सीमा आभासको नजरमा तीज : 'पितृ सत्ताले दिएको सीमारेखा नाघेकाले एलिजा गौतमको विरोध भयो , यस्ता सीमा अझ धेरै उलङ्घन गर्नुपर्छ'

सीमा आभासको नजरमा तीज  : 'पितृ सत्ताले दिएको सीमारेखा नाघेकाले एलिजा गौतमको विरोध भयो , यस्ता सीमा अझ धेरै उलङ्घन गर्नुपर्छ'

काठमाडौं : हिन्दु महिलाहरूको पर्व भनिन्छ तीजलाई। विवाहिताले श्रीमानको आयु बढाउन अनि अविवाहितले राम्रो जीवनसाथी पाउन व्रत बस्ने धार्मिक संस्कार छ। शिवजीलाई  लोग्नेको रूपमा प्राप्त गर्न पार्वतीले पानी पनि नपिई व्रत बसेको र यही व्रत सफल भएर पार्वतीले शिवजीलाई श्रीमान् पाएको भन्ने धार्मिक मान्यता पनि रहेको छ।

यही धार्मिक मान्यतामा अडिएर हिन्दु महिलाहरूले तीजको व्रत बस्दै आएका छन्।

विवाहित छन् भने,  भोलिपल्ट पूजा सकेपछि मात्र अन्य खानेकुरा खान्छन्। पहिला श्रीमानको गोडा धोएर पानी खाने चलन थियो। तर, विस्तारै यो चलन भने हट्दै गएको छ। तर, सबै हिन्दु धर्मावलम्बी महिला व्रत बस्छन् भन्ने छैन। केही व्रत बस्दैनन् पनि।

तीजमा व्रत नबस्नेकै सूचीमा पर्छिन् साहित्यकार तथा प्रदेश १ कि लोकसेवा आयुक्त सजना दाहाल उर्फ सीमा आभास। 

उनले बाल्यकालदेखि नै तीजमा व्रत बसेको देखेकी छिन्। तर, उनी भने कहिल्यै व्रत बसिनन्। बसौं भन्ने पनि लागेन रे। विवाहपछि पनि उनी व्रत बसिनन् तर किन व्रत बस्ने रहेछन् भनेर उत्सुकताले किताब भने पढिन्।
त्यो किताबमा लेखिएको थियो, ‘तीजको दिन खाना खाए लोग्नेको मासु खाए बराबर हुन्छ, पानी खाए लोग्नेको रगत खाए बराबर।’

कहिल्यै व्रत नबसेकी उनी यो पढ्ने बित्तिकै खङ्ग्रङ्गै भइन्। उनलाई धार्मिक कथाले यति धेरै इमोशनल अत्याचार गरेको हुन्छ भन्ने सोचेकै थिइनन्।

‘मैले तीजको कथामा यस्तो होला भन्ने सोचेको थिइन। त्यो साल तीजमा मलाई खाना खान मन पनि लागेन। बेलुकी श्रीमानलाई यसबारे भने पनि,’ उनले भनिन्, ‘यस्ता कुरीतिहरू कथा मार्फत भनेर इमोशनल अत्याचार गरिएको हुने रहेछ।'

शैलजाको त्यो भव्य व्यत्तित्व
ओखलढुंगाको लामीडाँडा अहिलेको मलुङ गाउँपालिका वडा नम्बर दुईमा बुबा एकराज दाहाल र आमा सोधा दाहालकी जेठी छोरी हुन् सीमा आभास।

उनका बुबा माध्यमिक विद्यालयका विज्ञानका शिक्षक। आमा घरगृहस्थीमा। नजिकैको विद्यालयमा पढिन् उनले कक्षा १० सम्म। 

उनको घरमा खेल्न, पढ्न, बोल्न, राजनीतिक कार्यक्रमहरूमा जान कुनै रोकतोक थिएन। तीन दिदीबहिनी र एक भाई, हजुरबुबा र हजुरआमा। परिवार ठूलै थियो। 

उनकी हजुरआमा भने विवाह विरोधी। उनी सीमालाई सधैँ भन्ने गर्थिन्, ‘बिहेसिहे नगर्नु। विहे गरेपछि अर्काको भइन्छ। आफ्नो स्वतन्त्रतमा हिड्न दिँदैनन् लोग्नेमान्छेले। धेरै पढ्नु। मन्त्री हुनु।’

