मानव तस्करीमा फरार सुदर्शनसँग फिल्म खेल्दै अनमोल र सौगात

मानव तस्करीमा फरार सुदर्शनसँग फिल्म खेल्दै अनमोल र सौगात
मानव तस्करीमा फरार गौतमसँग क्यानडामा भट्ट

काठमाडौँ : दुर्घटनामा दुवै हात गुमाएका सुदर्शन थापा कुनै समय हिम्मतवाली फिल्मको नायक अनि रेखा थापासँगको सम्बन्धसँग जोडिएर चर्चामा आउँथे।

२ वर्ष अगाडि उनी मानव तस्करीमा जोडिए। उनले फिल्मको सुटिङको कलाकार भनेर सम्झौता गरेर नेपाली युवतीहरूलाई तस्करीको बाटोबाट अमेरिका पूर्याउने गरेको दाबीसहित नेपाल प्रहरीले अनुसन्धान अगाडि बढायो।

क्यानडावासी उनी उतै पुगिसकेका थिए। उनी नेपाली नागरिक हैनन्। नेपाली मूलका नागरिक हुन्। उनले आरोपको सामना गरेनन्। नेपाल नआएपछि प्रहरीले जिल्ला अदालतमार्फत पक्राउ आदेश लिएर इन्टरपोलबाट अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गराएको थियो।

अन्तर्राष्ट्रिय पक्राउ आदेश जारी गराए पनि क्यानडाले आफ्नै देशको नागरिकलाई हस्तान्तरण गर्ने कुरै भएन। उनी आफ्नो देश छाडेर अन्य देश गएमा हो पक्राउ पर्न सक्ने। यो २ वर्षकोविचमा उनी पक्राउ परेको या नेपाल आएर अदालतमा रहेको मुद्दाको सामना गरेको कुनै घटना सार्वजनिक भएको छैन।

अब उनी ८ वर्षपछि फिल्म ‘एक्स ९’ बाट अभिनयमा फर्कने र फिल्ममा अभिनय गर्न साइन समेत गरेको समाचार तस्बिर सहित सार्वजनिक भएको छ।

सार्वजनिक भएको समाचार अनुसार फिल्मको छायाङ्कन प्रबन्ध मिलाउन क्यानडामा रहेका निर्देशक मुकुन्द भट्टले यसै साता गौतमसँग कागजी सम्झौता गरेका हुन्।

फिल्मको केही प्रतिशत छायाङ्कन क्यानडामा हुनेछ र त्यहाँको पार्टमा सुदर्शन देखिनेछन्। भनेपछि उनी नेपाल आउँदैनन्।  

फिल्ममा सुदर्शनसँगै सौगात मल्ल, अनमोल केसी, पुष्प खड्का, राज कटुवाल, अनुपविक्रम शाहीलगायतको अभिनय रहने बताइएको छ।

सुदर्शनमाथि के हो आरोप ?

अमेरिका हिँडेका तीन नेपाली युवती हाइटीमा अलपत्र पारे। फिल्मको सुटिङका नाममा उनीहरूलाई हाइटी लगिएको थियो। अनि हाइटी हुँदै समुद्री बाटो भएर उनीहरूलाई अमेरिका छिराउने योजनामा पानीजहाज बिग्रिएपछि उनीहरू बहामास भन्ने देशमा पक्राउ परे।

पानीजहाज नियन्त्रणमा आएसँगै कलाकारको आवरणमा सुदर्शनले गरिरहेको धन्दा सार्वजनिक भयो।

त्यहाँबाट अमेरिकी दूतावासको सहयोगमा नेपाली युवतीलाई नेपाल फर्काइएको थियो। अनुसन्धानमा गौतमले फिल्मको सुटिङका लागि कलाकार भनेर उनीहरूलाई लगेर अवैध रूपमा अमेरिका पूर्याउन खोजेको देखियो।

मुद्दा प्रक्रिया अगाडि बढ्यो। सुदर्शनले अदालतमा मुद्दाको सामना गर्ने दाबी गरे। तर आएनन्। अनि २०७६ वैशाखमा रेड कर्नर नोटिस जारी गर्यो।

३ भदौ, २०७९, १६:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।