महिनाको चार हजार तलबमा महिला संघको कार्यालय रुँग्ने 'माइला दाइ'को कथा

महिनाको चार हजार तलबमा महिला संघको कार्यालय रुँग्ने 'माइला दाइ'को कथा

काठमाडौं: नेपाल महिला संघले शुक्रबार आफ्नो संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको २६औं स्मृति दिवसका अवसरमा कार्यालय सहयोगी ६२ वर्षीय इन्द्रमान बल (तामाङ)लाई सम्मान गर्यो। इन्द्रमान लामो समयदेखि महिला संघको कार्यालयमा काम गर्दै आएका थिए।

संघको केन्द्रीय कार्यालय धापसीमा सम्पन्न कार्यक्रममा नव निर्वाचित अध्यक्ष उषा राउतलाई निवर्तमान अध्यक्ष समेत रहेकी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पद पनि हस्तान्तरण गरिन्। 

स्मृति दिवसमा सधैँ मंगलादेवीलाई सम्झने र दीप प्रज्वलन गरिन्थ्यो। तर, यसपटक कार्यालय सहयोगीलाई सम्मान गरेर फरक कार्यक्रम गरिएको थियो।

०००
इन्द्रमान पूरै टाउको ढाकिने गरी ढाका टोपी लगाउँछन्। अनुहारको भाव निर्दोष पाराको छ। उनको बुढ्यौलीको प्रमाण चाउरिएको छालाले दिइरहेको थियो। तर उनी निर्धक्क पनि देखिन्छन्। चल्तीको भाषा प्रयोग गर्ने हो भने उनी बिन्दास पनि छन्।

इन्द्रमानले आफू सम्मानित हुने कुरा भने कार्यक्रम सुरु हुनलाग्दा मात्र थाहा पाए। त्यसअघि नै उनी सुरुदेखि खुशी देखिन्थे।

कारण- कार्यालयमा धेरै समयपछि चहलपहल बढेकाले।

भारतमा उनी भाडा माझ्ने काम गर्थे। अरू काम पनि गर्थे बेला बेला। नौ वर्ष इन्द्रमानको जीवन यसैगरी चल्यो। २१ वर्षको उमेरमा उनी स्वदेश फर्किए। रित्तै। न सीप न पढाइ न पुँजी।

मंगलादेवीको निधन हुनुअघिदेखि नै इन्द्रमान यही कार्यालयमा काम गर्दै आएका छन्। उनको नाम इन्द्रमान भए पनि धेरैजसोले 'माइला दाइ' र कोही कोहीले चाहिँ इन्द्रबहादुर भनेर पनि बोलाउने रहेछन्।

इन्द्रमानलाई सम्मानसँगै आफूले पद धारण गर्न पाउँदा अध्यक्ष राउत खुशी भएको बताउँछिन्। 'माइला दाइ मंगला आमाको पालादेखि नै हामीलाई सहयोग गर्दै आइरहनुभएको छ। उहाँ काम गर्न आउँदा हाम्रो कार्यालय पनि बनिसकेको थिएन', उनी भन्छिन्, 'कोभिडको समयमा पनि हामी कहाँ कहाँ पुग्यौं। तर, उहाँ यतै हुनुहुन्थ्यो। मैले पद ग्रहण गर्दै गर्दा उहाँको सम्मान गरेर प्रवेश गरौँ भन्ने लाग्यो।'

इन्द्रमानलाई टीका र सल ओढाएर रकमसहित सम्मान गरिएको थियो।

इमानदार इन्द्रमान
काभ्रे मंगलटारमा विसं २०१७ सालमा जन्मिएका इन्द्रमान घरका माइला छोरा हुन्। दुर्गम गाउँमा जन्मिएकाले सानैदेखि अभावमा हुर्किए उनी। दुई कक्षाभन्दा बढी पढ्न पाएनन्। १२ वर्षको हुँदा काम खोज्दै गाउँकै भिनाजु पर्नेसँग भारत पुगे।

भारतमा उनी भाडा माझ्ने काम गर्थे। अरू काम पनि गर्थे बेला बेला। नौ वर्ष इन्द्रमानको जीवन यसैगरी चल्यो। २१ वर्षको उमेरमा उनी स्वदेश फर्किए। रित्तै। न सीप न पढाइ न पुँजी।

तर जेनतेन मुग्लिङ – नारायणघाट सडकखण्डमा ज्यामी काम पाए। सात महिना त्यहीँ काम गरे। '७ महिनामा ७ सय रुपैयाँ कमाइएछ', उनले सम्झिने प्रयास गर्दै भने, 'काम सकिनेबित्तिकै काठमाडौं आएँ। अनि बालाजुमा डेरामा बसेर अर्को काम खोज्न थालिहालेँ।' 