बुझ्ने उमेरको भएदेखि नै यही सुन्दै आइन् आभासले हजुरआमाको मुखबाट। उनको घर कांग्रेस नेताहरूको जमघटका लागि परिचित। उनका बुबा शिक्षक भए पनि कांग्रेसलाई सल्लाह दिने हैसियतका थिए।  

होटल-लज नहुने त्यो जमानामा काठमाडौंदेखि जो नेता ओखलढुंगा आउँदा पनि उनकै घरमा बास हुन्थ्यो। सीमा त्यस्तै १२-१३ वर्ष कि थिइन्। उनका बुबाले घरमा भने, ‘गिरिजा बाबु र शैलजा दिदी आउँदै हुनुहुन्छ माला उन्नु।’  
उनीहरूले माला उनेर ठिक्क पारे। हेलिकोप्टरमा आए दुईजना। सीमाले पहिलो पटक सवारी देखेकै हेलिकोप्टर। त्यो बेला ओखलढुंगामा गाडि पुगेको थिएन। 

हेलिकोप्टरबाट ओर्लेपछि काडमाडौंबाट गएका नेताहरू घोडा चढेर गाउँ डुल्थे। गिरिजा प्रसाद कोइराला र शैलजा आचार्य पनि आए। उनीहरूलाई सीमाले माला लगाइदिइन्। 

के-के कुरा भयो सीमालाई याद छैन तर गिरिजा प्रसाद कोइरालाको हात र शैलजाको व्यत्तित्व देखेर भने चकितै भइछिन्। 

‘१२-१३ वर्षको हुँदो हुँ। के-के कुरा भयो केही सम्झना छैन। तर, गिरिजाप्रसाद कोइरालाको टल्किएको गोरो हात र हेर्दै बुद्धिमानी लाग्ने शैलजाको व्यत्तित्व देखेर जिल्ल परेको थिएँ’, सीमाले विगत सम्झँदै भनिन्। 

राजालाई कालो कपडा देखाउँदा
घरमा कांग्रेसको जमघट हुने भएपछि सीमामा राजनीति गर्ने हुटहुटी जाग्यो। कक्षा ६ मा पढ्दा नै उनी गणेश निमाविकी कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष भइन्।  

गाउँमै सक्रिय राजनीति गरेकी उनले २०५६ मा एसएलसी दिएपछि महेन्द्र मोरङ क्याम्पसमा आइए भर्ना भइन्। उनी त्यहाँ आफन्तकोमा बसिन्। 

क्याम्पस जानु र फर्कनुमा मात्रै सीमित हुनु थिएन सीमालाई। कक्षा नै छाडेर फुल टाइम विद्यार्थी राजनीति पनि गर्नु थिएन।

कक्षा पनि नछाड्ने क्याम्पसको राजनीति पनि गर्ने र साहित्यमा पनि उत्तिकै सक्रिय रहिन् उनी। सीमाकी आमा पनि छन्दमा कविता लेख्ने र नाटक समेत लेख्ने गर्थिन्। 

महेन्द्र मोरङ क्याम्पसमा आइए पढ्दा उनी इकाइ सदस्य भइन्। स्नातक पढ्दा इकाइ सहसचिवसम्म भइन्। स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा पनि उनले हार्नुपरेन।

स्ववियु सदस्य हुँदै स्ववियु कोषध्यक्ष समेत भइन् सीमा। क्याम्पसको राजनीति यसैनै हो-हल्ला हुलदंगा त हुन्थ्यो नै। आफू भने कक्षामा बसेर पढ्ने गरेको तर कार्यक्रम परेको बेला भने भाषण गर्ने गरेको उनी बताउँछिन्।

‘मैले भाषण गर्दा 'वान्स मोर' भन्ने हुटिङ आउँथ्यो। साथीहरूले कक्षामा बसेर भोट आउँदैन कक्षा डुल्नुपर्छ भन्थे। मैले कक्षा छाडिन,’ उनले भनिन्, ‘र नि मैले चुनाव जितिरहेँ।’

सीमाको यस्तो चर्को स्वभाव थियो की कांग्रेसकै जिल्लास्तरका नेताले उनलाई प्रहरीबाट पक्राउ गर्न लगाउँथे। उनका अनुसार राजाको शासनकालमा विरोध गरेको कुरा लगाइदिएर प्रहरीबाट पक्राउ गराउँथे। 

कवि समेत रहेकी सीमा पत्रिकामा निरन्तर कविता मात्रै लेख्ने होइन वाचन पनि गर्थिन्। साहित्यका जमघटमा एक पटक विराटनगरमा कविता वाचन गर्दा झन्डै कुटाइ नै खाएकी थिइन्। 

