हिजोका कुरामा तुलसी घिमिरे : आमाले 'धर्मेन्द्रभन्दा तैं ह्याण्डसम' भनेपछि हिरो बन्न बम्बे पुगे

हिजोका कुरामा तुलसी घिमिरे : आमाले 'धर्मेन्द्रभन्दा तैं ह्याण्डसम' भनेपछि हिरो बन्न बम्बे पुगे

नेपाली चलचित्र निर्देशकको नाम लिनुपर्दा तुलसी घिमिरेलाई छुटाउनै मिल्दैन। उनी सफल चलचित्र निर्देशक मात्र होइनन्, कुशल अभिनेता, पटकथाकार, कथाकार, सम्पादक, टेक्निसियन, क्यामेरा पर्सन, मेकअप आर्टिस्टको समेत परिचय छ उनीसँग।

सन् १९५१ मा दार्जिलिङको कालिम्पोङमा जन्मिएका घिमिरे १९७४ मा बम्बे गए। बम्बेमा स्थापित हुन ठूलै संघर्ष गरेका घिमिरेले बलिउडमा फिल्म एडिटर, मेकअप आर्टिस्ट लगायतको काम गरेका छन्।

संघर्षकै क्रममा केही बलिउड चलचित्रमा कलाकारको रुपमा सानोतिनो भूमिका पनि निभाए उनले। बलिउडमा अमिताभ बच्चन, ऋषि कपुर, अनिल कपुर, उदितनारायण झाहरुसँग काम गरे। 

बलिउडमा रहँदा फिल्म क्षेत्रका दिग्गज एडिटर कम्लाकर कार्खानिसलाई आफ्नो गुरु एवं मार्गदर्शक मान्ने घिमिरेले उनकै सल्लाह एवं आर्शीवादलाई जीवनभर आत्मसात गरेर आज एक सफल फिल्मकर्मीको रुपमा परिचित भएका हुन्।

बाँसुरी (१९८१), कुसुमे रुमाल (१९८५), लाहुरे, देउता, चिनो, बलिदान, दुई थोपा आँसु, दर्पण छायाँ, दक्षिणा उनका चर्चित फिल्म हुन्। 

नेपाली चलचित्र क्षेत्रमा एउटा युग हाँक्ने निर्देशक, लेखक, अभिनेता आदिको पहिचान बनाएका प्रविधि र कलाको सिप भएका घिमिरे एक गौरवपूर्ण नाम मात्र नभई खुला विश्वविद्यालय समेत हुन्।

थुप्रै नेपाली अभिनेता-अभिनेत्रीलाई फिल्म क्षेत्रमा चिनाएका घिमिरेसँग व्यक्तिगत र पेसागत अनुभवहरुको विशाल सँगालो छ। कहिलेकाहीँ फुर्सद मिल्दा उनी आफूले पाइला चालेको विगत र हिँडेको परिवेश सम्झन्छन्।

जीवनको सात दशक पार गरिरहेका घिमिरेसँग अनुभवहरुको संग्रह छ। तीमध्ये कैयौं अनुभव, क्षण अविष्मरणीय बनेर रहेका छन्।     

संघर्षको कथा : आमाले झुक्याइदिँदा…
किशोरावस्थामा हुँदा घिमिरे जहिले आमालाई सोधिरहन्थे, ‘आमा धर्मेन्द्र ह्याण्डसम कि म?’ उनकी आमा भन्थिन्, ‘तैं ह्याण्डसम!’, ‘कालिम्पोङमा सबसे ह्याण्डसम को?,’ घिमिरे फेरि आमालाई सोध्थे, ‘तँ नि!,’ आमाले जवाफ दिन्थिन्। 

किशोरावस्थाको केटोलाई त्यति भनेपछि अरु के नै चाहियो र? मख्ख! त्यसमाथि घिमिरेले आमाले भनेका हरेक कुरामा विश्वास गर्थे।

