नेपालकै पहिलो आरसीसी संरचना 'सरस्वती सदन', जसको निर्माण हेर्न जुद्ध शमशेर हात्ती चढेर आए

नेपालकै पहिलो आरसीसी संरचना 'सरस्वती सदन', जसको निर्माण हेर्न जुद्ध शमशेर हात्ती चढेर आए

घण्टाघर र रानीपोखरीको बीचमा छ- त्रिचन्द्र कलेज। विस १९७५ सालमा श्री त्रिचन्द्र बहुमुखी क्याम्पसको रूपमा स्थापना भएको यस कलेज ज्युँदो इतिहासको रूपमा छ।

त्रिचन्द्रभित्र विभिन्न पुरातात्विक संरचनाहरू छन्। तिनै संरचनामध्ये ऐतिहासिक संरचना हो- रानीपोखरीसँगै जोडिएको सरस्वती सदन। यो भवनको निर्माणसँगै नेपालमा आधुनिक वास्तुकलाको सुरुआत भएको थियो।

०००
१०५ वर्षको त्रिचन्द्रले तत्कालीन युवराज दीपेन्द्र शाहदेखि गंगालाल श्रेष्ठ, गिरिजाप्रसाद कोइराला, कीर्तीनिधि विष्ट, शेरबहादुर देउवा, नारायणमान विजुक्छे, रामशरण महत, गगन थापा लगायतलाई शिक्षा दियो।

महाकवि लक्ष्मीप्रसाद देवकोटा, स्वरसम्राट नारायण गोपाल, विजय मल्ल,  सत्यमोहन जोशीहरूले पनि त्रिचन्द्रबाटै उच्च शिक्षा प्राप्त गरे।

यही त्रिचन्द्रको सरस्वती सदन नेपालमा आधुनिक आर्किटेक्चर (वास्तुकला)को कोशेढुंगा नै मानिन्छ। विसं २००२ सालमा सरस्वती सदनको निर्माणमा सिमेन्ट प्रयोग गरिएको थियो भने आरसीसी (ढलान) भएको थियो। यो नेपालमै पहिलो पटक थियो।

हाल त्रिचन्द्रमै अध्ययन गर्ने विद्यार्थीलाई सरस्वती सदनबारे खासै चासो नरहे पनि इन्जिनियरिङ कलेजका विभिन्न विधाका विद्यार्थीहरू यस भवनको अध्ययन गर्न आउँछन्। 

नेपालमा यसलाई भित्र्याएका थिए वेदप्रसाद लोहनीले। लोहनीको कथा एकैछिनमा, पहिला सरस्वती सदनको कुरा गरौँ।

आवरण
सरस्वती सदनको भवनको बाहिरपट्टी हल्का पहेलो रङ्ग पोतिएको छ। राणाकालीन झ्यालजस्तै देखिने सरस्वती सदनको झ्याल ढोकामा हरियो रङ्ग पोतिएको छ। भवनभित्र पनि फिक्का हरियो रङ्ग लगाइएको छ। 

गोलो, चारपाटे र सिधा रेखाहरूको संयोजनसहित सो भवन निर्माण गरिएको छ। तत्कालीन समयको निकै आकर्षक डिजाइन मानिने सरस्वती सदनको भित्री संरचना झनै आकर्षक त छ नै दीगो पनि छ। 

आकर्षक डिजाइनमा कर्नर र अन्य स्थानमा राखिएका झ्याल ढोका, अग्ला कोठा, घुमाउरो भर्याङ, कंक्रिटबाटै बनाइएका बस्ने सिट, उज्यालो छिर्न बनाइएको गोलाकार डोमले यसलाई सजाएको छ।

हाल त्रिचन्द्रमै अध्ययन गर्ने विद्यार्थीलाई सरस्वती सदनबारे खासै चासो नरहे पनि इन्जिनियरिङ कलेजका विभिन्न विधाका विद्यार्थीहरू यस भवनको अध्ययन गर्न आउँछन्। 

भवनको डिजाइन कसरी भयो? के-कस्तो सामग्री प्रयोग भयो? भन्नेबारे अध्ययन गर्न उनीहरू आउने गरेका छन्।