‘हरेक साँझ रक्सी पिई वेश्यालय धाउँछौ तिमी’ शीर्षकको गजल वाचन गर्दा २०५९-६० सालमा विराटनगरमा भौतिक आक्रमणको प्रयास भयो। उनका अनुसार केटाहरूले उनलाई घेरा हालेका थिए। त्यो घेराबाट उम्काउने काम साहित्यकार परशु प्रधानले गरेका थिए।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शासन हातमा लिएपछि ०६२ मा स्थानीय निकायको निर्वाचन गर्ने भए। प्रमुख राजनीतिक दलहरूले बहिष्कार गरेको निर्वाचनमा २२ दल सहभागी थिए। 

स्थानीय चुनावकै लागि राजा ज्ञानेन्द्र मोरङ आउँदै थिए। नेविसंघले राजालाई कालो झण्डा देखाउने कार्यक्रम राख्यो।  अघिल्लो पंक्तिमा उभिइन् सीमा। जब राजा आए भन्ने भयो उनीहरूले हत्त न पत्त कालो कपडा खोजे। फुटपाथमा बेच्न राखको कालो कट्टु देखिन् सीमाले। 

उनले राजा आएको भनिएको बाटो तिर त्यो कट्टु देखाइन्। केही बेरमा उनीहरूलाई प्रहरीले गिरफ्तार गर्योु। राजाले गराएको चुनाव सफल भएको भए आफूहरूलाई मार्ने नै रहेछन् भन्ने लाग्ने रहेछ सीमालाई। 

‘हामीलाई हिरासतमा थुनेर प्रहरीहरू भोली कस्लाई पक्राउ गर्ने, के-के गर्ने भनेर योजना बनाउने रहेछन् हामीले सुन्थ्यौं पनि। मलाई अहिले पनि लाग्छ यदि राजाले गराएको चुनाव सफल भएको भए हामीलाई मार्थे’, उनले भनिन्। 

सीमा लगायतका ४ जनालाई सार्वजनिक अपराधको मुद्दा लागेको थियो। राजनीतिले अर्कै डिस्कोर्ष लियो। यो मुद्दा लाग्ने कुनै कारण थिएन नै। 

२०६२-०६३ को आन्दोलनमा महेन्द्र मोरङ क्याम्पसले गर्ने हरेक आन्दोलनमा सक्रिय सहभागिता मात्रै होइन मास तताउने भाषण गर्थिन् सीमाले। 

२०६५ मा नेविसंघको महाअधिवेशनमा केन्द्रीय सदस्य हारेपछि उनले राजनीतिक यात्रामा ब्रेक लगाइन्। साहित्यमा निरन्तर सीमाका तीन पुस्तक प्रकाशित भए। 
‘म स्त्री तथा आइमाई’ त खेमकला लामिछाने पुरस्कार पायो पनि। 

नोनाको न्यानो माया 
सीमाका अनुसार उनीमा चाकडी गर्ने स्वभाव थिएन। ‘दादा’ लगाएर नबोल्ने हुनाले कांग्रेसकै नेताले प्रहरीलाई पक्राउसम्म गर्न लगाएको उनी दाबी गर्छिन्। 

‘म कहिल्यै कम्युनिस्ट भइँन। तर जिल्लास्तरका नेताले मलाई पक्राउ गर्न लगाउँथेँ,’ उनले भनिन्, ‘दादा भनेर ज्यू–ज्यू मैले कहिल्यै गरिन। त्यसकारण पनि म सँग केटाहरू अलि हच्किन्थें।’

२०५८ सालमा एक कार्यक्रम भयो। प्रमुख अतिथि थिइन् नोना कोइराला । छात्राको तर्फबाट बोलिन् सीमाले। उनले भाषणमा भनिन्, ‘नोना आमा चाकडीबाट बच्नुहोला। हामीलाई व्यक्तिगत सर-सरहयोग गर्नको लागि मात्रै गर्ने होइन राजनीति। प्रणालीको लागि गरेको हो। व्यक्तिगत फाइदाको लागि नोना आमा भन्दै चाकडी गर्नेसँग जोगिनुहोला।’

सीमाले यति मात्रै के भनेकी थिइन् उनी भन्दा पहिले बोल्नेले नोना आमाको महिमा गाएका थिए। उनी मञ्चबाट झरेपछि धेरैले 'के भनेकी यस्तो' भनेर हप्काए। 

