चर्चित कलाकारको आवरणमा मानव तस्करी, तर फेलै पर्दैनन् गिरोहका नाइके

चर्चित कलाकारको आवरणमा मानव तस्करी, तर फेलै पर्दैनन् गिरोहका नाइके

काठमाडौँ : नक्कली कलाकार बनाएर मानव तस्करी गरेर नर्वे लैजाने समूहले आफ्नो नाम दुरुपयोग गरेको भन्दै अभिनेत्री केकी अधिकारी र अभिनेता आर्यन सिग्देल केन्द्रीय अनुसन्धान ब्युरो पुगेर जाहेरी दिए। शुक्रवार उनीहरूले दिएको जाहेरीमा आफ्नो नाम दुरुपयोग गरेको दाबी गरेका छन्।

उनीहरूले फिल्म सुटिङको लागि  १४ जना व्यक्तिलाई नर्वे पुर्याउन भारतस्थित नर्वेजियन दूतावासमा किर्ते कागजात पेस गरेको सुनिएकाले कम्पनी र त्यसका सञ्चालकमाथि कारबाहीको माग गरेका छन्। भिसाका लागि आवेदन दिनेको सूचीमा यी दुवै कलाकारसहित १४ जनाको नाम थियो।

जबकि उनीहरूको नाममा भिसाका लागि आवेदन दिँदा राहदानी आवश्यक पर्छ नै। अभिनेता सिग्देलले भिसाका लागी आफूले राहदानी दिएको स्वीकार गरेका छन् तर केकीले स्वीकार गरेकी छैनन्।

भिसा आवेदनमा नेपाल पर्यटन बोर्डको सिफारिस पत्र समेत रहेकाले दूतावासका अधिकारीले शङ्का लागेर बोर्डमा सम्पर्क गर्दा सो समूहले नक्कली पत्र बनाएको खुलेको थियो। सोही अनुसारमा बोर्डले समेत ब्युरोमा अनुसन्धानका लागि पत्र पठाइसकेको छ।

शुक्रवार थप २ जना कलाकारहरूले आफ्नो नामको दुरुपयोग भएको दाबीसहित जाहेरी दिएका हुन्। ब्युरोका प्रवक्ता एसपी कमल थापाले शुक्रवार अधिकारी र सिग्देलले ब्युरोमा आएर जाहेरी दिएको जानकारी दिए।

‘उहाँहरू हिजो सिआइबीको सम्पर्कमा आउनु भएको थियो। आज आवश्यक छानबिन गरिपाऊँ भनेर जाहेरी दिनु भएको छ,’उनले भने, ‘हामीले अनुसन्धान गरिरहेका छौँ।’

घटना के हो ?

भारतमा रहेको नर्वेको दूतावासमा ‘ब्लु वर्ड एचडी’ कम्पनीले ‘तिम्रो नजर’ फिल्मको सुटिङ गर्न भनेर केकी, आर्यन, दीपकप्रसाद आचार्य, रोशन पराजुली लगायत १४ जनाको नाममा भिसा आवेदन परेको थियो। नर्वेको काम नेपालमा हुन्न। नेपालको समेत काम भारतबाट हुने गरेको छ।

आवेदनमा विक्रम बस्नेत, रिता सापकोटा खनाल, माजोहित अन्सारी, दीपेन भुजेल, सरोज गुरुङ, भक्तबहादुर राना मगर, टेसबहादुर रन्टिजा, राजु गुरुङ, लक्ष्मण आचार्य र मीनराज गुरुङलाई फिल्म निर्माणको विभिन्न जिम्मेवारीमा रहेको कर्मचारीको रूपमा उल्लेख गरेर भिसा आवेदन गरिएको थियो।

आवेदनसँगै बोर्डको सिफारिस पत्र देखेपछि दूतावासले बोर्डसँग यसबारे सोधखोज गरेपछि फिल्म सुटिङको आवरणमा मानव तस्करीको प्रयास भएको देखिएको थियो। सो खुलेपछि बोर्डले सिआइबीमा पत्र पठाएको थियो। पत्र आएपछि ब्युरोको मानव बेचबिखन सम्बन्धी ब्युरोले अनुसन्धान अगाडि बढाइसकेको छ। यहीबिचमा यी दुवै कलाकारले आफूलाई पीडित भन्दै अनुसन्धानका लागि ब्युरोमा जाहेरी दिएका छन्। अन्य १२ जना भने सम्पर्कमा छैनन्।