घरभेटीको आग्रहमा उनले पाइप फ्याक्ट्रीमा काम पाए। बिहान, दिउँसो र साँझ गरेर तीन शिफ्टसम्म काम गरे। 'अस्थायी हुन ३४० दिन काम गरेको हुनुपर्ने रहेछ। त्यति दिन नभएसम्म दिनको हिसाबले ज्याला दिन्थ्यो', उनले भने।

दिनको १० रुपैयाँ ज्यालामा काम गरेको उनी सम्झन्छन्। तर, उनी दुई महिनामै अस्थायी भए। तर उनले दैनिक ज्यालादारीमा भन्दा कम पैसा पाए। ज्यालादारीमा एक महिनामा तीन सय जति कमाउने इन्द्रमानले अस्थायी भएपछि जम्मा दुई सय ६० मात्र पाए।

साहुसँग कुरा पनि गरे। 'साहुले तलब थोरै पाए पनि अन्यमा सुविधा पाउँछ भन्नुभयो', इन्द्रमानले भने। 

काम गरेको ६ वर्षपछि भने उपदानको रूपमा उनले ६ महिनाको तलब पाए। त्यसपछि त्यो काम छोडे।

पेशा भने ज्यामी नै थियो। काम गर्दागर्दै उनी क्षेत्र नं ५ को तत्कालीन सभापति नुच्छेनारायण मानन्धरको घर बनाउन पुगे। त्यति खेर महिला संघको कार्यालय भवन बनिसकेको थिएन। बनाउने कुरा थियो। 

अहिले केन्द्रीय कार्यालय भएको जग्गामा मंगलादेवी स्मृति भवन बनाउने निश्चित भएपछि इन्द्रमानलाई त्यहाँ ज्यामीको रूपमा उनै नुच्छेनारायणले राखिदिए।

'त्यस बेला यहाँ त खोला थियो। अहिले पो छैन त। माथि पूरै पाखा थियो। बाँसको घारी थियो। त्यसमुनि छाप्रो हालेर घर बनाउने सामान कुर्न पनि बसेँ', उनले सम्झिँदै भने।

इन्द्रमानले त्यो भवनमा ज्यामीदेखि डकर्मीको काम पनि गरे। 'यहाँको वाल लगाएको पनि सबै मैले नै हो', उनले भने।

भवन निर्माण भएपछि तिनै सभापति र मंगलादेवीकी छोरी कान्ता सिंहले उनलाई चौकीदारको रूपमा राखे। ५३ सालमा ज्यामीको रूपमा गएका उनी आजको दिनसम्म पनि चौकिदार र कार्यालय सहयोगी भएर बसिरहेका छन्।

भवनको सरसफाई गर्ने। सामान मिलाउने। रेखदेख गर्नेदेखि आउने सबैले अह्राएको काम गर्छन् उनी। 

उनी जसले काम अह्राए पनि गर्छन्। अहिलेसम्म 'नाइँ' भनेको उनलाई याद छैन रे। बरू कसैले काम अह्राएन भने आफूले केही गल्ती गरेँ कि भन्ने महसुस हुन्छ रे उनलाई।

परिवार काभ्रेमै, एक्लै बस्छन् काठमाडौं
उनको सबै परिवार अहिले पनि काभ्रेमै बस्छन्। अनि काठमाडौंमा चाहिँ उनी एक्लै बस्छन्।

उनले मंगलादेवीलाई प्रत्यक्ष रूपमा जम्मा दुई पटक मात्र भेट्न पाए। तर, पनि इन्द्रमान मंगलादेवीबाट निकै प्रभावित भए। 'उहाँ नभए पनि उहाँको कुरा भइराख्ने हुँदा प्रभावित भएँ हुँला नि!', उनले बताए।

'२-३ घण्टाको बाटो हो।  जान मन लागे जान्छु। अनि आउँछु। गाउँमा श्रीमती, छोराबुहारी, नाती छन्। एउटी छोरी पनि थिइन्। तर १७ वर्षको उमेरमा हृदयघात भएर मृत्यु भयो। चाडवाडको समय पारेर गइराख्छु', उनले भने।

इन्द्रमानले यो कार्यालयमा जागिर खाएदेखि बिदा बसेका छैनन्। घर जाँदा पनि कार्यालयमा केही काम नभएको बेला यसो छिमेकीलाई जिम्मा लगाएर मात्र जान्छन्। 

'बिरामी हुँदा पनि छिमेकीले नै हेर्ने हो। कुनै पनि पार्टीले हेरेन मलाई। उमा दिदी मन्त्री भएपछि ११ महिना भइसक्यो यहाँ आउनुभएको छैन। त्यो समयदेखि तलब पनि पाएको छैन', इन्द्रमानले दुःख पोखे।