सानो मान्छेले चर्को भाषण गरेपछि नोनाले सीमाबारे सोधखोज गरिन्। सीमालाई कोइराला निवास उनीसँगै गाडीमा जान आग्रह गरिन्। सीमाले भनिदिइन् ‘म सँग साइकल छ म आउँछु।’

उनका साथीहरूले भनेका थिए, ‘त्यस्तो चर्को भाषण गरिस्। नोना आमाले बोलाउनु पनि भयो। अब के हुन्छ।’ जसै उनी कोइराला निवास पुगिन् नोनाको न्यानो माया पाइन्।

नोनाले त उल्टो यति राम्रो भाषण गर्न कसरी सिकेको भनेर समेत सोधिन्। त्यसपछिका दिनमा पनि कार्यक्रममा भेट्दा उस्तै माया गरिरहिन् नोनाले सीमालाई।

२०६३ सालमा काठमाडौं पढ्न आउने बेला समेत नोनाले होस्टलमा म कुरा गरिदिउँला भनेकी थिइन्। सीमा घर पुगेर काठमाडौं आउने योजना बनाएर ओखलढुंगा हानिइन्। केही दिनमा नोनाको निधन भयो।

विवाहपछिको पहिलो तीजमा श्रीमानको व्रत
हजुरआमाले सानैदेखि विवाह नगर्न सुझाए पनि सीमालाई भने विवाह गर्नुपर्छ भन्ने लागिरह्यो। तर, उनलाई तीज अनी व्रतमा भने कुनै मोह थिएन। तीजको सांस्कृतिक पक्ष भने उनलाई मनपर्छ अहिले पनि। तर, यसको धार्मिक पक्षमा उनलाई बाल्यकालदेखि नै रुची भएन। 

युवाकालमा राजनीतिमा लागेपछि उनलाई आफूले जे गरिरहेको हो त्यो ठिक गरेको भन्ने लाग्यो। उनको परिभाषामा तीज महिलाको स्वतन्त्रता दिवस समान हो। तर, पितृ सतात्मक सोच भएकाहरूले यसलाई पनि आफ्नै हितमा बदलेको उनको तर्क छ।

‘मैले विवाह नभएको एक दुई जना महिला नेतृहरू देखेको थिएँ। एक समय आएपछि सबैको परिवार हुन्छ आफ्नो हुन्न। एकोहोरो भइन्छ। विवाह नगरे पनि बच्चा पाउनुपर्छ भन्ने मेरो विचार रह्यो। अनि म बिहे गर्ने टुङ्गोमा पुगेँ’ उनले भनिन्।

७ वर्षको प्रेमलाई २०६६ साल मङ्सिरमा विवाहमा परिणत गरिन् उनले। टेकेन्द्र अधिकारी सीमाले प्रेम प्रस्ताव राख्दा पुर्वाञ्चल विश्वविद्यालयका सुब्बाको जागिरे र त्यहीँको पत्रिकामा काम गर्थे।
कम बोल्ने स्वभावका टेकेन्द्रलाई सीमाले उधुमै मन पराइन्। सीमाले सिधै भनिन् ‘तपाईँको विवाह भयो?’

टेकेन्द्रले भने, ‘छैन।’

सीमाले फेरि सोधिन्, ‘लभ परेको छ।’

टेकेन्द्रले  नलुकाई जवाफ दिए, ‘ छैन।’

सीमाले ठाडै प्रस्ताव राखिछन्, ‘म सँग विवाह गर्छौ त?’

त्यसपछि भने टेकेन्द्रले कुनै जवाफ दिएनन्। ३ वर्षसम्म चोकतिर भेट्दा 'हाइ हेल्लो, नमस्कार' मा सीमित रह्यो सीमाको प्रेम सम्बन्ध।

‘टेकेन्द्रलाई त्यति बेला के ताल कि केटी हो भन्ने लागेछ। मलाई भने उनले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्छन् भनेर प्रस्ताव राखेकी थिएँ’ उनी सम्झन्छिन्।

पशुपतिमा विवाह गर्दा उनकी हजुरआमाले भनिरहिन् ‘बिहे नगर भनेको टेरिन।’

सानै देखि विद्रोही स्वभावकी सीमाले विवाहमा कन्यादान र गोडा धुने काम भने गर्न दिइनन्। सामान्य प्रक्रिया पूरा गरेर विवाह भयो।

