शान्ति नमूनाले सञ्चालन गर्‍यो प्रदेशकै पहिलो अटिजम विद्यालय

शान्ति नमूनाले सञ्चालन गर्‍यो प्रदेशकै पहिलो अटिजम विद्यालय

बुटवल: रुपन्देहीको तिलोत्तमा–५ मा रहेको नमूना माध्यमिक विद्यालयले लुम्बिनी प्रदेशकै पहिलो अटिजम विद्यालय सञ्चालनमा ल्याएको छ।
आज लुम्बिनी प्रदेशका शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री वसिउद्दिन खाँले अटिजम भवनको उद्घाटन गरे।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खाँले अटिजम भएका बालबालिकाहरूलाई उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचारको आवश्यक व्यवस्था मिलाउन मन्त्रालय तयार रहेको बताए।

पुनर्स्थापनाबाट सामान्य अवस्थामा ल्याउन र बालबालिकाको जीवन सहज बनाउन शान्ति नमूनाले चालेको कदममा सहयोग गर्ने प्रतिबद्धता उनले जनाए।

तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणले अटिजमलाई समयमै चिन्न वा पत्ता लगाउन सकेमा नियन्त्रणका लागि कदम चाल्न सजिलो हुने बताए। पछिल्लो समयमा आमा बुबाको व्यस्त जीवनशैलीका कारण बालबालिकालाई भुलाउने क्रममा दिइने मोबाइका कारण पनि अटिजम हुने गरेको उनले बताए।

अटिजम केयर सोसाइटी लुम्बिनीका अध्यक्ष सतिस रुपाखेतीले अटिजम आफैँमा विशेष अवस्था भएको बताए। हेर्दा सामान्य देखिने बालबालिकाहरूमा समेत अटिजमको समस्या हुने भन्दै उनले लामो समयको घुलमिलपछि मात्र समस्या थाहा पाउन सकिने जानकारी दिए।

शान्ति नमूना माध्यमिक विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले अटिजम विद्यालय सञ्चालन गर्न लागेको बताउँदै बालबालिकालाई विशेष प्रकारको शिक्षा दिनुका साथै समायोजन तथा सामाजिकीकरणका तालिम दिँदै पुनर्स्थापनाका कार्यक्रमहरू चलाइने दावी गरे।

८ भदौ, २०७९, २१:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।