समय बित्दै गयो। उनले फिल्म क्षेत्रमा काम गर्न र सिक्न बम्बे जाने निर्णय गरे। २३ वर्षका उनी बम्बे पुगे। घिमिरेले सोचेका थिए, ‘बम्बेमा म ह्याण्डसमलाई त लिइहाल्छन् नि!,’ उनी सम्झन्छन्, ‘तर त्यहाँ पुगेपछि वास्तविकता अर्कै भैदियो। आमाले भनेको ह्याण्डसम गलत साबित भयो। बम्बै पुगेपछि त ६ फिट अग्ला केटाहरु, निकै नै ह्याण्डसम, अंग्रेजी र हिन्दी भाषामा दम भएका उनीहरुको छेउमा म कता हराएँ कता। म नर्भस भएँ। यसरी झण्डै आमाले ह्याण्डसम भनिदिँदा फसेको म। तर आमाको त्यही भनाइले मेरो संघर्ष सुरु भयो।’ 

त्यहाँ उनी आफ्ना साथी हनिफ छिपा (जो टेक्निसियन एवं एसिस्टेन्ड डाइरेक्टरको काम गर्थे) सँगै बस्थे। ‘उता सकिनस् भने, उतै नहराउनु, उतै नबिलाउनु। फर्केर आउनु, आफ्नै खेतबारी छ, खेतबारी गर्न पनि हुन्छ,’ घरबाट जाँदा आमाबुबाले भनेको उनले सम्झिए र साथी हनिफलाई आफू घर फर्किने बताए। तर हनिफले भने, ‘फर्केर केही हुँदैन, तेरो अभिनयको भोक जुन छ त्यो मर्दैन। अहिले केही नभए पनि फिल्ममा टेक्निसियन भएर काम गरी हेर’ भन्दै रोके। त्यसपछि फिल्ममा टेक्निसियन र मेकअप आर्टिस्ट हुँदै उनले बम्बेमा आफ्नो संघर्ष सुरु गरे। 

पहिलो पटक गाली खाँदा मेकअप गर्नै छोडे
घिमिरेका साथी हनिफले आगा खानसँग भेट गराइदिए। आगा खान जो तत्कालीन समयका प्रतिष्ठित मेकअप म्यान थिए। खानले धाराबाहिक नाटकहरुमा अभिनय गर्ने कलाकारहरुको मेकअप (शृंगार) गर्थे। तिनकै नेतृत्वमा घिमिरेले मेकअपको काम सिके। ऋषि कपुर अभिनित चलचित्र ‘लैला मजनु’ मा उनले सहायक मेकअप म्यानको रुपमा काम पनि गरे। वास्तवमा घिमिरले फिल्ममा अभिनय गर्ने एक्ट्रा कलाकारको मेकअप गर्नुपर्थ्यो। 

एक दिन एउटी महिला कलाकारको मेकअप घिमिरेले नै गरिदिनुपर्ने थियो। आफ्ना प्रेमीसँगै आएकी ती महिला कलाकार प्रेमीसँगै गफमा व्यस्त थिइन्। यतिसम्म कि, घिमिरेले मेकअपका लागि पाँचौ पटकसम्म बोलाउँदा पनि उनले सुनेकी थिइनन्। ‘अझै मेकअप गरेको छैन?,’ उनका एसिस्टेन्ट डाइरेक्टर नेगीले सबैलाई झपार्दै गाली गरे। थप गाली खानबाट बच्न ती कलाकारले घिमिरेलाई देखाउदै फ्याट्ट भनिन्, ‘कबसे खडी हुँ, मेकअप करता ही नही।’

उनले घिमिरेलाई पनि उनीहरुकै भाषामा गाली गरे। बम्बेमा ‘आमा, बैनी’ गाली सामान्य मानिन्थ्यो/मानिन्छ। घिमिरेले त्यस्ता गाली सुनेको भए पनि आफूले भने गाली खाएका थिएनन्। जुन पहिलो पटक खाए। त्यही गालीले उनले मेकअप गर्ने काम नै छोडिदिए।

