तीजमा निराहार बस्नैपर्छ भन्ने छैन, पानी पनि नपिई व्रत बस्नु आत्मघात

तीजमा निराहार बस्नैपर्छ भन्ने छैन, पानी पनि नपिई व्रत बस्नु आत्मघात

भाद्र शुक्ल तृतीयाको दिनलाई हरितालिका (तीज) भनिन्छ। हस्ता नक्षत्रले युक्त तृतीयाको दिन व्रतोपवास गर्नाले मनोवाञ्छित फल प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ। 

यही विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बी हिन्दू नारीहरूले पनि यो व्रत बस्ने गरेको पाइन्छ। आजको दिन विश्वभरका शिवालयहरूमा व्रतालु नारीहरू शिवको दर्शनका लागि जाने गरेको देखिन्छ। कतिपय हिन्दू नारीहरूले घर–घरमा पनि शिवलिङ्ग स्थापना गरेर भगवान् शिवको पूजा तथा आराधना गर्ने गर्दछन्।

हरितालिका तथा तीज व्रतको ऐतिहासिकता खोतल्दै जाने हो भने पार्वतीले शिवलाई श्रीमान्‌को रूपमा प्राप्त गर्ने इच्छाले यो व्रत बसेको पौराणिक कथन छ। 

पौराणिक कथाअनुसार कुनै समयमा पार्वतीका पिता हिमालयले उनको विवाह भगवान् विष्णुसँग गरिदिने निर्णय गरे। त्यो कुरा थाहा पाएपछि पार्वती अत्यन्त चिन्तित भइन्। 

किनकि पार्वतीले मनमनै महादेवलाई आफ्नो श्रीमान् बनाइसकेकी थिइन्। पितालाई आफ्नो मनको कुरा बताउन नसकेकी पार्वतीले आफ्ना साथीहरूलाई यो कुरा बताइन्। 

उनले साथीहरूलाई भनिन्– 'म विष्णुसँग होइन शिवसँग विवाह गर्न चाहन्छु। तर पिताजीले विष्णुसँग विवाह गरिदिने निर्णय गरिसक्नुभएको छ। तसर्थ म जीवित रहन चाहन्न।'

पार्वतीका यस्ता कुरा सुनेपछि उनका सखीहरूले पार्वतीलाई नआत्तिन अनुरोध गरे। अनि पार्वतीलाई लिएर घोर जङ्गलमा गए। 

सखीहरूले पार्वतीलाई यसरी कसैलाई थाहा नदिई हरण गरेका हुनाले यो दिनको नाम हरितालिका रहन गएको हो– ‘आलिभिर्हरिता यस्मात् तस्मात् सा हरितालिका’ भन्ने पौराणिक विश्वास छ।

यसरी पार्वती घरबाट हराएपछि पार्वतीका पिता हिमालय अत्यन्त दुःखी भए। उनले छोरीको खोजीमा जताततै दूतहरू खटाए।

सत्ययुगमा आजकै दिन पार्वतीले शिवको पूजा–आराधना गरी आफूले चाहेजस्तो शिवलाई पति प्राप्त गरेका कारण त्यो समयदेखि पृथ्वीतलमा विशेष गरेर महिलाहरूले शिवपार्वतीको पूजा तथा आराधना गर्ने गर्दछन्। 

पार्वती भने आफ्ना साथीहरूका साथ गुफामा बसेर बालुवाको शिवलिङ्ग स्थापना गरी भगवान् शिवको आराधना गर्न थालिन्। 

पार्वतीको यो आराधनाबाट भगवान् शिव प्रसन्न भए। उनले पार्वतीलाई दर्शन दिए। र पार्वतीले पनि आफ्नो मनको कुरा शिवलाई बताएपछि पार्वतीलाई शिवले वरदान दिएको वर्णन पुराणहरूमा पाइन्छ। 

यसैबीच हिमालय पनि छोरी खोज्दाखोज्दै पार्वती भएको स्थानमा पुगेपछि पार्वतीले पितालाई आफ्नो मनको कुरा बताइन्। विष्णुसँग विवाह गरिदिने निर्णयका कारण आफू घरबाट भागेको र शिवसँग विवाह गरिदिने भए मात्र आफू घरमा जाने कुरा बताएपछि हिमालयले शिवसँग पार्वतीको विवाह गरिदिने कुरामा सहमत भएको प्रसङ्ग पनि पुराणहरूमा पाइन्छ।

सत्ययुगमा आजकै दिन पार्वतीले शिवको पूजा–आराधना गरी आफूले चाहेजस्तो शिवलाई पति प्राप्त गरेका कारण त्यो समयदेखि पृथ्वीतलमा विशेष गरेर महिलाहरूले शिवपार्वतीको पूजा तथा आराधना गर्ने गर्दछन्।

यो विशुद्ध पौराणिक तथा सांस्कृतिक पर्व हो। र, यसलाई त्यही रूपमा मनाउनुपर्छ।

यसरी यो दिन व्रत बसी पूजा आराधना गर्नाले मनोवाञ्छित फल प्राप्त हुने विश्वास रहेको हो। पूजा तथा आराधना गर्दा पार्वतीलाई यसरी स्तुति गर्नुपर्ने कुराको वर्णन धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ–

अन्यथा शरणं नास्ति त्वमेव शरणं मम।
तस्मात् कारुण्यभावेन क्षमस्व परमेश्वरी।।
पुत्रान् देहि धनं देहि सौभाग्यं देहि सुव्रते।
अन्याश्च सर्वकामाश्च देहि देवि नमोस्तु ते।।
शौभाग्यारोग्यकामाय सर्वसम्पत्समृद्धये।
गौरी गौरीशतुष्ट्यर्थं वायनं ते ददाम्यहम्।।