त्रिचन्द्र कलेजका सूचना अधिकारी बालकृष्ण पौडेलका अनुसार १३ वटा कोठा भएको सरस्वती सदनको भुईँतलामा हाल इन्जिनियरिङ र जियोलोजी विभाग छ। 

भुईँतलामै विद्यार्थी भर्ना शाखा, दर्ता, सहायक क्याम्पस प्रमुख कक्ष छन्। भवनको पहिलो तलामा लेखा, क्याम्पस प्रमुख, कर्मचारी प्रशासन शाखा सञ्चालनमा छ। सोही तलामा शौचालय पनि छ। सबैभन्दा माथिल्लो तलामा लाइब्रेरी र पुस्तकबारे रेकर्ड राख्ने शाखा छ।

प्राध्यापक संघको केन्द्रीय कार्यालय र कलेजको आईटी विभाग पनि सोही भवनमा छ। भवनको भुईँतला छेउमै फोटोकपी पसल सञ्चालन गरिएको छ।

त्रिचन्द्र कलेज स्थापनाको एक सय वर्ष पुगेको अवसरमा कलेज प्रशासनले प्रकाशित गरेको ‘त्रिचन्द्र कलेजको एक शताब्दी’ नामक पुस्तकमा उल्लेख भएअनुसार सरस्वती सदनमा नेपाल सरकारको शिक्षा विभागको कार्यालय सञ्चालनमा थियो।

पछि विसं २०२६ देखि यो भवनमा विभागकै पुस्तकालय र प्रशासनिक शाखाहरू सञ्चालन गरियो।

'भूकम्पले पनि केही असर गरेन'

२०७२ सालको भूकम्पपछि त्रिचन्द्र कलेजको घण्टाघरपट्टिको भवनबाट अन्य शाखाहरू समेत सरस्वती सदनमा सारिएका थिए। भवनको माथिल्लो भागबाट पहिले-पहिले विद्यार्थीको नतिजा सार्वजनिक गर्ने गरिएको त्यहाँका कर्मचारी सुनाउँछन्।

जियोलोजीको कक्षाहरू हाल सरस्वती सदनमै ल्याइएको छ। भूकम्पले पनि केही असर नगरेको सो भवन अझै पनि निकै बलियो भएको सूचना अधिकारी पौडेल बताउँछन्।

‘सरस्वती सदनलाई भूकम्पले समेत कुनै असर गरेन। भवनभित्र एक ठाउँमा मात्र तलबाट लगाएको सिमेन्ट थोरै उप्किएको थियो’, उनी भन्छन्, ‘उ बेला निकै बलियो संरचना बनाइएको रहेछ। तर अचेल पुरानो भएर पनि हुनसक्छ, ठूलो पानी पर्दा कहिलेकाहीँ आकाशतिर बनाइएको बीचको भागबाट पानी चुहिन्छ। त्यहाँ राखिएको प्लास्टिक पुरानो भएर होला कहिलेकाहीँ पानी चुहिन्छ। त्यसलाई सामान्य मर्मत गरे पुग्छ। अन्यथा अहिलेसम्म पनि भवन निकै बलियो छ।’

वेदप्रसाद लोहनीको कथा
वेदप्रसाद लोहनीकै अवधारणामा निर्माण भएको थियो सरस्वती सदन। सरस्वती सदनको माथिल्लो भागमा गोलाकार डिजाइन भएकोले सुरु सुरुमा यसलाई ‘गोल घर’ पनि भनिन्थ्यो।

‘तत्कालीन समयमा निर्माणाधीन सरस्वती सदन हेर्नेको ताँती लाग्थ्यो। पहिलो पटक देखेकोले मान्छेहरू निकै जिज्ञासु बन्थे रे’, वसन्त सुनाउँछन्, ‘अरू त अरू जुद्ध शमशेर आफैँ हात्ती चढेर सरस्वती सदन बनेको हेर्न आएका थिए। जुन बुवाले बताउनुभएको थियो।’