‘म नयाँ पनि थिएँ। त्यहीँमाथि मलाई नै आमा, बैनी... भन्दै गाली गरे। मलाई गरेको त्यो गाली सहन सकिनँ,’ उनी सुनाउँछन्, ‘कहिल्यै नरिसाउने मान्छे मलाई साह्रै रिस उठ्यो। आफ्नो सामुन्ने भएको मेकअपको ट्रे उठाए र गुरुजीको खुट्टामा राख्दै ‘सर, आजदेखि म यो काम गर्दिनँ’ भने। जुन काममा आमा र दिदी-बहिनीको शब्द आउँछ त्यस्तो कामै गर्दिनँ। त्यो गाली मनमा लाग्यो भन्दै मैले त्यो काम सदाका लागि छोडिदिएँ।’ 

त्यसपश्चात घिमिरेले बम्बेमै लाइट ब्वाई, क्यामेरा केयर टेकर, फाइटर, फिल्म एडिटर भएर काम गरे। सन् १९७७ ताका बम्बेमा हुँदा उनले चर्चित फिल्म हुकुमत, श्रद्धान्जली, अमर अकबर एन्थोनी, चाचा भतिजा, धर्मवीर लगायत फिल्ममा एडिटिङ एसिस्टेन्टको रुपमा काम गर्ने मौका पाए। निकै छोटो समयमा फिल्म सम्पादनको काम सिकेका उनले त्यही यात्रामा निर्देशन, लेखन र अभिनयमा पनि निखार ल्याउने मौका पाए। 

उनले ती सबै काम बाँच्नका लागि गरेका थिए। जुन उनको लागि संघर्ष मात्र नभई सिकाइ बन्यो। त्यही सिकाइको मौकाले जीवनभर आत्मनिर्भर बनाइदियो। ‘कहिलेकाहीँ मलाई विभिन्न कारणवस मेकअप म्यान, टेक्निकल व्यक्तिहरुले धोका दिन्छन्,’ उनी भन्छन्, ‘तर पनि काम रोकिँदैन। मेरो फिल्म रोकिँदैन। जे-जे सिकेको थिएँ, त्यही काम आफैं गर्छु। मेकअपदेखि क्यामेरासम्म कुनै काम रोकिँदैन। ऊ बेला बाँच्नको लागि गरेको कामले मलाई धेरैथोक सिकाएको छ। समयसँगै सिकेको कामले मलाई अहिलेसम्म सहज बनाइदिएको छ। त्यही सिकाइकै कारण कहिलेकाहीँ त आफूलाई निकै भाग्यमानी ठान्छु।’

गुरुले चार दिनसम्म भोको बस्दा थप चार दिन भोकै बस्न सुझाए
सन् १९७८ तिरको समय घिमिरेको संघर्ष चलिनै रहेको थियो। घिमिरले त्यतिबेला आफ्ना गुरु कमला कारखनिस जसलाई उनी दादा सम्बोधन गर्छन् र अझै पनि आफ्नो मार्गदर्शक मान्छन्, तिनैको छत्रछायामा काम गरिरहेका थिए। घिमिरले आफ्ना गुरुले भनेका सबै भनाइलाई अझै पनि सम्मानका साथ आत्मसम्मान दिएका छन्।

‘दादाले भन्नुहुन्थ्यो, निधारमा लेखेको कसैले खोस्न सक्दैन, जो लेखेको छैन, त्यो कसैले लिन सक्दैन। उहाँले दिएका हरेक आशीर्वाद मेरो लागि महावाणी बनेका छन्। उहाँका हरेक शब्दमा दर्शन हुन्थ्यो,’ उनी भन्छन्।  

