‘माओवादी चिन्हमा चुनाव लड्दैनौं, कलम लिन तयार भए स्वागत छ’

‘माओवादी चिन्हमा चुनाव लड्दैनौं, कलम लिन तयार भए स्वागत छ’

काठमाडौं : एकीकृत समाजवादीले बिहीबार पार्टी पुनर्गठन दिवस मनायो। राजधानीको थापागाउँमा भएको कार्यक्रममा पार्टी अध्यक्ष माधवकुमार नेपालले एकवर्ष फलदायी रहेको बताए। उनले कार्यक्रममा एक वर्षमा अहिलेको अवस्थामा पार्टी आइपुग्नु ठूलो उपलब्धी भएको बताए।

अहिले एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकताका लागि समिति मात्र गठन गरेको छैन, एउटै घोषणापत्र बनाएर जाने निर्णयसमेत गरिसकेको छ। यी लगायतक समसामयिक विषयमा नेपालसँग उकेराले गरेको संक्षिप्त कुराकानी।

एकीकृत समाजवादीको एक वर्षको अनुभव कस्तो रह्यो?
मानिसहरू परिवर्तन चाहन्छन्। कम्युनिष्ट आन्दोलनमै पनि भएका कमीकमजोरी हटेर आन्दोलनमुक्त होस् भन्ने चाहन्छन्। कम्युनिष्ट आन्दोलनमा व्यक्तिवाद बढि छ, भ्रष्ट कम्युनिष्टहरू बढि छन्। व्यक्तिवाद, भ्रष्टाचार, सुविधाभोगी र गुटवन्दी कम्युनिष्टमा हावी भएको छ। यी सबै कुरा त्यागेर जनताको समस्यामा केन्द्रीत भएर काम गर्ने हो भने जनताले हामीलाई साथ दिन्छन्।

एक वर्ष तपाईंहरूका कारण एमालेले जता पनि धक्का पायो नि!
एमाले आदि इत्यादि नभनौं । कम्युनिष्ट आन्दोलनको दिशामा हामी अघि बढेका छौं। कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौं। आन्दोलनलाई हामीले रूपान्तरण गर्न चाहेका छौं। यो पार्टीको गठन आन्दोलनको रूपान्तरण हो। यहि दिशामा हाम्रो अभियान अगाडि बढ्छ।

माओवादीसँग एकता कहिले हुन्छ? चुनाव चिन्ह एउटै हुन्छ?
एकता निर्वाचअघि सम्भव छैन। हामी आफ्नै कलम चुनाव चिन्ह लिएर निर्वाचनमा जान्छौं। विचार, सिद्धान्त, आचरण र कार्यशैली मिल्नेहरूसँग मिलेर अघि बढ्छौं। सिस्टम, मापदण्ड, विचार र नीतिको आधारमा चल्ने पार्टी बनाउन हामी सबैलाई समेटेर जान्छौं।

गठबन्धनका कारण राष्ट्रपति समस्यामा परिरहनुभएको छ भनिन्छ। यसमा तपाईंको भनाइ के हो?
गठबन्धनका कारण राष्ट्रपति समस्यामा पर्नुपर्ने हैन। राष्ट्रपति आफ्नै कामले गर्दा समस्यामा पर्नुभयो। आर्मीका पुराना चिफहरूलाई बोलाएर विशाल सम्मेलन किन गर्नुपर्ने थियो? नागरिकताको विषयमा उहाँले राख्नुभएको चासो ठिकै हो। पहिला उहाँले नै अध्यादेश जारी गर्दा हुने। अहिले नहुने?

एक वर्ष नहुँदै माओवादीमा गाभिनपर्यो भन्ने कुराहरू आइरहेका छन् नि!
सिङ्गो आन्दोलनलाई मिलाउनका लागि पुराना र अनुभवी नेताहरू किन अघि नसरेको भन्ने कुराहरू चाहिँ आइरहेको छ। सबैलाई मिलाएर, समेटेर, आह्वान गरौं, सबैसँग हातेमालो गरौं।

एउटै चुनाव चिन्हमा लड्ने भनेर बाबुराम भट्टराईको आगमन भएको छ. अब तपाईंहरू तीनजना अध्यक्ष भएर समाजवादी केन्द्र बनाएर अघि बढ्ने हो?
चुनाव चिन्हको सन्दर्भमा मैले यसअघि नै स्पष्ट पारिसकेँ, हाम्रो चुनाव चिन्ह ‘कलम’ रहन्छ। यो चुनावमा हामी कलम चिन्ह छोड्दैनौं। यो चिन्ह अरुले लिनुहुन्छ र साझा चिन्ह बनाएर अघि बढ्न चाहनुहुन्छ भने हामी तयार छौं।

एक वर्षसम्म एमालेलाई ओली कम्पनी भनेर गाली गर्नुभयो, गालीले नै पार्टी बलियो बन्छ त?
कहाँ गाली गर्या छु मैले, आन्दोलनका कत्रो कुरा सुनाएँ।  विश्व क्रान्तिका कुरा गरे। नर्वे क्रान्तिका कुरा भने मार्क्स र लेलिनका कुरा भनेँ।

९ भदौ, २०७९, १९:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।