प्रदीप गिरिले जीवनभर गोप्य राखेको प्रेम सम्बन्ध मृत्युसँगै भयो सार्वजनिक

प्रदीप गिरिले जीवनभर गोप्य राखेको प्रेम सम्बन्ध मृत्युसँगै भयो सार्वजनिक
तस्बिर : कृष्पा श्रेष्ठ

काठमाडौँ : प्रेम र विवाहबारे समाजवादी नेता प्रदीप गिरिका धारणा सधैँ चर्चामा रहे। उनी धार्मिक स्त्री पात्रहरूको चरित्र र ग्रन्थहरूमा उल्लेख गरिएका उनका चरित्रलाई वर्तमान कसीमा राखेर व्याख्या गर्न माहिर थिए। यी दुवै सम्बन्धबारे उनका धारणा स्वच्छन्द र स्वतन्त्रतावादी थियो। तर उनका  प्रेम सम्बन्ध भने गोप्य रहे। उनी कांग्रेस सन्त नेता कृष्णप्रसाद भट्टराईझैँ अविवाहित हुन् या विवाहित भन्ने समेत सार्वजनिक भएन।

भारतमा उपचार गरेर नेपाल फर्किएपछि स्वास्थ्य अवस्था बिग्रियो उनको। मेडिसिटी अस्पतालमा उपचाररत थिए उनी। अस्पतालको भेन्टिलेटरमा उपचाररतरहदै सामाजिक सञ्जालमा गिरिको निधन भएको हल्ला फैलिएपछि भारती सिलवाल गिरिको नाममा विज्ञप्ति जारी भयो। विज्ञप्तिमा गिरिको अवस्था स्थिर रहेको र उनको उपचार भइरहेको भन्दै भ्रम नफैलाउन आग्रह गरिएको थियो। अनि प्रार्थनाका लागि अनुरोध। भारतीलाई गिरिको परिवारको सदस्यको रूपमा उल्लेख गरिएको थियो।

जो-जो गिरिको निजी जीवनबारे जानकार छन् उनीहरूका लागि त्यो नाम नौलो रहेन। तर अधिकांशका लागि उनको निजी जीवन निकै रहस्यमय थियो। जसरी उनको चिन्तन, विचार, उनको आर्थिक, शैक्षिक अनि राजनीतिक यात्राबारे सार्वजनिक चर्चा भए उनको पारिवारिक पृष्ठभूमि पुरै लुक्यो।

त्यसैले अधिकांशका लागि भारती सिलवालसँग जोडिएको गिरि थर समेत नौलो हुने नै भयो। उनी को हुन् अनि प्रदीप गिरीसँगको उनको सम्बन्ध के हो? सार्वजनिक भएकै थिएन।  

शनिवार बेलुका गिरिको निधन भएको चिकित्सकहरूले नै पुष्टि गरे। आइतबार अस्पताल परिसरदेखि नेपाली कांग्रेस पार्टी कार्यालयसम्म एक महिला श्रद्धाञ्जलीमा आएका आगन्तुकहरूको अभिवादन स्विकार्न सक्रिय थिइन्। शोकमा रहेकी उनी उनै भारती थिइन्। 

श्रद्धाञ्जली कार्यक्रम सकिएर गिरिको पार्थिव शरीरको अन्त्यका लागि आर्यघाटमा दाहसंस्कार हुँदा सन्तोष सिलवाल गिरिको नाम आयो उनको छोराको रूपमा। अनि भारती उनको श्रीमतीको रूपमा। यो सार्वजनिक भएको प्रदीप गिरिको जीवनको नयाँ विषय पाटो थियो। यस अगाडि दुबैले आफ्नो सम्बन्ध सार्वजनिक रुपमा स्विकार गरेका थिएनन्। प्रदीप गिरिसँगको सम्बन्धबारे भारतीले औपचारिक रुपमा बोलेको नै शनिबार हो।