समय त्यस्तै चलिरहेको थियो। उनले काम गरेवापत् पैसा पाउँदैनथे। बिहान-साँझ त्यही खान-बस्न भने पाउँथे। भारतमा चार दिने हडताल चलिरहेको थियो। उनका गुरु पुणे गएका थिए। देशभर भएको हडतालका कारण स्टुडियोको क्यान्टिन पनि बन्द थियो। बम्बेमै भएका घिमिरेसँग गोजीमा पैसा थिएन। त्यही बेला उनी शुक्रबारदेखि सोमबारसम्म चार दिनसम्म भोकै बस्नुपर्यो। भोकै बस्नुको अर्को कारण थियो, कसैसँग माग्न नसक्ने बानी।

पहिलो दिन पानी खाएर भोक मेटे पनि त्यसपछिका दिनहरु भने कहालीलाग्दा बने। चार दिनसम्म पानीसमेत नखाई बस्दा स्वरसमेत सुकिसकेको थियो। गुरुबा पुणेबाट फर्किएपछि भेट त भयो तर पनि उनै गुरुबाले थप चार दिन भोकै बस्नुपरोस् भन्दै कामतिर लागे।

‘जति नै गाह्रो पर्दा म पहिले पनि माग्दिनथें, अहिले पनि माग्न सक्दिनँ। पहिलो दिन त पानी खाएर टारें। त्यसपछि भोकले साह्रै गाह्रो भएको थियो,’ घिमरे सम्झन्छन्, ‘चौथो दिन दादा पुणेबाट फर्केर बाहिर पान खाँदै हुनुहुन्थ्यो। मलिनो स्वरमा मैले ‘चार दिनदेखि खाना खाएको छैन’ भन्दा उहाँले उल्टै, ‘भगवान करे दोचार दिन और ना मिले खाना’ भन्दै पान चपाएर हिँड्नु भो। दुईचार पैसा दिएर, खाना खुवाएर जानुहुन्छ होला भन्ने मेरो अपेक्षा त्यहीँ सकियो। धन्न हनिफ आएर खानेकुरा खुवायो। तर पछि थाहा भयो, दादाको त्यो भनाइमा दर्शन लुकेको रहेछ। दादाले ममाथि आत्मविश्वास भरिदिनुभएको रहेछ।’ 

सुटिङमा भावुक बनाइछोडे
सन् १९८२ तिरको कुरा हो, घिमिरेले गडवाली फिल्म ‘जगवाल’ बनाउँदै थिए। पौडी गडवालमा सुटिङ चलिरहेको थियो। त्यहीँको बस स्टपमा बझाङका दुई जना युवासँग उनको भेट भयो। कुल्ली काम गरिरहेका युवाहरुलाई घिमिरेले सामान्य परिचयपछि सोधे, ‘दिनमा कति कमाउँछौ?’ उनीहरुले भने, ‘त्यही १०/१२ रुपैयाँ।’ 

घिमिरे फिल्मको लागि स्पट ब्वाईको खोजीमा थिए। ‘स्पट ब्वाईको काम गर्छौ त?,’ घिमिरेले सोधेपछि दुवै जना तयार भए। 

झण्डै तीस दिनको सुटिङ थियो। घिमिरेले उनीहरुलाई खानपान र बसाइ बाहेक दैनिक १५ रुपैयाँ भारु दिनेबारे सुनाए। खाने बस्ने खर्च बाहेक दैनिक १५ रुपैयाँ पारिश्रमिक आउने भएपछि उनीहरु निकै खुसी भए। यता घिमिरेले भने उनीहरुलाई दैनिक ५० रुपैयाँ भारु दिने भएका थिए।

दिनभर काम सकिएपछि राति उनीहरुले पश्चिमेली भाकामा देउडा र अन्य गीहरु सुनाउँथे। रमाइलोसँग सुटिङ चलिरहेकै थियो। ती लडाकाहरु पनि घिमिरेको टिमसँग घुलमिल भइसकेका थिए। उनीहरुले घिमिरेको टिमलाई हिन्दी फिल्मकै हुन्, उनी भारतीय नै हुन् भन्ठानेका थिए।

