन्धमा एक पौराणिक कथा छ।

पुराणहरूमा वर्णित कथा अनुसार द्वापरयुगमा भगवान् श्रीकृष्ण जरासन्धको डरका कारण समुद्रको बीचमा नगर बनाएर बसेका थिए। भगवान् श्रीकृष्णले जुन नगर बनाएर बसेका थिए त्यसको नाम आज द्वारिका नामले प्रसिद्ध छ। त्यही स्थानमा बस्ने शत्राजीत नामक राजासँग भगवान् सूर्य प्रसन्न भएर श्यमन्तक नामक मणि दिए। त्यो मणिको विशेषता के थियो भने त्यसले प्रत्येक दिन आठ शेर सुन उत्पादन गर्दथ्यो। जसले गर्दा उनी अत्यन्त समृद्ध भए।

भगवान् श्रीकृष्णले शत्राजीतबाट त्यो मणि प्राप्त गर्ने इच्छा व्यक्त गरे। तर, शत्राजीतले त्यो मणि श्रीकृष्णलाई नदिएर आफ्ना भाइ प्रेसनलाई दिए। त्यो मणि लगाएर प्रसेन शिकार खेल्नका लागि जङ्गल गए। गतल प्रयोजनमा त्यो मणि प्रयोग गरिएको हुनाले एक सिंहले प्रसेनलाई मारेर त्यो मणि लियो। त्यसपछि त्यो सिंहलाई पनि मारेर जाम्ववान्ले त्यो मणि लिए।

उता लामो समयसम्म प्रसेन शिकारबाट नफर्किएपछि शत्राजीत चिन्तित भएर सोच्न थाले कतै श्रीकृष्णले त्यो मणि प्राप्त गर्ने अभिप्रायले आफ्ना भाइ प्रसेनको हत्या त गरेनन्? शत्राजीतले कुनै प्रमाणविना यो कुरा जताततै फैलाइदिए।

शत्राजीतले फैलाएको यो लोकनिन्दाले श्रीकृष्णलाई पीडा दियो। जसको परिणामस्वरूप श्रीकृष्ण प्रसेनलाई खोज्नका लागि एउटा वन हुँदै अर्को वनमा भौतारिए। यसरी भौतारिने क्रममा उनले सिंहले प्रसेनलाई मारेर मणि लगेको र त्यो सिंहलाई पनि मारेर जाम्ववान्ले मणि लगेको सङ्केत पाए।

त्यसैको आधारमा जाम्ववान्को गुफामा पुगे जहाँ जाम्ववान्की छोरी जाम्ववतीले त्यो मणि खेलाइरहेकी थिइन्। आफ्नी छोरीको खेलौनाको रूपमा रहेको त्यो मणि जाम्ववान्ले सहज रूपमा नदिएपछि २१ दिनसम्म श्रीकृष्णका साथ जाम्ववान्को युद्ध भयो। त्यसपछि जाम्ववान्लाई अनुभूति भयो यो त्यही अवतार त होइन मलाई श्रीरामले द्वापरयुगमा दर्शन दिने वरदान दिनुभएको थियो। यो थाहा पाएपछि जाम्ववान्ले आफ्नी छोरीको विवाह श्रीकृष्णका साथ गरिदिएर त्यो मणि दाइजोको रूपमा दिए। त्यो मणि श्रीकृष्णले राजा शत्राजीतलाई दिए।

गणेशले चन्द्रमालाई श्राप दिँदै भने– ‘हे पापी तिमीले मेरो मजाक उडायौ। आजदेखि तिम्रो मुख जसले हेर्छ त्यो कलङ्कित हुनेछ।’ गणेशजीको यो श्रापबाट चन्द्रमा अत्यन्त दुःखी भए।

मित्थ्या आरोप लगाएकोमा शत्राजीत अत्यन्त लज्जित भए। र, आफ्नी छोरी सत्यभामाको विवाह श्रीकृष्णका साथ गराइदिए । त्यसको केही समयपछि अक्रूरको आग्रहमा ऋतुवर्माले शत्राजीतलाई मारेर त्यो मणि लिए। त्यो कुरा थाहा पाएर श्रीकृष्ण आफ्ना दाजु बलारामका साथ ऋतुवर्मासँग युद्ध गर्न थाले।

युद्धमा हारिने निश्चित भएपछि ऋतुवर्माले अक्रूरलाई त्यो मणि दिएर भागे। जब बलरामले मणिका वारेमा ऋतुवर्मालाई सोधे तब ऋतुवर्माले त्यो मणि आफूसँग नभएको बताए। यसैबीच बलराम अत्यन्त खिन्न हुँदै द्वारिका नगएर इन्द्रप्रस्थतर्फ लागे। उता द्वारकामा पनि श्रीकृष्णले मणिको लोभमा भाइलाई तिरस्कार गरेको हल्ला फैलाइयो।

मणिका कारण फैलिरहेको त्यो झुटो लाञ्छनाबाट अत्यन्त दुःखी भएका श्रीकृष्णले सोच्न थाले– ‘यो के भइरहेको छ?’ यत्तिकैमा नारद आए र भने– ‘हजुरले भाद्रशुक्ल चतुर्थीको चन्द्रमा देख्नुभएको थियो। त्यही कारणले गर्दा यो मिथ्या आरोप सहनु परेको हो।’

