साझा प्रकाशनमा बेथिति : लेखकलाई रोयल्टी दिइँदैन, उल्टो म्यासेज पठाइ-पठाइ पैसा मागिन्छ

साझा प्रकाशनमा बेथिति : लेखकलाई रोयल्टी दिइँदैन, उल्टो म्यासेज पठाइ-पठाइ पैसा मागिन्छ

काठमाडौं : साझा प्रकाशनले पुस्तक छापेबापत लेखकलाई रोयल्टी दिनुको सट्टा उल्टो पैसा मागेको खुलासा भएको छ। साझाले लेखक तथा सह प्राध्यापक मुकुन्द शर्मासँग पुस्तक छाप्नुअगाडिनै पैसा मागेका हुन्। कर्मचारीले लेखकलाई एसएमएस गरेर पैसा मागेका हुन्।

शर्माको ‘तुलानात्मक अध्ययनका आधारहरू : सिद्धान्त र प्रयोग’ भन्ने पुस्तक छाप्दा १ लाख १७ हजार खर्च लाग्ने साझाले मौखिक रूपमा लेखकलाई जानकारी दिएको थियो। खर्चको आधा रकम शर्माले बेहोर्नुपर्ने बताएपनि साझा प्रकाशनका कमर्चारीले म्यासेज गरेर ९७ हजार ९ सय ९० रूपैयाँ मागेका हुन्।

‘१ लाख १७ हजारको आधा रकम ५८ हजार ५ सय हुन्छ,’ शर्माले भने, ‘मलाई भने म्यासेज नै गरेर ९८ हजार मागियो। जहाँ मिटिङ भत्ताको खर्चसमेत जोडिएको थियो।’

तर, साझा प्रकाशन भने यसलाई आंशिक मात्र स्वीकार्छ। प्रकाशनका महाप्रबन्धक प्रल्हाद पोखरेलले पैसा मागिएको स्वीकारे पनि ९८ हजार रूपैयाँ नमागिएको दाबी गरे। 

‘साझा प्रकाशनले किताबै छाप्ने स्थीतिनरहेपछि हामीले लेखकहरूसँग दुई विकल्पमा छलफल गरेका छौँ। पहिलो ५ सय किताब किनिदिने,३० प्रतिशत छुटमा। दोस्रो लेखकको ५ सय किताब हामीले नै बेच्ने भए बेचेपछि रोयल्टी दिने भनेका छौँ,’उनले भने, ‘कागजै किन्ने पैसा साझासँग नभएपछि लेखकसँग नेगोसिएसनका आधारमा पैसा मागिएको हो। उहाँले भने जस्तो ९८ हजार रूपैयाँ मागिएको होइन।’

बैठक बसेको खर्च पनि मागियो 
पद्य कन्या क्याम्पसको नेपाल विभाग प्रमुख समेत रहेका शर्माले हालसालै नेपाल प्रज्ञा प्रतिष्ठानबाट पुस्तक निकालेका छन्। २ सय ८८ पेजको पुस्तकको मूल्य ३ सय १५ तोकिएको थियो। हजार कपिको ८० हजार खर्च लागेको थियो। 

साझा प्रकाशनले २ सय १६ पेजको पुस्तकलाई ४ सय १० मूल्य कायम गरेको शर्माको भनाइ छ। यस्तो छ शर्मालाई साझा प्रकाशनका कर्मचारीबाट आएको म्यासेज-

‘सर प्रति पुस्तकको मूल्य रू ४१०, जसमा ५ सय प्रतिको २ लाख ५ हजार। सबै कट्टा गरी सरबाट आउनुपर्ने ९७ हजार९ सय ९० रुपैयाँ ...खातामा जम्मा गरिदिनुहोला।’

जुलाई २९ मा यो म्यासेज आएपछि शर्मा साझा प्रकाशन पुगे। साझामा उनले प्रश्न गरे,‘प्रज्ञाप्रतिष्ठानले ८० हजारमा पुस्तक छाप्यो १ हजार प्रति नै। किताबको पृष्ठ पनि उताको भन्दै थोरै छ। मूल्य धेरै राखिएको छ फेरि मैले तिर्नुपर्ने यत्रो पैसा किन?’

साझाका कर्मचारीले आफ्नो पुस्तकका लागि बैठक खर्च, प्रुफ रिडिङ्ग, मूल्याङ्कन खर्च र टाइप खर्चसमेत जोडेको बताएका छन्। जबकी शर्माले आफैँले टाइप गरेर पुस्तक दिएका थिए।

‘पहिलो म आफैँले टाइप गरेर पुस्तक दिएको थिएँ। दोस्रो त्यहाँ कर्मचारीको काम नै त्यही हो। यही काम गरेबापत तलब खान्छन्। यो पैसा जोड्न मिल्छ?’ उनको प्रश्न छ। 

साझा प्रकाशनका महाप्रबन्धक पोखरेलले भने लेखकले हिसाब नबुझेको र कर्मचारीले गर्ने कामको खर्च शर्मासँग नमागिएको दाबी गरे। 

पोखरेलको हिसाब
‘हामीले १ हजार कपि छाप्ने निर्णय गर्यौं शर्माजीको किताब।४ सय १० ले हजार पुस्तकको ४ लाख १० हजार भयो। उहाँले आधा पुस्तकको खर्च बेर्होने भनेपछि २ लाख ५ हजार हुन्छ। साझाले पुस्तक दिँदा ३० प्रतिशत छुटमा बेच्छ। छुटपछिको मूल्य १ लाख ४३ हजार हुन्छ। २० प्रतिशतका दरले सबै पुस्तकको रोयल्टी खर्चजोड्दा ८२ हजार हुन्छ', पोखरेलले भने।

'साझाको नियम अनुसार रोयल्टी रकम ८२ हजार रूपैयाँको २० प्रतिशत अर्थात् १६ हजार ४ सय रूपैयाँ पुन:शेयरमा जान्छ। लेखकले पाउने ६५ हजार ६ सय रोयल्टीको रकम हुन्छ।जसमा टिडिएस १ दशमलव ५ प्रतिशतकट्टा गर्दा ६४ हजार ६ सय १६ रुपैयाँ हुन्छ। यो सबै कट्टा गर्दा लेखकले ७८ हजार ८ सय ८४ बुझाउनु भनेको हो। ९८ हजार होइन।’ उनको दाबी छ।

लेखकको आरोप निराधार!
साझा प्रकाशनका महाप्रबन्धक पोखरेलले बढि पैसा मागेको भनेरलेखकले निराधार आरोप लगाएको दाबी गरे। 

‘उहाँले करार पत्र नगरेको, लेखकलाई शोषण गरेको जुन आरोप लगाउनुभएको छ, यो निराधार हो,’उनले दाबी गरे, ‘म यसको खण्डन गर्छु। साझा उठाउनलाई सबैलाई एकै सर्त बनाएका छौँ। उहाँले पुस्तक छाप्न पनि सक्नुहुन्छ। नछाप्न पनि। कुरा बुझेर मात्रै बोले हुने।’

उता लेखक शर्मा भने खर्चको आधा रकम तिर्न तयार भएको नत्र दुई वर्षसम्म साझाले झुलाएका कारण क्षतिपूर्ति दिनुपर्ने बताउँछन्।

‘यो कोर्षको किताब हो। साझाले मलाई दुई वर्षसम्म झुलायो,’उनले भने, ‘समयको ख्याल गरिएन पुस्तक छापिएन। क्षतिपूर्ति दिनुपर्छ।’

साझा सिरिज

१२ भदौ, २०७९, १४:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।