‘स्वतन्त्र नागरिकले सामाजिक सञ्जालबाट फलानो उम्मेदवारलाई मत दिनुस् भन्न पाइन्छ’

‘स्वतन्त्र नागरिकले सामाजिक सञ्जालबाट फलानो उम्मेदवारलाई मत दिनुस् भन्न पाइन्छ’

काठमाडाैं : निर्वाचन आयोगले निर्णय गरेको निर्वाचन आचारसंहिता २०७९ सोमबार राजपत्रमा प्रकाशित भयो।

आचारसंहितामा निर्वाचनमा बहालवाला प्रधानमन्त्री, मन्त्री र मुख्यमन्त्रीले निर्वाचन प्रचारप्रसारको लागि आफ्नो उम्मेदवारी दिएको क्षेत्रभन्दा बाहिर जान नपाइने भनिएको छ।

निर्वाचन आयोगको निर्वाचन तयारी र आचारसंहिताबारे निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलसँग उकेराले गरेको संक्षिप्त कुराकानीः

एक व्यक्ति प्रधानमन्त्री पनि हुनुहुन्छ, पार्टी सभापति पनि हुुनुहुन्छ। शेरबहादुर देउवा कुन अवस्थामा प्रधानमन्त्री कुन अवस्थामा पार्टी सभापति हुनुहुन्छ? 
बहालवाला मन्त्री हुनुहुन्छ भने उहाँहरू आफ्ना निर्वाचन क्षेत्रमा मात्रै प्रचारप्रसार गर्नेगरी आयोगले आचारसंहिता बनाएको छ।

शेरबहादुर देउवाले पार्टी सभापतिका हैसियतले अन्य निर्वाचन क्षेत्रमा प्रचारप्रसार गर्न पाउनुहुन्न?
प्रचारप्रसार कसले गर्न पाउने कसले नपाउने भन्ने विषयमा आचारसंहितामा स्पष्ट छ। प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्रीले आफैँ उम्मेदवार भएको क्षेत्रमा मात्र प्रचारप्रसार गर्न पाइनेछ। आचारसंहितामा यो भन्दा बढी व्याख्या छैन।

भनेपछि, आचारसंहिता अनुसार देउवालाई प्रधानमन्त्रीको वरीयताले पार्टी सभापतिको वरीयतालाइ थिच्यो ? 
हो।

मन्त्रीलाई कडाइ चाहिँ किन गर्नुपर्यो ? 
आचारसंहितमा निर्वाचनलाई स्वच्छ र निश्पक्ष बनाउन पदीय हैसियत प्रचारप्रसारमा गयो भने निर्वाचनमा पदीय प्रभाव पर्छ भनेर यो कुरा ल्याइएको हो।

सामाजिक सञ्जालमा यति पटक सेयर गर्ने–नगर्ने भनेर सीमामा बाँधिएको छ। यो उपयुक्त छ ? 
सोसल मिडियामा सबैलाई बन्देज होइन। राजनीतिक दल र उम्मेदवारलाई सीमा निर्धारण गरिएको हो। सबैलाई बन्देज लगाइएकाे हाेइन।अन्यको हकमा निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने उद्देश्यले सामाजिक सञ्जालमा पोस्ट गर्न नपाइने भनिएको हो।

सञ्चारमाध्यम निष्पक्ष हुनुपर्छ भन्ने विषय पनि आचारसंहितामा समेटिएको छ। सञ्चारमाध्यमले सबैलाई स्थान दिनुपर्छ। सञ्चारमाध्यम जिम्मेवार पक्ष भएकाले स्वतन्त्र र निष्पक्ष हुनुपर्छ भन्ने आयोगको मान्यता छ।

सञ्चारमाध्यम, पत्रकार वा उम्मेदवार नभइ स्वतन्त्र नागरिक हुनुहुन्छ भने फलानो उम्मेदवार राम्रो हुनुहुन्छ, मत दिनुस् भन्नलाई आपत्ति छैन। त्यो कुरा क्लियर हुनुपर्छ।

आचारसंहितालाई कसरी कडाइ गर्नुहुन्छ ? प्रधानमन्त्री र मन्त्रीहरू त पार्टीमा पनि आबद्ध छन्।
आचारसंहिताले प्रधानमन्त्री, मन्त्री चिन्छ। अरू पार्टीगत पदहरू चिन्दैन। मन्त्रीको परिभाषा छ। आचारसंहिता अनुसार मन्त्रीले आफ्नो क्षेत्रभन्दा बाहेर प्रचारप्रसार गर्न पाइँदैन।

आचारसंहिता कहिलेदेखि लागू हुन्छ ? 
निर्वाचन आयोगले निर्णय गरेको मितिदेखि लागू हुने हो। विभिन्न निर्वाचनमा विभिन्न खालका अभ्यासहरू छन्। साना निर्वाचनमा २०–२५ दिनमात्र आचारसंहिता लागेको छ। कतिपयमा २ महिनासम्म लागेको छ। ठ्याक्कै मिति भन्न सक्दिन राजपत्रमा प्रकासित भैसकेकाले छिट्टै लाग्ने अनुमान गर्न सकिन्छ।

समानुपातिक तर्फको दल दर्ता भइसकेको छ, त्यसको प्रक्रिया के कुन्छ अब ? 
हिजोमात्रै समानुपातिक तर्फको निर्वाचनमा भाग लिने दलहरूको सूची प्रकाशन गरेका छौं। आज दलहरूलाई निवेदन  फिर्ता गर्ने मौका दिइएको छ, भोलि अन्तिम सूची प्रकाशित हुन्छ। त्यसपछि १५ दिन बन्दसूचीको तयारीको समय छ।

असोज २ र ३ गते दलहरूले बन्दसूची पेश गर्ने कार्यक्रम तय भएको छ। तीन गतेपछि दाबी विरोध गर्ने, फिर्ता गर्ने, उम्मेदवारलाई फिर्ता गर्न मौका दिने, दलहरूलाई करेक्सन गर्न समय दिने, दलहरूको पेश गरेका नामावलीमा कानून बमोजिम क्लस्टर मिलाउने समय दिने लगायतका कामहरू छन्।

५७ किसिमका निर्वाचन सामग्रीहरू चाहिन्छ भन्नुभएको छ, मतपत्र छाप्ने काम कहिलेबाट सुरु हुन्छ ? 
आवश्यक पर्ने धेरै सामग्रीहरुका इ विडिङ गरिसकेका छौं। कतिपय आयोगबाट निर्णय भएर बोलपत्र स्वीकृत भइसकेका छन्। कतिपय रीतपूर्वक नभएका कारणले रि–टेण्डरमा गएका छन्। छपाइका कामहरूको प्रोसेस बाँकी छ। समानुपातिक तर्फको मतपत्र २० गतेदेखि छाप्न सुरु गछौं। पुरानो स्टकका कागजहरूबाट छपाइ सुरु गर्छौं। काम गदै–गर्दा नयाँ कागजहरू आइपुग्छन्।

१४ भदौ, २०७९, २०:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।