प्रधानमन्त्री देउवाले संसदीय निर्वाचनमा कांग्रेस सभापतिको हैसियतमा प्रचार गरे कारबाही !

प्रधानमन्त्री देउवाले संसदीय निर्वाचनमा कांग्रेस सभापतिको हैसियतमा प्रचार गरे कारबाही !
तस्बिर : हिमालखवर

काठमाडौँ : एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अगाडि सार्दै चुनावी कमान्डर तोकिसक्यो। स्थानीय तहको निर्वाचनमा जस्तै उनले आगामी संसदीय निर्वाचनमा पाँच दलीय गठबन्धनमाथि धावा बोल्दै पार्टीको पक्षमा माहाेल बनाउन म्याराथन सभामा सहभागी हुने पक्का छ।

तर, प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सभा गर्ने हो भने आफ्नै निर्वाचन क्षेत्रमा मात्र पाउनेछन्। स्थानीय तहको निर्वाचनमा जस्तो चुनावी क्षेत्र धाउँदै उनले न पार्टीको पक्षमा मत माग्न पाउने छन् न त गठबन्धनका अन्य उम्मेदवारलाई नै।

आयोगले  सरकारमा रहेकाले चुनावी प्रचारमा हिँड्न नपाउने संहिता बनाए पनि पार्टीको नेताको हैसियतले प्रचार गरेको दाबी आउने गरेको छ। स्थानीय तहको निर्वाचनमा त्यही देखियो।

देउवा कांग्रेस सभापति हुन्। तै पनि उनी प्रधानमन्त्री पदमा कायम रहेसम्म उनले पार्टी सभापतिको हैसियतमा आफ्नो निर्वाचन क्षेत्र बाहिर गएर पार्टी वा कुनै उम्मेदवारको प्रचार गर्न नपाउने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरूले सरकारी स्रोतसाधन दुरुपयोग गरेको भन्दै टिप्पणी हुँदा दलका नेताहरूले' पार्टीको सभापति र नेताका रूपमा चुनाव प्रचारमा सहभागी भएको' तर्क गरेका थिए। चितवनको सभामा सम्बोधन गर्न जाँदा त प्रधानमन्त्री देउवाले सरकारी गाडी छाडेर निजी गाडीको प्रयोग गरेका थिए।

पार्टीको पदभन्दा सरकारमा सम्हालेको पद अगाडि आउने भएकाले संहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरूले आफू उम्मेदवार बनेको क्षेत्रभन्दा बाहिर गएर मत माग्न नपाउने उनले उकेरालाई जानकारी दिए।

पार्टी सभापतिको रूपमा त देउवाले आफ्नो निर्वाचन क्षेत्र बाहिर चुनाव प्रचार गर्न पाउलान् नि भन्ने उकेराको जिज्ञासामा पौडेलले भने' राजपत्रमा प्रकाशित भइसकेको निर्वाचन आचारसंहिता अनुसार उहाँ उम्मेदवार बनेको अवस्थामा आफ्नो क्षेत्र बाहेक अन्यत्र चुनाव प्रचार प्रसार गर्न पाइँदैन।'

प्रधानमन्त्री र मन्त्री पदमा रहेकाहरू पार्टीको जुनसुकै पदमा रहे पनि उनीहरूले पार्टीको नेताको हैसियतमा पार्टीको चुनावी प्रचार गर्न नपाउने उनले बताए। 'उहाँहरूको पार्टीको पदलाई उहाँहरूको सरकारमा रहेको हैसियतले थिच्छ। प्रधानमन्त्री र मन्त्री पदमा नभएको हकमा प्रचार गर्न पाइयो। नत्र आफ्नो निर्वाचन क्षेत्र भन्दा अन्यत्र प्रचार गरे संहिता आकर्षित हुन्छ।'

आयोग प्रवक्ताका अनुसार अहिले सरकारमा रहेका मन्त्रीहरुले पनि पार्टीको पदको आधारमा आफ्नो निर्वाचन क्षेत्र बाहिर गएर प्रचार गर्न संहिताले रोकेको छ।

१४ भदौ, २०७९, १५:३५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।