उनीहरुको सुटिङको समय सकिँदै थियो। कामको रकम वितरण गर्ने दिन आइसकेको थियो। ५० गर्दै जम्मा भएको प्रतिव्यक्ति १५ हजार भारु हात पर्दा उनीहरु निकै उत्साहित भए। पैसा थाप्दै एक व्यक्ति रोयो, एउटाले जमिन उकास्ने भयो, त्यही पैसाले अर्को एक जनाले विहे गर्ने भयो। तर हिँड्ने बेलामा उनीहरुले भनेको शब्दले घिमिरेलाई भावुक नै बनाएको थियो।

‘निकै मिहिनेती थिए। रमाइलोसित सुटिङ सम्पन्न भयो,’ त्यो क्षण सम्झिँदै घिमिरे सुनाउँछन्, ‘त्यतिबेला हामी सुटिङको लागि जहाँ पुग्थ्यौं, त्यहाँबाट हिँड्ने दिन रुवाबासी मात्र चल्थ्यो। पौडी गडवालमा हुँदा पनि त्यस्तै भयो। ती केटाहरुले पनि हिँड्ने बेलामा ‘खै हजुर, यत्रो दिन बस्यौं। एकै दिन भए पनि गाली गर्दिनु भएको भए हुन्थ्यो, रिसाइदिनु भएको भए हुन्थ्यो, हामीलाई भुल्न गाह्रो हुन्छ’ भनेर भावुक बनाएको थियो। त्यो क्षण मलाई याद आउँछ।’ 

निरुतासँग विहेको हल्ला 
गुरु कमला कारखनिसले गुरु पुर्णिमाको दिनमा दिएको आशीर्वाद र उनलाई दिएको वचन पूरा गर्न सन् १९९४ मा घिमिरे नेपाल आए। नेपाल आएर बाँसुरीदेखि दक्षिणासम्म १० वटा सुपरहिट फिल्म बनाए। अधिकांश फिल्महरु दार्जिलिङ, सिक्कम र कालिङपोङमै सुटिङ गरे। 

उनले जति पनि फिल्म बनाए सबै वास्वविक कथामा आधारित फिल्म बनाए। दसौं फिल्म दक्षिणमा उनी स्वयंले आफू पढेको विद्यालयका शिक्षकको भूमिका निभाए। फिल्ममा सबै वास्तविक पात्रहरुलाई नै अभिनय गराए। हरेक फिल्ममार्फत कुनै न कुनै सन्देश प्रवाह गराए। 

फिल्म निर्देशन र अभिनयमा भविष्य बनाउने कल्पनासमेत नगरेका घिमिरेले आफ्ना गुरुले दिएको आशीर्वादले मात्र सुपरहिट फिल्म बनाउन सफल भएका थिए। ‘गुरुले दिनुभएको वचनअघि मैले निर्देशन र अभिनयबारे सोचेको पनि थिइनँ। पाएँ भने एक/दुई वटा हिन्दी फिल्ममा अभिनय गर्ने धोको भने थियो। यसबाहेक केवल राम्रो फिल्म सम्पादक बन्छु भन्ने मेरो लक्ष्य थियो। नेपाली फिल्ममा आउने त झन् कल्पना नै गरेको थिइनँ,’ उनी भन्छन्, ‘तर गुरुले नेपाल गएर नेपाली भाषामा १० वटा उत्कृष्ट फिल्म बनाउनु भनेपछि मेरो यात्रा निर्देशन र अभिनयतिर सुरु भएको थियो। गुरुको त्यो आशीर्वादले म सफल बनें।’

नेपालीमा भाषामा दस वटा फिल्म बनाउने भन्ने गुरुको आदेशपछि उनी पुन: बम्बे फर्किने सोचमा थिए। तर नेपालमा भएका उनका साथीहरुले नेपालमै योगदान दिन सुझाव दिएपछि नेपालमै रोकिए। फिल्म बनाउँदाका थुप्रै कठिनाइहरु त छँदै थिए।