श्रीकृष्णले चन्द्रदर्शनका सम्बन्धमा विस्तार पूर्वक सोधेपछि नारदले श्रीकृष्णलाई गणेशसँग सम्बन्धित यो कथा भन्न थाले–

एक दिनको कुरा हो। भगवान् श्रीगणेश ब्रह्मलोकबाट फर्कँदै थिए। चन्द्रमाले गणेशजीको स्थूल शरीर र गजमुख देखे। गणेशको त्यस्तो अनौठो शरीरलाई देखेर चन्द्रमालाई हाँसो उठ्यो। गणेशजीलाई चन्द्रमाको यो अपमान सह्य भएन। उनले चन्द्रमालाई श्राप दिँदै भने– ‘हे पापी तिमीले मेरो मजाक उडायौ। आजदेखि तिम्रो मुख जसले हेर्छ त्यो कलङ्कित हुनेछ।’ गणेशजीको यो श्रापबाट चन्द्रमा अत्यन्त दुःखी भए।

‘वर्षभरमा केवल एक दिन भाद्रशुक्ल चतुर्थीको राती जसले तिमीलाई देख्ने छ त्यो कलङ्कित हुनेछ, अन्य कुनै दिनमा केही हुने छैन।’

चन्द्रमाले समस्त देवताहरूलाई गणेशजीले आफूलाई दिएको श्रापका सम्बन्धमा बताए जसले गर्दा सबै देवता चिन्तित भए र विचार विमर्श गर्न थाले। चन्द्रमा रात्रीको समयमा पृथ्वीका आभूषण नै हुन्। चन्द्रमालाई नदेखि रात्रीको समयमा कुनै पनि कार्य पूरा हुन सक्दैनन्। यति विचार गरेर चन्द्रमालाई साथमा लिएर सबै देवता ब्रह्माजी भएको स्थानमा गए। 

देवताले ब्रह्माजीलाई सबै कुरा सुनाइसकेपछि ब्रह्माजीले भने– ‘चन्द्रमा! तिमीले सबै देवताहरूका आराध्यदेव शिव–पार्वतीका पुत्र गणेशको अपमान गरेका छौ। यदि तिमीले गणेशको श्रापबाट मुक्त हुन चाहन्छौ भने गणेशको व्रत गर। गणेश अत्यन्त दयालु रहेका छन्। उनले तिमीलाई माफी दिने छन्।’ 

ब्रह्माजीको कुरा सुनेपछि गणेशजीलाई प्रसन्न बनाउन चन्द्रमाले घोर तपस्या गर्न थाले। भगवान् गणेश चन्द्रमाको तपस्याबाट प्रसन्न भए र भने– ‘वर्षभरमा केवल एक दिन भाद्रशुक्ल चतुर्थीको राती जसले तिमीलाई देख्ने छ त्यो कलङ्कित हुनेछ, अन्य कुनै दिनमा केही हुने छैन।’
केवल एक दिन कलङ्क लाग्ने कुरा सुनेर चन्द्रमा सहित सबै देवता खुसी भए। 

त्यही समयदेखि भाद्रशुक्ल चतुर्थीको राती चन्द्रदर्शनलाई निषेध गरिएको छ। यदि भुलवश कसैले देख्यो भने यही कथा श्रवण गरेमा त्यसको दोष नाश हुने पौराणिक विश्वास छ।

(डा. खनाल वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक हुन्।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

आफ्नै बुवाको हत्या आरोपमा ३२ वर्षीय युवा पक्राउ

५५ वर्षीय निरकुमार राईको हत्या अभियोगमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो। मादक पदार्थ....

कांग्रेस महामन्त्रीले प्रचण्डलाई भने-‘कि सन्दीपलाई बधाई दिनुस्, कि यो प्रकरणमा पनि अदालत कुरौं, हतारको गल्ती सच्याउँ’

यस विषयमा खेलकुदमन्त्रीको समेत जिम्मेवारी लिएका प्रचण्ड र सरकार माैन रहेकाले उनले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराएका हुन्। शर्माले ट्वीटमार्फत भनेका छन्, ‘खेलकुदमन्त्री पनि प्रधानमन्त्री नै हुनुहुन्छ। ध्यानाकर्षण....

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि बेहाेस भए घनश्याम भुसाल

आफैंले चलाएको गाडी डिभाइडरमा ठोक्किएपछि उनी बेहाेस भएका थिए। हाल उनकाे बानेश्वरमा रहेको सिभिल अस्पतालमा उपचार भइरहेको छ। उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे बुझिएकाे छ।

अटोमा लुकाएर १७ किलो गाँजा ल्याउँदै गर्दा पाँच जना पक्राउ

अटो चालक इटहरी उपमहानगरपालिका- ११ का ३७  वर्षीय महमद हजरत अली, अटोमा सवार इटहरी- १३ का १९ वर्षीय आकाश पटेल र २७ वर्षीय आशिष पटेललाई पक्राउ....

९, ११ र १२ वर्षका नाबालिग बलात्कार गर्ने ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला

नाबालिग बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए।....