सन् १९१५ सेप्टेम्बरमा जन्मिएका हुन् लोहनी। भारतको लखनउबाट सिभिल इन्जिनियरिङमा डिप्लोमासम्मको अध्ययन गरेर नेपाल फर्किएका थिए लोहनी, सन् १९४० मा। लखनउबाट फर्किएको तीन वर्षपछि सन् १९४३ मा उनले सरस्वती सदनको परिकल्पना गरेका थिए।

नेपालमा ढलान प्रविधि सुरु गर्ने, ज्यामितिको पुस्तक लेख्ने र खानेपानी फिल्टरेसनको सुरुवात गर्ने पहिलो नेपाली पनि लोहनी नै हुन्।

वेदप्रसादका छोरा वसन्त लोहनी आफ्ना बुवा आफैँमा एउटा इतिहास भएको बताउँछन्।

‘राणाकालीन युगमा, त्यसमाथि झन् ढलानको अवधारणा नेपालमा सुरु नै नभएको बेला डन्डी, फर्मा, सिमेन्ट, गिट्टी र बालुवा मिक्स गरेर संरचना बनाउने भनेर बुवाले कंक्रिट (ढलान)को संरचनाको डिजाइन गर्नुभएको थियो’, वसन्त भन्छन्, ‘त्यो संरचना बनाउन आफैँ खटिनुभएको थियो। वास्तवमा सरस्वती सदन नै वेदप्रसाद लोहनी(बुवा)को इतिहास हो।’

सरस्वती सदन निर्माण गर्दा जुद्ध शमसेर स्वयम् सो भवन हेर्न आएको प्रसङ्ग आफ्नो बुवाको जीवनी लेखिरहेका अर्थशास्त्री वसन्त सुनाउँछन्। 

‘तत्कालीन समयमा निर्माणाधीन सरस्वती सदन हेर्नेको ताँती लाग्थ्यो। पहिलो पटक देखेकोले मान्छेहरू निकै जिज्ञासु बन्थे रे’, वसन्त सुनाउँछन्, ‘अरू त अरू जुद्ध शमशेर आफैँ हात्ती चढेर सरस्वती सदन बनेको हेर्न आएका थिए। जुन बुवाले बताउनुभएको थियो।’

‘निर्माण सामग्री भारतबाट बोकेर ल्याइएको थियो’
भवन निर्माणको समयमा नेपालमा सिमेन्ट, छड, रड, डण्डीहरू उत्पादन हुँदैन थियो। सोही कारण सिमेन्ट र डण्डीलगायत आवश्यक सामग्रीहरू भारतबाट झिकाइएको थियो। 

ती सामग्री भारतबाटै मानिसहरूले बोकेर ल्याएका थिए।

‘नेपालमा दक्षिण ढुंगाहरू मात्र पाइन्थ्यो। त्यतिबेला हलचोकमै दक्षिण ढुंगा (नदी किनारमा पाइने ठूलाठूला गोलाकारका ढुंगा)हरू पाइन्थे। ती ढुंगाहरू कुटेर बनाइएका थिए’, उनले भने, ‘सानो घनले हानेर ढुंगा कुट्दै गिट्टी बनाउने काम महिलाहरूले गर्थे। त्यसरी रोडाहरू बनाउँथे। भारतबाट भरियाहरूले सिमेन्ट, रड, डण्डीहरू बोकेर ल्याउँथे। यसरी नेपालको पहिलो कंक्रिट संरचना सरस्वती सदनको निर्माण भएको थियो।’

वेदप्रसाद लोहनीले आफूले सिकेको सीप अरूलाई पनि सिकाएको वसन्त बताउँछन्। 

‘सिभिल इन्जिनियरिङमा वेदप्रसादको ज्ञान आलोकाँचो थिएन। उनले जति जानेका थिए अत्यन्तै राम्रोसँग प्रयोग गर्न जानेका थिए’, वसन्त भन्छन्, ‘वेदप्रसादले अरूलाई पनि सिकाएका थिए। गिट्टी, सिमेन्ट, डन्डी नै नदेखेका मिस्त्री र कालिगडहरूलाई पनि जम्मा पारेर सिकाएका थिए। त्यसपछि बनेको थियो सरस्वती सदन।’

६ भदौ, २०७९, ०९:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।