तस्बिर : परमानन्द भगत

प्रदीप गिरीको यी दुवै सम्बन्ध सार्वजनिक भएकै थिएन। उनले प्रेम र यौनको स्वतन्त्रताबारे वकालत गर्दै प्रवचन दिँदा प्रेम भनेको स्वतन्त्रता भएको बताउने गर्थे। जीवनभर उनी प्रेममा पनि रहे र स्वतन्त्रता पनि उपभोग गरे।उनले आफ्नो प्रेम र विवाहलाई गोप्य नै राखे। 

उनले आफ्नो प्रेम जीवनबारे एक प्रसङ्ग मात्रै खुलाएको भेटिन्छ। त्यो पनि नेपालको हैन, कलेज अध्ययनको क्रममा भारतको। गिरिले ‘अध्ययन: गतिशीलताबारे दिएको एक प्रवचन’ प्रेम र राजनीतिक यात्राबारे बोलेका थिए।

प्रवचनमा उनले बनारसमा लेख लेख्दाको प्रसङ्ग खुलाउँदै भनेका थिए‘मेरो लेख पढेर काशी विश्वविद्यालयकी एक युवती नजिकिइन्। मलाई उनीभन्दा राम्रो यो संसारमा अरू कोही छैन भन्ने लाग्यो। एक दिन उनले भनिन्'म त प्रेममा परिहालेँ।' तर उनले साहित्य मात्र लेखेर हुन्न, राजनीति पनि गर्नुपर्छ भनिन्। म आदर्श र क्रान्तिकारी भावनाले राजनीतिमा होमिएको होइन, मैले मन पराएकी युवतीलाई प्रभावित गर्न राजनीतिमा लागेको हुँ।'

यो प्रेम प्रसङ्ग यतिमै सकियो। ती को थिइन् अनि पछि सम्बन्ध के भयो खुलेन।

उनको निधनपछि भारती सार्वजनिक भइन्। छोराको रुपमा सन्तोष। 

प्रदीप गिरि अनि भारतीको सम्बन्धका आयामहरू केलाउन केही जानकारहरूसँग सम्पर्कको प्रयास गर्दा अधिकांशको मोबाइल अफ वा सम्पर्क हुन सकेन भन्ने आयो। सम्पर्क सम्भव भएन।

सर्च इन्जिनमार्फत यी दुबैका निजी सामाग्री केही पाइन्छ कि भनेर खोजी गर्दा केही तस्बिर भेटिए। प्रदीप गिरिको फेसबुक पेजमा उनको प्रेम र वैवाहिक जीवन झल्काउने तस्बिर फेला परेन। यी दुबैका संयुक्त तस्बिर भेटिएन। भारतीको फेसबुक पेजमा सर्च गर्दा पनि हालत उस्तै। उनी अधिकारको क्षेत्रमा लामो समयदेखि संलग्न रहेको खुल्यो। उनको पृष्ठभूमि खुलाउने केही निजी तस्बिर फेला परे। तर प्रदीप गिरिसँगको औपचारिक सम्बन्ध खुलाउने कुनै तस्बिर फेला परेन।

खोज्दै जाँदा तिहारमा टिका लगाउँदा सँगै बसेको २ तस्बिर फेला परे। त्यो पारिवारिक तस्बिर अन्य कसैले ट्याग गरिदिएको थियो।

यी दुवैको सम्बन्ध निकट थियो भन्ने तस्बिर फेला पर्यो तर अलि पुरानो। तस्बिर अमेरिकाको। माधव नेपालसहितका नेताहरूसँगै भारती र प्रदीप गिरी समेत सँगै रहेको ती तस्बिरले यी दुवैको निकट सम्बन्ध देखाउँथ्यो। गिरिको हातमा हात राखेको, सँगै वाइन खाएको ती तस्बिर अमेरिकामा बस्दै आएका परमानन्द भगतले दुबैजनालाई ट्याग गरेका थिए।

उकेराले सम्पर्क गर्न सफल भएका केही व्यक्तिले दिएको जानकारी अनुसार भारती दाङकी हुन्। उनको पहिलो श्रीमानको थर सिलवाल हो। उनको बाबु नेपाली र आमा भारत दार्जिलिङकी हुन्। उनी पूर्व सञ्चारकर्मी समेत हुन्। उनी रेडियो नेपालमा अङ्ग्रेजी सामाचारवाचिकाको रूपमा काम गरेकी थिइन्।

