त्रिविको जीर्ण होस्टलमा पनि गैर विद्यार्थीको कब्जा, निस्कि भन्यो कि प्रशासनमै ताल्चा लगाएर हिडिदिन्छन्

त्रिविको जीर्ण होस्टलमा पनि गैर विद्यार्थीको कब्जा, निस्कि भन्यो कि प्रशासनमै ताल्चा लगाएर हिडिदिन्छन्

काठमाडौं : छरपष्ट फोहोर। झारले ढाकिएका चौर। कालो लेउ लागेको भित्ता। ठाउँ–ठाउँमा टालेका सिलिङ्ग। खियाले खाएका फलामे ग्रिल। चौबिसै घण्टा बत्ती बाल्नुपर्ने अन्धकार कोठा। ढोकाबाट छिर्नेबित्तिकै आउने ट्वाइलेटको गन्ध। तप–तप पानी चुहिने छाना अनि बस्नै नमिल्ने भएर बन्द गरिएका कोठा।

देशकै ठूलो र जेठो भनेर गर्व गरिने त्रिभुवन विश्वविद्यालयको होस्टलको अवस्था यस्तै छ।

काठमाडाैं उपत्यका बाहिरबाट पढ्न आउने विद्यार्थीको सुविधाका लागि बनाइएको होस्टलको भौतिक अवस्था गम्भीर समस्या भयो नै। अर्को समस्या विद्यार्थीभन्दा पनि गैर विद्यार्थीकाे कब्जा।

छात्रवासका कर्मचारी अर्जुन थापा हाकाहाकी होस्टलमा बस्ने ७० प्रतिशत अवैध रहेको बताउँछन्। होस्टलको कोठा वैध विद्यार्थीकै नाममा दर्ता हुन्छ। तर बस्ने अर्कै हुने थापाको दाबी छ।

उनी भन्छन्, 'दिउँसो चेक गर्न जाँदा धेरै विद्यार्थी हुँदैनन्। बिहान-बेलुका नयाँ-नयाँ अनुहारका देखिन्छन्। होस्टलै बस्ने विद्यार्थी भए त हामी चिनिहाल्छौँ नि।’ 

पुनः निर्माण भएका होस्टलका नयाँ भवनमा होस्टल हैन, आँखा अस्पताल, ललितकला क्याम्पस अनि सेवा आयोगले प्रयोग गरेर बसेका छन्।

त्रिविको होस्टलमा ४ हजार २ सय २४ रूपैयाँ तिरेपछि विद्यार्थी एक वर्ष बस्न पाउँछन्। छात्रवासका विद्यार्थी आफ्नो कोठामा आफैँ खाना बनाएर खान्छन् भने छात्रावासमा पैसा उठाएर मेस चलाउँछन्।

काठमाडौं उपत्यकामा एउटा सामान्य कोठाकै मासिक भाँडा पाँच हजारमाथि पर्छ। त्यसमा पकाउन र सुत्न अलग कोठा लिँदा भाडा न्यूनतम मासिक १० हजार खर्च हुन्छ नै।

यही खर्च जोगाउन विद्यार्थीकाे आवरणमा गैर विध्यार्थीले त्रिविको होस्टल कब्जा गरेको देखियो। जब प्रशासनले अवैध विद्यार्थीलाई होस्टलबाट निकाल्न खोज्छ कुनै न कुनै विद्यार्थी संगठन लाउने भनेर निस्कन्छ। अन्टसन्ट माग राख्छ अनी ताल्चा लगाएर हिडिदिन्छन्। अहिले त्यस्तै भएको रहेछ होस्टलमा।

क्याम्पस प्रमुखले समय सकिइसकेका विद्यार्थीलाई होस्टल छाड्न सूचना निकाले। त्यसको बदलामा एमाले निकट अनेरास्वियुले वार्डेनको कोठामा ताल्चा लगाइदियो।

५२ वर्ष पुराना संरचना

त्रिविको कान्ति छात्रवास वि.सं. २०२६ अनि ईश्वरी कन्या छात्रावास वि.सं. २०२७ निर्माण भएको हो। त्यसपछि हालसम्म दुवै होस्टल कति पटक मर्मत भयो प्रशासनसँगै तथ्याङ्क छैन।

कान्ति छात्रवासको एउटा भवन २०७२ भूकम्पले पूर्ण रूपमा क्षति भएपछि रातो स्टिकर टास्नुपरेको थियो। त्यसपछि बन्द गरिएको छात्रवास अहिलेसम्म खुलेको छैन।

पुनः निर्माण भएका होस्टलका नयाँ भवनमा होस्टल हैन, आँखा अस्पताल, ललितकला क्याम्पस अनि सेवा आयोगले प्रयोग गरेर बसेका छन्।

क्याम्पस प्रमख राइले भने, ‘विश्वविद्यालयभित्र तालाबन्दी त एउटा फेसन नै भयो। बन्द गर्ने पनि उनीहरूनै खोल्ने पनि उनीहरू नै।’

इश्वरी कन्या छात्रावास ‘क’ र ‘ख’ ब्लक जीर्ण हुँदै गएपछि त्यसको सट्टा नयाँ भवन बनाइयो। तर, अझै ६५ छात्रा जीर्ण भवनमै राखिएको छ। विद्यार्थीका लागि बनाइएको भवनमा भने त्रिवि सेवा आयोग बसेको छ।

