नेविसंघले कामै गर्न नदिएको त्रिवि उपकुलपतिको बास्कोटाको दाबी, तालाबन्दी गरेको गर्‍यै

नेविसंघले कामै गर्न नदिएको त्रिवि उपकुलपतिको बास्कोटाको दाबी, तालाबन्दी गरेको गर्‍यै

काठमाडौँ :  त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटा सत्ताधारी दलको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घप्रति आक्रामक बनेका छन्। शुक्रवार सङ्घका कार्यकर्ताले कार्यकारी परिषद् बैठकको फाइल लगायत कागजात नियन्त्रण लिएपछि आइतबार विश्वविद्यालयका पदाधिकारीसहित उनले पत्रकार सम्मेलन गरेर शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन गृह मन्त्रालयसँग आग्रह गरे।

पछिल्लो समय सङ्घ बास्कोटाविरुद्ध पटक-पटक आन्दोलनमा उत्रिँदै आएको छ। सरकारले जति प्रयास गरे पनि बास्कोटालाई हटाउन नसकेपछि सरकारको नेतृत्व गरिरहेको दलकै नेतृत्वको निर्देशनमा विद्यार्थी सङ्घ आन्दोलनमा उत्रिएको त्रिवि पदाधिकारीहरूले शङ्का गरिरहेका छन्।

एक महिनादेखि रजिस्ट्रार, व्यवस्थापन र मानविकी डिन कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा शुक्रवार जमलमा रहेको यल्लो प्यागोडा होटेलमा कार्यकारी परिषद्को बैठक बस्दा नेविसंघका कार्यकर्ता योगेन्द्र रावल, श्यामराज ओझा लगायतका विद्यार्थीले कागजात नियन्त्रणमा लिएको दाबी गरियो।

कार्यक्रममा उपकुलपति बास्कोटाले नेविसंघलाई जत्था भनेका थिए। उनले नेविसंघको नाममा एक जत्थाले विश्वविद्यालयमा तालाबन्दी गर्ने, धम्की दिने, प्राध्यापकमाथि कुटपिट गर्ने, तोडफोड गरेर आतङ्क सिर्जना गर्ने काम गरेको भन्दै सुरक्षाको माग गरेका थिए।

उनले आन्दोलन छ भनेर विश्वविद्यालयमा नआउनु भन्दै एसएमएस आउने गरेको भन्दै यसले विश्वविद्यालयको सबै कामै प्रभावित बनेको बताए। उनले विश्वविद्यालयमा सुरक्षा नभएकाले कार्यकारी परिषद्को बैठक पनि होटेलमा बस्नुपर्ने अवस्था आएको दाबी गरेका थिए।

आइतबार उपकुलपतिले पत्रकार सम्मेलन गर्दै गर्दा कीर्तिपुर परिसरमा नेविसंघ, अनेरास्ववियू र प्रहरीबिच झडप भइरहेको थियो। पत्रकार सम्मेलनका लागि पदाधिकारी विश्वविद्यालय पुग्दा नेविसंघले विरोध प्रदर्शन गरेको थियो भने अनेरास्ववियूले समर्थनमा प्रदर्शन गरेको थियो।

पत्रकार सम्मेलनमा सहभागी प्राध्यापक कर्मचारीहरूले समेत सङ्घका कारण विश्वविद्यालयको अवस्था बिग्रिएको बताएका थिए। कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका डिन भार्गभ धितालले सङ्घले तालाबन्दी गर्ने गरेको र त्यसबारे बोल्दा ज्यानै जोखिममा पर्ने गरेको दाबी गरेका थिए।

सङ्घले तालाबन्दी गर्दा प्रश्न पत्र हुबहु छाप्ने दोषीलाई कारबाही हुनुपर्ने माग अगाडि सारेको छ। विश्वविद्यालयले भने प्रश्न पत्र हुबहु गर्नेलाई ३ वर्षसम्म परीक्षा र पठनपाठनमा सहभागी हुन नपाउने गरी कारबाही भइसकेको दाबी गर्छ। तर कारबाहीमा को-को परे भन्ने सार्वजनिक गरेको छैन।

१२ भदौ, २०७९, १५:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।