गणेशमान सिंहसँग भारती

गिरिसँग उनको सम्बन्ध २०३७-०३८ सालदेखिकै रहेको दुबैको सम्बन्धबारे जानकारहरु बताउँछन्। सिलवालसँग डिभोर्स भएपछि प्रदीप गिरिसँग उनी निकट भएकी थिइन्। लामो समय यी दुवै प्रेमी-प्रेमिकाका रूपमा रहेका थिए। उनीहरू अलग नै बस्दै आएका थिए। उनीहरु लामो समय सँगै बसे पनि औपचारिक रुपमा विवाह नै गरेको सार्वजनिक भएन।

आइतबार उनलाई दागवत्ति दिने भारतीको पहिलो श्रीमानपट्टिको सन्तान हुन्। उनलाई प्रदीप गिरीले छोराको रुपमा स्विकार गरेको निकटहरुले बताए।

प्रदीप गिरिको राजनीतिक यात्रा

गिरिको जन्म २००४ सालमा सिराहाको बस्तीपुरमा भएको हो। उनका बुवा मित्रलाल कांग्रेस राजनीतिमा सक्रिय थिए। गाउँकै विद्यालयमा एसएलसीसम्म पढेका उनी काठमाडौँ आएर पब्लिक साइन्स कलेज (अस्कल) मा विज्ञानमा भर्ना भए पनि मन बसेन।

उनी भारतको बनारस गए। काशी विश्वविद्यालयमा मानविकी अध्ययन सुरु गरेका उनले। उनी २०२४ मा बनारसमा छात्र सङ्घको उपाध्यक्ष बने। त्यहीबाट उनी बिपी कोइरालासँग नजिकिए। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट गिरिले अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गरे।

उनी नेपाल फर्किएर प्रजातन्त्र स्थापनामा सक्रिय हुँदा २०२५ र २०४२ सालमा गरेर २ पटक जेल परेका थिए। उनी २०५१ बाटै संसदीय राजनीतिमा संलग्न भए पनि कहिल्यै मन्त्री भने भएनन्।

२०५१ र २०७४ मा उनले सिराहाबाट चुनाव जिते। २०५६ मा भने पराजित भए। २०६४ र २०७० को संविधान सभा निर्वाचनमा उनी समानुपातिक सूचीमा बसे। प्रत्यक्ष निर्वाचनमा सहभागी भएनन्। २०७४ मा उनी निर्वाचनमा सहभागी भए र जिते पनि। राजनीतिमा कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहसँग निकट उनी कांग्रेसमा गिरिजाप्रसाद युग सुरु भएपछि शेरबहादुर देउवाको पक्षमा लागेका थिए।

देउवाले पार्टी विभाजन गरेर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गर्दा समेत उनी उतै लागेका थिए। कांग्रेसमा सुशीलदेखि शेखर कोइरालासम्म पार्टी नेतृत्वका लागि देउवाको प्रतिष्पर्धाहुँदा उनी देउवाकै पक्षमा उभिए।  उनी देउवाको पक्षमा उभिए पनि कहिल्यै राज्यशक्तीको पदमा भने गएनन्। उनी पटक-पटक सांसद भए। तर मन्त्री हुने या राजनीतिक नियुक्तिको लोभमा परेनन्। उनी आश्रम खोलेर बसे। काठमाडौँमा डेरामै जीवन बिताए। 

वर्ष वर्षदेखि उनको स्वास्थ्यमा समस्या देखियो। भारत गएर उपचार गर्दा घाटीको क्यान्सरको समस्या रहेको खुल्यो। भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर साउनमा नेपाल फर्किए लगत्तै उनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरियो। क्यान्सर फैलिएसँगै निमोनियाले समेत गाँजेपछि शनिवार बेलुका निधन भयो।

५ भदौ, २०७९, १८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।