माटोले बनाएको भान्छामा पाक्छ खाना

आधा शताब्दी पुरानो जीर्ण भवनमा बस्न बाध्य विद्यार्थी माटोले बनाएको वर्षौं अघिको भान्छामा खाना पकाउँछन्। भुइँतलामा पानी छिरेपछि पाँचवटा कोठा बन्द नै गर्नुपरेको कर्मचारीहरू बताउँछन्। चुहिएको पानी कोठाभरि जमेपछि कोहि बस्न नमानेर बन्द गर्नुपरेको उनीहरूको भनाइ छ।

प्रशासनसँग गुनासो राख्दा केही काम गरे पनि झारा टार्ने प्रवृत्तिले छात्रावासका सबै ६० वटै कोठा बस्न लायकै छैन। यसअघि पानी चुहिएको ठाउँमा सिमेन्टले टालिएकोमा अहिले छानामा जस्ता राखिएको छ। तर, त्यसले न विद्यार्थीलाई सहज भएको न त प्रशासनलाई नै।

कुनै समय डेढ सयभन्दा बढी विद्यार्थी हुने छात्रावासमा कोठाको जीर्ण अवस्थाका कारण अहिले विद्यार्थी राख्न नसकिएको कर्मचारीहरू बताउँछन्।

छात्रावासको भौतिक अवस्था नाजुक भए पनि विद्यार्थी परिस्थिति अनुसार आफू मिलेर बसिरहेका छन्। एउटा कोठामा ३ जना सम्म विद्यार्थी बस्ने गरेका छन्।

जीर्ण रहेको कान्ति छात्रावास केहि महिनापछि भत्काएर नयाँ डिजाइनमा बनाउन लागेको क्याम्पस प्रमुख ध्यानेन्द्र राई बताउँछन्।

‘ढोकामै बाइक राख्ने। राति ढिला आउने अनी बाहिरबाट होस्टेलभित्रै केटी लिएर आउने गर्छन्,’ छात्रवासका एक कर्मचारी भन्छन्, ‘एउटा-दुइटा मात्र विद्यार्थी संगठन भए पो! कसलाई मात्र कारबाही गर्ने? ठूलो–ठूलो राजनीतिक पहुँच भएकाहरूलाई कसले कारबाही गर्ने?’

अहिलेसम्म कतिपटक मर्मत भयो भन्ने प्रश्नको जवाफ भने उनीसँग छैन। राईले आफ्नो कार्यकालमा होस्टलको अवस्था सुधारिने दाबी गरे।

‘केहि दिनअघि मात्र ईन्जिनियरले भवन हेरेर गएका छन्,’ उनले भने, ‘अब छिट्टै नयाँ भवन निर्माण गर्ने प्रक्रियामा जानेछौं।’

छात्रवासमा अर्को राजनीति

त्रिविमा सेमेस्टर प्रणाली लागू भएपछि एकजना एक पटक छात्राबास छिरेका विद्यार्थी कमै बाहिरिने गरेको देखियो। एक वर्ष मात्र छात्रावासमा पाइने नियम भए पनि वर्षौंदेखि विद्यार्थीसँगै गैरविद्यार्थी पनि बस्दै आएका छन्।

यस विषयमा क्याम्पस प्रमुखले एक्सन लिएका पनि थिए। तर उल्टै छात्रावासको वार्डेनको कार्यालयमा तालाबन्दी भयो। दर्ता नगरी बसेका अवैध विद्यार्थीलाई निस्केर जान सूचना निकाल्दा तालाबन्दी भएको हाेस्टलका कर्मचारी थापा बताउँछन्।

‘अवैध रूपमा बसेका विद्यार्थीलाई चैत देखिनै जान आग्रह गर्यौं, सूचना पनि टास्यौं,’ उनले भने, ‘तर, उल्टै हाम्रो मागलाई मुद्दा बनाएर उनीहरूले तालाबन्दी गरे।’

केही समयअघि मात्र ४-५ जना नयाँ विद्यार्थीको नाम छात्रावासमा बस्न निस्किएको थियो। तर उनीहरू त्रिविको होस्टलमा बस्न पाएका छैनन्।

‘यदि उनीहरूको माग छ भने के–के हो लिएर आउनुपर्यो,’ क्याम्पस प्रमख राइले भने, ‘विश्वविद्यालयभित्र तालाबन्दी त एउटा फेसन नै भयो। बन्द गर्ने पनि उनीहरूनै खोल्ने पनि उनीहरू नै।’

कान्ति छात्रावासमा एमाले निकट अखिलले तालाबन्दी गरेको एक हप्ताभन्दा बढि भइसक्यो। ढोकामा टाँसिएको सूचना पनि उप्किसक्यो। तर, ताला खोलिएको छैन।

अहिले छात्रवासमा भएको विद्यार्थीको संख्या र वैध–अवैध रूपमा बसेका विद्यार्थी खुट्याउनै गाह्रो रहेको र यसको कारण तालाबन्दीले कागजात भित्रै भएको कर्मचारी दाबी गर्छन्। राति र बिहानको समयमा मात्र विद्यार्थी देखिने भएकाले समस्या भएको कर्मचारीको भनाइ छ।

छात्रवासमा भएका विद्यार्थीले अनुशासनहीन काम गर्दा पनि कारबाही गर्न नसकिएकोमा उनीहरू निराश हुन्छन्।

‘ढोकामै बाइक राख्ने। राति ढिला आउने अनी बाहिरबाट होस्टेलभित्रै केटी लिएर आउने गर्छन्,’ छात्रवासका एक कर्मचारी भन्छन्, ‘एउटा-दुइटा मात्र विद्यार्थी संगठन भए पो! कसलाई मात्र कारबाही गर्ने? ठूलो–ठूलो राजनीतिक पहुँच भएकाहरूलाई कसले कारबाही गर्ने?’

४ भदौ, २०७९, १८:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।