सन् २००१ पछिको कुरा हो, दर्पण छायाँ चलचित्र सफल बनेको थियो। त्यही बीचमा ‘निरुता र तुलसी घिमिरेले विवाह गरे र दिल्ली भागे’ भन्दै एउटा हल्ला चल्यो। हल्ला हल्लामा मात्र सीमित रहेन, पत्रिकामै छापियो। 

दर्पण छायाँकी अभिनेत्री निरुता सिंह भारती घिमिरे (तुलसी घिमिरेकी श्रीमती)सँग रुँदै थिइन्। ‘के भयो?,’ साँझ घर फर्केका घिमिरेले सोधे, ‘निरुताले पत्रिका देखाउँदै अब म यो फिल्म क्षेत्र छोड्छु भनिन्। त्यो पत्रिकाले तुलसी घिमिरे र निरुता सिंहले भागेर विहे गरे, दिल्ली गएर एवोर्सन गराएसम्म पनि लेखेको रहेछ। अनि मैले ‘यदि यो गसिपहरुसँग डर लाग्छ भने यो क्षेत्रमा नआऊ भनेर पहिल्यै भनेको थिएँ। कुकुरहरु भुकिरहन्छन्’ भनेपछि निरुता अझै परिपक्क भइन्।’ 

घिमिरेले निरुतालाई त सम्झाए तर उनको रिस भने मरिसकेको थिएन। तीन/चार वटा पत्रिकाले त्यही गसिप लेखेका थिए। निरुता र घिमिरे सफल भएको आरिसले गसिपको नाममा अनावश्यक सामग्री छाप्नुको कारण पत्ता लगाए। त्यो सामग्री लेख्ने व्यक्तिलाई घिमिरेले राम्रोसँग चिन्थे।

‘निरुता सफल अभिनेत्री बनेकी थिइन्। अरुहरुले बनाएका फिल्महरु खासै सफल बनेनन्। निरुताको भूमिका अनुसार मैले यति रकम लिनु भनेर सिकाएको थिएँ,’ उनी सुनाउँछन्, ‘त्यतिन्जेल निरुताले एउटा फिल्ममा अभिनय गरेवापत ३ लाख पारिश्रमिक लिनु भनेको थिएँ। निरुताको सफलता देख्न नसकेपछि र उसको सफल करिअरमा धक्का पुर्याउन त्यस्तोखाले षड्यन्त्र रचिएको मैले थाहा पाएँ। त्यसपछि गसिप लेख्ने दुई जना भाइलाई बोलाएर च्याप्प हात समातेर अबदेखि मेरो पात्रमाथि दायाँ-बायाँ एक शब्द लेख्यौ भने जहाँ भेटयो त्यहीँ नङ्गाइदिन्छु भनेर चुनौती दिएँ। त्यसयता कसैले गसिप लेख्ने आँट गरेका छैनन्।’

भत्केको काठमाडौं देखाउँदा आत्तिएको मन
२०७२ वैशाखको भूकम्प बिर्सिने सायदै होलान्। त्यसमाथि जसले त्यो भूकम्प महसुस गरे अहिले पनि सम्झिँदा मन आत्तिन्छ। भूकम्प महसुस गर्नेहरुसँग अनेकन कथाहरु स्मरणमा छन्।

त्यतिबेला घिमिरे काम विशेषले बम्बे पुगेका थिए। नेपालमा भूकम्प गएको दिन उनी रन्जित गजमेरकहाँ पुगेका मात्र थिए। त्यही बेला रन्जितले टेलिभिजनको स्क्रिन देखाउँदै भने, ‘ओ हेर् त! नेपाल त खत्तम भएछ।' 