फिल्मी क्षेत्रमा मानव तस्करी नौलो हैन

मानव तस्करहरुहरुले सांसददेखि विभिन्न संस्थाको दुरुपयोग गरेर मानव तस्करी गर्नु नौलो घटना हैन। तत्कालीन सांसद गायत्री शाह लगायतकाले मानव तस्करीमा संलग्न व्यक्तिलाई कूटनीतिक राहदानी दिएर अर्कै व्यक्तिलाई युरोप पठाउने प्रयास गरेको खुलेको थियो।

जनजाति महासङ्घका पदाधिकारीहरू समेत कलाकारको नाममा गैर कलाकार विदेश लगेर उतै छाडेर आएको घटनामा अनुसन्धानमा तानिएका थिए।

मानव तस्करीका लागि अझ सबैभन्दा धेरै फस्टाएको धन्दा नै कलाकारको देखिन्छ। गीत/फिल्मको सुटिङ, सांस्कृतिक कार्यक्रमको बहानामा कलाकारको समूहमा गैर कलाकारको नाम राखेर रकम असुलेर उतै छाड्नु फिल्म क्षेत्रका लागि नौलो पनि हैन। यसैमा थपिन्छ अवार्ड कार्यक्रममा। नेपालमा सामान्य रूपमै आयोजना गर्न सकिने अवार्ड कार्यक्रमहरू युरोप र अमेरिका, नसके खाडी देशमा भए पनि आयोजना गर्नुको उद्देश्य मानव तस्करी नै भएको जानकार बताउँछन्।

एउटा कामका लागि भनेर सँगै लिएर गएर उतै छाडेर आउनु नेपाली कला क्षेत्रका लागि मानव तस्करी हैन सहयोगको रूपमा हेरिन्छ। नेपालका चर्चित कलाकारहरूको नाम समेत यस्तो तस्करीमा जोडिने गरेको छ। तर अहिलेसम्म कमै मात्र कलाकार समातिएका छन्।

यस अगाडि नेपालका चर्चित द्वन्द्व निर्देशक राजेन्द्र खड्गी यस्तै आरोपमा जेलसम्म पुगिसकेका छन्। डकुमेन्ट्री बनाउने नाममा ११ जनालाई दक्षिण कोरिया पठाएर पैसा लिएको उनीमाथि अभियोग लागेको थियो। उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नै अनुसन्धान गरेको थियो।

मानव तस्करीमा फरार सुदर्शनसँग फिल्म खेल्दै अनमोल र सौगात

फिल्म ‘हिम्मतवाली’ मा प्रमुख भूमिकामा अभिनय गरेका सुदर्शन थापा कलाकार बनाएर मानव तस्करी गरेको अभियोगमा मुद्दा खेपिरहेका छन्। उनी क्यानडामा छन् भने उनको मुद्दा अदालतमा विचाराधीन छ।

भारतको नयाँ दिल्लीबाट तीन नेपाली महिला रुसको, कोलम्बिया डोमिनिकाहुँदै हैटी पुगेका थिए। उनीहरूको साथमा हैटीमा छायाङ्कन गरिने ‘संस्कार’ नामक नेपाली भाषाको फिल्ममा अभिनय गर्ने कलाकार थियो। उनीहरूलाई हैटी फिल्मले नै बोलाएको थियो। पत्रमा पाँच नेपाली कलाकारलाई छायाङ्कनका निम्ति हैटी बोलाइएको उल्लेख थियो।

तर उनीहरूलाई हैटीबाट पानीजहाजमा अमेरिका पुर्याउन त्यहाँ पूर्याइएको खुल्यो। सुमित्रा कुँवरसहित चढेको पानी जहाजले समुन्द्रमा बाटो बिराएपछि कुँवरको मृत्यु भएको थियो भने अन्यको उद्धार गरेर नेपाल पठाइएको थियो।

त्यही घटनामा सुदर्शन मुख्य योजनाकारका रूपमा जोडिए। गत साता उकेराको सम्पर्कमा आएका उनले आफू घटनामा संलग्न नरहेको दाबी गरेका थिए। तर उनी नेपालमा चलिरहेको अदालती प्रक्रिया छलेर क्यानडामै बसिरहेका छन् भने नेपाली निर्देशकलाई उतै बोलाएर पुन फिल्ममा अभिनय गर्ने भनेर प्रचार गराइरहेका छन्।

१० भदौ, २०७९, १९:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।