खगेन्द्रको पहिलो उपन्यास फुर्के बुकहिलबाट आउने

खगेन्द्रको पहिलो उपन्यास फुर्के बुकहिलबाट आउने

काठमाडौँ : पहिलो पुस्तक  'खगेन्द्र लामिछानेका नाटक' फाइनप्रिन्टबाट प्रकाशित गरेका लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले दोस्रो पुस्तक 'फूलानी' कथा सङ्ग्रह भने बुकहिलबाट प्रकाशित गरे। अहिले उनको तेस्रो पुस्तक तथा पहिलो उपन्यास फुर्के पनि बुकहिलले नै प्रकाशित गर्ने भएको छ।

उनको पहिलो उपन्यास 'फुर्के'को आवरण सोमवार सार्वजनिक गरियो। खगेन्द्रले 'फेसबुक लाइभ'मार्फत पुस्तकको भिडियो टिजरसँगै पुस्तकको कभर सार्वजनिक गर्दै फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित भएको बताएका थिए।

मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई उसकै भाषामा उपन्यास 'फुर्के'मा प्रस्तुत गर्ने कोसिस गरेको उनले बताएका थिए।

संसारमा पढिने मान्छेबाहेकका आख्यानमा कुकुरको कथा रहेको तथा कुकुरको विषयमा बनाइएका सिनेमाहरू सर्वाधिक रुचाइएको र लामिछानेको पहिलो उपन्यासलाई पाठकले मन पराउने प्रकाशक संस्था बुकहिलले जारी गरेको प्रेस वक्तव्यमा उल्लेख छ।

हार्डव्याक संस्करणमा मात्रै प्रकाशन हुने उपन्यासले कुकुरको सचित्र कथा भन्नेछ। उपन्यासको आवरण स्केच समीत श्रेष्ठ, आवरण डिजाइन सचिन यगोल श्रेष्ठ र लेआउट उमेश काफ्लेले गरेका हुन्।

१३ भदौ, २०७९, १९:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।