नीमाको सहयोगमा शिवपुरी माविमा ‘डिजिटल  रूपान्तरण यात्रा’ सुरु

नीमाको सहयोगमा शिवपुरी माविमा ‘डिजिटल  रूपान्तरण यात्रा’ सुरु

काठमाडौं : काठमाडौं महाराजगन्जस्थित शिवपुरी माध्यमिक विद्यालयमा यसै शैक्षिक सत्रबाट डिजिटल रूपान्तरणको यात्रा सुरु भएको छ। स्टिम सिकाइ र ई- लर्निङ संस्था नीमाको सहयोगमा सोमबार डिजिटल रूपान्तरण यात्राको घोषणा गरिएको हो।

घोषणा सभामा राजधानीका ४० भन्दा धेरै विद्यालयका प्रधानाध्यापक र स्टिमका फोकल शिक्षकहरूको उपस्थिति थियो। नीमा एकेडेमीको एक हप्ते रोबोटिक्स शिक्षा क्याम्पमा सिकेर विद्यार्थीहरूले तयार गरेका विभिन्न भौतिक प्रोजेक्टहरू यस कार्यक्रममा प्रदर्शनीमा राखिएका थिए।

कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका वडा–३ का अध्यक्ष प्रेम थापाले नीमाको सहयोगमा आफ्नो पहलले सार्थकता पाएको बताए।

‘सामुदायिक विद्यालयहरूको नमुना विद्यालय तथा स्टिम स्कुलको हब रहेको शिवपुरी स्कुलमा डिजिटल सिकाइ र पढाइ थाल्न पहिल्यैदेखि पहल गरेको थिएँ। नीमा एकेडेमीको प्राविधिक सहयोगमा सफल भएको छु,’ उनले भने।

नीमा एकेडेमीकी प्रमुख परिचालन अधिकारी नेहा जोशीले अबको सिकाइ डिजिटल लर्निङ रहेको बताइन्। उनले ई–लर्निङको महत्त्व र नीमा एकेडेमीबाट कसरी घरमै बसेर ई–लर्निङ गर्न सकिन्छ भन्ने विषय पनि प्रकाश पारिन्।

विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले अबको शिक्षा व्यावहारिक र डिजिटल हुनुपर्ने बताए। ‘अब  सामुदायिक विद्यालयहरू ई–लर्निङ अपनाउने र स्टिम कोर्सहरू शीघ्र लागू गर्ने दिशामा अघि बढ्नुपर्छ,’ दूरदर्शीले भने, ‘‘विद्यार्थीहरू चकचके, छुकछुके हुन्छन्। उनीहरूले सिक्ने र बिगार्ने काम गर्छन्। यो जुरमुराउँदो उमेरमा स्टिम कोर्स, बुट क्याम्प, वर्कसप, रोबोटिक्स आदीको महत्त्व ठुलो भएकाले अबको सिकाइ सिकाई उन्मुख, व्यावहारिक र डिजिटल हुनुपर्छ।’

कार्यक्रममा स्टिम सिकाइका फोकल शिक्षक–शिक्षिकाले आफ्नो अनुभव र त्यसको प्रभावकारिताबारे बोलेका थिए। काठमाडौं महानगरपालिकाका शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदी, महानगरका शिक्षा अधिकृत तारापति खरेल, मोती भट्टराई, लक्ष्मी पौडेललगायत शैक्षिक क्षेत्रमा संलग्न विभिन्न व्यक्तित्वहरू कार्यक्रममा उपस्थित थिए।

सन् २०१८ देखि नीमा एजुकेसन फाउन्डेसन (एनईएफ) ले नीमा एकेडेमी सञ्चालनमा ल्याएको हो। यस एकेडेमीले रचनात्मक र उच्चस्तरको सिकाइ प्रविधिमार्फत नेपालको शैक्षिक गुणस्तर उकास्ने लक्ष्य राखेको छ। 

३ भदौ, २०७९, १४:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।