विवाह दुई व्यक्तिको मिलन मात्रै होइन। विवाह संस्कृति पनि हो। विवाह धार्मिक हो। विवाह सामाजिक पनि हो। हाम्रा संस्कार, संस्कृति, चालचलन, रीतिरिवाज र चाडपर्वले विवाहितले के गर्ने, के नगर्ने भनेर बोलेको छ।
समाज यही। संस्कृति उही। सीमाले विवाह गरेपछि चुरा पोते नलगाउँदा कुरा काट्ने उत्तिकै भए। गर्भावस्थामा समेत केही मेकअप नगरेकै कारण ‘कसको पेट हो?’ भन्न समेत भन्न छाडेनन्।

टेकेन्द्रले सीमालाई यति विश्वास गर्छन् कि कसैले सीमाको कुरा लगाए पनि ‘मैले उसलाई चिन्छु की तपाईंले चिन्नुहुन्छ ?’ भनेर जवाफ फर्काइदिन्छन्।

पहिलो तीज। उनी व्रत बस्ने स्वभावकी थिइनन्। घरमा बहिनी तीजको व्रत बस्थिन्। तर, उनी कहिल्यै बसिनन्। पहिलो तीजमा उनकै श्रीमान् पो व्रत बसे।

‘म त व्रत बसेको थिइन। सुत्केरी पनि भएकाले खाना खाइसकेको थिएँ। श्रीमानले म बस्छु भन्नुभयो। उहाँ बस्नु पनि भयो। म बसिन्।’

त्यसपछिका कुनै वर्ष पनि उनी तीजको व्रत बसेकी छैनन्।

‘व्रत बस्नुपर्छ भनेर कहिल्यै लागेन। किन तीजको व्रत बस्ने रहेछन् भनेर किताब पढ्दा खाना खाँदा लोग्नेको मासु, पानी खाँदा लोग्नेको रगत खाए समान हुने पढेपछि त खग्रङगै भएकी थिएँ। त्यो साल हामी दुवैजनाले दही र फलफूल खाएका थियौं। अर्को वर्ष देखि भने व्रत बसिन।’

पितृ सत्ताले गाँजेको संस्कृति
सीमाका विचारमा तीज भनेको संस्कृति पर्व हो। तर, अहिले धार्मिक बनाइयो। तीजमा गाउने गीतहरू महिलाले पाएको दु:ख दर्दलाई पोख्ने पर्व हो। अर्को अर्थमा मनको बहसँगै घर परिवारको व्यवहार अनि श्रीमानको व्यवहारप्रति भँडास पोख्ने दिन पनि हो।

तर, पानी नखानु भनेर पितृ सत्ताले कुरीति थोपरेको उनको भनाइ छ। महिलाले स्वतन्त्रता दिवसको रूपमा मनाउनुपर्ने पर्व विभेदको पर्व बनेकोमा उनलाई कत्ति पनि चित्त बुझेको छैन।

‘पितृ सत्ता महिला र पुरुष दुवैमा हुन्छ। पुरुषमा मात्रै हुने होइन।  पितृ सत्ताले आफूलाई अधिकार ‘दिने’ दाता सम्झन्छन्। कुन पर्व कसरी मनाउने, कस्तो लगाउनेदेखि सबै रेखाहरू बनाउँछ। तीजलाई अहिले यस्तै बनाइयो', उनले भनिन्।

सीमाले अहिले भाइरल भइरहेको अभिनेत्री एलिजा गौतमको भाइरल डान्सबारे पनि कुरा निकालिन्।

'पितृ सत्ताले कति नाच भनेको थियो त्यसको सीमा रेखा नाघेका कारण उनको विरोध भएको हो’ उनले भनिन्।

तीज भड्किलो बन्दै गएको भनेर महिलाहरूको बदनाम गरिएको सीमाको भनाइ छ।

उनी भन्छिन्, ‘पुरुषहरूले दिनै पिच्छे हप्तै पिच्छे जाँड खाएर पैसा उडाएकै छन्। महिलाले लगाउने गरगहना देखिन्छ। पुरुषले जसरी नै अव्यवहारिक भएर महिलाले जाँड खाइदिउन् त? आफूले मनलाग्दी पैसा खर्च गर्ने अनि महिलाले लाएको, खाको विषयमा टिप्पणी गर्न नैतिक अधिकार पुरुषमा छ र?’

पितृ सत्ताले निर्देश गरे भन्दा बढी स्वतन्त्र ढङ्गले काम गरेपछि चित्त नबुझेको र आलोचना बढेको सीमाको तर्क छ। तर, उनी यो उलङ्घनको सीमा अझ बढाउनुपर्ने पक्षमा छिन्।

१३ भदौ, २०७९, १७:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।