कुलचन्द्र गौतमको आत्मकथा ल्याउँदै नेपालय

कुलचन्द्र गौतमको आत्मकथा ल्याउँदै नेपालय

काठमाडौँ : राष्ट्रसङ्घीय मुख्यालयमा उपल्लो ओहदासम्म काम गरेका कुलचन्द्र गौतमको आत्मकथा ‘कुलचन्द्र गौतम : आत्मकथा’ प्रकाशित हुने भएको छ। सत्तरीको दशकदेखि एक्काइसौँ शताब्दीको प्रारम्भसम्मै विश्व इतिहासलाई प्रभावित पारेका थुप्रै मुलुकमा राष्ट्रसङ्घीय निकायका प्रतिनिधि बनेर काम गरेका उनको आत्मकथा नेपालयले प्रकाशित गर्ने भएको हो।

पुस्तकमा गौतमको दुर्लभ अनुभवहरू समेटिएको प्रकाशन गृहले दाबी गरेको छ। एसएलसी लगत्तै अमेरिकी विश्वविद्यालयको छात्रवृत्ति पाएका गौतमलाई पढ्न जान तत्कालीन सरकारले पासपोर्ट समेत दिन मानेको थिएन। यो मामला उतिबेला शिक्षा मन्त्रालयको एउटा टेबलबाट माथि उठेर मन्त्रीपरिषद् हुँदै स्वयं तत्कालीन राजा महेन्द्रसम्म पुगेको रोचक विवरण पुस्तकमा छ।

गौतमले मुलुक भित्रैबाट थालेको सङ्घर्षबाट सुरूभएको यात्रा कालान्तरमा अमेरिकी विश्वविद्यालयहरू हुँदै संयुक्त राष्ट्रसङ्घको सहायक महासचिव एवं युनिसेफका उप–कार्यकारी निर्देशकसम्म पुगेको थियो।

यसअघि पनि पब्लिकेशन नेपालयबाटै अङ्ग्रेजीमा गौतमको जीवनी प्रकाशन भइसकेको छ। पुस्तक ‘कुलचन्द्र गौतम : आत्मकथा’ लेखक गिरीश गिरीसँगको सहकार्यमा तयार पारिएको नेपालयले जानकारी दिएको छ।

पुस्तक विश्व इतिहासलाई प्रभावित पारेका महत्त्वपूर्ण घटनाहरूमा समेत प्रवेश गरेको प्रकाशन गृहले जानकारी दिएको छ। गौतमले युनिसेफको जागिर सुरु गर्दा पहिलो जिम्मेवारी नै कम्बोडियाको राजधानी नोम्पेन्हबाट थालेका थिए।

त्यति बेला ‘पूर्वको प्यारिस’ भनिने नोम्पेन्हमा एकातिर भर्खर विवाह गरेर श्रीमतीसहित पुगेका तन्नेरी गौतमको रोमान्स चलिरहेको थियो भने अर्कोतिर मेकोङ नदीको पारिबाट लगातार विद्रोही खमेररुजले बम प्रहार गरिरहेका थिए।

गौतमले काम गर्दागर्दै एक दिन नोमपेन्हको पतन हुन्छ। राजधानी विद्रोहीको कब्जामा परेपछि भएभरका विदेशीहरूको भागाभाग चल्छ। गौतम पनि ज्यान जोगाएर भाग्छन्। त्यसपछि पनि लगातार गौतमले एकपछि अर्को सङ्कटग्रस्त मुलुकहरूमा जिम्मेवारी सम्हाल्दै गए।

लामो कालखण्डसम्म हामीले सुन्दै आएको संसारकै महत्त्वपूर्ण घटना र तिनका पात्रबारे हाम्रै नेपालीले गरेको प्रत्यक्षदर्शी वर्णनको रूपमा पुस्तक अघि बढेको नेपालयको दाबी छ। नेल्शन मण्डेलाजस्ता बितेको शताब्दीकै गिनेचुनेका नायकहरूसँगको व्यक्तिगत अनुभवहरू पुस्तकमा समेटिएका छन्।

सन् २००८ मा राष्ट्रसङ्घको सेवाबाट अवकाश लिएका गौतमले त्यसपछि पनि थुप्रै अन्तर्राष्ट्रिय सङ्घ संस्थामा आबद्ध भएका थिए। नेपालको शान्ति प्रक्रियामा नागरिक अगुवाका रूपमा सघाएका उनी बि सं २०६६ मा नेपालको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय मामिला सम्बन्धमा प्रधानमन्त्रीको अवैतनिक विशेष सल्लाहकार समेत भएका थिए।

गौतमलाई मानार्थ विद्यावारिधि प्रदान गर्नुअघि डार्टमथ कलेजले उसका सबैभन्दा प्रतिष्ठित पूर्व विद्यार्थीहरूलाई प्रदान गर्दै आएको ‘मार्टिन लुथर किंग जुनियर सोसल जष्टिस अवार्ड’ तथा ‘लेस्टर बी ग्रेन्जर अवार्ड फर लाइफटाइम अचिभमेन्ट’ ले सम्मान गरेको थियो।

‘मेरो जीवन कथा अब नेपाली पाठकहरू माझ पनि आउँदै गर्दा असाध्यै खुसी छु,’ गौतम भन्छन्, ‘मैले पाएका अवसरहरू, सामना गरेका चुनौती र चालेका पाइलाहरू भावी पुस्ताका नेपालीहरूको निम्ति उपयोगी हुने विश्वास छ।’

१२ भदौ, २०७९, १४:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।