सुरुमा १५ सय रुपैयाँ तलबमा बसेका उनी अहिले चार हजार लिने गर्छन्। तर, त्यति तलब पनि समयमा नआएको उनको गुनासो छ।

उनले काम सुरु गर्दा मंगलादेवी बिरामी थिइन्। ०५३ साल साउनमा उनले संघमा काम गर्न थाले। भदौमा मंगलादेवीको मृत्यु भयो। 

उनले मंगलादेवीलाई प्रत्यक्ष रूपमा जम्मा दुई पटक मात्र भेट्न पाए। तर, पनि इन्द्रमान मंगलादेवीबाट निकै प्रभावित भए। 'उहाँ नभए पनि उहाँको कुरा भइराख्ने हुँदा प्रभावित भएँ हुँला नि!', उनले बताए।

'मलाई अध्यक्षहरूमध्ये सबैभन्दा मनपर्ने चाहिँ कान्ता दिदी र डिला दिदी हो। उहाँहरूको कार्यकालमा सुविधा थियो। १५ सय मात्र तलब आए पनि रासनहरू सबै भर्दिनुहुन्थ्यो।'

मंगलादेवीको मृत्युपछि छोरी कान्ता संघकी अध्यक्ष भइन्। कान्तासँग पनि इन्द्रमानले १० वर्ष काम गर्न पाए। त्यसबेला तलब लिन चाक्सीबारीमै जाने गरेको उनी सुनाउँछन्।

सबैभन्दा मनपर्ने अध्यक्ष कान्ता सिंह र डिला संग्रौला
संघमा अहिलेसम्म सात वटा अध्यक्ष फेरिइसके। 'कान्ता दिदीको पालामा एकदमै राम्रो थियो। मीना पाण्डेको पालामा यहाँ देखा नै पर्नुभएन। उमा दिदी नै दुईपल्ट अध्यक्ष हुनुभयो', इन्द्रमानले भने।

यसबीचमा अम्बिका बस्नेत र डिला संग्रौला पनि अध्यक्ष चुनिए।

अहिले चाहिँ नयाँ अध्यक्ष निर्वाचित भएको उनले बिहीबार मात्र थाहा पाएका रहेछन्। 

उनी भन्छन्, 'मलाई अध्यक्षहरूमध्ये सबैभन्दा मनपर्ने चाहिँ कान्ता दिदी र डिला दिदी हो। उहाँहरूको कार्यकालमा सुविधा थियो। १५ सय मात्र तलब आए पनि रासनहरू सबै भर्दिनुहुन्थ्यो।'

महिलाप्रति सम्मान
आफ्नो कुनै पनि दिदी बहिनी नभएको र एउटा मात्र छोरीको पनि सानैमा मृत्यु भएकाले इन्द्रमानलाई महिलाहरूप्रति छुट्टै सम्मान छ।

इन्द्रमानले लामो समय यही कार्यालयमा बिताए। त्यसैले उनको केही आशा छ। नयाँ अध्यक्षले रासनमा केही सहयोग गरिदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ।

त्यसै कारणले असुविधा भए पनि उनी यो काम छोड्न सकिरहेका छैनन्। 

बरु दिनभरि एक्लै बस्छन् तर, अन्य काम गर्न जाँदैनन्। केही महिनाअघि कार्यालयमा कोही नआएपछि कार्यालयको बत्तीको पैसा उनी आफैँले तिरेको थिए।

'घर गयो भने पनि कतिबेला कार्यालय जाऔँ जस्तो हुन्छ। कसैले खोज्यो होला भन्ने लागिरहन्छ' उनले भने।

अचेल कार्यालय एकदम सुनसान भएको उनले महसुस गरेका छन्। पहिलाजस्तो नेता नेतृहरू कोही पनि नआउने उनको गुनासो छ। त्यसैले इन्द्रमानलाई अहिले विरक्त पनि लाग्ने गरेको उनी भन्छन्। 

'कहिलेकाहीँ त एक्लै भूत जसरी बसिरहेको जस्तो पनि लाग्छ। कोही मान्छे नै आउँदैन। पहिला एक सचिव आइरहन्थे। अहिले त सचिव पनि हटेको हो कि!', उनले अनुमान लगाए।

इन्द्रमानले लामो समय यही कार्यालयमा बिताए। त्यसैले उनको केही आशा छ। नयाँ अध्यक्षले रासनमा केही सहयोग गरिदिए हुन्थ्यो भन्ने उनलाई लाग्छ।

यसबारे अध्यक्ष राउतले अब इन्द्रमानको तलब पनि बढाउने र नियमति उपलब्ध गराउने बताउँछिन्।

उनले भनिन्, 'भर्खर त कार्यभार सम्हालेँ। ती सब कुरा विस्तारै पूरा हुन्छन्।'

११ भदौ, २०७९, ११:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।