घिमिरेले पनि टेलिभिजनको स्क्रिनतिर आँखा दौडाए। आज तक अन थियो, जे-जति देखाइरहेको थियो भत्केका संरचनाहरु मात्र देखाइरहेको थियो। भएभरका संरचना भत्किएको मात्र देखेपछि घिमिरेलाई पूरै काठमाडौ ध्वस्तै भएछ भन्ने लाग्यो। टेलिभिजनमा देखेकै दृश्यले सुरुमा उनलाई आफ्नी जेठी छोरी र श्रीमतीको याद आयो। 

‘जम्मै भत्किएको देखायो, उभिएको त एउटा पनि देखाएन। घरिघरि तिनै दृश्यहरु देखाइरह्यो। त्यसको मतलब जम्मै काठमाडौं भत्किएको चित्र मात्र दिमागमा बन्यो,’ घिमिरे त्यो दिन उनी सम्झन्छन्, ‘टुँडिखेलको गेट ढलेको पनि दोहोर्याएर देखाइरह्यो। त्यही गेटसँगै स्कुटरमा हिँडिरहेकी महिला पनि च्यापेको देख्छु। मेरो छोरी सधैं त्यही बाटो हिँड्ने। घरमा न फोन लाग्छ, न त कोहीसँग अन्य माध्यमबाट नै सम्पर्क हुन सक्यो। को कहाँ छन्, थाहा थिएन।सबै भत्किएर सकिएझैं बनाइदिएको थियो।’

भूकम्प गएको झण्डै चार दिनसम्म पनि उनको कोहीसँग सम्पर्क हुन सकेन। दिल्लीबाट राहत सामग्री लिएर हेलिकोप्टर काठमाडौं जाँदैछ भन्ने थाहा पाएपछि उनी मुस्किलले त्यही हेलिकोप्टरमा काठमाडौं आए। हतारहतार घर पुगे। घरमा कसैलाई देखेनन्। श्रीमती र छोरी साथीको घरमा बसेको थाहा पाए। बल्ल उनको मन शान्त भयो। 

पहिले र अहिले फरक 
तुलसी घिमिरेले पहिले र अहिलेको चलचित्र क्षेत्रलाई दाँजेर हेर्दा प्रविधि क्षेत्रमा ठूलो भिन्नता फेला पारेका छन्। सन् १९८१ मा पहिलो चलचित्र बाँसुरी बनाउँदा स्पट ब्वाईसमेत बम्बेबाट ल्याउनुपर्थ्यो। 

फिल्म एडिटरको रुपमा लामो समयसम्म काम गरेका उनी पहिले र अहिले सबैभन्दा ठूलो भिन्नता प्रविधिमा भएको बताउँछन्। ‘त्यतिबेला स्पट ब्वाई समेत बम्बेबाट ल्याउनुपर्थ्यो। सेलो लाइटको जमाना थियो, नेगेटिभ हुन्थ्यो उनी भन्छन्, ‘नेगेटिभ ह्याण्डलिङ सबैभन्दा संवेदनशील काम हुन्थ्यो। पन्जा लगाएर नेगेटिभ ह्याण्डलिङ गर्नुपर्थ्यो। तर अचेल प्रविधिले निकै ठूलो फड्को मारिसकेको छ। प्रविधिले पहिलेभन्दा अहिले निकै सहज बनाइदिएको छ।’ 

ऊबेला गाउँघरकै कथावस्तुलाई जस्ताको उस्तै उतार्ने गरिन्थ्यो। अहिले त्यो अभ्यास बीचमै छुटेको उनी बताउँछन्। ‘ऊबेला वास्तविक कथावस्तु मात्र नभई, सन्देशमुलक फिल्महरु बन्ने गर्थे। सामाजिक भावनासँग जोडिएका फिल्महरु बन्थे,’ घिमिरे सुनाउँछन्, ‘यात्राको क्रममा आउने ताली र  गालीले असर पार्दैनथ्यो। जुन अहिले विभिन्न कुराले विचलित बनाउँछ। फिल्ममा आउने कथावस्तुको लय छुटेको छ।’

२ भदौ, २०७९, २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।