यसको अर्थ हुन्छ– हजुर बाहेक मेरो अन्य कुनै शरणदाता छैन। तसर्थ मप्रति करुणा राखेर मलाई क्षमा गर्नुहवस्। हे देवी! पुत्र, धन सौभाग्यका साथ अन्य सबै मेरा कामना पनि पूर्ण गरिदिनुहवस्। हे देवी! हजुरलाई नमस्कार छ। सौभाग्य, आरोग्यका साथ सबै सम्पत्तिको वृद्धिको कामनाका साथ गौरी र गौरीश (शिव) को सन्तुष्टिका लागि हजुरप्रतिको अटुट विश्वास छ। 

०००
हरितालिका व्रतको महत्त्वलाई स्वयम् शिवले पार्वतीलाई बताएको प्रसङ्ग पुराणहरूमा आउँछ। यही धार्मिक विश्वासका आधारमा सनातन वैदिक परम्परामा यो पर्व मनाउँदै आएको देखिन्छ। 

यो विशुद्ध पौराणिक तथा सांस्कृतिक पर्व हो। र, यसलाई त्यही रूपमा मनाउनुपर्छ।

नेपाली समाजको कुरा गर्ने हो भने तीजको विशेष महत्त्व छ। वर्ष–वर्षमा आउने तीजमा टाढा–टाढा रहेका दिदी–बहिनीलाई घरमा बोलाएर गच्छेअनुसार खुवाउने परम्परा छ। 

धार्मिक विश्वासअनुसार तीजको दिन उपवास बस्नुपर्ने भएकोले त्यसको अघिल्लो दिन विशेष गरिष्ट भोजन (ढिलो पच्ने, लामो समय भोक नलाग्ने) तयार गरेर दिदी–बहिनीहरूलाई खुवाउने गरिन्छ। 

लामो समयसम्म भेटघाट नभएका दिदी–बहिनी तथा चेलीबेटीहरूलाई उनीहरूको इच्छाअनुसार भोजन गराउनु पनि स्वाभाविक हो। 

जो तीजको दिन निराहार व्रत बस्दछन् उनीहरूका लागि त्यसको अघिल्लो दिन ‘एकभक्त’ को दिन हो। तीजको दिन दिदी–बहिनीहरू जम्मा भएर नाचगार्ने गर्ने, आफ्ना कथाव्यथाहरू एक अर्कालाई बताउने भएकाले पनि अघिल्लो दिन विशेष भोजन गर्नु स्वाभाविक हो।

अझ पानी पनि नपिई व्रत बस्दछु भन्नु सोझै आत्मघात हो। धर्मशास्त्रीय वाङ्मयमा आत्मघातलाई अत्यन्त निन्दा गरिएको छ।

भोलिपल्ट निराहार बस्ने नाममा अघिल्लो दिन शरीरले नै धान्न नसक्ने गरी खानपिन गर्नु, पटक–पटक खानु, तामसिक भोजन गर्नु धर्मको नाममा विकृति हो। 

व्रतको दिन निराहार बस्नै पर्दछ भन्ने केही छैन। उपवास भनेको नखानु भन्ने पनि होइन। ‘उप’ भनेको समीपमा र ‘वास’ भनेको बस्नु हो। यसर्थ ईश्वरको नजिकमा बस्नु नै ‘उपवास’ हो। यहाँ खाने र नखाने भन्ने कुरा आउँदैन।

जसको क्षमता छ ऊ नखाई ईश्वरको समीपमा बस्दछ। तर, जसको क्षमता छैन, रोगी छ त्यस्ता व्यक्तिले व्रतको नाममा आफ्नो शरीरलाई दुःख दिनु उपयुक्त हुँदैन। शरीरका माध्यमबाट मात्र धर्म साधना गर्न सकिने भएकाले ‘शरीरमाध्यम् खलु धर्म साधनम्’ भनिएको हो।

अझ पानी पनि नपिई व्रत बस्दछु भन्नु सोझै आत्मघात हो। धर्मशास्त्रीय वाङ्मयमा आत्मघातलाई अत्यन्त निन्दा गरिएको छ।

अझ पछिल्ला दिनमा हाम्रो समाजमा तीजको नाममा अनेक विकृति र विसङ्गति भित्रिएको देखिन्छ। तीज आउनु एक–दुई महिना अघिदेखि नै दरखाने भन्दै होटल तथा पार्टी प्यालेसहरूमा विभिन्न कार्यक्रमहरू गर्ने गरिएको छ। 

यसरी समाजमा विकृति र विसङ्गति बढ्दै गएपछि त्यसले समाजमा पार्ने प्रभाव अत्यन्त नकारात्मक हुन्छ।

हुने खानेका लागि त केही भएन, हुँदा खानेलाई भने यस्ता विकृति र विसङ्गतिले समस्यामा पारेको देखिन्छ। 

यसको मनोवैज्ञानिक प्रभावलाई हेर्ने हो भने समाजमा ठूलो खाडल बनाउने देखिन्छ। त्यसैले बेलैमा हाम्रा चाडपर्वहरूलाई मौलिक रूपमा मनाउनका लागि प्रेरित गर्नुपर्दछ। 

हाम्रा धार्मिक पर्वहरूलाई धार्मिक पर्वकै रूपमा रहन दिनका लागि सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ।

(डा. खनाल वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक हुन्।)

१४ भदौ, २०७९, ०८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।